Category: समाज

समाज

  • स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका एक पुरुषको मृत्यु

    स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका एक पुरुषको मृत्यु

    बारा । स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ। दुई महिला घाइते भएका छन्।

    पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो। निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन्। उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ। घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ।

    बिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • कालीगण्डकीको शिला अयाेध्या पठाइने

    कालीगण्डकीको शिला अयाेध्या पठाइने

    म्याग्दी । कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ ।

    बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो ।

    ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला भारत पठाउन लागिएकाे बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

    संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सैद्धान्तिक सहमति जनाएको थियो ।

    अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो ।

    संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक उदारता एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

    मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज्ने काम सुरु भएको थियो ।

  • धनुषामा भारतीय महिलाको शव फेला

    धनुषामा भारतीय महिलाको शव फेला

    जनकपुर। धनुषामा एक भारतीय महिलाको शव फेला परेको छ । जनकनन्दिनी गाउँपालिका वडा न. १ मा एक भारतीय नागरिकको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । स्थानीय मनोज यादवको खेतमा करिब ५६ वर्षीया महिलाको शव भेटिएको हो ।

    महिलाको सनाखत हुन सकेको छैन् । उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

    आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

    पाँचथर । फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् ।

    स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए ।

    आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

    आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो ।

    स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

  • आजको तरकारी तथा फलफूलको मूल्य

    आजको तरकारी तथा फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार :
    रातो आलु ४५ रुपैयाँ प्रतिकेजी
    नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजीकन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ
    डल्ले च्याउ २५० रुपैयाँ
    ब्रोकाउली ५० रुपैयाँ
    रातो बन्दा ७० रुपैयाँ
    तोरी साग ४० रुपैयाँ
    गान्टे मुला ६० रुपैयाँ
    तामा ९० रुपैयाँ
    लोकल घिउ सिमी ५० रुपैयाँ
    तिते करेला ८० रुपैयाँ
    प्याज सुकेको ४४ रुपैयाँ
    भिण्डी ९० रुपैयाँ
    नेपाली सुकेको लसुन १०० रुपैयाँ
    हरियो धनियाँ ८० रुपैयाँ
    कागती ९० रुपैयाँ

  • तिन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

     

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नियम विपरित तीन जना चढेको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको थियो ।

    मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

  • स्थानीयले मेलम्चीको पानी नआएपछि ज्ञापनपत्र बुझाए

    स्थानीयले मेलम्चीको पानी नआएपछि ज्ञापनपत्र बुझाए

    काठमाडौैं । मेलम्चीको खानेपानी पाइप लाइनमा नआएको भन्दै कोटेश्वरको महादेवस्थानमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा स्थानियले ज्ञापनपत्र बुझाएका छन् ।

    सोमवार कोटेश्वरका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत आफ्नो क्षेत्रमा पानी पाइप लाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

    कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दासमेत आफ्नो क्षेत्रमा पानी नचढेको भन्दै समस्याको समाधानका लागि निर्देशनालयलाई ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिनुभयो । उहाँले आयोजनाको पाइपमा पानी नचढे स्थानीयले पाइप दिने बताउनुभयो ।

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताउनुभयो । उहाँले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताउनुभयो । समस्या समाधानका लागि अध्ययन गरेर माग सम्बोधन गर्ने उहाँको भनाइ छ ।

    ध्यानाकर्षणपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशानालयबीच खानेपानीको समस्या समाधानमा चार बुँदे सहमति भएको छ । एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र, दुई हप्ताभित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग, महादेवस्थान कोटेश्वर वरिपरिको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनका लागि तीन दिनभित्र काठमाण्डौ खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ ।

  • जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन : उपमेयर डंगोल

    जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन : उपमेयर डंगोल

    काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ नबनाइने बताएकी छिन् । सोमबार अकुपाई टुँडिखेल अभियानुले टुँडिखेलमा भूमिगत पार्किङ नबनाउन मागसहित बुझाएको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले स्थानीयवासीको सुझावबिना कुनै काम अघि नबढाइने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने भूमिगत पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नरहेको बताइन् । टुँडिखेल ऐतिहासिक एवं सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेकाले संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

    ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यक्ता हो कि होइन भन्नेबारेमा अध्ययन भइरहेको हो, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझावबिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन् ।

    नगर विकास कोषलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी महानगरले दिएको बताउँदै उक्त अध्ययनपछि डीपीआर गर्न आवश्यक हुने वा नहुने निर्धारण गर्ने डंगोलले बताइन् । प्रि-फिजिबिलिटी अध्ययनका लागि महानगरले टीडीएफ (टाउन डेभलप्मेन्ट फन्ड) लाई जिम्मेवारी दिएको छ । त्यसपछि डीपीआर गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन्छ । डीपीआरपछि पनि बनाउने वा नबनाउने निर्णय हुन्छ । जनभावनाविपरीत कुनै पनि काम हुन दिँदैनौं, उनको भनाइ छ ।

  • कुटपिटबाट घाइते भएका पौडेलको उपचारको क्रममा निधन

    कुटपिटबाट घाइते भएका पौडेलको उपचारको क्रममा निधन

    सिन्धुपाल्चाेक । कुटपिट बाट घाइते भएका सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ वर्षीय मुक्तिनाथ पौडेलको उपचारको क्रममा निधन भएको छ ।

    गत शनिबार सोही ठाउँका राजाराम रायमाझी हानेको धारिलो हतियार बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा साेमबार बिहान निधन भएको परिवारले जनाएको छ ।

    शनिबार रायमाझीको कुटाइबाट ६० वर्षीया इश्वरी पौडेल र ३० वर्षीया गंगा पौडेल गम्भीर घाइते भएका थिए । घाइतेको हेलिकप्टर मार्फत उद्दार गरि थप उपचारकालागि काठमाडौं लगिएको थियो ।

    अहिले अन्य २ को अवस्था सामान्य रहेको परिवारले जनाएको छ । प्रहरीले निर्घात कुटपिट गरि गोठमा लुकिछिपि रहेको अवस्थामा रहेका रायमझीलाई सोही दिन पक्राउ गरेको थियो ।

    घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिएका छन् ।

  • निलुवा समाज जापानको छैठाैँ साधारणसभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न

    निलुवा समाज जापानको छैठाैँ साधारणसभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न

    काठमाडाैं । निलूवा समाज जापानको छैठौँ साधारण सभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा ‘हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मान्यताका साथ निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम तथा साधारायण सभा सम्पन्न भएको छ ।

    २०१५मा स्थापना भएको मानवीय सेवा गर्ने हेतुले निलुवा समाज जापानले मिति २०२२ डिसेम्बर ३१ मा समाजका अध्यक्षको सभापतित्वमा भएको सम्मान तथा साधाराण सभा कार्यक्रम गरेकाे हाे । कार्यक्रम संस्थाका महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले कार्यक्रम सञ्चालन गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जी आर शर्माले दिएका थिए ।

    मन्तव्य राख्ने क्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद सुवेदी, संस्थाका समरक्षक थम क्षेत्री तथा संस्थापक अध्यक्ष तथा संरक्षक भोजिन्द्र सुवेदी ले जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले काम गर्नको लागि लाग्नुपर्ने बताए । उनीहरुले संस्थाकाे विकाशका लागि कुनै कसर बाँकी नराखी एक भएर लाग्ने पनि बताए ।

    नेपालबाट जापानको भ्रमण शिलसिलामा रहेका टीकाराम सुवेदी र शान्ता सुवेदीलाई सम्मान गरेको र संस्थाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गरेकाे वरिष्ठ उपाध्यक्ष रामु खत्रीले जानकारी दिए ।

    कोषाध्यक्ष भूमिराज शर्मा (विष्णु)ले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

    निलुवा समाज जापानले बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-४ निलूवामा संस्थाले नील बराह मन्दिर निर्माणको लागि शिलान्यास गरिसकेको र बाँकी निर्माणको काम सबै जना लागेर समयमा नै निर्माण सम्पन्न गर्ने गरि छलफल गरेको महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले जानकारी दिए ।

    संस्थाले निवर्तमान कार्यसमितिका सदस्य तथा सल्लाहकार सदस्यलाई सम्मान र प्रमाणपत्र हस्तान्तरण गरेको छ । साथै, नेपाली टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान सम्मान तथा साधारण सभामा बाक्लो उपस्थिति रहेको सदस्य राजु सुवेदीले जानकारी दिए ।