Category: समाज

समाज

  • धनुषामा जन्ती बोकेकाे जीप दुर्घटना, ५ जनाकाे मृत्यु

    धनुषामा जन्ती बोकेकाे जीप दुर्घटना, ५ जनाकाे मृत्यु

    धनुषा । धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    महोत्तरीको पिपरा गाउँपालिकाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्र बजारमा जीप दुर्घटना भएको हाे ।

    मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर रहेकाे प्रहरीले जनाएकाे छ ।

    जन्ती बोकेको जीपलाई ठक्‍कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएकाे छ ।

    घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने एक जनाकाे अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

  • ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

    ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

    धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।

    धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो ।

    उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

  • मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

    मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

    सिन्धुपाल्चाेक । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।

    आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरू गरिने बताएका हुन्।

    गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङमा पानी हाल्न थालिएको छ।

    पानी सुरूङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    मेलम्ची खानेपानीको हेडवर्क्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए।

    उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरू गर्ने बताए। सुरूङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए।

    उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरूङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे।

    निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

    उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरू भइरहेको बताए।

    अहिलेसम्म सुरूङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले बताए।

    निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए।

    उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए।

    निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए। रासस

  • ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

    ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

    काठमाडौं । काठमाडौंमा ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शन गरिएको छ ।

    भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनिता डङ्गोलको उपस्थितिमा आइतबार ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

    नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि सुरु भएको यो कला प्रदर्शनी मंसीर २४ गतेसम्म नेपाल कला परिषद्मा चल्नेछ ।

    भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पनि यही मंसीर १२–१३ गतेसम्म “भारत र नेपालका देवी देवताहरुको प्रतिमाको अभिव्यक्ति” नामक दुई दिने ‘लेक्चर सिरिज’को आयोजना गर्दैछ ।

     

  • पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

    पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

    सिन्धुपाल्चाेक । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ।

    असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ।

    यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने पनि उनले सुनाए।

    आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरूङ सफा गर्नेछ। सुरूङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ।

    पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ।

    यो सञ्जालमार्फत् अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

    वर्षामा बाढी आएर सुरूङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

    विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो।

    विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

    मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ। रासस

  • बस्ती हटाउन महानगर टाेली पुगेपछि थापाथलीकाे सुकुम्बासी बस्तीमा तनाव

    बस्ती हटाउन महानगर टाेली पुगेपछि थापाथलीकाे सुकुम्बासी बस्तीमा तनाव

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

    सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

    एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

  • धनकुटा केन्द्रबिन्दु भएर भूकम्प

    धनकुटा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । धनकुटा केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको हाे ।

    भूकम्पकाे धक्का नेपालको पूर्वी क्षेत्रमा महसुस गरिएकाे थियाे ।

  • भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

    भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।

    शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट गइरहेकाे बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।

    दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • बुढानीलकण्ठ मन्दिरमा ‘स्वर नारायण’ कार्यक्रमकाे आयाेजना

    बुढानीलकण्ठ मन्दिरमा ‘स्वर नारायण’ कार्यक्रमकाे आयाेजना

    काठमाडाैं । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले बुढानीलकण्ठ मन्दिरको एक पूज्य स्थलमा २०७९ ‘स्वर नारायण’ कार्यक्रमको आयोजना गरेकाे छ ।

    बुढानीलकण्ठ मन्दिरसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । शास्त्रीय राग ‘शुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात गरिएकाे थियाे ।

    कार्यक्रममा भगवान विष्णु र वहाँका अवतारहरु भगवान कृष्ण र रामका भजनहरु प्रस्तुत गरिएकाे थियाे । मीराबाई, तुलसीदास जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु कार्यक्रममा प्रस्तुत भएका थिए ।

    यो कार्यक्रम सङ्गीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको नेतृत्वमा सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुकोसमेत सहभागीता रहेको थियो ।

  • काठमाडौंका बालाजु र चाबहिलमा दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौंका बालाजु र चाबहिलमा दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

    मृतक पुरुषको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ । उनकाे उपचारकाे क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हाे ।