स्कटल्याण्डमा सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल, नेदरल्यान्ड्स र आयोजक स्कटल्याण्ड सहभागी रहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले आइतबार नेदरल्यान्ड्सलाई पराजित गरिसकेको छ।
नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल स्कटल्याण्डको ग्लास्गोमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।
सिरिजका लागि नेपाली टोलीमा केही परिवर्तन गरिएको छ। चोटका कारण बाहिरिएका गुल्सन झा र सोमपाल कामीको स्थानमा रुपेश सिंह, लोकेश बम र किरणकुमार ठगुन्नालाई समावेश गरिएको छ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म १३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले ५ जितेको छ भने नेदरल्यान्ड्सले ७ खेलमा विजय हात पारेको छ। एक खेल निष्कर्षविहीन भएको थियो।
दुवै टोलीबीचको पछिल्लो भेट २०२४ को टी–२० विश्वकपमा अमेरिकाको डलासमा भएको थियो, जहाँ नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।
नेपालले यो सिरिजलाई २०२६ मा हुने टी–२० विश्वकपको छनोटको तयारीका रूपमा लिएको छ। यसअघिनै एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटको तयारी थालिएको छ।
यसै तयारीअन्तर्गत नेपालले चैत महिनामा हङकङमा भएको चारदेशीय टी–२० सिरिजमा भाग लिएको थियो। आगामी जुलाईमा टोली श्रीलंका भ्रमणमा निस्कने कार्यक्रम सार्वजनिक भइसकेको छ, जसअन्तर्गत वर्षा मौसमको कारण नेपालले श्रीलंकामा प्रशिक्षण गर्नेछ।
श्रीलंकापछि नेपाली टोली अस्ट्रेलिया जानेछ। त्यहाँ नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यास खेलाडी सम्मिलित टिमहरूसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बर महिनामा नेपालले युएई भ्रमण गर्नेछ, जहाँ वेस्ट इन्डिजको टेस्ट टोलीसँग तीन टी–२० खेल खेल्ने तालिका छ।
यस्तै, अक्टोबरमा नेपालले ओमानमा हुने एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट प्रतियोगितामा भाग लिनेछ। प्रतियोगितामा नेपाल, ओमान, जापान, मलेसिया, पपुवा न्यूगिनी, कुवेत, कतार, समाओ र युएई गरी नौ टोली प्रतिस्पर्धा गर्नेछन्।
यीमध्ये उत्कृष्ट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
विश्वकप २०२६ का लागि भारत, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी १२ टोली सिधै छनोट भइसकेका छन्।
बाँकी आठ टोली भने क्षेत्रीय छनोटबाट छनोट हुनेछन्। एसिया–ईस्ट एसिया प्यासिफिकबाट ३, युरोप र अफ्रिकाबाट २–२, र अमेरिकन क्षेत्रबाट १ टोली विश्वकपमा पुग्नेछन्।