Category: समाज

समाज

  • पशुपति क्षेत्रमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने

    पशुपति क्षेत्रमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने

    काठमाडौँ । पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पुरा भएको छ ।

    श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउनमा हुने कोटीहोम महायज्ञको तयारीको ७५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ ।

    ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

    पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ।

    एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ ।

    यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुयाउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ। अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ।

    आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको विजय कृष्णमूर्ति जी महाराजले जानकारी दिए ।त्यस्तै बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन्। हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

    देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।काईत्रममा सयौ गुरुहरु, कलाकारहरु तथा अतिथिहरुको भोजन प्रसादको व्यवस्थापन भने सुमार्गी भवन क्षेत्रमा गरिनेछ ।

    सुमार्गी भवन बाहिर दाँयाबाँया खालि स्थानमा एकातर्फ राष्ट्रिय भजन प्रतियोगिता जस्ता विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना र भक्तालुहरुको लागि बिषेश प्रसादको व्यवस्था गरिनुका साथै रक्त दानको पनि कार्यक्रम पनि गरिने छअर्कोतर्फ एक करोड पार्थिव शिव लिङग निर्माण गरि एक करोड बेलपत्र दुरा शिव पुजन गरिने कार्यक्रम पनि रहेको छ ।

    त्यस्तै देश बिदेशमा रहने आम नेपालीहरुको शुख शान्ति र समृदिको कामना गर्दै बागमती किनार छेत्रमा २१ करोड दिप पनि प्रज्वलन गरिनेछ । महायज्ञमा आउने गुरुहरु, कलाकारहको अतिथिहरु आम भक्तजनहरुलाई बस्ने बिषेश व्यवस्था पाशुपती आसपासका धर्मशाला क्षेत्रमा गरिएको छ ।

  • पशुपति विकास कोषप्रति तिलगंगा क्षेत्रबासी आक्रोशित

    पशुपति विकास कोषप्रति तिलगंगा क्षेत्रबासी आक्रोशित

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा आवासीय क्षेत्रका बासिन्दाको स्थानान्तरण नगरी घरटहरा हटाउने तयारी गरेपछि स्थानीयहरु आक्रोसित भएका छन् ।

    तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घरजग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेपछि आफूहरुलाई घडेरी पनि नदिई सूचना प्रकाशित गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

    काठमाडौं महानगरपालिका–८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान १५ दिने सूचना जारी गरेको छ ।

    असार १ गते निकालेको सूचनामा दिइएको मितिभित्र ती संरचना नहटाए कानुन बमोजिम कोष आफैंले हटाई खाली गराउने जनाएको थियो ।पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।

    अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितहरूले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले १५ दिने सूचना जारी गरेको हो । कोषले सो क्षेत्रबाट कच्ची, पक्की घर, टहरा, गोठ, पर्खालसमेत भत्काई लैजान भनेको छ ।

    पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले आवासीय क्षेत्रका तीनजना र पशुपति विवकास कोषका तीनजना बसेर भोलिदेखि नै काम गर्ने बताएका छन् ।
    उनले भने, ‘पशुपति विकास कोषले तिलगंगा आवासीय क्षेत्रको घरटहराहरु अधिग्रहण गरिसकेको र मुआब्जा वितरण गरिसकेको धेरै अगाडी हो । वि.स. २०७७ सालमा यसको मुआब्जा वितरण भइसकेको र त्यो क्षेत्रको घर टहराहरु खाली गर्ने सूचना पनि प्रकाशित भइसकेको हो ।

    पुशपति क्षेत्र विकास कोषको संचालक परिषद्ले त्यहाँ रहेका घरहरुको वस्तीको सन्दर्भमा अन्यत्र जग्गाको व्यवस्थापन गरि स्थानातन्तरण गर्ने निर्णय भएपछि हामीलाई अर्को ठाउँमा जग्गा चाहियो भन्ने त्यो ठाउँका स्थानीयहरुको, घरधनीहरुको कुरा छ । त्यस समूहमा दुवै पक्ष मुआब्जा बुझिसकेका अवस्थामा तिलगंगा आवासी क्षेत्रका तीनजना र पशुपति विकास कोषका तीनजना बसेर अब यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

    तिलगंगा आवासीय क्षेत्रबाट विकृतिहरु बढिरहेको र उक्त क्षेत्रबाट नै स्थानीयहरुले आफूहरु असुरक्षित रहेको बताइरहेको समेत अधिकारीले बताए ।उनले अघि भने, ‘त्यो बस्ति मुआब्जा बुझिसकेको वस्ती हो । त्यो क्षेत्रबाट आउने पर्यटकहरुले समेत विकृतीहरु बढिरेहका छन् ।

    त्यहाँबाट बस्ती पनि हटाउने र त्यहाँका स्थानीयहरु माग समेत समाधान गर्ने भन्ने विषयमा छलफल गर्दै एउटा सहमतिमा पुग्ने भन्ने कुरा भएको छ । ६ जनाको समिति बनाएर आज साँझ नभए भोलिदेखि काम सुरु गर्नेछ । बस्ती हटाउने र स्थानान्तरण कसरी गर्ने भन्ने विषयमा काम अगाडी बढ्छ ।’

  • झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

    झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

    काठमाडौ। अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ ।बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन् ।

    मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजबंशी, संजय राजबंशी, कुञ्जि राजबंशीको घर डुवान भएपछि उनीहरु विस्थापित भएका छन् ।

    उनीहरु सोही स्थानका प्रभा राजबंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ ।

    बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए ।यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ । सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए ।

    उनले सोही स्थानमा पहिरोका कारण लाप्चेटार–सहकाले जाने सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ । उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए ।

    यसैगरी सोही स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए ।

  • कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

    कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित पानी परिरहेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

    बेलुका राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

  • वडा कार्यालयको सूचना माग्दा प्रहरी लगाएर पक्राउ

    वडा कार्यालयको सूचना माग्दा प्रहरी लगाएर पक्राउ

    काठमाडौं । संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानूनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर काठमाडौंको गोकणेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    वडा नं. ८ कार्यालयसँग सम्बन्धित सूचना माग गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति सूचनाको हकका लागि राष्ट्रिय महासंघले आपत्ति जनाएको छ । वडा कार्यालयसँग सम्बन्धित ज्येष्ठ नागरिक भ्रमण, धार्मिक तीर्थयात्रा जस्ता कार्यक्रममा भएको खर्चको विवरण, सूचनाको हकसम्बन्धी जनप्रतिनिधिले बुझेको भत्ता तथा सुविधाको विवरण र घरबहाल करका विषयमा स्थानीय पत्रकार तथा अभियन्ताहरु अस्मिता खत्री, आदर्श क्षेत्री र राजु सुनारले सूचना माग गरेका थिए । तर उनीहरुले माग गरेको सूचना दिन नमिल्ने भन्दै वडाध्यक्ष नन्दलाल श्रेष्ठले सार्वजनिकरुपमै अस्वीकार गरेका थिए ।

    सोही विषयलाई लिएर खत्री, क्षेत्री र सुनारलाई प्रहरीले पक्राउ गरेको महासंघले जनाएको छ । ‘सूचना मागकर्ता अभियन्ताहरुलाई हिरासतमा राख्नुले सूचनाको हकलाई कुण्ठित बनाउनुका साथै राज्यको सुरक्षा निकाय समेत यस्ता अनियमिततालाई प्रशय दिएको स्पष्ट दिएको देखिन्छ,’ महासंघले भनेको छ । महासंघले सो घटनाको यथाशीघ्र छानबिन गरी घटनामा संलग्न दोषी पदाधिकारीहरुमाथि यथासिघ्र कानूनी कारबाही अघि बढाउन समेत राष्ट्रिय सूचना आयोगको ध्यानाकर्षण गराएको छ ।

    ‘आम नागरिकले आफ्नो र सार्वजनिक हितको सूचना माग्न पाउने र सार्वजनिक काम काजको विषयमा थाहा पाउने अधिकार नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्बन्धी ऐन २०६४ र सोही अनुसार बनेको सूचनाको हक सम्बन्धी नियमावली २०६५ ले सुनिश्चित गरेको सर्वविदितै छ,’ महासंघका अध्यक्ष उमीद बागचन्द र महासचिव अजयकुमार साहद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको मौलिक हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने र लोकतन्त्रमा सुशासन र सुव्यवस्था कायम गरी राज्यका संयन्त्रहरुले, सार्वजनिक निकायहरुले गर्ने कामकाज, सेवा, सुविधा आदिको बारेमा सरल र पारदर्शी रुपमा आम नागरिकहरुको घरदैलोसम्मै पुगेर सूसूचित गर्नुपर्ने, स्वतःस्फूर्त रुपमा सेवा सुविधा पुयाउनुका साथै सो बारे स्पष्ट सूचना उपलब्ध गराउनुपर्ने मान्यता समेत स्पष्ट रहेको छ ।’

  • आज तुलसीको दल छर्ने एकादशी

    आज तुलसीको दल छर्ने एकादशी

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् ।

    प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

    यो पाली एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । अन्तर्राष्ट्रिय कथा वाचक पंकज कुबेर सुवेदीले भने वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न उपयुक्त दिन हुने बताएका छन् । मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागिसकेको छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिन चार महिनासम्म तुलसीको विशेष पूजा गरी तुलसीको स्याहार गर्ने प्रचलन छ । त्यसपछि दामोदरसँग तुलसीको विवाह गरिदिने गरिन्छ ।

    आज काठमाडौंको बुढानिलकष्ठ लगायतका विष्णु मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

     

  • सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

    सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

    काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

    सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) सचिव दिनेश कुमार घिमिरेले समस्याहरुलाई आपसी समझदारीमा समाधान गर्दै उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नुपर्ने बताए ।

    उनले भने, ‘यो क्षेत्रमा जति पनि समस्या आएको छ त्यो समस्या समाधान गर्नको लागि हामी अगाडि बढौं । मूल रुपमा उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नेगरी सहमति बनेको छ । समस्याहरुलाई आपसी समझदारीबाट टुङ्गाउँदै लैजाने कुरामा एकमत छौं ।’

    यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले पनि १५ दिनभित्र माग पूरा नभए देशभरबाट ट्याकंरमा इन्धन लोड बन्द गर्ने चेतावनी दिंदै त्यहाँसम्म जान नपरोस भनेर नै सहमति गरेको बताए ।

    उनले भने, ‘हाम्रो सम्पूर्ण मागहरु पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । त्यसका लागि नेपाल पेट्रोलियम ट्यांकर चालक संघलगायत सबैको तर्फबाट धन्यवाद दिन चाहन्छौ । साथै हाम्रा माग १५ दिनभित्र पूरा होस । हामी सडकमा आउन नपरोस । यदी माग पूरा भएन भने देशभर इन्धन लोड बन्द गर्नेछौ । त्यहाँसम्म जान नपरोस भन्ने इच्छा छ ।’

    टयांकर चालक संघले सात बुँदे मागलगायत सम्बन्धित क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्नेगरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) का संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।

    यस्तै, नेपाल आयल निगमले व्यवसायीहरुलाई दिंदै आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने, आजैदेखि टयांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने र विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति पनि भएको छ ।

    सहमतिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र चालक संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरेका छन् ।यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिव एवं निगम संचालक समिति, नेपाल आयल निगम लिमिटेडका अध्यक्ष दिनेश कुमार घिमिरे, निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था), ई. वीरेन्द्र गोईत, निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक पूर्णप्रसाद रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरे, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका अध्यक्ष चिजकुमार ढकाल र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनका अच्युत बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

  • ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने

    ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने

    काठमाडौं । आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ । चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो ।

    दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।

    ‘भर्खरै वार्ता सकियो । १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ । सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गछौंं,’ अध्यक्ष लामाले नेपाल न्यूज बैंकसँग भने ।

    चालकहरुले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।

    सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् ।

    श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् । अधिकांश पम्पमा इन्धन रित्तिएको छ ।

  • क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित

    क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित

    काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार माइतीघर मण्डलामा व्यवसायीहरुले सरकारविरुद्ध नारासमेत लगाए ।
    सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरु सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

    नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले कानून अनुसार तिर्नुपर्ने कर एवम दस्तुर आफूहरु तिर्न तयार रहेको भएपनि उद्योग नवीकरण गर्न सरकारले आनाकानी गरेको बताए ।

    उनले भने, ‘यो आन्दोलन कानूनी न्यायको लागि हो । सरकारले हामीलाई कानूनी अधिकारबाट बञ्चित गरेको छ । क्रसर उद्योगहरु नवीकरण भएका छैन्न, कानूनी रुपमा दर्ता भएका उद्योगहरु नवीकरण नगरिनु व्यवसायीहरुमाथि अन्याय हो । व्यवसायीहरु कानून अनुसार तिर्नुपर्ने कर एवम दस्तुरहरु तिर्न तयार छन्, कानून अनुसारको कर लिएर उद्योगहरु नवीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

    यस्तै, उनले सरकारले सम्बोधन नगरे नीजि क्षेत्र, नागरिक एवम पीडितहरु सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिए । उनले आन्दोलनबाट हुने क्षतीको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

    उनले भने, ‘मागहरुलाई सरकारले सम्बोधन नगरेर नीजि क्षेत्र, उद्योग व्यवसायी, स्वदेशी कच्चा पदार्थमा आधारित रहेर रोजगारी सिर्जना गर्नेहरु र राज्यलाई कर तिरिरहेका व्यवसायीहरुलाई सडकमा उत्रिनु सरकारका लागि दबाब पर्नेछ ।’

  • आन्दोलनरत ट्यांकर चालकहरुलाई मन्त्रालयले वार्तामा बोलायो

    आन्दोलनरत ट्यांकर चालकहरुलाई मन्त्रालयले वार्तामा बोलायो

    काठमाडौं । ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।

    सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

    जेठ ३२ गतेदेखि कालोपट्टी बाँधेर काम गरेको र सोमबारदेखि बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए ।’

    ‘निरन्तर आन्दोलनपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि बोलाएको छ । माग पुरा गर्ने प्रतिवद्धता आए आन्दोलनका कार्यक्रमहरु फिर्ता हुनसक्छन,’ अध्यक्ष लामाले भने । चालकहरुलाई आज ११ः३० का लागि मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।

    श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् ।