Category: प्रविधि

प्रविधि

  • टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

    टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

    चीन । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

    फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन् ।

    फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ।

    सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।

  • विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

    विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

    काठमाडौं । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश दिएकाे हाे ।

    यसअघि सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

  • चुनावी प्रचार : अहिलेसम्म फेसबुकमा ६७ हजार डलरको विज्ञापन

    चुनावी प्रचार : अहिलेसम्म फेसबुकमा ६७ हजार डलरको विज्ञापन

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपुर देखिन्छ ।

    फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन् । सञ्जालमा चलिरहेका चुनाव केन्द्रित गतिविधि केलाउँदा आर्थिक पाटोसम्म पुग्छ ।

    राज्य संयन्त्र एवं नियामकको कमजोरीदेखि विधायकी भूमिकामा जान प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले मौजुदा कानून र वित्तीय अनुशासनमा ध्यान नदिएको देखिन्छ ।

    सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ तारिक (सोमबार दिउँसो १२ बजेरसम्ममा) पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ । यो सङ्ख्या निर्वाचन र राजनीतिक क्षेत्रसँग जोडिएका विषयबारे मात्रै गरिएको सशुल्क विज्ञापनको हो । आज दिउँसोसम्ममा कूल ६७ हजार ३६ अमेरिकी डलर बराबर खर्च भइसकेको मेटाको विवरणमा देखिन्छ ।

    व्यावसायिक, शैक्षिकलगायत प्रयोजनका लागि गरिएका फेसबुक विज्ञापन यसमा समावेश छैनन् । चुनावी मैदानमा रहेका उम्मेदवारहरूले आफ्ना लागि मत माग्नेदेखि प्रतिस्पर्धीलाई आलोचना गर्नेसम्मका सामग्रीहरू फेसबुकमा ‘बुस्ट’ गरिरहेका छन् । जसकारण न्युजफिडमा ‘स्पोन्सर्ड पोस्ट’ अर्थात् पैसा तिरेर विज्ञापन गरिएका चुनावी सामग्री बग्रेल्ती भेटिन्छन् । त्यसरी विज्ञापन गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ ।

    केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चिति घटेका कारण अर्थतन्त्रका अरू सूचक खल्बलिएको बताइरहेको छ । यस्तो बेला डलर तिरेर भोट माग्दा विदेशी मुद्रा सञ्चिति घट्छ र भुक्तानी सन्तुलनमा थप चाप पर्छ । धेरैजसो राजनीतिक दल र उम्मेदवारहरूले विदेशी मुद्रा सञ्चिति बढाउने योजना आफ्ना घोषणापत्रमा समेत राखेका छन् । तर विदेशी मुद्रा सञ्चिति भने उनीहरूकै कारण घटिरहेको छ ।

    यी गतिविधिबाट मुद्रा सञ्चिति घट्ने र भुक्तानी सन्तुलन बिग्रने मात्र नभई कानुनको समेत उल्लङ्घन भएको छ । के सामाजिक सञ्जालमा पैसा तिरेर (पेड) भइरहेका सबै चुनावी विज्ञापन वैध र विद्यमान कानुनको दायरा भित्र छन् ? नेपाल राष्ट्र बैंक भन्छ, ‘सामाजिक सञ्जालमा भइरहेका चुनावी विज्ञापनको कारोबार माथि शङ्का गर्ने ठाउँ छ ।’ नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलकाअनुसार नेपालभित्र बसोबास गरिरहेका व्यक्तिले वार्षिक पाँच सय डलर बराबर खर्च गर्न सक्ने गरी डलर कार्ड सुविधा दिइएको छ । ‘नेपालबाट खर्च गर्न पाउने भनेको वार्षिक पाँच सय डलरसम्म हो । तर कसैले वार्षिक पाँच हजार डलर कमाएको छ भने त्यस्तो अवस्थामा क्रेडिट कार्डबाट थप खर्च गर्ने सुविधा पाउन सकिन्छ’, पौडेलले भने ।

    तर उम्मेदवारहरूले फेसबुक विज्ञापन गर्न एक जनाले तीन हजार एक सय अमेरिकी डलरसम्म खर्चेका छन् । अर्थात् डलर कार्डमार्फत् खर्च गर्न पाउने सीमाभन्दा बढी कसरी खर्च भइरहेको छ । डलर कार्ड नहुनेले विदेशमा बस्ने आफन्त, साथीभाइहरूमार्फत भुक्तानी गर्न लगाउने गरेको र विदेशमा बस्नेले पनि निश्चित प्रतिशत शुल्क लिएर यस्तो रकमको भुक्तानीमा सहयोग गर्ने गरेको सरकारी निकायकै अध्ययनबाट देखिन्छ ।

    मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको अनलाइन व्यवसायमा करारोपणसम्बन्धी अध्ययन प्रतिवेदन, २०७९ मा भनिएको छ, ‘सामाजिक सञ्जालमा गरिने विज्ञापन सेवा खरिद गर्न विदेशबाटै रकम भुक्तानी गर्ने र सोबाफतको रकम नेपालमा रहेका आफन्त वा साथीभाइलाई भुक्तानी गर्दै आइरहेका छन् ।’

    निर्वाचन प्रचारका लागि फेसबुकमार्फत् हुने खर्चमा निगरानी राख्न निर्वाचन आयोगले मेटासँग सम्झौता गरेको छ । फेसबुक पोस्ट बुस्ट गर्न भएको खर्चको विवरण उम्मेदवारले आयोगलाई बुझाउनुपर्छ । राष्ट्र बैंकको नियमअनुसार डलर कार्डबाट भुक्तानी गर्न पाइने पाँच सय डलरको अधिकतम सीमा उल्लङ्घन भएको र विदेशबाट भुक्तानी गर्न लगाएर नेपालमा त्यसको खर्च विवरण बुझाएको दुवै अवस्थामा यो नेपालको मौजुदा कानून विपरित हुन जान्छ ।

    अर्को नीतिगत प्रश्न

    नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललाई करको दायरामा आउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएको छ । राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा बृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ अनुसार पछिल्ला वर्षमा सामाजिक सञ्जालमा विज्ञापन गर्नेक्रम निकै बढेको छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा कानुनी रुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालहरूले वार्षिक अर्बौँ रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन् ।’

    सामाजिक सञ्जालहरूले नेपालबाट ठूलो रकम लगिरहेको र त्यसलाई करको दायरमा ल्याउनुपर्ने राजस्व परामर्श समितिको सुझावपछि सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा नेपाल बाहिरबाट विद्युतीय सञ्जालको प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्चालन हुनेक्रम बढ्दै गएको सन्दर्भमा त्यस्ता व्यवसाय वा कारोबारलाई करको दायरामा ल्याउने उल्लेख गरेको छ ।

    त्यस्तै, आर्थिक ऐन, २०७९ मार्फत् विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी पहिलोपटक व्यवस्था गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य बताउँछन् । ‘नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवामा कारोबार रकमको दुई प्रतिशतका दरले डिएसटी (डिजिटल सर्भिस ट्याक्स) र १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) लाग्छ’, महानिर्देशक शाक्यले भने, ‘केही कम्पनीहरूले निवेदन दिएर दर्ताको पक्रियामा छन् भने केहीले दर्ताका लागि चासो देखाइरहेका छन् । उनीहरू दर्ता भएर आइसकेपछि कारोबारमा कर लगाउने हो ।’ नेपालमा सेवा दिइरहेका सामाजिक सञ्जाल तथा इन्टरनेटमा आधारित कम्पनी दर्ताका लागि विभागले डिजिटल पोर्टल खोलेको पनि महानिर्देशक शाक्यको भनाइ छ ।

    राजस्व परामर्श समितिको प्रतिवेनदले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा फेसबुकका नेपालमा एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ । त्यस्तै बजारसम्बन्धी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति विज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको उल्लेख छ । सो आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो । यस प्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक रु ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको प्रतिवेदनमा जनाइएको छ ।

    कुन उम्मेदवारले कति खर्च गरेका छन् ?

    सामाजिक सञ्जालमा निश्चित भौगोलिक क्षेत्र, लैंगिक तथा उमेर समूहलगायत लक्षित वर्ग सम्ममा मात्रै सूचना पुग्ने गरी विज्ञापन गरिन्छन् । त्यस्तै खर्च गरिने रकमका आधारमा ‘बुस्ट’ गरिएका ‘पोस्ट’को पहुँच निर्धारण हुन्छ । उम्मेदवारहरूले आफ्ना क्षेत्रकेन्द्रित विज्ञापन गरिरहेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङले पछिल्लो ३० दिन अवधिमा सबैभन्दा बढी तीन हजार एक सय २५ डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ ।

    काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभातर्फका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको फेसबुक पोस्ट बुस्ट गर्नका लागि दुई हजार दुई सय ३८ डलर खर्च भइसकेको छ । नेकपा (एमाले)का तर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर खर्च गरेका छन् ।

    त्यस्तै, डा. सुरेस बस्नेतको फेसबुक अकाउन्ट बुस्ट गर्नका लागि एक हजार आठ सय डलर खर्च भइसकेको देखिन्छ । बस्नेत भोजपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । ‘विकास पुरुष इस्तियाक राइलाई फेरि जिताऔँ, नेपालगञ्जलाई समृद्ध बनाऔँ’ नामको फेसबुक पेजका पोस्ट बुस्ट गर्न एक हजार दुई सय ६८ डलर खर्च भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीको फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न नौ सय ३७ डलर खर्च भइसकेको मेटाको तथ्याङ्कबाट देखिन्छ । काठमाडौँ क्षेत्र नं ५ (२) बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेको फेसबुक पोस्टबाट भएको विज्ञापनका लागि नौ सय चार डलर खर्च भएको छ ।

    फेसबुक पोस्ट बुस्ट गर्नकै लागि भएको खर्चमा त्यस्तै सोमप्रसाद पाण्डे नामको अकाउन्टमा आठ सय ४२ डलर, प्रदीप पौडेल नामको पेजमा सात सय १७ डलर, अनुप बोहराको फेसबुक पोस्टमा छ सय ७८ डलर, रन्जु दर्शना नामको पेजका लागि छ सय ६६ डलर र उपेन्द्र यादव नामको पेजमा छ सय ५२ डलर खर्च भएको छ । ह्वाइ नेपाली कांग्रेस नामको पेजमा पाँच सय ३५ डलर र रवीन्द्र मिश्रको नाममा पाँच सय ३५ डलर खर्च भएको छ ।

    त्यस्तै, ‘नो, नट अगेन’ अभियानका कुरा पनि फेसबुकमा बुस्ट भएका छन् । सामाजिक सञ्जालमा नो नट अगेट अभियान चलाउने व्यक्तिहरू पहिचान गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचारसमेत गरेको थियो । तर त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्योन र उक्त अभियानलाई कारबाही नगर्न आदेश दिएको छ ।

    छिमेकी मुलुक भारतमा अनलाइनबाट विज्ञापन गर्दा अठार प्रतिशत जीएसटी र दुई प्रतिशत टीडीएस लाग्दै आएको छ । बङ्गलादेशमा गुगल फेसबुकजस्ता संस्थाहरू दर्ता भई १५ प्रतिशतले मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् । बङ्गलादेशमा दर्ता नभई सञ्चालनमा रहेका अनलाइन विज्ञापन बापतको रकम भुक्तानी गर्दा पन्ध्र प्रतिशत भ्याट लाग्ने गरेको छ भने गैर बासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा पन्ध्र थप प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सकेमात्र पनि नौ अर्बभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ । यो कुल रकममध्ये एकदमै न्यून रकम मात्र करबापत यहाँ भुक्तानी भएको देखिन्छ । रासस

  • विश्वकप हेर्दा ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

    विश्वकप हेर्दा ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

    काठमाडौं । सर्वोच्च अदालतले आसन्न विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

    मिडिया हबले विश्वकप फुटबल–२०२२ को प्रसारण अधिकार पाएको भन्दै त्यो हेर्न प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय गरेको थियो ।

    त्यसविरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

    सर्वोच्चले पैसा उठाउने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिएर थप छलफलका लागि यही कात्तिक २७ गते दुवै पक्षलाई बोलाएको छ ।

  • ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ८ डलर मासिक शुल्क

    ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ८ डलर मासिक शुल्क

    काठमाडाैं । ट्वीटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू-टिक’ प्रमाणीकरणका लागि ७.९९ डलर मासिक शुल्क लिन सुरु गरेको छ । कम्पनीलाई संसारकै धनी व्यक्ति इलोन मस्कले अधिग्रहण गरेपछि महत्त्वपूर्ण परिवर्तनको रुपमा यो सेवा सुरु भएको हो ।

    शनिवार ट्वीटरले एप्पल आईओएसको अपडेटमा प्रिमियम ‘ट्वीटर ब्लू’ सेवामा ‘साइन अप’ गर्ने कुनै पनि प्रयोगकर्ताहरूले ‘ब्लू-टिक’ पाउने बताएको छ ।

    हाल बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध यो अपडेटमा भनिएको छ : यो सेवामार्फत ‘तपाईंहरुले सेलिब्रेटीहरू, कम्पनीहरू र राजनीतिज्ञहरूले जस्तै ब्लू-टिक प्राप्त गर्नुहुनेछ।’

    मस्कले प्लेटफर्मको ४४ बिलियन डलर टेकओभर पूरा गरेपछि ट्वीटरको आम्दानी स्रोतहरूमा विविधीकरण ल्याउने र कम्पनीको लागत घटाउने लक्ष्य राखेका छन् ।

    कम्पनीले शुक्रबारदेखि व्यापक रुपमा विश्वभरका कर्मचारी कटौती समेत सुरु गरिसकेको छ । कम्पनीका विश्वभर रहेका ७ हजार ७ सयभन्दा बढी कर्मचारीमध्ये आधा हटाउने बताइएकाे छ ।

  • जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा ?

    जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ ।

    उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य छ ।

    सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एकदशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने पाटोमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकाङ्क्षी लक्ष्यका कार्ययोजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ ।

    यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महत्वपूर्ण प्रगति गर्ने, सन्तुलितरूपमा ठोस नतिजा प्राप्त गर्न भएका सम्झौतालाई सुधार र सहजीकरण गर्ने, हानि नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानि तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा रहेको वन तथा वतावरण मन्त्रालयले जनाएको छ ।

    नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ । अवधारणा पत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडिसी, इटिएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिए ।

    यसैगरी नेपालले विश्वव्यापी प्रगति समीक्षा, हानि तथा नोक्सानी (वित्त, सान्टियागो सञ्जाल), जलवायु वित्त (नयाँ संयुक्त वित्त लक्ष, वित्तको पूर्णता), लैङ्गिक, युवा, स्थानीय समुदाय, जनजाति र आदिवासी र प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि विषय प्राथमिकताकासाथ उठाउने उनले बताए ।

    नेपालले उठाउने विषय

    कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ । विश्वका उस्तै समस्या भएका पर्वतीय मुलुकसँग सहकार्य रणनीति बनाउन नेपालले गत सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी सो विषयमा विशेष घोषणापत्र जारी गरेको थियो ।

    यसैगरी विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो महत्वाकाङ्क्षी एनडिसिज र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन अनुरोध गरिनेछ । साथै यसको पालनामा कोपको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्ने सहसचिव पौडेलले बताए ।

    नेपालले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह सार्वजनिक माध्यमद्वारा अनुदानस्वरूप प्रदान गर्ने र शार्म एल–शेख कार्य योजना तयार हुनुपर्ने विषय पनि नेपालको प्राथमिकतामा छ । नेपालले आफूजस्तै अति कम विकसित देश, साना टापु र विकासशील राज्यको हरित जलवायु कोष र अन्य कोषका लागि आवेदन प्रक्रियाको सरलीकरण गर्न, क्षमता अवरोध हटाउन र जलवायु कोषमा प्रत्यक्ष पहुँच सुधार गर्न सशक्तरूपमा बहस तथा पैरवी गर्नेछ ।

    कृषि क्षेत्रमा कोरोनोभिया संयुक्त कार्यक्रमको रूपमा उल्लेख्य प्रगति हुनुपर्ने विषय पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यस वर्ष जर्मनीको वोन बैठकमा कोरोनोभिया कार्यक्रम अनुकूलनलाई बढी महत्व दिने विषयमा केही सहमति भएको थियो । नेपालले यो कार्यक्रमको कार्यान्वयन, वित्त र प्रविधि हस्तान्तरणमा जोड दिने र यसको नेतृत्व नेपाललगायत कृषि प्रधान देशले लिने गरी तयारी गरिएको छ ।

    सम्मेलनमा नेपालले पेरिस नियम पुस्तिकालाई कार्यान्वयनमा ल्याउन र कोप–२६ मा स्थापित न्यूनीकरण महत्वाकाङ्क्षा र कार्यान्वयन योजनाअन्तर्गत विकसित देशहरूलाई जलवायु महत्वाकांक्षामा नेतृत्व गर्न आग्रह गर्नेछ ।

    यसैगरी कार्बन व्यापारसम्बन्धी दफा ६ अनुसार बजार र गैर–बजार संयन्त्रको बारेमा कार्यान्वयनमा थप प्रष्टताका लागि नेपालले अल्पविकसित राष्ट्रहरूको समूह र जि ७७ र चिनीयाँ समूहसँग सामिप्यमा रही पैरवी गर्ने वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्य डा विमलराज रेग्मीले जानकारी दिए ।

    नेपालले कोप २७ मा विकसित राष्ट्रहरूले सामूहिक रूपमा दीर्घकालीन जलवायु वित्तको लक्ष्यअनुसार सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष १०० विलियन अमेरिकी डलर प्रदान गर्ने विषय उठाउने उहाँले बताउनुभयो । जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवद्र्र्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पैरवी गर्नेछ ।

    हानि तथा नोक्सानीको छुट्टै एजेण्डा

    कोप–२७ मा हानि नोक्सानी सम्बन्धी मुद्दालाई औपचारिक एजेन्डा बनाउन पहल गरिनेछ । अल्पविकसित राष्ट्रहरूको समूह, जि ७७ र चिनीयाँको समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने छन् । नेपाललगायत अल्पविकसित राष्ट्रहरु र जि ७७ र चिनीयाँकोे समूहले हानि तथा नोक्सानी वित्तमा थप सहयोग गर्नुपर्ने र यसको यथेष्ट प्रमाण भएको कुरालाई प्रस्तुत गर्नेछ ।

    नेपालले सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले बताए ।

    यसबाहेक विश्वव्यापी प्रगति समिक्षाका लागी विवरण सङ्कलन, न्यूनीकरण, अनुकूलन, हानि–नोक्सानी र कार्यान्वयनको संरचना र सहयोगसम्बन्धी प्रगति मापन गर्नु महत्वपूर्ण भएको र यसले पक्ष राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षा र सहयोग तथा सहकार्य अगाडि बढाउन मद्दत पु¥याउने सचिव कँडेलले बताए ।

    आदिवासी, महिला, युवा, बालबालिका, तथा जलवायुजन्य जोखिममा रहेका समुदायको अधिकार र उनीहरूको चासो सम्बोधन गर्ने विषय पनि नेपालको एजेण्डा रहेको छ । यसका लागि नेपालले लैङ्गिक कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक वित्त हस्तान्तरण, प्रविधि हस्तान्तरण र लैङ्गिक सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धिमा हासिल भएका प्रगतिबारे छलफल गर्ने र स्थानीय र आदिवासीको भूमिकाबारे प्रष्ट रणनीति हुनुपर्ने विषय उठान गरिनेछ ।

    नेपाललाई अनुकूलन र न्यूनीकरणका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रविधि सहज हस्तान्तरण र अतिकम विकसित राष्ट्रहरुमा विद्यमान क्षमताको कमी परिपूर्ति गर्नुपर्ने विषय नेपालको प्राथमिकतामा रहेको छ ।

    कोप–२७ मा नेपालको सहभागिता

    नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरुको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । नोभेम्बर ९ देखि १८ तारिखसम्म हुने कोप–२७ का औपचारिक र अनौपचारिक बैठकमा वन सचिव, सहसचिव र सरकारी प्रतिनिधिले सहभागिता जनाउनुहुनेछ ।

    त्यस्तै नोभेम्बर ६ देखि १८ तारिखसम्म हुने अन्य बैठकमा सचिव, सह–सचिव र सरकारी र अन्य प्रतिनिधिले साइड इभेन्टहरुमा नेपालको प्रस्तुति गर्नसहभागिता जनाउने मन्त्रालयले जनाएको छ । रासस

  • कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

    कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

    काठमाडाैं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

    बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।

    बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

    चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

    यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

  • डिजिटल भुक्तानीमा अभ्यस्त बन्दै नेपाली : कारोबार बढ्न थाल्योे

    डिजिटल भुक्तानीमा अभ्यस्त बन्दै नेपाली : कारोबार बढ्न थाल्योे

    काठमाडाैं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ ।

    पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो ।

    प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आवको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी रु ४९ खर्ब बढीको कारोबार भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै रु दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाखभन्दा बढी रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ । कनेक्ट आइपिएसको माध्यमबाट अघिल्लो आवको भदौ महिनामा रु दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाखको कारोबार भएको थियो ।

    त्यस्तै, चालु आवको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी रु एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख बराबरको कारोबार भएको देखिन्छ । सो माध्यमको प्रयोग गरी अघिल्लो आवको भदौमा रु ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी रु १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा रु १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो ।

    पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ । गत आवको भदौ महीनाको तुलनामा चालु आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ । बैंकका अनुसार गत आवको भदौमा रु पाँच अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालु आवको भदौ मसान्तसम्ममा रु १५ अर्ब दुई करोड ८० लाख बराबरको भुक्तानी भएको छ ।

    त्यस्तै, भदौमा इन्टरनेट बैंकिङमार्फत रु १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । गत भदौमा यसको प्रयोग गरी रु १३ अर्ब ५० करोड चार लाखभन्दा बढीको कारोबार भएको थियो । यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालु आवको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने रु एक अर्ब ३१ करोडले कमी आएको छ ।यसैगरी गत आवको भदौमा एटिएमको प्रयोगबाट रु ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालु आवको भदौमा कारोबार वृद्धि भई रु ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ ।

  • ‘माई पे’को ‘रिफर एन्ड अर्न’ अफर, २० रुपैयाँ बोनस पाइने

    ‘माई पे’को ‘रिफर एन्ड अर्न’ अफर, २० रुपैयाँ बोनस पाइने

    काठमाडौं । माई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ ।

    यस अफरअन्तर्गत माइ पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी–भाइमाझ सेयर गर्नुपर्ने जनाएको छ ।

    प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि २० रुपैयाँ आफ्नो माई पे वालेटमा प्राप्त गर्नेछन् ।

    यस अफरको उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई माई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेकाे माई पेले बताएको छ ।

  • अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

    अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

    काठमाडाैं । सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

    केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने बताएको हो ।

    ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ गृह मन्त्रालयले भनेको छ ।

    अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ । दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।