अग्रजहरुकाे इज्जत र इञ्जिनियर साथीहरुकाे भराेसा टुट्न दिनेछैनाैँ : रविभुषण झा (भिडिओ)

नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन माघ ७ गते हुँदैछ । एशोसियशनको महासचिवमा लोकतान्त्रिक प्यानलबाट रविभुषण झाले उम्मेदवारी दिएका छन् । एसोसियसनले गर्नुपर्ने काम र अबको नेतृत्वको बाटोबारे महासचिव पदका उम्मेदवार झासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाल इञ्जिनियर्स एसोसियसनको महासचिवको उम्मेदवारी किन ?

विगतका दिनहरुबाट अहिलेसम्म आइपुग्दा हाम्रा अग्रजहरुले इञ्जिनियर्स एसोसियसनभित्र सुधारका राम्रा कामहरु गर्दै आइरहनुभएको छ । नेपाल इञ्जिनियर्स एसोसियसनले कतिपय कुराहरु सरकारलाई दबाब दिएरमात्र लिन सकिन्छ ।
सरकारले अहिलेसम्म इञ्जिनियरहरु भनेको एक मतदाताको रुपमामात्र हेर्ने गरेको छ । देश विकास र राष्ट्रको हितमा इञ्जिनियरको भूमिका कति महत्व छ भन्नेकुरा सरकारले त्यति रुचीकासाथ हेरेको अवस्था छैन ।

सरकारको तर्फबाट इञ्जिनियरहरुका लागि गरिदिनुपर्ने कामहरु ढिलो भइरहेको छ । उदाहरणका लागि भनौँ, नेपाल इञ्जिनियर्स काउन्सिल अहिले भर्खरै स्थापना भएको छ । यसको लागि हामीहरुले निरन्तर रुपमा ७–८ वर्ष समय लगाउनुपर्‍यो । यसबाहेक विभिन्न ऐनका कुराहरु पनि सुस्त गतिमा अगाडि बढ्ने गरेका छन् । इञ्जिनियर स्टाफ कलेजको कुरा वर्षौँदेखि आइरहेको छ । यसमा अझ काम हुन सकेको छैन ।

नेपालमा इञ्जिनियरिङ पढेपछि फिल्डमा काम गर्नका लागि ट्रेनिङ दिने ठाउँहरु छैन । विकसित देशहरुमा यसको प्रयोग गरिएको छ । हामीले पनि यस विषयमा कुरा उठाइरहेका छौँ । तर काम हुन सकेको छैन । हामीले गर्नुपर्ने कामहरु त हामीले गरिरहेका नै छौँ इमान्दारिताकासाथ । तर कतिपय नीतिगत कुराहरुले हाम्रो काम रोकिएको अवस्था छ ।

दु:खका साथ भन्नुपर्दा, अहिले एसोसियसनले कोही इन्जिनियरहरुको समस्यामा अथवा कसैले इन्जिनियरमाथि बिना कसुर कारबाही गरिरहेको छ भने एसोसियसनले एक विज्ञप्तिसमेत जारी गर्न सकिरहेको छैन । हाम्रो नेतृत्वले हाम्रा लागि उपयुक्त कदम चाल्न नसकेको पनि देखिएको छ । यही परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।

नीतिगत कुराहरुका लागि सरकारलाई दबाब दिनपर्ने कुरा तपाईँले उठाउनुभयो, तपाईँको नेतृत्वले कसरी दबाब दिन सक्छ ?

नेपाल अहिले विकशोन्मुख चरणमा छ । अहिले यहाँको सबैभन्दा ठूलो चुनौति भनेको नै राजनीति हो । आज राजनीतिक स्थायित्व नेपालमा भएको भए हक हितका लागि आवाज उठाउन आवश्यक थिएन । विकसित देशहरुमा पनि यस किसिमका संगठनहरु हुन्छन् तर त्यहाँ हक हितका कुराभन्दा विकासका विषयमा छलफल हुन्छन् ।

हाम्रोमा के छ भने अहिले हक हितका विषयमा पनि कुरा गर्नुपर्ने अवस्था छ । नेपालमा हरेक क्षेत्रमा राजनीतिक प्रभाव छ र हामी पनि त्यसमा संलग्न भइरहेको अवस्था छ । हामीले अब के गर्नुपर्‍यो भने हाम्रोतर्फबाट इमान्दार भएर हामीलाई चाहिने कुरा के हो ? कसले हाम्रो समस्या समाधान गर्दिने हो ? कसलाई हामीले भन्न पर्ने हो त्यहाँ हामीले आफ्नो कुरा राख्नुपर्छ । हामीले इमान्दार भएर प्रयास गरिरहने नै हो ।

विकासको मेरुदण्ड भनेका नै इन्जिनियर हुन्, पेसागत हकहितका कुरा छाडेर नेपालमा इन्जिनियरको तर्फबाट सुधार गर्नुपर्ने र इन्जिनियरकाे वृद्धिविकासका योजनाहरु के–के छन् तपाईँहरुसँग ?

पक्कै पनि । हामी सबै इन्जिनियर परिपक्व छौँ भन्नेचाहिँ छैन । विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने इन्जिनियरहरु छन् सबै गुणस्तरीय छन् भन्न त म भन्न सक्दिनँ । हामीले इञ्जिनियरको गुणस्तरीयता मापनका लागि काम गर्न जरुरी छ ।

यसअघि पनि इन्जिनियरको लाइसेन्सको लागि प्रयास भएको थियो । तर ऐनमा नै यसको व्यवस्था नभएको कारण यो हुन सकेको छैन । यसको प्रक्रिया भइरहेको छ । छिटै नै यो काम हुने अपेक्षा छ । यसपछि यो गुणस्तरीयताको कुरा अलिकम हुन्छ जस्तो लाग्छ । यसबाहेक इन्जिनियरहरुका लागि ट्रेनिङ पनि अहिलेको आवश्यकता नै हो ।

पारिश्रमिकको कुरा पनि छन् । समाजमा इन्जिनियरको इज्जत निकै राम्रो छ । तर अहिले सरकारी इन्जिनियरको कुरा गर्दा काठमाडौंलगायत अन्य ठाउँहरुमा परिवारसहित बस्ने इन्जिनियरको पारिश्रमिक कति उपयुक्त भन्ने प्रश्नहरु पनि छन् । निजीमा पनि यस्ता कुराहरु आइरहेका छन् । यसमा पनि हामीले काम गर्नुपर्ने देखिन्छ ।

इन्जिनियरिङ महँगो विषयको रुपमा पनि लिइन्छ । नयाँ आउने विद्यार्थीहरुका लागि अबको नेतृत्वले विद्यार्थीको आर्थिक पाटोसँग जोडिएर केही त्यस्तो योजना बनाएको छ, जसले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरु पनि यो क्षेत्रमा सजिलोसँग आउन सकुन् ?

यो एसोसियसन भनेको विशुद्ध इन्जिनियरको पेसागत हकहित र उनीहरुको अभिमुखीकरणको लागि लड्ने संस्था हो । तर पनि हामीले के भनिरहेका छौँ भने अहिले नेपालमा जतिपनि कलेजहरुमा इन्जिनियरिङ पढाइ भइरहेको छ त्यहाँसम्म नेपाल इन्जिनियरिङ एसोसियसन यस्तो संस्था हो भनेर हामीले भन्न सक्यौँ भने उनीहरुले हामीमार्फत केही सहयाेग पक्कै पनि लिन सक्छन् ।

अन्त्यमा, निर्वाचनपूर्व इन्जिनियर साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रा अग्रजहरुले जुन इज्जत बनाइरहनु भएको छ त्यो र इन्जिनियर साथीहरुले जसरी हामीलाई भरोसा गरिरहनुभएको छ, त्यो टुट्न दिने छैनौँ । हाम्रो टिमलाई नेतृत्व गरिरहनुभएको छ, इन्जिनियर डा. हरिबहादुर दर्लामी । त्यसैगरी, उपाध्यक्षका लागि हुनुहुन्छ नारायणप्रसाद अधिकारी र महासचिवमा म आफू ।

समूहगत हिसाबले र व्यक्तिगत हिसाबले हाम्रो इतिहास उत्कृष्ट छ । हाम्रो इतिहास हेरेर हामीमाथि विश्वास गर्नुहुन्छ भन्ने विश्वास हामीमा छ । जतिबेला इन्जिनियरहरुको लागि हाम्रो आवश्यकता छ त्यतिबेला हामी उपस्थित हुनेछौँ । हामीले अहिलेसम्म पनि काम गर्दै आइरहेका छौँ र आगामी दिनमा पनि गर्नेछौँ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१