Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • …जाँदाजाँदै ओलीले भने – विद्याजी राम्रै बोल्नुहुन्छ !

    …जाँदाजाँदै ओलीले भने – विद्याजी राम्रै बोल्नुहुन्छ !

    काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन सकेर हतारिँदै बाहिरिएका छन्।

    ओली शनिबार नै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेकाले सम्बोधन छोट्याउँदै उनले भने, “पाँच बजे विमानस्थल पुग्नुपर्छ।”

    कार्यक्रमको अन्त्यतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै ओलीले व्यंग्यात्मक शैलीमा भने, “सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरो कुरा पनि सुन्दिनुहोस् भन्नु भएको थियो, तर म जानुपर्छ। सुन्नै पर्दैन, विद्याजीले राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। आज मात्र होइन, पहिलेदेखि नै सुन्दै आइएको हो।”

    ओलीले कार्यक्रममा केही मानिसहरूले विद्या भण्डारीले बम पड्काउनुहुन्छ भन्ने भ्रम फैलाउन खोजेको आरोप पनि लगाए। उनले त्यस्ता भ्रमहरू भ्रममै सीमित हुने दाबी गर्दै भने, “विद्याजी सहभागी कार्यक्रम कसरी भाँडिन्छ? यस्तो सोच्नु गलत हो।”

    उनले हालसालै पार्टी विभाजनको आशंका गरिएको प्रसंग उल्लेख गर्दै भने, “एमाले आजै फुट्ने भयो भनेर कोही प्रचारमा छन्, तर केही हुनेवाला छैन। भ्रम नपाले हुन्छ।”

    ओलीको सम्बोधन हतारिएर छोटो भए पनि उनले एमाले एकताबद्ध रहेको र कुनै भ्रममा नपर्न सबैलाई आग्रह गरे।

    यो पनि :
    मदन भण्डारीमाथि ‘चार श्रीमती छन्, सहकारी ठग हुन्’ भन्दै असाधारण हमला गरिएको थियो: ओली

  • लहरेपिपल माविको संस्थापक बहस: ऐतिहासिक अभिलेखले इन्द्रलाललाई चिन्छ, विद्यालयले किन चिन्दैन ?

    लहरेपिपल माविको संस्थापक बहस: ऐतिहासिक अभिलेखले इन्द्रलाललाई चिन्छ, विद्यालयले किन चिन्दैन ?

    बागलुङ । जिल्लाको पुरानो शैक्षिक धरोहरमध्ये एक लहरेपिपल माध्यमिक विद्यालयको संस्थापक अध्यक्ष को ? भन्ने विषयमा लामो समयदेखि चल्दै आएको विवादले अझै न्यायोचित निष्कर्ष पाउन सकेको छैन। एकातिर ऐतिहासिक सरकारी अभिलेखहरूले स्वर्गीय इन्द्रलाल उपाध्यायलाई संस्थापक अध्यक्षको रूपमा स्पष्ट रूपमा देखाउँछन् भने, अर्कोतिर विद्यालयको वर्तमान अभिलेख र व्यवहारमा उनलाई त्यो स्थान नदिइएको देखिन्छ। यसले गर्दा प्रमाण हुँदाहुँदै पनि सत्य स्थापित हुन नसकेको र बलमिच्याँइले ऐतिहासिक तथ्यलाई ओझेलमा पार्न खोजिएको भन्ने गम्भीर आरोपहरू सतहमा आएका छन्।

    स्वर्गीय उपाध्यायका छोरा बालकृष्ण आचार्य शर्माले २०८०-९-२२ मा एक विज्ञप्ति प्रकाशित गरी विद्यालयको वास्तविक संस्थापक अध्यक्ष आफ्ना पिता भएको तर विद्यालय प्रशासन र व्यवस्थापन समितिले बलमिच्याइँ गरी अर्कै व्यक्तिलाई संस्थापक बनाएको दावी गरेका छन्।

    विज्ञप्तिअनुसार, वि.सं. २०१५ सालमा ‘लहरेपिपल राष्ट्रिय प्राईमरी स्कुल’को नाममा स्थापित हुँदा तत्कालीन मुखिया रहेका इन्द्रलाल उपाध्यायले नै पहिलो संस्थापक अध्यक्ष (सभापति) को भूमिका निर्वाह गरेका थिए। २०१९ सालमा तत्कालीन जिल्ला शिक्षा निरिक्षक बलराम जोशीको बिध्यालय निरिक्षण प्रतिवेदनमा बिध्यालयले २०१६-३-२२ मा स्वीकृति पाएको भन्ने उल्लेख छ र त्यो निरिक्षण प्रतिवेदनमा स्वर्गिय इन्द्रलाल उपाध्यायले अध्यक्षता गरेको देखिन्छ।

    विवादको सुरुवात वि.सं. २०७३ सालमा भएको थियो। आचार्यका अनुसार, सो वर्ष विद्यालयको वार्षिकोत्सव मनाउने क्रममा विद्यालय प्रशासन र तत्कालीन विद्यालय व्यवस्थापन समितिले कुनै अभिलेखमा नाम नै नभएका धनपति उपाध्यायलाई ‘संस्थापक संयोजक’ भनी घोषणा गर्‍यो। आफूले विद्यालयको आधिकारिक रेकर्डका आधारमा निर्णय गर्न आग्रह गर्दा तत्कालिन फाइल र रजिस्टर नै गायब पारिएको र एउटा स्मारिकाको हवाला दिएर जबर्जस्ती निर्णय गरिएको उनको आरोप छ।

    आचार्यले विज्ञप्तिमा भनेका छन्, “यो अन्याय र अपमानविरुद्ध मैले पटक-पटक अनुरोध गर्दा पनि सुनुवाइ भएन। त्यसपछि म शिक्षा कार्यालय हुँदै अदालतसम्म पुगेँ। अदालतबाट भएको आदेशलाई समेत विद्यालय प्रशासनले बेवास्ता गरी अकर्मण्यता देखाएको छ।”

    अदालतको फैसला अध्ययन गर्दा सम्पूर्ण यथार्थ बाहिर आउने बताउँदै उनले आफ्ना पिता स्व. इन्द्रलाल उपाध्यायको योगदानको कदर गर्दै विद्यालयको अभिलेखमा उनैलाई संस्थापक अध्यक्ष कायम गराउन विभिन्न निकायमा निवेदन दिए पनि कतैबाट सुनुवाइ नभएपछि आमसरोकारवालालाई यथार्थ जानकारी गराउन विज्ञप्तिमार्फत अपिल गर्नुपरेको उल्लेख गरेका छन्।

    उनले पत्रकार, शिक्षाविद्, नागरिक समाज, शिक्षक, अभिभावक र सम्पूर्ण सरोकारवालालाई यस विषयमा सत्यतथ्य स्थापित गर्न र आफ्ना स्वर्गीय पिताको आत्माको शान्तिका लागि न्याय दिलाउन सहयोग गरिदिन विनम्र अनुरोध गरेका छन्। यो विज्ञप्तिले विद्यालयको ऐतिहासिक नेतृत्वको विषयलाई पुनः सार्वजनिक बहसमा ल्याइदिएको छ।

     

    २०६२ मा प्रकाशित रातमाटा श्रोतकेन्द्र दर्पण (स्मारिका) मा उक्त बिद्यालय स्वर्गीय धनपति उपाध्यायको नेतृत्वमा स्वर्गीय इन्द्रलाल उपाध्याय लगायतले लहरेपिपलमा स्थापना गरेको उल्लेख छ। यसैलाई आधार मानेर धनपति उपाध्याय संस्थापक अध्यक्ष हो भन्न सकिने आधार रहेको बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सुबेदीको भनाइ छ। सुबेदीले यदि २०१९ भन्दा अगाडी इन्द्रलाल उपाध्याय अध्यक्ष रहेको आधिकारिक प्रमाण भेटिए उहाँलाई नै मान्न सबै पक्ष तयार नै रहेको बताए। तर बालकृष्ण शर्मा आचार्यले भने २०१९ अघिका अभिलेखहरु बिद्यालयले गायव पारेको आरोप लगाएका छन्।

     

    के भन्छन् ऐतिहासिक प्रमाण?

    स्वर्गीय उपाध्यायका छोरा बालकृष्ण आचार्य शर्माले वर्षौंदेखि जुटाएका प्रमाणहरूले उनका पिता नै विद्यालयको वास्तविक संस्थापक अध्यक्ष भएको तथ्यलाई बलियोसँग प्रस्तुत गर्दछन्।

    तत्कालीन जिल्ला शिक्षा निरीक्षकको प्रतिवेदन:

    वि.सं. २०१९ साल मंसिर २२ गते तत्कालीन जिल्ला शिक्षा निरीक्षक (वि.जि.सि.नि.) बलराम जोशीले विद्यालय निरीक्षण गर्दा तयार पारेको प्रतिवेदन।

    यस सरकारी दस्तावेजमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा स्पष्टसँग इन्द्रलाल उपाध्यायको नाम किटान गरिएको छ। यो विद्यालय स्थापनाकालको सबैभन्दा पुरानो र आधिकारिक सरकारी प्रमाण हो।

    उच्च अदालत पोखरा, बागलुङ इजलासको आदेश:

    वि.सं. २०७५ साल चैत १० गते अदालतले दिएको आदेशमा “विद्यालयको अद्यावधिक रेकर्ड रहने कुरालाई मौखिक प्रमाणको भरमा विश्वास मान्न सकिने अवस्था रहँदैन” भनी स्पष्ट पारेको छ। यसले लिखित अभिलेखको महत्वलाई स्थापित गर्छ।

    स्थानीय निकाय र शिक्षा इकाईको पत्राचार:

    बागलुङ नगरपालिका तथा शिक्षा विकास तथा समन्वय इकाई, बागलुङले विभिन्न मितिमा विद्यालयलाई पठाएका पत्रहरूले पनि सोही २०१९ सालको निरीक्षण प्रतिवेदन र अन्य सम्बन्धित कागजातहरूलाई आधार मानेर विद्यालयको अभिलेख सच्याउन र विवाद समाधान गर्न निर्देशन दिएको पाइन्छ। शिक्षा विकास तथा समन्वय इकाईले २०८० साल जेठ २५ गते पठाएको पत्रमा पनि तत्कालीन निरीक्षण प्रतिवेदन अनुसार संस्थापक अध्यक्ष इन्द्रलाल उपाध्याय नै भएको प्रष्ट्याइएको छ।

    बालकृष्ण आचार्यको निरन्तर संघर्ष:

    यति धेरै प्रमाण हुँदाहुँदै पनि स्वर्गीय इन्द्रलाल उपाध्यायले संस्थापक अध्यक्षको आधिकारिक मान्यता नपाउनुमा ‘शक्तिको खेल’ र ‘प्रभावशाली व्यक्तिहरूको हस्तक्षेप’ रहेको बालकृष्ण आचार्य शर्माको आरोप छ। उनका अनुसार, वि.सं. २०७३ सालमा विद्यालयको पहिलो वार्षिकोत्सव मनाउने क्रममा एकाएक अर्कै व्यक्तिलाई संस्थापक अध्यक्षको रूपमा उभ्याइएपछि यो विवाद चर्किएको हो। त्यसयता उनले आफ्नो पिताको ऐतिहासिक योगदानलाई स्थापित गर्न र सत्यलाई बाहिर ल्याउन निरन्तर संघर्ष गरिरहेको बताएका छन्।

    “मेरो बुवाले रगत-पसिना बगाएर स्थापना गरेको विद्यालयको इतिहासलाई केही व्यक्तिहरूले आफ्नो स्वार्थ र शक्तिको आडमा बंग्याउन खोजिरहेका छन्,” आचार्य भन्छन, “मसँग भएका सबै प्रमाणहरू सरकारी र आधिकारिक छन्। तर, विद्यालय प्रशासन र केही व्यक्तिहरूले यी प्रमाणहरूलाई बेवास्ता गर्दै जबरजस्ती अर्कैलाई संस्थापक अध्यक्ष बनाउन खोज्नु दुर्भाग्यपूर्ण छ। यो केवल मेरो पिताको अपमान मात्र होइन, सिंगो इतिहासकै अपमान हो।”

    उनले विभिन्न सरकारी निकायमा उजुरी दिने, प्रमाण पेश गर्ने र न्यायका लागि निरन्तर धाइरहने काम गरिरहेका छन् । उनको भनाइमा विद्यालय प्रशासनले यी प्रमाणहरूलाई स्वीकारेर अभिलेख सच्याउनुको सट्टा, मौन बसेर वा विभिन्न बहाना बनाएर टारिरहेको छ। यसले गर्दा, ऐतिहासिक तथ्य हुँदाहुँदै पनि शक्तिको अगाडि सत्य निरीह बनेको भन्दै उनले गम्भीर आपत्ति जनाएका छन् ।

    उनका अनुसार यो प्रकरणले केही गम्भीर प्रश्नहरू उब्जाएको छ ।

    -के ऐतिहासिक सरकारी अभिलेखभन्दा पनि ‘बलमिच्याँइ’ र ‘व्यक्तिगत पहुँच’ महत्वपूर्ण हुन्छ?
    -के विद्यालय जस्तो पवित्र संस्थाले सत्य र तथ्यलाई भन्दा अन्य कुरालाई प्राथमिकता दिन मिल्छ?
    -यदि आधिकारिक प्रमाणलाई नै बेवास्ता गरिन्छ भने न्याय र विधिको शासनको के अर्थ रहन्छ?
    -के भावी पुस्तालाई गलत इतिहास पढाउन खोजिएको हो?

    माथिका प्रश्नहरुलाई सम्बोधन गर्न लहरेपिपल माध्यमिक विद्यालयको व्यवस्थापन समिति, बागलुङ नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई र अन्य सम्बन्धित निकायहरूले यस विषयमा गम्भीरतापूर्वक छानबिन गरी ऐतिहासिक प्रमाणका आधारमा सत्यलाई स्थापित गर्नुपर्ने देखिन्छ। यदि प्रमाणका आधारमा निर्णय नगरी बलमिच्याइंले गलत व्यक्तिलाई नै निरन्तरता दिइन्छ भने यसले शैक्षिक क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गर्नेछ र ऐतिहासिक तथ्यमाथि अन्याय हुने देखिन्छ।

     

     

  • प्रतिनिधिसभाका चार ‘हेविवेट’ सांसद निलम्बनमा : राजनीतिक शुद्धीकरण कि प्रतिशाेध ?

    प्रतिनिधिसभाका चार ‘हेविवेट’ सांसद निलम्बनमा : राजनीतिक शुद्धीकरण कि प्रतिशाेध ?

    नेपालको राजनीतिमा हालैका महिनाहरूमा ठूलो उथलपुथल देखिएको छ। प्रतिनिधिसभाका चार जना प्रभावशाली सांसदहरू विभिन्न भ्रष्टाचार, अनियमितता र अन्य गम्भीर मुद्दाहरूमा मुछिएपछि निलम्बनमा परेका छन्।

    निलम्बनमा पर्ने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत रहेका छन्। यी सांसदहरूले फरक-फरक प्रकरणमा मुद्दा खेपिरहेका छन्, जसले नेपालको राजनीतिक वातावरणमा गम्भीर प्रश्नहरू उठाएको छ।

    रवि लामिछाने: सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको आरोप

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २०८१ पुस ८ गतेदेखि निलम्बनमा छन्। उनलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि, लामिछानेको नागरिकता र राहदानी दुरुपयोग सम्बन्धी मुद्दाले पनि विवाद सिर्जना गरेको थियो। सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो, किनभने उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गरिएको थियो। पुनः नागरिकता प्राप्त गरेर उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित भए पनि सहकारी ठगी प्रकरणले उनको राजनीतिक करियरमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।

    माधवकुमार नेपाल: पतञ्जली जग्गा प्रकरण

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा सट्टापट्टा प्रकरणमा उनलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका हुन्। यो नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको घटना हो। यो प्रकरणले मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको आरोप लागेको पहिलो घटनाको रूपमा पनि चर्चा पाएको छ।

    टोपबहादुर रायमाझी: नक्कली भुटानी शरणार्थी प्रकरण

    नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी २०८० असार १ गतेदेखि निलम्बनमा छन्। उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। यो प्रकरणमा उनले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीको रूपमा प्रस्तुत गरी विदेश पठाउने योजनामा संलग्न भएको आरोप लागेको छ। यो घटनाले उनको राजनीतिक छविलाई गम्भीर धक्का पुगेको छ।

    मोहनबहादुर बस्नेत: टेरामक्स प्रकरण

    नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स प्रकरणमा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते उनलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बन भएको हो। यो प्रकरणमा उनले सञ्चार मन्त्रालयमा रहँदा टेलिकम्युनिकेसन सम्बन्धी उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेको छ।

    निलम्बनको प्रभाव र राजनीतिक परिदृश्य

    यी चार सांसदहरूको निलम्बनले नेपालको राजनीतिक परिदृश्यमा गम्भीर प्रभाव पारेको छ। २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित २७५ सांसदहरूमध्ये चार जना निलम्बनमा पर्नुले भ्रष्टाचार र अनियमितताको मुद्दा नेपालको राजनीतिमा कति गहिरो रूपमा जरा गाडिएको छ भन्ने देखाउँछ। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत पनि सहकारीको बचत अनियमितता प्रकरणमा फरार रहेकी छन्, जसले यो संख्यालाई थप गम्भीर बनाउँछ।

    यी घटनाहरूले जनताको विश्वासमाथि ठूलो प्रश्न उठाएको छ। रवि लामिछाने जस्ता नयाँ अनुहारले सुशासन र भ्रष्टाचारविरुद्धको नारा लिएर राजनीतिमा प्रवेश गरे पनि उनकै संलग्नताले प्रश्न उठ्नुले जनतामा निराशा छाएको छ। त्यस्तै, माधवकुमार नेपाल जस्ता अनुभवी नेतामाथिको भ्रष्टाचारको मुद्दाले पुराना दलहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठेको छ।

    नेपालको प्रतिनिधिसभामा यी चार सांसदको निलम्बनले देशको राजनीतिक र प्रशासनिक सुधारको आवश्यकतालाई पुनः उजागर गरेको छ। भ्रष्टाचार र अनियमितताविरुद्ध कठोर कदम चाल्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ। यी प्रकरणहरूको अनुसन्धान र कानुनी प्रक्रियाले कस्तो मोड लिन्छ, त्यसले नेपालको लोकतान्त्रिक प्रणाली र सुशासनको भविष्यलाई प्रभाव पार्नेछ। साथै, यस्ता घटनाहरूले राजनीतिक दलहरू र नेताहरूलाई आफ्नो आचरण र पारदर्शिताप्रति सचेत रहन दबाब सिर्जना गरेको छ।

  • अबको बाजी कार्यान्वयनमा छ, बजेटको दिशा ठिक छ : विनोद चौधरी (भिडियो सहित)

    अबको बाजी कार्यान्वयनमा छ, बजेटको दिशा ठिक छ : विनोद चौधरी (भिडियो सहित)

    काठमाडौं ।  प्रतिनिधिसभाका सांसद तथा उद्योगी विनोद चौधरीले आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै यसपटकको बजेटले दीर्घकालीन सोचमा आधारित रणनीतिक सुधारतर्फ कदम चालेको टिप्पणी गरेका छन्।

    संसदमा बजेटमाथि भएको छलफलका क्रममा बोल्दै चौधरीले विगतमा आफूले संसद र अर्थसमितिमा निरन्तर उठाउँदै आएका केहि संरचनात्मक प्रस्तावहरूमध्ये धेरै सुझावहरू बजेटमा परिलक्षित भएको बताए। उहाँका अनुसार बजेटलाई केवल राजनीतिक घोषणाको साधन मात्र बनाउने प्रवृत्ति रोकिँदै व्यावहारिक दृष्टिकोणबाट अगाडि बढ्ने संकेत यो बजेटले दिएको छ।

    उहाँले बजेटले अब नयाँ अव्यवहारिक र ठूलो योजनाभन्दा पहिले, अघिल्लो योजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता देखाएको उल्लेख गरे। “हामीले विगतमा भन्ने गर्थ्यौं – टुक्रे योजनाको भीडले नीति निर्माणमै असर गरेको छ। यसपालि त्यो कमजोरी सच्याउने प्रयास देखियो,” चौधरीले संसदमा भने।

    सूचना प्रविधि, पर्यटन र स्टार्टअपमा गरिएको विशेष व्यवस्था

    चौधरीले आर्थिक पूर्वाधार मात्र होइन, प्रविधि र निजी उद्यमशीलतालाई समेत राज्यको ध्यान पुग्नु सकारात्मक संकेत भएको बताए। सरकारको ध्यान सूचना प्रविधिमा केन्द्रित हुँदै गएको, र त्यसलाई संस्थागत गर्न डिजिटल बैंक स्थापनादेखि नोम्याड भिसा प्रणालीसम्मको प्रस्ताव आएकोमा सन्तोष व्यक्त गरे।

    स्टार्टअप र युवा उद्यमशिलताका लागि ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण, इन्कुबेटर प्रणालीको विकासजस्ता नीति आउने क्रमलाई उहाँले “अबको पुस्तालाई स्वदेशमै सिर्जनशील बन्न प्रेरित गर्ने वातावरण” को रूपमा लिनुभयो।

    पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत बजेटले दोहोर्‍याएको भन्दै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संकेत पनि उनले उल्लेख गरे।

    विदेशमा रहेका नेपालीको लगानीलाई स्वीकार गर्ने कानुनी आधार

    चौधरीले बजेटमार्फत ‘स्वेट इक्विटी’ को कानुनी मान्यता दिने प्रावधानप्रति विशेष ध्यान तान्दै भने, “जो नेपाली प्रवासीले आफ्नो सिप, ज्ञान, ब्राण्ड वा व्यवसायिक अनुभव नेपालमा लगानी गर्न चाहन्छ, उसले अब कानुनी रूपमा हिस्सेदारी पाउनेछ।”

    उहाँका अनुसार यो व्यवस्था सिप र पूँजीको संयोजनमार्फत नेपालमा वैकल्पिक लगानीको नयाँ ढोका खोल्ने सम्भावनामा आधारित छ।

    राजस्व लक्ष्य र बजेटको आकार सन्तुलित 

    राजस्व संकलन विगत दुई वर्षमा निराशाजनक रहेको अवस्थाबाट ७० प्रतिशतले वृद्धि भएको तथ्यलाई उल्लेख गर्दै चौधरीले हाल प्रस्तुत गरिएको १३ खर्ब रुपैयाँ बराबरको बजेटलाई यथार्थपरक भने। “यसपटकको राजस्व अनुमान बढ्ता अस्वाभाविक छैन। ट्रेन्ड हेर्दा यो प्रक्षेपण मिल्ने सम्भावनामा छ,” चौधरीको भनाइ थियो।

    मुख्य चुनौती : कार्यान्वयनको सुनिश्चितता

    बजेटको सार्थकता यसको कार्यान्वयनमा निर्भर रहने भन्दै चौधरीले मन्त्रालयबीच समन्वय, स्पष्ट जिम्मेवारी बाँडफाँट, र अनुगमन प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए।

    “बजेटमा धेरै राम्रो कुरा लेखिएको छ। तर गर्न चाहियो भने मात्र त्यो सार्थक हुन्छ। व्यवहारमा उतार्न नसक्ने हो भने, जुनसुकै राम्रो योजना पनि कागजमै सीमित रहन्छ,”

  • रवि लामिछानेकी पत्नी निकिताको दुखेसो: ‘जिउँदो लास’ भएर हिँडेको छु

    रवि लामिछानेकी पत्नी निकिताको दुखेसो: ‘जिउँदो लास’ भएर हिँडेको छु

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश दिएपछि उनकी पत्नी निकिताले आफूलाई ‘जिउँदो लास’ भएको अनुभूति भएको सामाजिक सञ्जालमा बताएकी छन्।

    सर्वोच्च अदालतको आदेश आएको दिनको अनुभव सामाजिक सञ्जालमा व्यक्त गर्दै निकिताले प्रमाण नपाइए पनि रविविरुद्ध मुद्दा लगाइएको र न्याय पाउन कठिन भएको बताइन्।

    उनले लेखेकी छन्, “त्रास अझै बाँकी छ… जेठ ९ गते शुक्रबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइको दिन म न्यायप्रतिको दृढ विश्वास लिएर थरीदिन अदालत पुगेकी थिएँ। बहस राम्रो भयो, कानुन व्यवसायीले हरेक प्रश्नको तथ्यपूर्ण जवाफ दिए। म न्यायप्रतिको विश्वास झनै बढ्ने आशा गरेको थिएँ।”

    तर आदेश सुनाउने कार्यकक्षमा करिब सात घण्टा कुर्दा आदेश लिएर आउने प्रवक्ता नआएपछि उनी निराश र तनावग्रस्त भइन्। उनले भनेकी छन्, “अदालत प्रशासन गैरजिम्मेवार थियो। न्याय मात्र होइन, मानवीय व्यवहार पनि हरायो। जीवनकै कठिन दिनमा म रुवाई र अनिन्द्रामा बिताएँ।”

    निकिताले भोलिपल्ट भैरहवा जानुपर्ने थियो, तर अन्यायको पीडामा आफूलाई ‘जिउँदो लास’ भई थलिएर हिँडेको अनुभव सुनाइन्। “मेरो श्रीमान्माथि प्रमाण नपाइए पनि मुद्दा लगाइएको छ, गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले कुनै जवाफ पनि दिएन,” उनले भनिन्।

    उनले थपिन्, “गणतान्त्रिक राज्यमा न्याय र मानवीयता मृत भेटिएपछि मेरो विश्वास गहिरो रुपमा हल्लिएको छ। अब न्याय खोज्न कहाँ जाऊँ, मनको डर मेटाउन कसलाई गुहारौँ भन्ने प्रश्नले सताइरहेको छ।”

    उनको स्टाटस जस्ताको तस्तै –

    त्रास अझैं बाँकी छ …!
    जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो।
    हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें। न्यायप्रतिको विश्वास झनै बढ्यो।
    करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो।
    ‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए।
    ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।
    शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन।
    भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ। अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला। कसरी उहाँको अगाडि पुगें, थाहा छैन। सायद जिउँदो लास भएर हिंडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो। साँझ काठमाडौं फर्किए।
    केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
    गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!
    #JusticeForRabiLamichhane

     

     

  • गृहमन्त्रालयकाे दाबी: भट्टराईको सरुवा अनुसन्धान जोगाउन होइन

    गृहमन्त्रालयकाे दाबी: भट्टराईको सरुवा अनुसन्धान जोगाउन होइन

    काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेपछि, उनको नियुक्ति र गृहमन्त्री रमेश लेखकबीचको सम्बन्धबारे प्रश्न उठेका छन् ।

    भट्टराईलाई गत मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए ।

    उनी मन्त्रालयमा सरुवा भएर आउनेबित्तिकै अख्तियारकाे नियन्त्रणमा पुगेका थिए । अख्तियारले केही साताअघिबाटै विमानस्थलकाे अध्यागमनमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरिरहेको थियाे । अख्तियारले छापा हान्ने तयारी गरेको जानकारी पछि भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानिएकाे भन्नेचाहीँ मिथ्या भएकाे गृहमन्त्री सचिवालय स्राेतले बताएकाे छ । विवादित छविका भट्टराईलाई अख्तियारकाे छापाबारे जानकारी पश्चात् मन्त्रालय बाेलाइएको हाे । तर अहिले बाहिर आएजस्ताे भट्टराईलाई जाेगाउनका लागि मन्त्रालयमा बोलाइएकाे भन्नेचाहीँ गलत हाे ।

    ‘विमानस्थलकाे अद्यागमनमा भएकाे अनियमितता थाहा पाएपछि कारबाहीकै लागि मन्त्रालयमा बाेलाइएकाे थियाे । तर त्यसमा अख्तियार पसिहाल्याे । अहिले जसरी गृहमन्त्रीकाे संलग्नता भनिएकाे छ त्याे सरासर गलत हाे’ स्रोतले भन्याे ।

    मंगलबार भट्टराई ‘भिजिट भिसा’ प्रकरणमा संलग्नरहेकाे पाइएपछि गृहमन्त्रालयले बुधबार र बिहीबार विवादस्पद छविमा रहेका र भिजिट भिसामा सेटिङ मिलाएर तस्करी गरेकाे आरोप लागेका १५ जना कर्मचारीलाई सरुवा गरेकाे छ ।

  • काठमाडौंमा अभिशाप बन्दै ‘राइड शेयरिङ प्रणाली’

    काठमाडौंमा अभिशाप बन्दै ‘राइड शेयरिङ प्रणाली’

    काठमाडाैं । काठमाडौंमा सवारी आवागमनको समस्या नयाँ होइन। बढ्दो जनसंख्या, साँघुरा सडक र अनियन्त्रित सवारी साधनका कारण यो सहर दिनानुदिन ‘ट्राफिक अराजकता’ को पर्याय बन्दै आएको छ। यस्तै, समस्याबीच केही वर्ष अघि राइड शेयरिङ एपहरूको आगमनले सुरुवातमा यात्रुहरूका लागि सहजता र आधुनिकताको अनुभूति त दियो, तर आजको दिनमा यो सुविधा नै समस्याको जरो बन्दै गएको देखिन्छ।

    पठाओ, इनड्राइभजस्ता सेवा प्रदायक एपहरूले काठमाडौंमा हजारौं युवालाई सवारी चलाएर पैसा कमाउने अवसर त दिएकाे छ, तर यही प्रणालीका कारण सरकार राजस्व गुमाइरहेको छ, सडकमा ट्राफिक व्यवस्थापन चरम असन्तुलित बनेको छ र सार्वजनिक यातायात प्रणाली नै धरापमा पर्दै गएको छ।

    नेपालको कानुन अनुसार, राताे प्लेट भएका निजी सवारी साधनहरूलाई यात्रु बोक्न (भाडामा चलाउन) अनुमति छैन। तर राइड शेयरिङ एपमार्फत यिनै निजी सवारीहरूले यात्रु बोक्ने कार्य गर्दै आइरहेका छन्। यो कानुनी रूपमा नै अन्यौलपूर्ण अवस्था हो – न त पूर्ण रूपमा वैध, न पूर्ण रूपले अवैध।

    निजी सवारी प्रयोग गरेर गरिएको यस्तो व्यावसायिक कार्यले सरकारले पाउने कर प्रणालीलाई सीधै असर गर्छ। व्यवसायिक सवारी साधनहरू (जस्तै ट्याक्सी, माइक्रो, टेम्पो) ले हरेक वर्ष निश्चित कर तिर्नुपर्छ, व्यवसायिक बीमा गर्नुपर्छ, र आवधिक रूपमा नवीकरण पनि गर्नुपर्छ। तर निजी सवारी प्रयोग गरेर राइड शेयरिङ चलाउने व्यक्तिहरू कुनै पनि करदाताको सूचीमा पर्दैनन्। उनीहरूको आम्दानी ‘कागजमा’ देखिदैन, र त्यसैले उनीहरूले कुनै आयकर पनि तिर्दैनन्।

    सरल भाषामा भन्ने हो भने, एउटा ट्याक्सी चालकले सोही यात्राबाट प्रतिदिन पाँच सय रुपैयाँ कमाउँछ भने त्यसबाट उसले कर तिर्छ, तर निजी बाइकबाट इनड्राइभ अथवा पठाओ चलाउने चालकले प्रतिदिन एक हजार रुपैयाँ कमाउँछ भने त्यो कमाइ सरकारको नजरमा कहिल्यै आउँदैन।

    अपरिपक्व डिजिटल कारोबार 

    राइड शेयरिङ सेवाहरूको अर्को समस्या हो — नगद कारोबार र ट्रेस नभएको डिजिटल ट्रान्जेक्सन। धेरै यात्रुहरू अहिले पनि नगदमै भुक्तानी गर्छन्, जसको कुनै लेखाजोखा सरकारसँग हुँदैन। मोबाइल वालेट प्रयोग भए पनि अधिकांश चालकहरूले निजी खाता प्रयोग गर्छन्, न कि व्यवसायिक प्यान नम्बर। यसले सरकारलाई आम्दानीको वास्तविक अवस्था थाहा पाउनै दिँदैन।

    त्यसका साथै पठाओ, इनड्राइभ जस्ता एपहरू अन्तर्राष्ट्रिय कम्पनीहरू हुन्, र तिनीहरूले नेपाली बजारमा कमाएका पैसाको केही हिस्सा विदेश लैजान सक्ने अवस्था हुन्छ। यदि ती कमिसनमा कुनै कर नलाग्ने व्यवस्था भयो भने, नेपालमा कमाइएको पैसा पनि विदेशी खातामा पुग्छ, जसलाई ‘foreign exchange leakage’ भनिन्छ। यस्तो चुहावट दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि अत्यन्त घातक हुन सक्छ।

    सडकमा बाइकको भीड

    राइड शेयरिङ सेवाले ‘सस्तो र छिटो’ सेवा दिने भनेर ग्राहक त आकर्षित गर्‍यो, तर यसका लागि प्रयोग भएका हजारौं बाइक र कारहरूले काठमाडौंका सडकहरूलाई थाम्नै नसक्ने बनाएका छन् । जसरी इनड्राइभ र पठाओमा सवारी चालक बन्ने सजिलो सुविधा छ, त्यसरी नै हजारौं युवाहरू ‘फुल टाइम’ वा ‘पार्ट टाइम’ यो सेवामा लागेका छन्।

    दिनभर यात्रु लिएर हिँड्ने यी चालकहरू, नियम मिच्ने, बीच सडकमा बाइक रोकेर ग्राहक उठाउने, लेन तोड्नेजस्ता क्रियाकलापमा संलग्न हुन्छन् । परिणामस्वरूप ट्राफिक झन् अस्तव्यस्त भएको छ। पहिले ट्राफिक जाम ‘पिक आवर’ मा मात्र हुन्थ्यो भने अहिले दिनभर सडक जाम भइरहन्छ।

    सार्वजनिक यातायात प्रणालीमा परेको असर

    राइड शेयरिङ सेवाको व्यापकतापछि सार्वजनिक यातायात सेवा (बस, माइक्रोबस, टेम्पो र ट्याक्सी)हरू मारमा परेका छन्। यी परम्परागत सेवाहरूले निश्चित रूट, निश्चित समय र नियम अनुसार सेवा दिनुपर्छ। त्यसमाथि उनीहरूले सबै प्रकारका कर तिर्नुपर्छ।

    अब यात्रुहरू पठाओ वा इनड्राइभको सुविधा रोज्दा यिनको आम्दानीमा ठूलो गिरावट आएको छ। माइक्रो र टेम्पोका सञ्चालकहरू भन्छन्, पहिले दैनिक २० ट्रिप चल्ने सवारी अब १० मा झरेका छन्। ट्याक्सी चालकहरूले त इनड्राइभकै कारण व्यवसाय छाड्ने अवस्था आएको गुनासो गरिरहेका छन्।

    सरकारले एकातिर सार्वजनिक यातायात सुधार गर्ने भन्दै योजना बनाइरहेको छ, तर अर्कोतर्फ यस्ता एपहरूलाई अनियन्त्रित रुपमा चल्न दिँदा नीति नै विरोधाभास देखिएको छ।

    यस प्रणालीले यात्रुहरूलाई सस्तो, छिटो, अनलाइन आधारित सेवा दिएको नकार्न सकिन्न। तर सुविधा दिनु मात्रै उद्देश्य हो भने त्यसले राज्य र समाजलाई दीर्घकालीन नोक्सानी गर्न मिल्दैन। राज्यले चाहेमा राइड शेयरिङलाई नियमन गरेर कर प्रणालीभित्र ल्याउन सक्छ। विशेष व्यवसायिक अनुमति, बीमा, कर दर्ता र अनुगमनको व्यवस्था मिलाउन पनि सक्छ । तर आजकाे दिनसम्म नेपालमा याे सबै कार्यहरु विराेधाभाष नै देखिन्छ । राेजगारमात्र भनेर सहरको ट्राफिक बर्बाद पार्न, कर प्रणालीलाई कमजोर बनाउन, र सार्वजनिक यातायात प्रणालीलाई समाप्त पार्न नमिल्ने प्रष्ट छ ।

    राइड शेयरिङ सेवा सहरको जीवनशैली परिवर्तन गर्ने नविन उपाय हो भन्नेमा विवाद छैन। तर अहिलेको अवस्था हेर्दा यो सुविधा नभई सहरको संरचना र सुरक्षाका लागि अभिशाप बनिरहेको छ । यदि सरकार गम्भीर रूपमा अगाडि नबढेमा राइड शेयरिङले सहरलाई फाइदा भन्दा बढी नोक्सान पुर्‍याउने निश्चित छ । यहाँ प्रश्न उठ्छ – सुविधा दिने नाउँमा काठमाडौँ ‘अराजक सहर’ बन्ने त होइन ?

  • ‘सुशासन नसुधारी पानीजहाज र मोनोरेलको सपना बेचेर राजनीति हुँदैन’

    ‘सुशासन नसुधारी पानीजहाज र मोनोरेलको सपना बेचेर राजनीति हुँदैन’

    प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बजेट निर्माण प्रक्रिया र प्राथमिकता निर्धारणमा विगतदेखि चल्दै आएको परम्परागत शैलीको आलोचना गर्दै परिणाममुखी सुधारको आवश्यकतामा जोड दिए ।

    सांसद झाले प्रस्तुत गरेकाे विचारकाे सम्पादित अंश–

    विनियोजन विधेयक र यस वर्षको सिद्धान्त तथा प्राथमिकतामा कुरा गर्दै गर्दा म केही आफ्नो तर्फबाट रायहरु, यसमा सुझावहरु र यसलाई कसरी सुधार गर्न सकिन्छ होला आगामी दिनमा भन्ने कुराहरु राख्न चाहन्छु। अंग्रेजीमा भनिन्छ, ‘The freedom of expression is nothing if you don’t have freedom of thought.’ (अभिव्यक्तिको स्वतन्त्रता केही होइन यदि तपाईंसँग विचारको स्वतन्त्रता छैन भने)। हामीले सोच्न सिकाउँदैनौं भने अभिव्यक्ति स्वतन्त्रता मात्र दिएर हुँदैन। हामीमा कतिवटा नयाँ कुराहरु, हामीले योजना गर्ने, सोच्ने कुराहरुमै सुधार लिएर आउनुपर्ने देखिन्छ।

    एकजना अमेरिकन लेखक एमी वेभले ‘The Signals Are Talking’ भन्ने किताबमा स्ट्र्याटेजी म्यानेजमेन्ट, योजनाहरु बनाउने कुराहरुको व्याख्या गर्दै गर्दा ट्याक्टिक्स (कार्यनीति), स्ट्र्याटेजी (रणनीति), भिजन (दर्शन) र इन्भिजन (परिकल्पना) को कुरा गरेको छ। हामीकहाँ राजनीतिक रुपमा विभिन्न अवसरहरु आउँदै गर्दा, पाउँदै गर्दा, यो सात दशकको राजनीतिक यात्राको क्रममा पटकपटक शक्तिशाली सरकारहरु बन्दै गर्दा र यसपाली पनि दुई तिहाईको ठूलो, पहिलो र दोस्रो दलले सरकार बनाउँदै गर्दा प्राथमिकता के हुनुपर्थ्यो? त्यो किताबको भनाइअनुसार चाहिँ ट्याक्टिक्स, अर्थात् कार्यनीतिमा फोकस हुनुपर्थ्यो। तर हाम्रो सिद्धान्त तथा प्राथमिकतामा हामी त्यो कार्यनीतिमा कति केन्द्रित छौं?

    जस्तै, अहिलेको विकास, देशको आर्थिक अवस्था अगाडि बढाउने, जीविकोपार्जन र अहिलेको दैनिकी सबै कुराहरु सुधार्ने हो भने हामीले सुधार्नुपर्ने सुशासन हो। सुशासन नसुधारिकन यो पानीजहाज र मोनोरेलको सपनाहरु बेचेर मात्र राजनीति हुँदैन। त्यसले हामीलाई अल्झाउने र बल्झाउने कुरा मात्र गर्छ। किनकि हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स पाँच-दश दिनमा कसरी आउँछ भनेर, तर हामी पानीजहाज अफिसको उद्घाटन गर्छौं। हामीलाई सुधार कहाँ गर्नुछ, त्यो कुरामा हामी केन्द्रित भइराखेको छैनौं।

    फ्रेजर इन्स्टिच्युटले भर्खरै ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्ड’ को रिपोर्ट निकाल्दै गर्दा, नेपालको हकमा हामीले पर क्यापिटा र जीडीपीको साइज बढिराखेता पनि विगत २० वर्षदेखि हाम्रो इकोनोमिक फ्रिडम (आर्थिक स्वतन्त्रता) को सूचकांकमा सुधार नभएको भन्ने देखाउँछ। हाम्रो साइज अफ इकोनोमी र पर क्यापिटा बढेर पनि यदि आर्थिक स्वतन्त्रता बढिराखेको छैन भने, त्यो मैले अघि भनेको जस्तो, हामी सोच्न सिकाइराखेका छैनौं तर अभिव्यक्तिको स्वतन्त्रता दिइराखेका छौं।

    त्यो कसरी हुन्छ भन्दै गर्दा, एउटा चाहिँ ‘साइज अफ गभर्मेन्ट’ (सरकारको आकार)। हाम्रो सरकारको आकार धेरै ठूलो भयो। संघीयता हुँदै गर्दाखेरि हामीले संस्थाहरु धेरै थप्यौं, तर पहिला खोलिसकेको बन्द गर्नुपर्ने संगठन, संस्थाहरु बन्द गरेनौं। योभन्दा दुई वर्ष अगाडिको सिद्धान्त तथा प्राथमिकतामा वाचन हुँदै गर्दा हामीले ११२ वटा संस्था बन्द गर्नुपर्नेछ, जसको अब अर्थ छैन भनेर सुनेको थियौं, तर त्यो बन्द भएन। त्यसले खर्च धेरै बढाइराखेको छ।

    अर्को, हामीले बजारमा ‘लेभल प्लेइङ फिल्ड’ (समान प्रतिस्पर्धाको धरातल) दिइराखेका छैनौं। सार्वजनिक संस्थानहरुमा जुन खर्च भइरहेको छ, त्यसको ‘रेट अफ रिटर्न’ (प्रतिफलको दर) हेर्दा व्यर्थको खर्च गरिराखेका छौं। नेपाल एयरलाइन्सको लगानी कति छ र बुद्ध एयरको लगानी कति छ? उसको कार्यविधि, ‘स्ट्यान्डर्डाइज्ड अपरेटिङ प्रोसिडर’ (मानकीकृत सञ्चालन प्रक्रिया) के छ र उसको के छ? यो सबै तुलना गर्दा हामीले कतातिर खर्च गरिराखेका छौं र त्यो खर्च गर्नलाई पैसा कहाँबाट लिएर आइरहेका छौं? अन्तर्राष्ट्रिय बजारमा हाम्रो ‘क्रेडिबिलिटी’ (विश्वसनीयता) घटिराखेको छ, हामी ‘ग्रे जोन’ मा गइराखेका छौं। त्यसले गर्दा गभर्नर नियुक्तिमा हामी ‘यो पार्टीको’ भनेर खुल्लमखुल्ला भनिराखेका छौं। हामीलाई त्यो भन्न पनि लाज लागिराखेको छैन कि गभर्नर चाहिँ फलानो पार्टीले पायो रे भनेर।

    सुधार कसरी गर्नुपर्छ भन्दा, मैले तीनवटा कुरा हेर्छु: संगठनिक अभ्यास, राजनीतिक संस्कार र कार्यविधि। संगठनिक अभ्यासमा हामीले जहिले पनि संगठनिक संरचना भनेपछि थप संगठन मात्र सोच्यौं, क्षमता बढाउनुपर्छ भनेर सोचेनौं। संघीय संरचनामा गएपछि हामीले माथि संस्थाहरु बढायौं, तल प्रदेश र स्थानीय तहमा पैसा मात्र पठायौं, क्षमता पठाएनौं, स्किल पठाएनौं, रणनीति पठाएनौं। त्यसैले आज पनि औसतमा सातवटै प्रदेशले २०-२५ प्रतिशत बाहेक खर्च गर्न सकेको छैन।

    राजनीति हाम्रो लागि निर्वाचन मात्र भइदियो। एउटा निर्वाचनदेखि अर्को निर्वाचनको समय १८२५ दिन हुँदोरहेछ। हामी २५ दिन सेलिब्रेट गर्छौं, त्यसपछि १८०० दिन अर्को चुनावको तयारीमा लाग्छौं। यो बीचमा मैले गर्नुपर्ने कर्तव्य के हो, कानुन कस्तो बनाउनुपर्ने, मेरो सहभागिता के हुनुपर्ने, त्यो कुरा भइदिएन।

    त्यसैले, पहिलो, संस्था भनेको संख्या मात्र होइन, क्षमता अभिवृद्धि आवश्यक छ। दोस्रो, प्रशासनिक एकरुपता अन्तर्गत भारतले राम्रो उदाहरण दिइरहेको छ। हामीले कुनै पनि संस्थाको टार्गेट, म्याट्रिक्स र डेडलाइन बनाउनुपर्छ। जहाँ यस्तो हुन्छ, त्यहाँ राम्रो काम भएको छ, जस्तै खोप अभियान। तर जहाँ भोलि-पर्सि गरे हुन्छ भन्ने हुन्छ, त्यहाँ हामी बिग्रन्छौं। यसका लागि संरचनागत सुधार, एकीकृत नीति, एकीकृत योजना र एकीकृत बस्ती चाहिन्छ।

    यो तीनवटा कुरामा काम गरेर गयौं भने हामी पनि राम्ररी काम गर्न सक्छौं। तर त्यसको लागि हामी आफैंप्रति कठोर हुनुपर्छ। सुमसुम्याएर गरिने व्यवहारले सुधार हुँदैन। यसमा हामीले प्रतिपक्षको बेन्चमा रहँदै गर्दा कसरी सघाउन सक्छौं? किनकि हामी प्रतिस्पर्धी हौं, तर दुश्मन होइन। हामी सहकार्य, सहकर्म र सहयात्रा गर्न पनि सक्छौं।

  • ‘३० वर्ष पुरानो आईटी पाठ्यक्रम पढाएर एआई युगमा प्रतिस्पर्धा सम्भव छैन’

    ‘३० वर्ष पुरानो आईटी पाठ्यक्रम पढाएर एआई युगमा प्रतिस्पर्धा सम्भव छैन’

    हामी विनियोजन विधेयक २०८२ को सिद्धान्त तथा प्राथमिकताको छलफलको क्रममा छौँ । विगत तीन वर्षका सिद्धान्त र प्राथमिकताका दस्तावेजहरू पल्टाएर हेर्दा केही साझा विषयहरू हरेक वर्ष दोहोरिएको देखिन्छ। कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन हरेक वर्ष दोहोरिएको देखिन्छ। यी विषयहरू प्राथमिकतामा पर्नु स्वाभाविक पनि हो। तर यी विषयहरू प्राथमिकतामा पर्दै गर्दाखेरि अघिल्लो वर्ष घोषणा गरेका लक्ष्यहरू हामीले प्राप्त गर्‍यौँ कि गरेनौँ भन्ने विषयमा चाहिँ खासै सरकारले विश्लेषण गरेको, उपलब्धिहरू सार्वजनिक गर्न सकेको अथवा चाहिँ आफूले घोषणा गर्न नसकेको, हासिल गर्न नसकेको लक्ष्यबाट समीक्षा गरेर के सिक्यौँ भन्ने कुराको धारणा सार्वजनिक गरेको कतै देखिएको छैन।

    हरेक वर्षजस्तै कृषिको कुरा गर्‍यो भने हरेक वर्ष हामीले कृषिको आधुनिकीकरणको कुरा गर्छौँ, उत्पादन वृद्धिको कुरा गर्छौँ, मल कारखाना खोल्ने कुरा गर्छौँ। तर किसानले समयमा कहिल्यै मल पाउँदैन, बीउ पनि पाउँदैन। सिँचाइका कुरा नारामा सीमित छन्। कृषि अनुदान वास्तविक कृषकले पाएन भन्ने आम गुनासो छ। अरूको गोठको भैँसी देखाएर अनुदान लिने, राजनीतिक पहुँचको आधारमा अनुदान लिनेहरूले मात्रै अनुदान पाए भन्ने अत्यन्त ठूलो गुनासो छ। कृषि उत्पादन गर्नेहरूले आफ्नो उत्पादन सडकमा फालेको कथाहरू त हामीले समाचारमा पढेको नै हुन्छौँ। र यसले गर्दा हरेक वर्ष यही कुरा दोहोरिन्छ। यो वर्ष अलिकति नयाँ कुरा के आयो भने कृषि फार्ममार्फत व्यावसायिक खेती गर्नेहरूलाई भन्ने नयाँ शब्द आएको छ। तर यी पुराना कुरा, पुराना प्रतिबद्धता लागु हुँदैन, फेरि नयाँ कुरा आएको देखिन्छ।

    त्यस्तै ऊर्जामा, गत वर्ष हामीले हाइड्रोजन पावरका कुराहरू गर्‍यौँ। यो वर्ष हामीले फेरि सौर्य ऊर्जाको कुरा गर्‍या छौँ। गत वर्ष हाइड्रोजन पावरबाट हामीले के उपलब्धि हासिल गर्‍यौँ त? हामीले आफूले घोषणा गरेको लक्ष्य हामीले प्राप्त गर्‍यौँ कि गरेनौँ? र अहिले हामी सोलार एनर्जीतिर सिफ्ट हुनुको हाम्रो कारण के हो त? त्यसको वस्तुगत धारणा सरकारले दिन सक्दैन र हरेक वर्ष फेरि के हुन्छ भने उही जलविद्युत विकास र निर्यातका कुराहरू हुन्छन्, जलाशययुक्त आयोजनाका कुराहरू फेरि दोहोरिन्छन्। तर फेरि निर्माण कहिल्यै सुरु हुँदैनन्, न सुरु हुन्छन्, न समयमा सम्पन्न हुन्छन्।

    त्यस्तै अब यो पूर्वाधारमा पनि पटक-पटक हरेक वर्ष हामीले सुन्ने काठमाडौँ-तराई द्रुतमार्गको कुरा होस् अथवा राजमार्गको कुरा होस् अथवा राष्ट्रिय अन्य योजनाहरू सबै कछुवा गतिमा छन्। तर फेरि त्यो कसरी अगाडि बढ्छ त? भारतले हरेक वर्ष, हरेक दिन नै १०० किलोमिटर नेसनल हाइवे बनाइराख्या छ। हामी मुस्किलले दुई-तीन किलोमिटर बनाउँछौँ। कसरी हाम्रो एफिसियन्सी बढाउने भन्ने कुराहरूको आधार हामीले सिर्जना गर्न सक्या छैनौँ।

    पर्यटनमा कनेक्टिभिटी नबढाइकन पर्यटक बढाउन सकिँदैन। नेपाल एयरलाइन्सको सुधारको विषय नीति तथा कार्यक्रममा थियो तर अहिलेको यो सिद्धान्त तथा प्राथमिकतामा कतै पनि छोइएको देखिँदैन। त्यस्तै हामीले गत वर्ष टिकटमा भ्याट लगायौँ। यसै पनि नेपाल आउने टिकट एकदम महँगो छ। भारत अथवा छिमेकी मुलुकहरूभन्दा टिकटको कस्ट हाम्रो ४० देखि ६० प्रतिशत महँगो छ। तर अब भ्याटलाई हामी के गर्छौँ त? व्यवसायीहरूले पटक-पटक यो डेलिगेसन गएर अर्थमन्त्रीज्यू लगायत सबैलाई भनेको विषय हो। तर यसमा हाम्रो अवधारणा कसरी आउँछ त भन्ने कुराहरू पनि आएको छैन।

    डिजिटल पूर्वाधारको कुरा फेरि एकदमै पछिल्लो समय आएर एकदमै ठूलो चर्चाको विषय भएको छ। अघि माननीय सांसद, धेरै माननीय सांसदज्यूहरूले पनि यो विषयमा चर्चा गर्नुभयो। तर डिजिटल पूर्वाधारको कुरा गर्दा इन्टरनेट सबभन्दा बेसिक पूर्वाधार हो। तर त्यसलाई आज हाम्रो कर प्रणालीभित्र आईटी, टेक्नोलोजीभित्र पनि मान्दैन र आज, आज पनि इन्टरनेटमा सरकारले ३३ प्रतिशत कर लिन्छ। भनेपछि पूर्वाधारको पूर्वाधारमा लाई सबैको पहुँचमा कसरी पुर्‍याउने भन्ने कुरा आधारभूत कुरामा हामीले कामै गर्‍या छैनौँ। तर अब गर्नुपर्ने के देखिन्छ भने सरकारी तवरमा नै ब्रान्डिङ र मार्केटिङ, नेपाल पनि आईटी सर्भिसेसको डेस्टिनेसन हो भनेर हामीले सरकारी तहमा, अहिलेसम्म निजी क्षेत्रले गरेको छ। तर सरकारी तहबाट नै कसरी प्रवर्द्धन गर्ने? यसमा २० वर्षअगाडि हैदराबादमा मुख्यमन्त्रीले, चन्द्रबाबु नायडुले गरेको एउटा उदाहरण छ। उहाँले भारत भ्रमणमा आएको माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई भेट्नको लागि समय मागेर आफैँले ल्यापटप लिएर गएर प्रेजेन्टेसन गरेपछि २० वर्षअगाडि माइक्रोसफ्टले आफ्नो अफिस हैदराबादमा खोल्यो र अहिले हैदराबाद आईटीको हब मानिन्छ। हाम्रो नेतृत्व ल्यापटप बोकेर कहिले, कहिल्यै पनि यस्ता ठूला व्यवसाय गर्ने इन्स्टिच्युसनहरूको नेतृत्वसँग आफैँ खोजीखोजी जाने, भेट्ने सामर्थ्य राख्छ त? यदि हामी त्यो सामर्थ्य राख्दैनौँ भने, हामी उहाँहरूलाई इन्गेज नै गर्दैनौँ भने कसरी हामीले आईटीको सर्भिसेसहरूबाट बेनिफिट लिने त?

    शिक्षा र टेक्नोलोजीलाई कसरी कनेक्ट गर्ने भन्ने विषय नै आएको छैन। हामी मुस्किलले ७ हजार आईटी इन्जिनियरहरू उत्पादन गर्छौँ। तर त्यसलाई कसरी बढाउने त? कोटा सिस्टमले युनिभर्सिटीमा कोटा राख्दिएको छ। चाहँदा चाहँदै पनि कलेजहरूले पढाउन नसक्ने अवस्था छ। तर फेरि शिक्षामा यो विषय जोडिएको छैन। अहिले पनि फेरि विद्यालय शिक्षामा आईटी भनेर ३० वर्षअगाडिको क्यूबेसिक करिकुलममा छ। एआईसँग जोडिने पाइथनजस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू हाम्रो करिकुलममा कतै छैन। यो करिकुलम सुधारको विषयहरू कसरी सुधार्ने? आधारभूत शिक्षामा अहिले पनि कक्षा १ मा १०० जना भर्ना हुँदा मावि पास गर्ने ३० प्रतिशत मात्रै हो। १०० मा ३० जनाले मात्रै हो। त्यो इनएफिसियन्सी कसरी घटाउने त? ७० जनाभन्दा बढी ड्रपआउट हुन्छन्। त्यो इनएफिसियन्सी कसरी घटाउने एजुकेसनको भन्ने दृष्टिकोण पनि कतै देखिएको छैन।

    निजी क्षेत्रको सुधारको कुरा सधैँ आउँछ। सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन भन्छ, लगानीमैत्री वातावरण, कानुनी प्रक्रियाहरू सुधार गर्ने कुरा दोहोरिएको दोहोरिएकै छ। तर पनि जहिले पनि नीतिगत अस्थिरताको मारमा व्यवसायीहरू छन्। प्रक्रियागत झन्झटमा व्यवसायीहरू हुनुहुन्छ। त्यस्तै गरेर यो जुन वन क्षेत्रको प्रयोगका कुराहरू चाहिँ यो वर्ष अलिकति प्रमुख रूपमा आएको देखिएको छ। तर यो कताकति शंका गर्नुपर्ने ठाउँ के देखिन्छ भने पछिल्लो समय यो भूमिसँग सम्बन्धित अध्यादेश र पछिल्लो समय जुन कानुन आएको छ, त्योमार्फतको चलखेल हो कि? यहाँ चाहिँ यो इन्टेन्सन के हो भन्ने कुरा चाहिँ कुरा सुन्दा राम्रो लागे पनि इन्टेन्सनमा शंका राख्नुपर्ने स्थिति पनि देखिन्छ।

    त्यस्तै, साना तथा मझौला व्यवसायीहरू नेपालको ९० प्रतिशतभन्दा बढी व्यवसायीहरू साना तथा मझौला व्यवसायीहरू हुन्छन्, जसले १० जना अथवा कमलाई रोजगार सिर्जना गर्नुहुन्छ। तर नेपालमा उहाँहरूको बर्डन, अहिलेको पछिल्लो समयको श्रमसँग सम्बन्धित कानुनहरूले उहाँहरूको बर्डन नै झन्डै ठूला व्यवसायीहरूभन्दा बढी दुई गुणाले बढाएको देखिन्छ। त्यो सुधारको उपायहरू चाहिँ यो प्राथमिकता, सिद्धान्त तथा प्राथमिकतामा कतै देखिएको छैन।
    सामाजिक सुरक्षा एकदमै सजिलो, भत्ता बढाएर लोकप्रियता आर्जन गर्ने सजिलो उपाय हो। हामीले भत्ताको नाममा ७० वर्षको उमेरपछि वृद्धभत्तालाई ६८ मा झार्‍यौँ। तर त्यसको कस्ट के भयो? १३ अर्ब रुपैयाँ हरेक वर्षको दायित्व हामीले सिर्जना गर्दियौँ। त्यसको जिम्मेवारी, पछिल्लो एक दशकमा हेर्‍यो भने नेपालको बजेटको ३० प्रतिशत जति इन्क्रिमेन्ट चाहिँ सामाजिक सुरक्षासँग सम्बन्धित विषयहरूमा भएको देखिन्छ भने राज्यको दायित्व निरन्तर रूपमा सामाजिक सुरक्षासँग जोडिएका विषयमा छ। अहिले बजेटले धान्नै नसक्ने अवस्था छ। तर अब अहिलेकै सरकारहरूको नेतृत्वमा रहेका पार्टीहरूले गरेको त्यस्ता निर्णयहरूको जिम्मेवारी कसले लिने?

    त्यस्तै, सुशासन र भ्रष्टाचारको विषय, राजनीतिक भ्रष्टाचार, पर्टिकुलरली इलेक्सन ओरिएन्टेड भ्रष्टाचार न्यूनीकरण गर्न भनेर रामेश्वर खनालको आयोगले राजनीतिक दलहरूलाई भोटको आधारमा नै सार्वजनिक कोषबाट पैसा दिने व्यवस्था होस् भनेर सुझाव दिएको छ। यदि त्यो हुने हो भने झन्डै झन्डै ५०-६० अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचार हुन्छ भनिन्छ। दुई-तीन अर्बको लगानीमा हामीले त्यो भ्रष्टाचार न्यूनीकरण गर्न सक्छौँ। खनाल प्रतिवेदनलाई लागु गर्ने भनेको छ। तर त्यो कसरी लागु गर्ने भनेर सरकारले स्पष्ट खाका दिएको छैन।

    अब यो बलियो, ठूलो, दुईवटा ठूला दलबाट बनेको सरकारले त हामीले अलिकति रूपान्तरणकारी सोचको अपेक्षा गर्छौँ नि त। यही दुईवटा ठूला दल, त्यसमाथि पनि दुईतिहाइको सरकार हुँदाखेरि यस्ता खाले भ्रष्टाचार न्यूनीकरण गर्न सक्ने उपाय आओस् भन्ने हाम्रो अपेक्षा छ। राजस्व परिचालन पनि यो द्विदलीय सरकार बनाउँदै गर्दाखेरि राजस्व परिचालन र विकासको स्थिरताको कुराहरू उहाँहरूको सहमतिमा आएको विषय छ। तर राजस्व परिचालनको अहिलेको अवस्था हेर्‍यो भने हामीले लक्ष्यको, आजकी दिन, हिजोसम्म जम्मा ६७ प्रतिशत मात्रै राजस्वको लक्ष्य प्राप्त गरेका छौँ। गत वर्ष पुँजीगत खर्च हिजोसम्म ३६ प्रतिशत थियो। आज यत्रो ठूलो सरकार हुँदा जम्मा ३४ प्रतिशत छ। उहाँहरूले यत्रो अस्थिर सरकार, कमजोर सरकार भनेर बलियो सरकार बनेपछि त पुँजीगत खर्च बढ्नुपर्ने हो नि त। खै त तथ्यांकले त्यो देखाइराख्या छैन।

    यो समग्रतामा हेर्दै गर्दाखेरि धेरै कुरा नीतिगत रूपमा हेर्दा, पढ्दा अनुभवी अर्थमन्त्री हुनुहुन्छ, बलियो सरकार छ। यी कुराहरू अब जुन कुरा नीति, यहाँ नीतिमा आएका छन्, पढ्दा राम्रो सुनिए पनि अल्टिमेट्ली अंकमा, संख्यामा कसरी आउँछ, बजेटले के भन्छ, त्यो कुराहरू अब केही हप्तामा आइ नै हाल्छ। त्यसपछि हामी थप छलफल र विश्लेषण गर्नेछौँ। धन्यवाद ।

    (–रास्वपाका सांसद शिशिर खनालले मंगलबार प्रतिनिधि सभा बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल’का क्रममा प्रस्तुत गरेकाे विचार)

  • प्रहरी झुक्याएर सिंहदरबार पुगेका थिए राजेन्द्र लिङ्ग्देन ! कार्यकर्ता भन्थे– ‘सस्पेन्स’ छ

    प्रहरी झुक्याएर सिंहदरबार पुगेका थिए राजेन्द्र लिङ्ग्देन ! कार्यकर्ता भन्थे– ‘सस्पेन्स’ छ

    काठमाडाैं । निषेधित क्षेत्र तोड्ने निर्णयबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अन्ततः राप्रपाका केही पदाधिकारीहरु पक्राउ परे । पक्राउको केही घण्टामै गिरफ्तार गरिएका नेताहरु रिहा भए । र यसरी , उग्र बन्ने अनुमान गरिएको राजावादीहरुको वैशाख ७ गतेको आन्दोलन सकियो ।

    ४ वैशाखमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने निर्णय गरेपछि राप्रपाले नयाँ बानेश्वर, बालुवाटार र भद्रकाली क्षेत्रलाई प्रदर्शनस्थल बनाएको थियो । राप्रपाले प्रशासनसँग पनि अनुमति लिएको थिएन । जसका कारण गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर निषेधित क्षेत्र तोडे सरकारका तर्फबाट कडा प्रतिकार हुने बतायो ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निषेधित क्षेत्र तोडिने भनिए पनि घटनाक्रम अन्ततः अर्कै दिशामा मोडियो र फिल्मी शैलीमा निषेधित क्षेत्रमा उनीहरु पक्राउ परे । अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका अन्य कार्यकर्ता सिंहदरबार परिसरबाट पक्राउ पर्दै गर्दा यता बानेश्वरमा राप्रपाका करिब एक हजार कार्यकर्ता नारावाजी गरिरहेका थिए ।

    हामी पनि आन्दोलनमै सरिक एक कार्यकर्तासँग कुराकानी गर्दै थियौँ । हामीले निषेधित क्षेत्र तोड्ने कुरा के हुँदैछ भनेर उनलाई प्रश्न गर्याैँ , उनले निषेधित क्षेत्र तोडिन्छ भनिन् ।
    हामीले कसरी ? भन्यौँ
    उनले अहिले भन्न नमिल्ने तर केही बेरमा समाचारबाट थाहा पाउने बताइन् ।
    हामिले भन्नु न कसरी तोडिँदै छ , भनेर पुनः प्रश्न तेर्स्यायाैँ उनले यो कुरा सस्पेन्स रहेको र अहिले बोल्न नमिल्ने बताइन् ।
    त्यसको केही मिनेटमा नै हामीले सिंहदरबार परिसरबाट राप्रपाका केही केन्द्रीय नेता पक्राउ परेको थाहा पायौँ ।
    ती कार्यकर्ताले भनेको सस्पेन्स त यस्तो पो रहेछ ।

    शनिबार राप्रपाको सचिवालयबाट केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमा एउटा सूचना पोस्ट गरियो— ‘बिजुली बजार पुलमा भेला हुने, नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने र यो नेतृत्व अध्यक्ष लिङ्देनले गर्ने’। तर राजेन्द्र लिङ्देन त बानेश्वर नै आएनन् ।

    अब लिङ्देन किन आएनन् , यो कुरा स्वयं लिङ्देनलाई थाहा होला । तर उनले सञ्चारकर्मीलाई भने सिंहदरबार भित्रै प्रहरीले घेरा हालेका कारण आउन मिलेन भनेर जानकारी गराए । तर,आन्दोलनको दिन एका विहानै लिङ्देनले फेसबुकमा ‘हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ’ भनी लेखेपछि भने कार्यकर्ताबीच अन्योल छायो ।

    आइतबार बिहान लिङ्देनले पार्टीको विधानले नचिन्ने एउटा उच्चस्तरीय समितिको बैठक बोलाए, जहाँ निषेधित क्षेत्र तोड्न तीन टोली बनाइयो । बालुवाटारमा विक्रम पाण्डे, बिजुली बजारमा लिङ्देन र भद्रकालीमा अर्को टोली । तयअनुसार १ बजे लिङ्देनले नेतृत्व गर्ने भनिएको बानेश्वर क्षेत्रको प्रदर्शनमा कार्यकर्ताहरू १२ बजेदेखि नै जम्मा हुन थाले । उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजेन्द्र गुरुङ जस्ता नेताहरू उपस्थित भए तर लिङ्देन भने २:१५ सम्म पनि देखिएनन् ।

    कडा घाममा पनि उत्साहपूर्वक नाराबाजी गरिरहेका कार्यकर्ताहरू अध्यक्षकै आगमन पर्खिरहेका थिए । केही समूहले समय समयमा प्रहरीको बार तोड्न पनि खोजिरहेका थिए । अन्ततः उनीहरू लिङ्देनको प्रतीक्षामा माइतीघरतिर लागे ।

    त्यही बेला खबर आयो– अध्यक्ष लिङ्देन, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सिंहदरबारमा पक्राउ परेका छन् । दीपक सिंह भने प्रहरीको नजरबाट फुत्किएर बिजुली बजार क्षेत्र पुगेका थिए । उनलाई पछाडीबाट प्रहरीले खेदिरहेको थियो भने उनीसँगै भएका राप्रपा युवा कार्यकर्ताहरुले उनलाई सुरक्षा दिइरहेका थिए ।

    लिङ्देन सिंहदरबार पुगेर प्रदर्शन गर्नु र गिरफ्तार हुनु अधिकांश कार्यकर्ताहरूको नजरमा अनपेक्षित रहस्य बन्न पुग्यो । तर केही कार्यकर्ताहरुलाई भने यो बारेमा पहिले नै जानकारी भएकाे जस्ताे थियाे । उनीहरु सुरुवात देखिनै निषेधित क्षेत्र तोडिनेमा ढुक्क थिए । आन्दोलनमा संवाद गर्ने क्रममा राप्रपा प्रदेश सांसद उद्दव पौडेलसमेत निषेधित क्षेत्र टोडिनेमा ढुक्क थिए ।

    यो सबै घटनाक्रम हेर्दा राप्रपाले बानेश्वर लगायतको सार्वजनिक ठाउँको निषेधित क्षेत्र टोड्ने भनेर भ्रम फैलाएको देखिन्छ । सङ्ख्याको कुरा गर्दा आइतबार पुग–नपुग २ हजारभन्दा धेरै आन्दोलनकारी थिएनन् । त्यसैले राप्रपाले निषेधित क्षेत्र तोड्नका लागि प्रयाप्त मान्छेको उपस्थिति नहुने देखेपछि यो हतकण्डा अपनाएको हुनसक्छ ।

    पछिल्ला दिनहरुको घटनाक्रम नियाल्दा, विभिन्न किसिमका हतकण्डा गर्दै राप्रपा समाचारमा भने छाइरहन खोजिरहेको छ । आइतबार एकभन्दा धेरै ठाउँमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोड्ने घोषणा गरेको राप्रपाले आन्दोलन गरिरहेका शिक्षकहरूको समय सार्ने भन्दा अरू केही गरेन । मानिसहरूको उपस्थिति एकदमै कम देखियो । यही भेउ पाएर सडकमा पुग्नु भन्दा सिंहदरबारमा नै हतकण्डा गर्नु राजेन्द्र लिङदेनहरूलाई बाध्यता परेको हुनसक्छ ।अन्ततः उनीहरूले त्यही गरे । पक्राउ परे र उनिहरुले चाहेजस्तो समाचार पनि बन्यो ।