• २०८३ साउन २
  • 2026 July 18, Saturday

सुनिल थापालाई फेरि सुदूरपश्चिम रोयल्सको टिम म्यानेजरको जिम्मेवारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आफ्नो व्यवस्थापन टोली सार्वजनिक गरेको छ। टोलीले दोस्रो संस्करणका लागि पनि युवा खेल प्रशासक सुनिल थापालाई टोली व्यवस्थापक (टिम म्यानेजर)को जिम्मेवारी निरन्तरता दिएको हो।

२६ वर्षीय थापा विगत केही वर्षदेखि नेपाली क्रिकेटको व्यवस्थापन र विकासमा सक्रिय छन्। उनी स्वयं पनि क्रिकेट खेलाडी रहिसकेका छन् भने विभिन्न राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सफल व्यवस्थापन गर्दै आएका छन्। उनले बीबीए कप क्रिकेटदेखि कलेज क्रिकेट लिगसम्मका प्रतियोगिता सञ्चालन गरी खेल व्यवस्थापनमा आफ्नो क्षमता प्रमाणित गरेका छन्।

क्रिकेट व्यवस्थापन क्षेत्रमा थप दक्षता हासिल गर्ने क्रममा थापाले राजस्थान रोयल्सबाट स्पोर्ट्स म्यानेजमेन्ट सम्बन्धी विशेष प्रशिक्षणसमेत पूरा गरेका छन्। उनको अनुभव, नेतृत्व क्षमता र व्यवस्थापकीय दक्षतालाई मूल्यांकन गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन पनि टोली व्यवस्थापकको जिम्मेवारी सुम्पिएको हो।

सुदूरपश्चिम रोयल्सले नयाँ सिजनका लागि व्यवस्थापन टोलीलाई अझ सशक्त बनाउने उद्देश्यका साथ अनुभवी र दक्ष व्यक्तिहरूलाई निरन्तरता दिएको जनाएको छ। टोलीले आगामी संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्र बनाएको छ।