Category: खेल

खेल

  • कुवेतविरुद्ध नेपालकाे सहज जित

    काठमाडौं । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

    जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

    जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

  • महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतकाे सामना गर्दै नेपाल

    काठमाडाैं । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार कुवेतको सामना गर्दैछ ।

    दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ ।

    मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो ।

    कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

    तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

    यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।

    यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

    जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्ष स्थानमा छ । नेपाल, मलेसिया, हङकङ र भुटानको समान चार अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । बिनाअंक कुवेत पुछारमा छ ।

  • रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    काठमाडौंं । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १/१ गोल गरे ।

    समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।

    जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

    यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।

  • सिटी समूह विजेता, पीएसजी पराजित

    सिटी समूह विजेता, पीएसजी पराजित

    काठमाडौं । स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

    बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५०औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ मिनेटमा २–१ को अग्रता बनाए ।

    स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् ।

    यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो ।

    समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्‍याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍याे । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।

  • बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना बराबरीमा

    बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना बराबरीमा

    काठमाडौं । ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

    मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो ।

    राति नै भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएपछि बायर्नले समूहमा ८ अंकको अग्रता लिएको हो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ ।

    बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ ।

    मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे ।

    पहिलाे पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्काे खेल कुर्नपर्ने भएको छ ।

    समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।