Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

    काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

    काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

    रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

    हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

    आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ । रासस

  • सर्लाहीको बयलबास बजारमा स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा

    सर्लाहीको बयलबास बजारमा स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाकाे बयलबास बजारमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको विषयमा आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

    आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय (केशरगञ्ज) को भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक ईश्वरपुर नगरपालिका–५ का ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

    त्यही विषयमा प्रदर्शनकारीरूले निरन्तर ढुंगामुढा एवं तोडफोड गरेपछि बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

  • माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।खपुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेपछि महाधिवेशन लम्ब्याउने निर्णय गरिएको बताइएकाे छ ।

    माओवादी महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।

  • प्रचण्डकाे दस्तावेजमाथि सामूहिक छलफल सुरु

    प्रचण्डकाे दस्तावेजमाथि सामूहिक छलफल सुरु

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ ।

    आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो । ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ । सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन् ।

    समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहको छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन् । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन् ।

    समूह ६ र ७ मा प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन् । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ । सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहेका छन् । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् ।

    सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ छन् । समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् ।

    समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ । संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी छन् । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट छन् । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् ।

    सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा छन् ।

    समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गरेका छन् ।

    समूह २२ र २३ मा बागमती प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ । सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गरेका छन् । समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ । सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले गरिरहेका छन् ।

    समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन् । सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ । सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गरिरहेकी छन् ।

    माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।