Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

    मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

    बिदाको मोडालिटीबारेमा केही बेरमा सूचना निकाल्ने मन्त्रालयले जनाएकाे छ ।

  • विद्यालय बन्दबारे ठाेस निर्णय गर्न शिक्षा मन्त्रालयमा बैठक

    विद्यालय बन्दबारे ठाेस निर्णय गर्न शिक्षा मन्त्रालयमा बैठक

    काठमाडाैं । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो । त्यसका लागि मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालय स्राेतले भनेकाे छ ‘आजको बैठकले विद्यालय बन्दबारे ठोस निर्णय गर्नसक्छ ।’

    आइतबार बसेको सीसीएमसी बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्न र माध्यमिक तहसम्मका विद्यालय माघ १५ सम्म बन्द गर्न सिफारिस गरेको थियो ।

  • देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गरिने

    देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गरिने

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने गरेकाे छ ।

    आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

    अहिले कतिपय विद्यालयहरुले जाडाे बिदा दिइरहेका छन् । यही बिदा अलि बढाउँदा हालकाे संक्रमणकाे चेन ब्रेक हुने अपेक्षासहित यस्ताे निर्णय गरिएकाे नेपालले बताएकी छन् ।

    सीसीएमसीकाे निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ ।

  • शीर्ष नेताहरुमा काेराेना त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री पनि आइसाेलेशनमा

    शीर्ष नेताहरुमा काेराेना त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री पनि आइसाेलेशनमा

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा छन् ।

    माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भइसकेकाे छ ।

  • अग्रजहरुकाे इज्जत र इञ्जिनियर साथीहरुकाे भराेसा टुट्न दिनेछैनाैँ : रविभुषण झा (भिडिओ)

    अग्रजहरुकाे इज्जत र इञ्जिनियर साथीहरुकाे भराेसा टुट्न दिनेछैनाैँ : रविभुषण झा (भिडिओ)

    नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन माघ ७ गते हुँदैछ । एशोसियशनको महासचिवमा लोकतान्त्रिक प्यानलबाट रविभुषण झाले उम्मेदवारी दिएका छन् । एसोसियसनले गर्नुपर्ने काम र अबको नेतृत्वको बाटोबारे महासचिव पदका उम्मेदवार झासँग गरिएको कुराकानीको सम्पादित अंश :

    नेपाल इञ्जिनियर्स एसोसियसनको महासचिवको उम्मेदवारी किन ?

    विगतका दिनहरुबाट अहिलेसम्म आइपुग्दा हाम्रा अग्रजहरुले इञ्जिनियर्स एसोसियसनभित्र सुधारका राम्रा कामहरु गर्दै आइरहनुभएको छ । नेपाल इञ्जिनियर्स एसोसियसनले कतिपय कुराहरु सरकारलाई दबाब दिएरमात्र लिन सकिन्छ ।
    सरकारले अहिलेसम्म इञ्जिनियरहरु भनेको एक मतदाताको रुपमामात्र हेर्ने गरेको छ । देश विकास र राष्ट्रको हितमा इञ्जिनियरको भूमिका कति महत्व छ भन्नेकुरा सरकारले त्यति रुचीकासाथ हेरेको अवस्था छैन ।

    सरकारको तर्फबाट इञ्जिनियरहरुका लागि गरिदिनुपर्ने कामहरु ढिलो भइरहेको छ । उदाहरणका लागि भनौँ, नेपाल इञ्जिनियर्स काउन्सिल अहिले भर्खरै स्थापना भएको छ । यसको लागि हामीहरुले निरन्तर रुपमा ७–८ वर्ष समय लगाउनुपर्‍यो । यसबाहेक विभिन्न ऐनका कुराहरु पनि सुस्त गतिमा अगाडि बढ्ने गरेका छन् । इञ्जिनियर स्टाफ कलेजको कुरा वर्षौँदेखि आइरहेको छ । यसमा अझ काम हुन सकेको छैन ।

    नेपालमा इञ्जिनियरिङ पढेपछि फिल्डमा काम गर्नका लागि ट्रेनिङ दिने ठाउँहरु छैन । विकसित देशहरुमा यसको प्रयोग गरिएको छ । हामीले पनि यस विषयमा कुरा उठाइरहेका छौँ । तर काम हुन सकेको छैन । हामीले गर्नुपर्ने कामहरु त हामीले गरिरहेका नै छौँ इमान्दारिताकासाथ । तर कतिपय नीतिगत कुराहरुले हाम्रो काम रोकिएको अवस्था छ ।

    दु:खका साथ भन्नुपर्दा, अहिले एसोसियसनले कोही इन्जिनियरहरुको समस्यामा अथवा कसैले इन्जिनियरमाथि बिना कसुर कारबाही गरिरहेको छ भने एसोसियसनले एक विज्ञप्तिसमेत जारी गर्न सकिरहेको छैन । हाम्रो नेतृत्वले हाम्रा लागि उपयुक्त कदम चाल्न नसकेको पनि देखिएको छ । यही परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।

    नीतिगत कुराहरुका लागि सरकारलाई दबाब दिनपर्ने कुरा तपाईँले उठाउनुभयो, तपाईँको नेतृत्वले कसरी दबाब दिन सक्छ ?

    नेपाल अहिले विकशोन्मुख चरणमा छ । अहिले यहाँको सबैभन्दा ठूलो चुनौति भनेको नै राजनीति हो । आज राजनीतिक स्थायित्व नेपालमा भएको भए हक हितका लागि आवाज उठाउन आवश्यक थिएन । विकसित देशहरुमा पनि यस किसिमका संगठनहरु हुन्छन् तर त्यहाँ हक हितका कुराभन्दा विकासका विषयमा छलफल हुन्छन् ।

    हाम्रोमा के छ भने अहिले हक हितका विषयमा पनि कुरा गर्नुपर्ने अवस्था छ । नेपालमा हरेक क्षेत्रमा राजनीतिक प्रभाव छ र हामी पनि त्यसमा संलग्न भइरहेको अवस्था छ । हामीले अब के गर्नुपर्‍यो भने हाम्रोतर्फबाट इमान्दार भएर हामीलाई चाहिने कुरा के हो ? कसले हाम्रो समस्या समाधान गर्दिने हो ? कसलाई हामीले भन्न पर्ने हो त्यहाँ हामीले आफ्नो कुरा राख्नुपर्छ । हामीले इमान्दार भएर प्रयास गरिरहने नै हो ।

    विकासको मेरुदण्ड भनेका नै इन्जिनियर हुन्, पेसागत हकहितका कुरा छाडेर नेपालमा इन्जिनियरको तर्फबाट सुधार गर्नुपर्ने र इन्जिनियरकाे वृद्धिविकासका योजनाहरु के–के छन् तपाईँहरुसँग ?

    पक्कै पनि । हामी सबै इन्जिनियर परिपक्व छौँ भन्नेचाहिँ छैन । विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने इन्जिनियरहरु छन् सबै गुणस्तरीय छन् भन्न त म भन्न सक्दिनँ । हामीले इञ्जिनियरको गुणस्तरीयता मापनका लागि काम गर्न जरुरी छ ।

    यसअघि पनि इन्जिनियरको लाइसेन्सको लागि प्रयास भएको थियो । तर ऐनमा नै यसको व्यवस्था नभएको कारण यो हुन सकेको छैन । यसको प्रक्रिया भइरहेको छ । छिटै नै यो काम हुने अपेक्षा छ । यसपछि यो गुणस्तरीयताको कुरा अलिकम हुन्छ जस्तो लाग्छ । यसबाहेक इन्जिनियरहरुका लागि ट्रेनिङ पनि अहिलेको आवश्यकता नै हो ।

    पारिश्रमिकको कुरा पनि छन् । समाजमा इन्जिनियरको इज्जत निकै राम्रो छ । तर अहिले सरकारी इन्जिनियरको कुरा गर्दा काठमाडौंलगायत अन्य ठाउँहरुमा परिवारसहित बस्ने इन्जिनियरको पारिश्रमिक कति उपयुक्त भन्ने प्रश्नहरु पनि छन् । निजीमा पनि यस्ता कुराहरु आइरहेका छन् । यसमा पनि हामीले काम गर्नुपर्ने देखिन्छ ।

    इन्जिनियरिङ महँगो विषयको रुपमा पनि लिइन्छ । नयाँ आउने विद्यार्थीहरुका लागि अबको नेतृत्वले विद्यार्थीको आर्थिक पाटोसँग जोडिएर केही त्यस्तो योजना बनाएको छ, जसले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरु पनि यो क्षेत्रमा सजिलोसँग आउन सकुन् ?

    यो एसोसियसन भनेको विशुद्ध इन्जिनियरको पेसागत हकहित र उनीहरुको अभिमुखीकरणको लागि लड्ने संस्था हो । तर पनि हामीले के भनिरहेका छौँ भने अहिले नेपालमा जतिपनि कलेजहरुमा इन्जिनियरिङ पढाइ भइरहेको छ त्यहाँसम्म नेपाल इन्जिनियरिङ एसोसियसन यस्तो संस्था हो भनेर हामीले भन्न सक्यौँ भने उनीहरुले हामीमार्फत केही सहयाेग पक्कै पनि लिन सक्छन् ।

    अन्त्यमा, निर्वाचनपूर्व इन्जिनियर साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

    सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रा अग्रजहरुले जुन इज्जत बनाइरहनु भएको छ त्यो र इन्जिनियर साथीहरुले जसरी हामीलाई भरोसा गरिरहनुभएको छ, त्यो टुट्न दिने छैनौँ । हाम्रो टिमलाई नेतृत्व गरिरहनुभएको छ, इन्जिनियर डा. हरिबहादुर दर्लामी । त्यसैगरी, उपाध्यक्षका लागि हुनुहुन्छ नारायणप्रसाद अधिकारी र महासचिवमा म आफू ।

    समूहगत हिसाबले र व्यक्तिगत हिसाबले हाम्रो इतिहास उत्कृष्ट छ । हाम्रो इतिहास हेरेर हामीमाथि विश्वास गर्नुहुन्छ भन्ने विश्वास हामीमा छ । जतिबेला इन्जिनियरहरुको लागि हाम्रो आवश्यकता छ त्यतिबेला हामी उपस्थित हुनेछौँ । हामीले अहिलेसम्म पनि काम गर्दै आइरहेका छौँ र आगामी दिनमा पनि गर्नेछौँ ।

  • बढ्न थाले काेराेना संक्रमित, एकैदिन थपिए ९६८ जना

    बढ्न थाले काेराेना संक्रमित, एकैदिन थपिए ९६८ जना

    काठमाडाैं । नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएका ८ हजार २ सय ७२ पिसिआर परिक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन ।

    नेपालमा हालसम्म ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् ।

    हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।

  • नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट, काेभिड संक्रमित ह्वात्तै बढ्ने मन्त्रालयकाे प्रक्षेपण

    नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट, काेभिड संक्रमित ह्वात्तै बढ्ने मन्त्रालयकाे प्रक्षेपण

    काठमाडौं । नेपालमा पनि ओमोक्रन भेरियन्ट तीब्र रफ्तारमा बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले १ हजार १ सय ४६ कोभिड १९ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गरे २ सय ५० वटामा एस जिन नेगेटिभ फेला पारेको र सोमध्ये २४ स्याम्पलमा जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमोक्रन भेरियन्ट पुष्टि भएको जनाएको छ ।

    पुस महिनाको र्‍यान्डम विधिबाट नमुना छनोट गरेर परीक्षण गर्दा अवस्था यस्तो देखिएको मन्त्रालयकाे विज्ञप्तिमा भनिएकाे छ ।

    मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ओमोक्रन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक विरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

  • प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

    प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

    मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो ।

    चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेकाे छ ।

  • प्रतिनिधिसभाको बैठक सर्‍यो, २८ पुसमा बस्ने

    प्रतिनिधिसभाको बैठक सर्‍यो, २८ पुसमा बस्ने

    काठमाडाैं । प्रतिनिधिसभाको बैठक पुस २८ गतेका लागि सरेको छ । यसअघि २२ पुस १ बजेका लागि तय भएको बैठक सरेकाे हो । माओवादी केन्द्रको महाधिवेशनको कारण १८ पुसमा बोलाइएको बैठक २२ पुसका लागि सारिएको थियो ।

    बैठक स्थगितसम्बन्धी संसद सचिवालयको सूचनामा भनिएको छ,’ प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • बुधबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    बुधबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।

    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना छ ।

    आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जनाएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव आठ डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस छ ।