दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजीविरुद्ध मुद्दा हालेको छ । हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेका कारण जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्नका लागि अदालतमा आग्रह गरेकाे छ ।

दक्षिण अफ्रिकाको श्रम विभागले शुक्रबार कम्पनीले ४० प्रतिशतको सीमा तोकेको रोजगार इक्विटी नियमहरू उल्लङ्घन गर्दै करिब ९० प्रतिशत कर्मचारी विदेशी नागरिक भर्ती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले कथित नियम उल्लङ्घनका लागि १ दशमलव ५ मिलियन जार जरिवाना र स्थानीय फर्मको वार्षिक २०२० मा गरिएको कारोबारको २ प्रतिशत जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

श्रम विभागका अधिवक्ता फिकिस्वा मनकान्का बेडेले अदालतलाई उनीहरूले यथास्थितिको समाधान गर्ने रोजगार इक्विटी योजना लागू गर्नुपर्दछ भन्ने आदेश दिनको लागि अनुरोध गरिरहेको जानकारी दिए ।

एउटा संक्षिप्त बयानमा, हुवावे दक्षिण अफ्रिकाले इक्विटी योजनामा विभागसँग थप संलग्नता जारी राख्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ । स्थानीय कानून र नियमहरूको पालना गर्न प्रतिबद्ध रहेको समेत जनाइएकाे छ ।

विभागले हुवावेलाई ६० प्रतिशत दक्षिण अफ्रिकी र ४० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिने अध्यागमन नियमावलीको प्रावधान अनुसार अनुमति दिइएको बताएको छ । तर, उक्त सहमतिविपरीत हुवावेले विदेशी कामदारको संख्या निकै धेरै बढाएको हो । दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक जाइन्ट हुवावेविरुद्ध कानूनी चुनौती दिएको यो पहिलो पटक हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१