Category: अर्थ

अर्थ

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

    काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

    भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो ।

    महानगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको हो ।

    भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

    रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए । टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ ।

    रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

    महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो ।

    यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आर्कषक गन्तव्य रंगशाला भएकाले सकरात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको बताइन् ।

    लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगतका लागि उत्साह थपिएको उल्लेख गरे ।
    उनले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने बताइन् ।

    काक्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर, र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

    रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

     

  • ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता

    ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

    कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

    मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढि मानिसहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

    बैंकले बागमती प्रदेशको भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका, काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ७०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वत जिल्लाको कुस्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

    लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङ जिल्लाको घोराही उपमहानगरपालिका, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा गाँउपालिका, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, पाल्पा जिल्लाको तानसेन नगरपालिका, प्युठान जिल्लाको प्युठान नगरपालिका, रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका, सुनिलस्मृति गाँउपालिका, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १,८०० भन्दा बढिको सहभागिता रहेको थियो ।

    साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाँउपालिका, पूर्वीचौकी गाँउपालिका, बाजुरा जिल्लाको बढिमालिका नगरपालिका, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७५० भन्दा बढि लक्षितवर्गहरुको सहभागिता थियो ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

  • कामना सेवा विकास बैंक र द एसआर होटल एण्ड इभेन्ट प्रालिबीच सम्झौता

    कामना सेवा विकास बैंक र द एसआर होटल एण्ड इभेन्ट प्रालिबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटल एण्ड इभेन्ट प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

  • सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

    सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

    काठमाडौं। ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्।

    न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो।

    सेन्चुरी बैंक रहँदाको बेला भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ ।

  • आज बेलायती पाउण्ड बढ्यो,अरुको विनिमय दर यस्तो छ

    आज बेलायती पाउण्ड बढ्यो,अरुको विनिमय दर यस्तो छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको ।

    जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ ।

    सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।

    आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा पुगेको छ ।

    सोमबारको तुलनामा पाउण्ड आज बढेर आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।

    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • घट्यो सुनचाँदीको भाउ

    घट्यो सुनचाँदीको भाउ

    काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भएको चाँदीमा आज ५ रुपैयाँ गिरावट भएको हो ।

     

  • शालीनदी मेला : करिब एक करोड आर्थिक संकलन, २२ लाख भक्तजन

    शालीनदी मेला : करिब एक करोड आर्थिक संकलन, २२ लाख भक्तजन

    काठमाडौं । साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ ।स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।

    शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो । मेला शनिबार(आज)साँझ विशेष समारोहबिच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।

    एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढङ्गले सम्पन्न गर्न सफल भएको पनि उनको भनाइ छ ।
    मेलामा आउने दर्शनार्थीहरु पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाडा र असहज परिस्थिति सिर्जना नभएको उनले बताए ।

    माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपुर्ण ढङ्गले मेला समापन गर्ने तयारी रहेको पनि उनको भनाई छ ।माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा बर्षेनी दर्शनार्थीहरुको घुइँचो लाग्नेगर्छ । भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए ।

    उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेको पनि उनले जानकारी दिए । यद्यपी, अघिल्ला वर्षहरुको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको सङख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाई छ । शालीनदी काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।

  • पञ्चकोट महायज्ञमा एनआरएनए अभियन्ताबाट १४ लाख बढी सहयोग

    पञ्चकोट महायज्ञमा एनआरएनए अभियन्ताबाट १४ लाख बढी सहयोग

    काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ मा गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके)शर्मा समूहले १४ लाख बढी सहयोग गरेको छ ।

    कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले धार्मिक अनुष्ठानमार्फत बाग्लुङको सर्वाङ्गिन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । यसैगरी एनआरएनए अध्यक्ष आरके शर्माले पवित्र धार्मिक भूमी पञ्चकोटको अनुष्ठानमा सहयोग गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै बाग्लुङको विकासमा आफू जोडिन सधैं तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

    उपाध्यक्ष गंगाधर गौतमले धार्मिक अनुष्ठानमार्फत सबैलाई एकताको सुत्रमा बाध्न मद्दत पुग्ने बताउँदै थप सहयोग गर्नका लागि एनआरएनएले सबैलाई अपिल गरेको पनि जानकारी गराए । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा फागुन ९ देखि महायज्ञ सुरु भएको हो ।

    पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको महायज्ञको दर्शनका लागि शर्मा समूह शुक्रबार बाग्लुङ पुगेको थियो । महायज्ञमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख १ रुपैयाँ, समूहका अध्यक्ष आरके शर्माले ३ लाख १ रुपैयाँ, एनआरएनए बेल्जियम सभापति सिता सापकोटाले ३ लाख १ रुपैयाँ महायज्ञमा सहयोग गरेका छन् ।

    त्यसैगरी निवर्तमान अध्यक्ष रविना थापा उपाध्यक्ष गंगाधर गौतम, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारी र जनसम्पर्क समिति नेदरल्याण्ड्सका सभापति शालिकराम गौतमले जनही ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।

    यसैगरी एनआरएनए पूर्व आइसीसी सदस्य गंगा शर्माले २५ हजार ५ सय ५५ र जनसम्पर्क समति युएईका सभापति भवानी तिमिल्सिनाले १५ हजार १ रुपैयाँ सहयोग गरेका हुन् । काठमाडौंबाट पुगेको एनआरएको समूहले कुल १४ लाख १८ हजार ३ सय ३४ रुपैयाँ सहयोग गरेको युरोप संयोजक सापकोटाले जानकारी दिए । उनले अझैं पनि एनआरएनएका तर्फबाट सहयोगका लागि सबै ठाउँमा अपिल गर्ने बताए ।

  • योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

    योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ ।एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।

    उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ ।बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

  • अनुभव र क्षमताले खारिएका भण्डारी जसले हाँक्दैछन् दूरसञ्चार प्राधिकरण

    अनुभव र क्षमताले खारिएका भण्डारी जसले हाँक्दैछन् दूरसञ्चार प्राधिकरण

    काठमाडौं । नेपाल सरकाले झण्डै दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ लगायतका क्षेत्रमा अनुभव हासिल गरेका विज्ञ भुपेन्द्र भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ ।

    २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिवको नेतृत्वमा रहेको सिफारिस समितिले भुपेन्द्र भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    नवनियुक्त अध्यक्ष भण्डारीले नेपालको मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ, फिनटेक, लेखा परीक्षण, कर तथा वित्त व्यवस्थापनको क्षेत्रमा अनुभव मात्र होइन, २१ वर्षदेखि सफल नेतृत्व गर्दै आएका छन् ।

    विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका छन् । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिएका छन् ।

    भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गरेका थिए । उनले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व सुरु गरेका थिए ।

    त्यसको एक वर्षपछि उनले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    त्यसको दुई वर्षपछि विसं २०६२ मा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा सिनियर अडिटरको रुपमा काम गरेका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले पशुपति विकास बैंकको नेतृत्व मात्र लिएनन्, चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको ब्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्याए ।

    उनले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कार्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसकेका छन् । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्व लिने भूमिकामा गए । स्पाइस नेपाल प्रालि (मेरो मोबाइल)मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व थालेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गरेका थिए ।

    विसं २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिए । उनले रुग्ण कम्पनीको नेटवर्क सुरु मात्र गरेनन्, तीन वर्षमै कम्पनीलाई नाफामा लगे । त्यति मात्र होइन, उनको कुशल नेतृत्वको परिणाम काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भयो ।

    विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिएका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा रहे । दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उनी नेपाल फर्किए । नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गरे । उनी आफैले पे नेप प्रालि स्थापना गरेर २०८० जेठ सम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व गरे ।

    २०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाले । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिए । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायहरुको अनियमिताहरुको अध्ययन, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सूचना प्रविधि क्षेत्रलाई राष्ट्रको हितमा परिचालन गरी देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने दृढ संकल्प र उच्च मनोबलका साथ भण्डारीले काम गरिरहेका छन् ।