Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १०३३ घाइते अस्पतालमा

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १०३३ घाइते अस्पतालमा

    जेनजी प्रदर्शनका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयको गराएको पछिल्लो अपडेटका अनुसार हालसम्म देशभर गरी ३० जनाको मृत्यु भएको हो ।

    आन्दोलनका क्रममा घाइते भएर १ हजार ३३ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ सय १३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    ५५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । यस क्रममा २५३ जना नयाँ भर्ना भएका छन् ।

    देशभरमध्ये सबैभन्दा धेरै घाइतेको उपचार सिभिल अस्पतालमा भइरहेको छ । सिभिल अस्पतालमा मात्रै ४३६ जनाको उपचार भइरहेको छ । यस्तै, नेसनल ट्रमा सेन्टरमा १६१, एभरेस्ट अस्पतालमा १०९ सहित देशभरका २८ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

  • सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव

    सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव

    जेनजीहरुले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा अधिकांश जेनजीहरुले कार्कीको नाम आगामी सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका हुन् ।
    जेनजीको प्रतिनिधिहरूले आफूहरूको प्रस्ताव कार्कीले स्वीकार समेत गरेको उल्लेख गरेका छन् ।सम्भवत: उनीहरुदले प्रधानसेनापति अशोकराज सिग्देलसँग कार्कीको नाम प्रस्ताव गर्ने छन् ।
    भर्चुअल बैठकमा बालेनको नाम उठे पनि उनी सम्पर्कमा नआएको जेनजीको प्रतिनिधिहरूले बताएका थिए ।
    जेनजीको प्रतिनिधिहरू र प्रधानसेनापति सिग्देल बिच आजै वार्ता गर्ने तयारी छ ।
  • प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपा पनि स्टेकहोल्डर हो भनेपछि…

    प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपा पनि स्टेकहोल्डर हो भनेपछि…

    काठमाडौं । जेन–जी आन्दोलनको तर्फबाट वार्ताका लागि सैनिक मुख्यालय पुगेकी रक्षा बमले वार्ता बहिष्कार गरेको खुलाएकी छिन्।

    उनका अनुसार प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाउँदै दुर्गा प्रसाईं र रास्वपा समूहलाई समेत वार्तामा सहभागी गराउनुपर्ने प्रस्ताव गरेपछि आफूले अस्वीकार गर्ने निर्णय लिएको बताइन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्–

    राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनेसकेपछि, जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ ।

     

  • खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ– विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।

  • कारागारबाट भागे टोपबहादुर रायमाझी पनि

    कारागारबाट भागे टोपबहादुर रायमाझी पनि

    काठमाडाैं । पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कारागारबाट भागेका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारको भद्र बन्दीगृहमा थिए। रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

    कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।

    डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण गरिरहेको छ।

  • आक्राेश पोख्दै सर्वाेच्चका अधिवक्ता भन्छन्– पुस्ताकै न्याय मर्‍यो, आस्थाको शीर ढल्यो

    आक्राेश पोख्दै सर्वाेच्चका अधिवक्ता भन्छन्– पुस्ताकै न्याय मर्‍यो, आस्थाको शीर ढल्यो

    काठमाडौं । सर्वोच्च अदालतको भवनमा मंगलबार भएको आगजनीपछि त्यहाँ रहेका महत्वपूर्ण कानुनी फाइलहरू न्याय परिषद्को भवनमा सारिने प्रक्रिया सुरु गरिएको छ ।

    जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतमा आगो लगाइएको घटनाले न्याय क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । सर्वोच्च अदालतका अधिवक्ता भरत कुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे ।

    उनले भने, ‘न्याय मर्यो, पुस्ताकै न्याय मर्यो, शताब्दिकै न्याय मर्यो । आस्थाको धरोहर ढल्यो, आस्थाको शीर ढल्यो । सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो । अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ । हाम्रो पुस्तालाई अध्यारोतर्फ धकेलिएको छ ।’

    सर्वोच्च अदालतकी अर्की अधिवक्ता मञ्जु दासीले पनि न्यायालयमा भएको विध्वंसप्रति आक्रोश व्यक्त गरिन् ।

    उनले भनिन्, ‘हामी भ्रष्टाचारबाट आक्रान्त थियौं । त्यसबाट मुक्ति चाहन्थ्यौं । तर यो मुक्ति होइन, यो त न्यायको हत्या हो । हाम्रो धरोहर र सम्पदामाथिको यो प्रहार स्वीकार्य छैन ।’

    मंगलबार जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतको पूरै भवन जलाएका थिए । तर जेनजी भनिएका आन्दोलनकारीहरुले प्रदर्शनमा घुसपैठ भएको र आगजनी भएको बताउँदै आएका छन् ।

  • गंगा दाहालको घरमा जलेको अवस्थामा एक शव फेला

    गंगा दाहालको घरमा जलेको अवस्थामा एक शव फेला

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

    प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

    जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।

  • देशका विभिन्न ठाउँका विद्युत् संरचनामा क्षति: प्राधिकरण

    देशका विभिन्न ठाउँका विद्युत् संरचनामा क्षति: प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ। बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत बताएको हो ।
    प्राधिकरणका कर्मचारीहरू विद्युत् संरचनाको मर्मत कार्यमा खटिइरहेको भन्दै कर्मचारी र अत्यावश्यक सवारी साधनहरूको आवागमनमा सहजीकरण गरिदिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।
    “यस्तो अवस्थामा विद्युत् संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत् सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौँ,” सूचनामा भनिएको छ ।
    यदि विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने नेपाल विद्युत् प्राधिकरणको हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि रूपमा बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुन्जेल विमानस्थल बन्द गरिएको जनाएको हो ।
    कार्यालयले उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर विमान अवतरण मार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै बन्द गर्नुपरेको जिकिर गरेको छ ।
    “विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन पनि अनुरोध गरिएको छ । विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र आउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
    विमानस्थल अनिश्चितकालका लागि बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु अलपत्र परेका छन् ।
  • ओलीकाे पतनपछि एमाले नेतृत्व पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको सुझाव

    ओलीकाे पतनपछि एमाले नेतृत्व पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको सुझाव

    काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् ।

    नेता भट्टराईले लेखेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ, यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’ उनले एमालेका नेता–कार्यर्ताहरूलाई सम्बोधन गर्दै आफूहरू इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । उनले देश र समाज भयानक अस्थिरतामा पुगेको टिप्पणी पनि गरेका छन् ।

    ‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ, हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन’ भट्टराईले भनेका छन् । नेता भट्टराईले पार्टी र देश निर्माणका लागि १० बुँदे प्रस्ताव पनि अघि सारेका छन् ।

    यस्ता छन् प्रस्तावहरू

    १. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ । हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।

    २. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।

    ३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।

    ४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।

    ५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।

    ६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔँ ।

    ७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।

    ८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।

    ९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।

    १०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऊँ, नेपालित्व जोगाऔँ ।