Category: प्रविधि

प्रविधि

  • जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

    जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

    जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए ।

    आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए । निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने उनले जानकारी दिए ।

    लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् । स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गरे । रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उनको विश्वास छ । उनले भने, ‘हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ ।’

    रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए । कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए । कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए ।

    रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए । उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।’

    डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो ।

    भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

    कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।

    रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी थिइन् । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

    जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।

    विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।

    जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ । रासस

  • भारतीय राजदूतावासले मनायाे ५७ औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य दिवस

    भारतीय राजदूतावासले मनायाे ५७ औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य दिवस

    काठमाडाैं । भारतीय राजदूतावासले मंगलबार काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएकाे छ ।

    उक्त दिवसमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गरी भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

    कार्यक्रम शिक्षा मन्त्री देवेन्द्र पौडेलकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा रहेका थिए ।

    राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई उनीहरुले राष्ट्रप्रति गरेकाे उल्लेखनीय सेवा र उनीहरुले प्राप्त गरेकाे उपलब्धिको कदरसहित सम्मान गरेका थिए ।

    राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।

    त्यस्तै, विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।

    कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री देवेन्द्र पौडेलले प्रशंशा गरेका थिए ।

  • विश्व व्यापार संगठनमा चीनविरुद्ध ईयूकाे मुद्दा

    विश्व व्यापार संगठनमा चीनविरुद्ध ईयूकाे मुद्दा

    एजेन्सी । युरोपेली संघले चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ ।

    ईयूले चिनियाँ अदालतहरुले युरोपेली कम्पनीहरुलाई उनीहरुको दूरसञ्चार प्रविधिको पेटेन्ट रक्षा गर्न रोकिरहेको भन्दै चीनविरुद्ध मुद्दा हालेका समाचार संस्था राेयटर्सले समाचार प्रकाशित गरेकाे छ ।

    ईयूको तर्फबाट युरोपेली आयोगले दायर गरेकाे मुद्दमा युरोपेली कम्पनीहरुलाई विदेशी अदालतमा जान पनि नदिइएको उल्लेख छ ।

    युरोपेली आयोगले संयुक्त राज्य अमेरिका र जापानसँग पनि यसबारे परामर्श गरेको छ । यी दुवैले पनि यही समस्या भोगिरहेको बताइएको छ ।

  • वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

    वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन् ।

    मन्त्री आलेले भने, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ ।”

    भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गरे ।

    यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भने, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।” यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उनको भनाइ थियो ।

  • भैरहवा विमानस्थलमा जेठ देखि व्यवसायीक उडान सुरु

    भैरहवा विमानस्थलमा जेठ देखि व्यवसायीक उडान सुरु

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेष्ठदेखि व्यवसायीक उडान सुरु गर्ने तयारी गरेको छ ।

    बिहबिार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । अन्तराष्ट्रिय व्यवसायीक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए ।

    अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले केहि बर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए । महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसंगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे । उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।

     

  • सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

    सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।

    सिइओ क्लब अफ ग्लोबलले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गरेका हुन ।

    दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब ग्लोबलले हालसम्म १०० भन्दाबढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको नेपाल शाखाका अध्यक्ष पोखरेलले बताए ।

    निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्था, कूटनीतिक नियोगका प्रमुख, सरकारी क्षेत्रका उच्च ओहोदाका व्यक्ति सदस्य रहने उक्त क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् ।

  • सिन्धुपाल्चोकमा सुरु भयाे ई–पासपोर्ट वितरण

    सिन्धुपाल्चोकमा सुरु भयाे ई–पासपोर्ट वितरण

    सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ ।

    आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  • दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

    दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

    दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजीविरुद्ध मुद्दा हालेको छ । हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेका कारण जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्नका लागि अदालतमा आग्रह गरेकाे छ ।

    दक्षिण अफ्रिकाको श्रम विभागले शुक्रबार कम्पनीले ४० प्रतिशतको सीमा तोकेको रोजगार इक्विटी नियमहरू उल्लङ्घन गर्दै करिब ९० प्रतिशत कर्मचारी विदेशी नागरिक भर्ती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

    विभागले कथित नियम उल्लङ्घनका लागि १ दशमलव ५ मिलियन जार जरिवाना र स्थानीय फर्मको वार्षिक २०२० मा गरिएको कारोबारको २ प्रतिशत जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

    श्रम विभागका अधिवक्ता फिकिस्वा मनकान्का बेडेले अदालतलाई उनीहरूले यथास्थितिको समाधान गर्ने रोजगार इक्विटी योजना लागू गर्नुपर्दछ भन्ने आदेश दिनको लागि अनुरोध गरिरहेको जानकारी दिए ।

    एउटा संक्षिप्त बयानमा, हुवावे दक्षिण अफ्रिकाले इक्विटी योजनामा विभागसँग थप संलग्नता जारी राख्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ । स्थानीय कानून र नियमहरूको पालना गर्न प्रतिबद्ध रहेको समेत जनाइएकाे छ ।

    विभागले हुवावेलाई ६० प्रतिशत दक्षिण अफ्रिकी र ४० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिने अध्यागमन नियमावलीको प्रावधान अनुसार अनुमति दिइएको बताएको छ । तर, उक्त सहमतिविपरीत हुवावेले विदेशी कामदारको संख्या निकै धेरै बढाएको हो । दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक जाइन्ट हुवावेविरुद्ध कानूनी चुनौती दिएको यो पहिलो पटक हो ।

  • ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    काठमाडाैं । देशको सुरक्षामा खतरा निम्त्याएका कारण भारतले ५४ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले अब छिटै ती एपमा प्रतिबन्ध लगाउने सरकारी स्रोत उदृत गरी भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

    स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एपहरु हुन् ।

    देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भनी गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिकटक, वीच्याट र हेलोलगायतका एपमा प्रतिबन्ध लगाएको थियो ।

    सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब तीन सय एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

  • भ्यालेन्टाइनमा टेलिकमको अफर, यसरी लिनुहाेस् अनलिमिटेड ‘भ्वाइस र डाटा’

    भ्यालेन्टाइनमा टेलिकमको अफर, यसरी लिनुहाेस् अनलिमिटेड ‘भ्वाइस र डाटा’

    काठमाडाैं । नेपाल टेलिकमले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ ।

    यो अफर आइतबार र सोमबारका लागि मात्रै उपलब्ध हुने टेलिकमले जनाएको छ । याे अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफ’ उपलब्ध हुनेछ ।

    यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

    यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

    साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।