Category: समाज

समाज

  • हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

    हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

    काठमाडाैं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

    उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ ।

  • सन्दीपकाे समर्थनमा तारा बरालले लगाइन् क्यानकाे कार्यालयमा ताला

    सन्दीपकाे समर्थनमा तारा बरालले लगाइन् क्यानकाे कार्यालयमा ताला

    काठमाडाैं । सन्दीप लामिछानेकाे समर्थनमा आफूलाई अभियान्ता बताउने तारा बरालले क्रिकेट एसाेसियशन अफ नेपाल (क्यान)काे कार्यालयमा ताला लगाएकी छन् ।

    मंगलबार केही समर्थकसहित मूलपानीस्थित क्यानकाे कार्यालयमा पुगेकी बरालले सन्दीप लामिछाने निर्दाेस भएकाे दाबीसहित क्यानले केही सहयाेग नगरेकाे आराेप पनि लगाइन् ।

    उनले खेलाडीकाे समर्थन गर्नुकाे साटाे उल्टै सन्दीपलाई फसाइएकाे भन्दै आक्राेससमेत पाेखिन् । उनले सन्दीपलाई न्याय नदिएसम्म र क्यानकाे प्रमुखलाई जेल नहालेसम्म ताला नखाेल्ने पनि बताइन् ।

    यसअघि माइती नेपालकी संस्थापक अनुराधा कोइरालामाथि पनि यही विषयमा खनिएकी थिइन् ।

    सन्दीप लामिछानेमाथि बलात्कार मुद्दा दर्ता गर्ने पीडित भनिएकी किशाेरी माइती नेपालकाे संरक्षणमा रहेकी छन् ।

    बरालले कोइरालाको नागरिकताको आधिकारिकतामाथि पनि प्रश्न उठाएकी हुन् । उनले कोइरालाको नागरिकताको आधिकारिकता छानबिन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।

    उनले अनुराधा कोइराला भारतीय नागरिक रहेको दाबी गरेकी छन् ।

    माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रमुख कोइरालाले नेपालीसँग विवाह गरेर वंशजको नागरिकता लिएको उनको आरोप छ ।

    हेर्नुहाेस् भिडिओ :

  • ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, कुन कसुरमा कति जरिवाना ?

    ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, कुन कसुरमा कति जरिवाना ?

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो ।

    यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्ने गरेकाे थियो । तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ ।

    यी हुन् न्यूनतम १५०० रूपैयाँ हुने १६ कसूरहरू:

    १. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा

    २. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा

    ३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा

    ४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएमा

    ५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा

    ६. अवस्था ठिक नभएको सवारी चलाएमा

    ७. राति बत्ती नबाली सवारी चलाएमा

    ८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा

    ९. नम्बर प्लेट नराखी सवारी चलाएमा

    १०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा

    ११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा

    १२. लापरवाहीका साथ सवारी चलाएमा

    १३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा

    १४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा

    १५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा

    १६. हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा

    अन्य कसूर र जरिवाना:

    १००० देखि ५००० रूपैयाँसम्म जरिवाना हुने कसूर:

    १. निर्धारित भाडादर भन्दा बढी भाडा लिई सवारी चलाएमा

    १००० देखि १५०० रूपैयाँ सम्म जरिवाना हुने कसुरहरू:

    १. दर्ता नगरी सवारी चलाएमा

    २. विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा

    ३. बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा

    १००० रूपैयाँ जरिवाना हुने कसुरहरू:

    १. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको

    २. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको

    ३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको

    ४. मादक पदार्थ सेवन गरी सवारी चलाएको

    ५. सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

    ६. सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको

    ७. यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा

    ८. सार्वजनिक सवारीमा धूमपान गरेमा

    ९. खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिह्न देखिने गरी नराखी सवारी चलाएमा

    १०. यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा

    ११. लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा

    १२. गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा

    १३. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा

    १४. सवारीको अन्य भागमा मानिस राखेको

    १५. अरू सवारीलाई खतरा हुने किसिमले सवारी राखेको

    १६. प्रयोजन विपरीत सवारी चलाएको

    १७. पटके बाटो इजाजत नलिई सवारी चलाएमा

  • गलकाेट ४ मा नीलबराह मन्दिरकाे शिलान्यास, जग्गा दातालाई सम्मान

    गलकाेट ४ मा नीलबराह मन्दिरकाे शिलान्यास, जग्गा दातालाई सम्मान

    बागलुङ । गल्कोट नगरपालिका- ४ निलुवामा नीलबराह मन्दिरको शिलान्यास कार्यक्रम तथा जग्गा दातालाई सम्मान गरिएकाे छ ।

    निलुवा पर्यटक प्रवर्द्धन केन्द्र चमुवाका अध्यक्ष ओमकार सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हो ।

    मन्दिरको सिलान्यास गर्दै गण्डकी प्रदेशसभा सदस्य जितबहादुर शेरचनले धेरै सम्भावना रहेको यस ठाउँको विकासका लागि गुरु योजना बनाएर विकासकाे खाका ल्याउने बताए ।

    उनले यस ठाउँकाे विकास हुँदा सिङ्गो गलकोटमात्र नभएर बागलुङ र गण्डकी प्रदेशकै एउटा नमुना पर्यटकीय ठाउँको रुपमा विकास हुने बताए । यसका लागि उनले प्रदेश सरकारलाई निरन्तर रुपमा ध्यान केन्द्रीत गराउने विश्वाससमेत दिलाए ।

    कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले निलुवाको विकास र प्रचार-प्रसारको लागि नगरपालिकाले विगतदेखि नै धेरै काम गरेको र अबका दिनहरुमा विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

    त्यस्तै, निलुवा समाज जापानका अध्यक्ष मोहनराज शर्माले निलुवाको विकास र प्रचारका निम्ति जापानमा गठन गरिएको सामाजिक संस्था ‘निलुवा समाज जापान’ले निरन्तर रूपमा काम गरिरहेको जानकारी गराए । उनले आगामी दिनमा निर्माण हुन लागेकाे मन्दिरकालागि पनि संस्थाले आवश्यक आर्थिक सहयोग गर्ने जानकारी गराए ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

  • बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि जुटे माडीका युवा

    बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि जुटे माडीका युवा

    चितवन । बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि समृद्धिका लागि युवा अभियान, माडीका युवाहरु एकजुट भएका छन् ।

    उनीहरुले लाेहनी ब्रदर्स कन्सट्रक्सनका ठेकेदार शंकरप्रसाद लाेहनी बाटाेकाे काम अलपत्र पारेर फरार भएकाे भन्दै सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका हुन् ।

    समृद्धिका लागि युवा अभियान, माडीका युवाहरु लाेहनीकाे तस्बिर सार्वजनिक गरी याे विषय उठान गर्न अनुराेध पनि गरेका छन् ।

    लाेहनी ब्रदर्स कन्सट्रक्सनले पतरे खाेलाकाे पुललगायत ८ किलोमिटर बाटोको काम लिएकाे थियाे । अहिले याे बाटाे धुलाम्य छ ।

    यसैगरी, उक्त युवाहरुकाे समूहले जीवनपुर बगही हुलाकी सडककाे ठेक्का पाएकाे बज्रगुरु कन्सट्रक्सन प्रालिका ठेकेदार रेवन्त बस्नेतकाे पनि खाेजी गरेका छन् ।

    युवाकाे समूहले उनीहरुकाे फाेटाेसहित ब्यानर बनाएर टाँसेकाे छ ।

  • काठमाडौंको तापक्रम निरन्तर घट्दाे, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौंको तापक्रम निरन्तर घट्दाे, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने महाशाखाले जनाएको छ ।

    मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

    आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ । तापक्रम घटेपछि काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।

  • राहदानी विभागकाे बेथितिविरुद्ध आम युवा र स्वतन्त्र नागरिक समूहकाे ध्यानाकर्षण

    राहदानी विभागकाे बेथितिविरुद्ध आम युवा र स्वतन्त्र नागरिक समूहकाे ध्यानाकर्षण

    काठमाडाैं । राहदानी विभागकाे बेथितिविरुद्ध आम युवा समूह र स्वतन्त्र नागरिक समूहकाे ध्यानाकर्षण भएकाे छ ।

    विभागमा हुने विविध बेथितिविरुद्ध समूहका सदस्यहरुले विहीबार परराष्ट्र मन्त्रालयमा गएर ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    उक्त ध्यानाकर्षण पत्रमा सीमित समयको लागिमात्र राहदानी आवेदकका लागि अनलाइन साइट खोलिने गरिएको तर आवेदकले सामान्य तरिकाले खोल्दा उक्त साइट नखोलिने, साइबर वा बिचौलियालाइ पैसा तिर्दा १ मिनेटमा नै प्रिन्ट पाउन सकिने, फर्म बुझाउन पनि सेटिङ गर्नुपर्ने लगायतका समस्या बताइएको छ ।

    यस्ताे छ ध्यानाकर्षणपत्र :

     

  • काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, छैन वर्षाकाे सम्भावना

    काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, छैन वर्षाकाे सम्भावना

    काठमाडाैं । काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ ।

    मौसमविद् गंगा नगरकोटीका अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ । कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको उनले बताइन् ।

    कुहिरो लागेर भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ ।

    त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवतरण रोकिएका छन् ।

     

  • इम्बोस्ड नम्बर प्लेटमा सरकारले असंवैधानिक र अव्यवहारिक निर्णय गर्‍यो : विश्व हिन्दू परिषद, नेपाल

    इम्बोस्ड नम्बर प्लेटमा सरकारले असंवैधानिक र अव्यवहारिक निर्णय गर्‍यो : विश्व हिन्दू परिषद, नेपाल

    काठमाडाैं । इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यवहारिक निर्णयप्रति विश्व हिन्दू परिषद, नेपालले गम्भीर आपत्ति प्रकट गरेकाे छ ।

    सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान हुने भएपछि परिषद्ले एक विज्ञप्ति जारी गरेर आपत्ती प्रकट गरेकाे हाे ।

    ‘नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको ठाडो प्रहार हो’ विज्ञप्तिमा भनिएकाे छ ।

  • तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

    तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

    ‘गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने ।

    गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो ।

    गाउँपालिकाले असहाय रोगीलाई रु दश हजार प्रदान गर्दै आएकामा चालु आवदेखि रु पन्ध्र हजार आर्थिक सहायता प्रदान गर्दैआएको श्रेष्ठले जानकारी दिए । चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई रु २९ लाख ८६ हजार रकम वितरण गरिएको छ ।

    आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय बीस रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । किसानलाई उत्पादनसँग जोड्न १६ हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।