अनुभव र क्षमताले खारिएका भण्डारी जसले हाँक्दैछन् दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल सरकाले झण्डै दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ लगायतका क्षेत्रमा अनुभव हासिल गरेका विज्ञ भुपेन्द्र भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ ।

२०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिवको नेतृत्वमा रहेको सिफारिस समितिले भुपेन्द्र भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष भण्डारीले नेपालको मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ, फिनटेक, लेखा परीक्षण, कर तथा वित्त व्यवस्थापनको क्षेत्रमा अनुभव मात्र होइन, २१ वर्षदेखि सफल नेतृत्व गर्दै आएका छन् ।

विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका छन् । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिएका छन् ।

भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गरेका थिए । उनले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व सुरु गरेका थिए ।

त्यसको एक वर्षपछि उनले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका पनि निर्वाह गरिसकेका छन् ।

त्यसको दुई वर्षपछि विसं २०६२ मा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा सिनियर अडिटरको रुपमा काम गरेका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले पशुपति विकास बैंकको नेतृत्व मात्र लिएनन्, चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको ब्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्याए ।

उनले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कार्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसकेका छन् । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्व लिने भूमिकामा गए । स्पाइस नेपाल प्रालि (मेरो मोबाइल)मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व थालेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गरेका थिए ।

विसं २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिए । उनले रुग्ण कम्पनीको नेटवर्क सुरु मात्र गरेनन्, तीन वर्षमै कम्पनीलाई नाफामा लगे । त्यति मात्र होइन, उनको कुशल नेतृत्वको परिणाम काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भयो ।

विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिएका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा रहे । दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उनी नेपाल फर्किए । नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गरे । उनी आफैले पे नेप प्रालि स्थापना गरेर २०८० जेठ सम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व गरे ।

२०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाले । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिए । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायहरुको अनियमिताहरुको अध्ययन, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सूचना प्रविधि क्षेत्रलाई राष्ट्रको हितमा परिचालन गरी देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने दृढ संकल्प र उच्च मनोबलका साथ भण्डारीले काम गरिरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१