Category: फिचर स्टोरी

फिचर स्टोरी

  • हराएको सौन्दर्यमा लाली थप्दै काठमाडौं, कंक्रिटको जंगल फूलबारीको शहर बन्दै

    हराएको सौन्दर्यमा लाली थप्दै काठमाडौं, कंक्रिटको जंगल फूलबारीको शहर बन्दै

    काठमाडौं । कचौरा आकारको काठमाडौंलाई धेरैले प्राकृतिक वातानकुलित शहर पनि मान्ने गर्छन् । विछट्टै प्राकृतिक आकर्षणले लोभलाग्दो काठमाडौं प्राचीन सम्पदाहरुको कारण पनि छुट्टै परिचय स्थापित गर्न सफल भएको छ । मन्दिर नै मन्दिरको शहरको उपनामले ख्याति कमाएको काठमाडौंले कंक्रिटको जंगल र प्रदूषणको कारण बदनामी पनि भोग्यो । तर काठमाडौं अहिले फरक बन्न खोज्दैछ, आफ्नो सौन्द्धर्यतमा पुनः कसी लगाउन खोज्दैछ ।

    ज्याकाराण्डा फूल्ने समयमा काठमाडौं मनमोहक बन्ने गर्छ । शिरिषको फूल फुलेको बेलमा पनि काठमाडौं हेरिरहुँ जस्तो लाग्छ । तर यी भए काठमाडौंमा हरेक बर्ष फूल्ने मौसमी फूलहरु । सबैको सपनाको शहर बनेको काठमाडौं संघीय राजनीतिका कारण पनि यहाँको जनघनत्व बढ्दो छ भने कंक्रिटका घरहरु थपिदो छ । जस्को कारण विरुप बनेको काठमाडौ पुनः सौन्द्धर्य खोज्न थालेको छ । आफ्नो हराएको वैशमा पुनः लाली पोत्न थालेको छ ।

    अहिले काठमाडौंमा पैदल यात्रीहरुले फरक महसुस गर्न थालेका छन् । जताततै फूलेका फूलहरु र गमलामा सजाइएका धेरै थरीका फूलहरुले काठमाडौको सुन्दरतामा फरकपन आएको महसुस गर्न थालिएको छ ।

    सडक हिड्ने यात्रुहरु भन्छन – काठमाडौं फेरियो, सुन्दर बन्यो र बनिरहोस् यस्तै सधैँ । ’ काठमाडौंका फुटपाथ प्रयोगकर्तालाई अहिले केही समय सडक छेउमै बसौं बसौं लाग्छ, केही समय टोलाउँ फोटो खिचौं जस्तो लाग्न सक्छ ।

    काठमाडौंको प्रर्दशनी मार्गमा मात्रै होइन्, यसअघि फटाफट दायाँ बायाँ नहेरी हिड्नेहरुका आँखा अहिले नचाहेर पनि राजधानीको सडकका किनारामा अडिन्छन् ।

    काठमाडौं महानगरले थालेको शहरको सौन्दर्यीकरण अभियानका कारण अहिले काठमाडौंका बिजुलीबजार, प्रर्दशनी मार्ग, शंकरदेव लगायतका क्षेत्रका सडक अहिले गमलासहितका फूलले सजिएका छन् ।

    संघीय राजधानी समेत रहेको काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सौन्दर्यीकरण गर्ने काम थालेकोमा सबै खुसी छन् ।

    सडक, फुटपाथ र सडकका भित्तालाई आर्कषक र सफा बनाउने काम थालेको महानगरले पछिल्लो समय सडक फुटपाथलाई नै सुन्दर बनाउन गमलाले सजाउन थालेको छ ।

    काठमाडौं देशको राजधानी भएको हिसाबले पनि यहाँ मानिसको धेरै चाप रहने गर्दछ । मानिसको साथै घर र वस्तीको पनि उत्तिकै चाप रहने हुनाले काठमाडौंमा हरियाली सायदै देख्न सकिन्छ ।

    हरियालीको अभाव र कंक्रिटको जंगल बन्दै गएको काठमाडौं शहरलाई हरियाली पूर्ण बनाउने अभियानमा महानगरपालिका लागिपरेको छ ।

    यसै क्रममा उपत्यकाका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन् । महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेर व्यस्त शहरलाई केही समयको विश्राम र सुन्दरता दिने प्रयास गरेको छ ।

    शहरलाई स्वच्छ, सफा र हरियाली बनाउने हो भने यसमा महानगरको मात्रै प्रयासले हुँदैन । यसमा स्थानीयदेखि सडक प्रयोगकर्ता लगायत सबैको लगाव उत्तिकै हुन जरुरी छ । हरेक दिन केही समय निकालेर रुख विरुवा रोप्ने, गोडमेल गर्ने र शहरलाई सफा बनाउने प्रयास गर्ने हो भने काठमाडौंले आफ्नो पुरानो ख्यातिमात्र फर्काउने निश्चित छ । यसो भए काठमाडौं सबैभन्दा प्रदूषित शहर नभइ सबैभन्दा चित्ताकर्षक र स्वच्छ शहरको रुपमा आफूलाई चिनाउन पनि सक्छ ।

  • दुवै हात गुमाएका सुदर्शन गाैतमकाे संघर्ष र सफलता

    दुवै हात गुमाएका सुदर्शन गाैतमकाे संघर्ष र सफलता

    काठमाडाैं । साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भने झैँ झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर्दै आएका छन् । आँट र हिम्मत भयो भने असम्भवलाई पनि सम्भवमा बदल्न सकिन्छ भन्ने उदाहरण हुन् सुदर्शन गौतम । रामेछाप गुन्सी भदौरमा जन्मिएका गौतमले संघर्षको पहाड छिचोल्दै जीवनमा सफल बनेर प्रमाणित गरेका छन् । समय र परिस्थितिले मानिसलाई कहाँ अवसर दिन्छ र कहाँ धोका दिएर साथ छोड्छ भन्न सकिन्न । गौतमको जीवनमा पनि त्यस्तै नसोचेको विपत् आइलाग्यो । कल्पना पनि नगरेको घटना जीवनले भाेग्न पुग्याे ।

    १३ वर्षको उमेरैमै गौतमले बिजुलीकाे करेन्टका कारण दुवै हात गुमाउनु पर्‍याे । दुवै हात नपाएपनि उनले जीवनमा निराशा भेटेनन् । आशा भेटे र विस्तारै आशालाई सफलताको कथासँग बुन्न थाले । दुवै हात नभएपनि गौतमले आफैँ खाना बनाउने खाना खानेलगायतको कामकाे अभ्यास गरे । सफल पनि भए । उनले अध्ययनलाई पनि एकसाथ अगाडि बढाए । खुट्टाले लेख्न सुरु गरे । खुट्टाले लेखेरै एसएलसीमा राम्रो अंक ल्याएर पास गर्न पनि सफल भए । हात गुमाए पनि गौतमले जीवनमा केही गर्नुपर्छ भन्ने हिम्मत र आँट गुमाएनन् । निरन्तर रुपमा प्रयास गरे सफल भइन्छ भन्ने अठोट उनले मनमा राम्रोसँग सम्हालेर राखे ।

    कक्षा ९ मा अध्ययन गर्दा दुवै हात गुमाएपछि खुट्टाले लेखेर एमबीएस गरेका गौतमले क्यानडाबाट सोसल डेभलपमेन्टमा डिग्री गरेका छन् । उनी खुट्टाले हात सरह कम्प्युटर र मोवाइल सहजै प्रयोग गर्न सक्छन् । २०४५ साल मै कम्प्युटर डिप्लोमा कोर्ष गरेका गौतम नेपाल कमर्श क्याम्पसमा विद्यार्थी नेतासमेत भए । नेपालमा पहिलो पटक खुट्टाले मात्र साधारण कार चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका गौतमले अहिलेसम्म कहिल्यैपनि पछाडि फर्कनु परेको छैन । उनीसँग अहिले क्यानडाको लिगल ड्राइभिङ लाइसेन्ससमेत छ ।

    अझ रोचक त २०६९ सालमा दुवै हात विना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर गौतमले दुनियाँलाई चकित बनाइदिए । गौतमको जीवनी पत्याउन नसकिने खालको छ । आत्मविश्वास, साहस र धैर्यताका प्रतिमूर्ति हिम्मतवाला नायकको रुपमा स्थापित गर्न सफल भएका छन् । ०५५ सालमा प्रतिष्ठित १५ वटा संस्थाहरुको सामुहिक सक्रियतामा गठन भएको ‘नेपालीले नेपालीलाई सहयोग’ समितिको अध्यक्ष भएर गौतमले दुर्गम जिल्ला मुगुमा करिव ५ वर्षसम्म सेवा समेत गरे । नेपालमा राजनीतिक द्धन्दका कारण विरक्तिदै २०६२ सालमा क्यानडा पुगेका गौतम हाल क्यानडाकै नागरिक हुन् । उनी अमेरिकाको ग्रीनकार्ड प्राप्त रेस्टुरेन्ट व्यवसायी समेत हुन् । गौतम राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५ सय भन्दा बढी अवार्डबाट सम्मानित भइसकेका छन् । क्यानडा सरकारले गौतमलाई ‘हल ओफ फेम’ नामको सम्मान गरेको छ । उक्त सम्मान पाउने गौतम पहिलो आप्रवासी हुन् । २०७१ सालमा रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ को नायकको रुपमा अभिनय गरेपछि फिल्मी क्षेत्रमा पनि गौतमको नाम चर्चित बन्न पुग्यो ।

    हाल क्यानाडियन नागरिक गौतम क्यानाडा को नायग्रा फल्समा श्रीमती सुधा गौतमको साथ बसोबास गर्दै आएका छन् । उनका एक छोरि अमेरिकामा कानून विषय पढ्दै छिन् भने छोरा क्यालगरी स्कुलमा अध्यनरत छन् । गौतम फिल्म निर्माता र अन्तर्राष्ट्रिय घटना व्यवस्थापन कम्पनी इ टु एल क्रिएटिन हब क्यानाडाका मालिक हुन् । गौतम धितो एजेन्टको रुपमा पनि कार्यरत छन् भने घर तथा व्यवसाय किन्नेहरुको लागि गौतम बैंकबाट ऋण मिलाउने तथा घर खरिद बिक्री र नयाँ निर्माण को व्यवसाय पनि गर्दै आएका छन् । टोयोटा कार कम्पनी जापानको प्रयोजन रहेको ओलम्पिक खेलको लागि टोयोटा असम्भव ग्लोबल मार्केटिंग क्यानाडा बाट १० जना मध्ये काम गर्नेमा सुदर्शन प्रमुख रहेर सन् २०१९ देखि काम गर्दै आएका छन् ।

    दक्षीण एशियाली क्यानेडियन ट्रेलब्लेजर विरासत व्यक्तित्व २०१७ अवार्ड द्वारा सम्मानित गौतम २०२४ को मे महिनामा युकोन प्रान्तमा अवस्थित माउन्ट लोगानको आरोहण गर्ने योजनामा रहेका छन् । मानव तस्करी जस्तो जघन्य आरोपको अन्तर्राष्ट्रिय मिडियामार्फत खण्डन गर्ने उनकोे योजना रहेको छ ।

    अन्तिम वर्ष भर्जिन ग्यालेक्टिक स्पेस कम्पनीबाट स्पेस जानको लागि छनाेट भएता पनि आर्थिक अभावका कारण केही वर्षको लागि होल्डमा राखेको गौतमले बताए । दुवै हातबिना सगरमाथा त चढियो भने स्पेस जानु कुनै ठुलो कार्य नभएको मात्र बजेट अति नै धेरै भएको कारण हाल प्रायोजकहरूसँग कुरा गर्दै गरेको उनको भनाइ छ ।

    गौतम हाल महँगो पारिश्रमिक लिएर आफ्नो प्रेरक स्टोरी सुनाउँन दुनियाँ भ्रमण गरिरहेका छन् र हालसम्म करिब ६० भन्दा बढी देश भ्रमण गरिसकेका छन् । गरिब, दुखी, असहायलाई विभिन्न सहयोग गर्दै आएका असाधारण, बिलछ्यण प्रतिभाका धनी गौतमले क्यानाडामा पनि नवआगन्तुक नेपालीहरुलाई सम्भव भएसम्म हरेक तवरको सहयोग गरेको देख्न पाइन्छ । सहयोगी मन अनि अति नै मिजासिला स्वभावका धनी सुदर्शनको परिवारमा माता पिता, भाई अनि बुहारी पनि छन् ।

    अनेक बाधा, अड्चन कयौँ दु:ख पीडाहरुलाई पन्छाउँदै आएका गौतमले आफ्नो निजी जीवनमा थुप्रै उतार–चढावको सामना पनि गर्नु परेको छ । सगरमाथा आरोहणका लागि पैसा र टिम जुटाउन करिब १० वर्ष लाग्यो । क्यानाडाको हिउँमा ३ वर्ष खाली खुट्टा दौडेर आफूलाई सक्तिशाली बनाएको उनको भनाइ छ । कथा भित्रको व्यथा देखिँदैन तर अथक मेहनत परिश्रम अनि हार नमान्ने हो भने हरेक कुराहरु सम्भव छन् भन्ने उनको विश्वास हो र उनी आफैँ उदाहरण पनि हुन् । उनी आफ्नो हरेक सफलताका श्रेय आफ्नी श्रीमती सुधा गौतमलाई दिन्छन् । सुदर्शनको हरेक इच्छा, आकांक्षा माथि आफ्ना हरेका चाहानको सहजै तिलाञ्जली दिन सक्ने सुधाको साथ र सहयोग नै आफ्नो आत्मबल भएको सुदर्शनको भनाइ छ ।

    उनको नाममा क्यानाडा, नेपाल अनि अमेरिकालगायत चन्द्रमामा पनि १ एकड जमिन रहेको उनकाे दाबी छ । चन्द्रमाको जमिन ब्रिटिश नागरिक एरिकले उनलाई उपहार स्वरुप प्रदान गरेकाे उनी बताउँछन् । त्यसपश्चात गौतम लुनार रिपब्लिक समाजको मानार्थ नागरिक समेत बनेका छन् । यो सबै कार्यहरु अवार्ड र रेकर्डको लागि नगरेको गौतम बताउँछन् ।

    साहसिक गौतमले हालैका दिनमा नायगरा फल्स माथिकाे १६ हजार फिटबाट स्काई डाइभिङ पनि गरेका छन् । उनले आफ्नी २० वर्षीया छाेरी सुवेस्ता गाैतमसँगै डाइभ हानेर याे कीर्तिमान हासिल गरेका हुन् ।

  • गाउँ गाउँमा सिंहदरबार : ईन्टरनेट सेवा नहुँदा १ दिन पैदल हिँडेर सेवा लिँदै मुगुमवासी

    गाउँ गाउँमा सिंहदरबार : ईन्टरनेट सेवा नहुँदा १ दिन पैदल हिँडेर सेवा लिँदै मुगुमवासी

    मुगु । सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने सरकारको मूल नारालाई चुनौती दिदै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरु प्रभावकारी बन्न सकेका छैनन् । साना तिना समस्याले पनि ठूला समस्या खडा गरिदिदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन ।

    मुगुम जिल्लाकोे उतरपूर्वी भेगमा पर्ने मुगुम कामारोङ्ग गाउँपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा ईन्टरनेट सेवा नहुँदा नागरिकहरुले जन्म,मृत्यू ,वसाई सराई सेवा लिन १ दिन पैदल हिडेर पालिकामा रहेको संयुक्त वडा कार्यालयमा जानु पर्ने बाध्यता रहेको छ ।

    मुगुम कामारोङ्ग गाउँपालिका क्षेत्रफलले निकै ठूलो भएपनि जनसंख्याको हिसाब थोरै रहेको ९ वडा भएको एक पालिका हो । कष्टकर भुगोलका कारण एक बस्तीबाट अर्को बस्ती पुग्न ३ देखि ५ घण्टा सम्म हिड्नु पर्ने हुन्छ ।

    पछिल्लो समयमा सरकारले पञ्जिकाधिकारीबाट हुने जन्म,मृत्यू,वसाई सराई,सामाजिक सुरक्षा भत्ता समेत अनलाईनमार्फत दर्ताको व्यवस्था गरेको हुँदा मुख्यत वडामा सचिव नबस्ने, त्यसमाथि ईन्टरनेटको सुविधा नहुँदा सामान्य सेवा लिनको लागि पनि २ देखि ५ घण्टा हिडेर पालिकाबाट सेवा लिनु पर्ने बाध्यता रहेको समाजसेवी गुरुस्याङ्गा लामाले बताए ।

    वडा कार्यालयमा नत बत्ति छ नत ईन्टरनेट नै । दैनिक एक दिन हिडेर सामान्य सिफारिस लिनको लागि पालिका कार्यालय पुलुमा पुग्नु पर्ने बाध्य हुँदा नागरिकहरुले निकै दुःख पाउने गरेको मुगमकामारो गाउँपालिका वडा नम्र १ का वडा अध्क्षय कामाटुन्डुप लामाले बताए ।

    सन् २०२४ सम्म पञ्जिकरण सम्बन्धि सबै सेवालाई अनलाईनबाट सन्चालन गर्ने नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार मुगम कामारोङ्ग गाउँपालिकाका १ देखि ९ वडा सम्मका सबै मृत्यू ,जन्म,वसाईसराई लगायतका सेवाहरु अनलाईनबाट दर्ता सुरु गरिएका छन । पालिकाबाट प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सेवा बारे पहल गर्दा वडाको बजेट भन्दा बढी खर्च लाग्ने भएकोले वडा कार्यालयमा ईन्टरनेट,विद्युतको सेवा नहुँदा पालिकाको केन्द्र रहेको पुलुमा अवस्थित संयुक्त वडा कार्यालयबाट जनतालाई सेवा दिने गरेको मुगम कामारोङ्ग गाँउपालिका १ र २ वडाका वडा सचिव ईश्वर सिंहले बताए ।

    मुगुम कामरोङ्ग भूगोल र भैतिक पूर्वधार ठूलो क्षेत्र रहेको पालिका हो । १ देखि ४ वडासम्म ईन्टरनेट नहुँदा निकै समस्या भएको छ भने ५ देखि ९ वडासम्म ईन्टरनेट सेवा उपलब्ध छ । ईन्टरनेट सेवा नभएका वडा र पालिका भित्र रहेका स्वास्थ्य संस्था,बिद्यालयमा समेत ईन्टरनेट सेवा प्रवाह गर्नको लागि आ.व ०८०।०८१को नीति तथा कार्याक्रममा बजेटको व्यवस्था गरिएको हुँदा अवको ३ – ४ महिना भित्र सबै वडाहरुमा ईन्टरनेट सेवा पुर्याउने गरी कार्य भईरहेको मुगम कामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले जानकारी दिए ।

  • मुगुकी हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् : देशमै अवसर छ

    मुगुकी हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् : देशमै अवसर छ

    मुगु । देशमा अवसर नपाएको र आर्थिक मन्दीले गर्दा केही हुन नसकेको भन्दै विदेशिने युवाहरुका लागि मुगुकी एक युवती चुनौती बनेकी छिन् । गाउँठाउँमा लाज नमानी काममा हात हाले सम्भावनाको अथाह खानी नेपालमा नै छ भन्ने प्रमाण पनि उनले पेश गरेकी छिन् ।

    मुगु जिल्ला सोरुगाँउपालिका १० धैनकी हरिदेवी बूढा कुनै बेला गाँउघरमा नै गरीब भनेर हेपिँदै आएकी थिइन् । तर मेहनतले अहिले उनको भाग्य चम्किएको छ । गरीब, असहाय, अपाङ्ग, दलित, पछाडि परेका बर्गहरुको क्षमता विकास गरी आयआर्जनमा परिवर्तन गर्ने आईएनएफनामक संस्थाबाट पाएको ४५ हजारले उनको अवस्था बदलिएको हो ।

    २ बर्ष पहिला बाख्रापालनको लागि अनुदानमा सहयोग स्वरुप पाएको ४५ हजारबाट ७ बाख्रा किनेर सुरु गरेको बाख्रापालनबाट अहिले उनको घर खर्च, बालबच्चालाई बिद्यालय पठनपाठन, लत्ताकपडा, गाँसबाँस चलाएर पनि १७ बाख्रा खोरमा छन् ।

    आर्थिक अवस्था बलियो बनेपछि दङ्ग परेकी बूढा भन्छिन् ‘राम्रो निकायबाट सपोर्ट भएपछि मेहेनेत गर्दा विदेश किन जानु पर्यो आफ्नै गाँरघर नै विदेश हुँदो रहेछ । अब यही बाख्रापालनलाई नियमित व्यवसाय बनाउने बूढाको भनाइ छ ।

    बूढाका श्रीमान पनि हिजो आज निकै खुसी छन् । बिहान उठ्ने वित्तिकै बाख्राको लागि घाँस दानामा व्यस्त देखिन्छिन् । उनी भन्छिन् ‘हामी गरीबहरु कहाँ अनुदान पाउने थियौ र जुनसुकै बिकास आए पनि बाटा टाठालाई हुन्छ । स्थानीय सरकारबाट कुनै सहयोग नपाएका हामी यही बाख्रापालेर जीवन गुजारेर चलाउने अवस्थामा पुगेका छौँ ।’

    दुर्गम हिमाली जिल्लामा रहेका पछाडि परेका गरीब, दलित, असहाय , महिला, गरीबहरुको आयआर्जन गरी स्वास्थ्य शिक्षा रोजगारमा परिवतन गर्ने नीति अनुसार आइएनएफबाट ४५ हजार अनुदान लिएर ७ बाख्रा किनेकी बूढासँग अहिले खोर भरि बाख्रा छन् । उनले यही बाख्रापालनबाट घर खर्च चलाएर साबाँ समूहलाई फिर्ता दिएर १७ बाख्रा खोरमा भर्न सफल भएकी छिन् । स्थानीय गाँउघरको मूल्य अनुसार अहिले बाख्रापालक किसान बूढासँग २ लाख ५० हजार भन्दा बढी मूल्यका बाख्रा खोरमा छन । आईएनएफ मुगुका क्षमता बिकास अधिकृत शारदा कुमारी हितानले मुगुका पछाडि परेका महिलाहरुलाई बूढाको झै अवस्थामा पुर्याउन संस्था सक्रिय रहेको बताइन् ।

  • छोरी पढाऔँ, गरिमा बढाऔँ अभियान : ८४ दलित बालबालिकालाई छात्रवृति प्रदान

    छोरी पढाऔँ, गरिमा बढाऔँ अभियान : ८४ दलित बालबालिकालाई छात्रवृति प्रदान

    काठमाडौै । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका दलित समुदायका ८४ बालबालिकालाई छात्रवृत्ति रकम स्वरुप १० लाख ८ हजार रुपैयाँ वितरण गरेको छ ।

    समाजले छोरी पढाऔँ, गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरु गरेको कर्णाली प्रदेश केन्द्रित ३ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत कर्णाली प्रदेशका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति रकम १० लाख ८ हजार रुपैयाँ वितरण गरेको हो ।

    जेठ २४ देखि जेठ २९ सम्म कालिकोटको शुभपालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण मा.वि.का १० जना, लुड्कुस्थित कनकासुन्दरी मा.वि.का १२ जना, मुगुको महाकाली नमूना मा.वि.का ८ जना, नेपाल राष्ट्रिय मिन मा.वि. भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुंगेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना, कक्षा ६ मा अध्यनरत दलित समुदायका ७८ जना बालिकालाई १२ हजार रुपैयाँका दरले पहिलो वर्षको छात्रवृत्ति रकम शान्ति समाजको टोलीले सम्बिन्धित बालिकाहरुलाई प्रदान गरेको थियो ।

    यसैगरी हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभूत विद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मा.वि सर्केगार्डका ३ जना गरी ६ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न विद्यालय सम्बन्धित व्यक्तिलाई बैंकबाट रकम पठाइएको छ ।

    कर्णाली केन्द्रीत ३ वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकाल, सदस्य तथा शुभचिन्तकहरु दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा. ललितजंग शाही, एस आर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत ७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले शुरु गरेको ५ वर्षे र ३ वर्षे छात्रवृत्ति संख्या १२१ पुगेको छ ।

    यसैगरी शान्ति समाजले विश्व वातावरण दिवसको अवसरमा गत् जेठ २३ देखि शुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित हिमालय बचाउँ : नदी जोगाउँ अभियान अन्तर्गत बिभिन्न जिल्लामा प्रदर्शन तथा कोण सभा सम्पन्न गरेको छ ।

    जेठ २३ गते सुर्खेतबाट दीप प्रज्वलनसहित प्रारम्भ भएको हिमालय बचाउँ : नदी जोगाउँ अभियान अन्तर्गत कालीकोटको मान्म, मुगुको गमगढी र जुम्लाको खलंगाबजारमा शान्ति समाजले तयार गरेको अवधारणापत्र वितरणसहित प्रदर्शन र कोण सभा सम्पन्न भएको थियो ।

    अभियानमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कार्यवाहक सभापति कृष्णबहादुर रावल, सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल, कर्णाली प्रदेश सचिव प्रकाश शाही, केन्द्रीय सदस्य अरुण ज्ञवाली र आजीवन सदस्य एस आर पाण्डे सम्मिलित थिए ।

  • मुर्रा राँगो : वीर्य सङ्कलनबाट सरकारले वार्षिक कति कमाउँछ ?

    मुर्रा राँगो : वीर्य सङ्कलनबाट सरकारले वार्षिक कति कमाउँछ ?

    गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।

    दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ ।

    कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य सङ्कलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब छ लाख डोज वीर्य सङ्कलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो । त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो ।

    पोखरा कार्यालयले वीर्य सङ्कलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व सङ्कलन गरेको उनले बताए । कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ ।

    अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य सङ्कलन गरिएको थियो । जसबाट रु पाँच करोडको हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । चालु आवको चैतसम्म रु तीन करोड सङ्कलन भइसकेको जनाइएको छ ।

    पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेयले बताए । नश्ल सुधारले हिजोप्रति बेत ७/८ सय लिटर दूध दिने भैँसीले अहिले २७/२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए ।

    भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिवेत ३८/३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने बताए । भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ ।

    “वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो”, उनले भने, “जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँंमा अमूल्य छ ।” मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ । नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ । आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए ।

    अन्य देशबाट ल्याउँदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उgले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए । प्राविधिक टोलीले ल्याउन लागिएका राँगमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ । डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए ।

    उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य सङ्कलन भइरहेको छ । पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन् । जसमध्ये ३१ वटाबाट वीर्य सङ्कलन भइरहेको र २७ वटा हुर्कदो अवस्थाका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य सङ्कलन गर्दै आएको छ ।

    किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि-अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ ।

    त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण हुने खड्काले बताए ।

    “नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्”, उनले भने, “भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ ।”

  • एक आर्थिक वर्षमा ३ कार्यालय प्रमुख फेरिए, अन्त्यमा कोही नहुँदा विजोग

    एक आर्थिक वर्षमा ३ कार्यालय प्रमुख फेरिए, अन्त्यमा कोही नहुँदा विजोग

    काठमाडौं । एक आर्थिक बर्षमा तीनवटा कार्यलय प्रमुख परिवर्तन भए तर एक जना पनि कार्यालयमा उपस्थित नहुँदा मुगुको कृषि कार्यालय सुनसान छ ।

    आर्थिक वर्षको अन्त्य तिर योजनाको भुक्तानी दिने, आयोजनाको अनुगमन गर्ने र कृषकहरुलाई ज्ञान मुलक तालिमहरुमा व्यस्त हुनु पर्ने मुगु जिल्लाको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नै लामो समयदेखि अनुपस्थित छन् । जस्को कारण कार्यालयको कामकाज ठप्प छ भने आयोजना सम्पन्न भएका उपभोक्ता समिति र सेवा लिने सेवाग्राहीहरु मारमा परेका छन् ।

    जिल्ला कृषि विकास कार्यालय मुगुबाट सञ्चालन हुने साना सिंचाई आयोजना ९४ वटा छन भने जस्मा ७६ वटा आयोजनाको सम्झौता सम्पन्न भएका छन् । अन्य १८ साना सिंचाई आयोजनाको सम्झौता नहुँदा थप समस्या उत्पन्न भएको छ । साना सिंचाई आयोजना अन्तर्गत स्याउ अनुदान , वृक्षरोपण , ओखर , केरा , कागती , बिउ बैंक लगायतका कामहरु भएका छन् ।

    कृषि विकास कार्यालयबाट आर्थिक बर्ष २०७९।०८०को कोलगड कागती खेती साना सिंचाई आयोजनाको सम्झौता गरी काम सम्पन्न भएपनि भुक्तानी लिनको लागि गाँउबाट २ दिन पैदल हिडेर आएकाहरुले अझै कति दिन कुर्नु पर्ने हो टुंगो छैन् । कार्यालय प्रमुख नहँुदा भुक्तानीमा निकै समस्या भएको उपभोक्ता समितिका पदाधिकारीहरुको गुनासो छ ।

    खत्याड गाँउपालिका वडा नम्बर ११का कोलगड कागती खेती सिंचाई आयोजनाका अध्क्षय अज बहादुर शाहीले भुक्तानी लिनका लागि आउँदा होटलमा खान बस्न समस्या भएको बताए । कार्यालय प्रमुख नहुँदा धेरै कृषकहरुले सेवा लिन निकै दुःख खेपी रहेको छाँयानाथ रारा नगरपालिका १ की कृषक इन्दिरा मल्लको गुनासो छ ।

    आ.व २०७९।०८० मा कार्यरत कार्यालय प्रमुख खेमराज शाही सरुवा भएर गएको, तिलकप्रसाद पाण्डे ४३ दिन मात्र जिल्लामा बसेर सरुवा भई गएको र गत फागुन १७ गते कार्यालय प्रमुख भएर आएका रामबहादुर थापा जेठ ७ गते प्रदेश कृषि विकास कार्यालयमा तालिममा गएको बखत उत्ता उत्तै बढुवा भएर गएपछि अहिले कार्यालय प्रमुख नहुँदा आर्थिक बर्षको अन्त्यमा सेवाग्राहीले निकै समस्या भोग्नु परेको छ ।

    प्रमुख नहुँदा समस्यामाथि समस्या भएपछि कर्णाली प्रदेश सरकारलाई छिटो भन्दा छिटो कार्यालय प्रमुखको व्यवस्था गर्न लिखित पत्राचारका साथै तथा मौखिक आग्रह पनि गरिएको निमित्त कार्यालय प्रमुख टेकबहादुर खत्रीले बताए ।

  • राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाएपछि…

    राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाएपछि…

    काठमाडौं । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएपछि उनकाे आलाेचना भएकाे छ ।

    राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ ।

    ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

    राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

    २५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

    राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ ।

    डा. रामेश कोइरालाले विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नु होला ।’

    यसैगरी, नेपाली क्रिकेट टाेलीलाई बधाई दिएकाे ट्वीटमा अधिकांशले ट्वीटर ह्याण्डललाई लिएर भण्डारीकाे आलाेचना गरेका छन् । सबैले उनलाई याे ह्याण्डल राष्ट्रपति कार्यालयलाई नै हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

  • आज केपी ओलीको ७२ औँ जन्मदिन, पढ्नुहोस् ओलीको जीवनी

    आज केपी ओलीको ७२ औँ जन्मदिन, पढ्नुहोस् ओलीको जीवनी

    वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मिएका खड्गप्रसाद शर्मा ओली (केपी ओली) को आज ७२ औँ जन्मदिन हो ।

    उनी अहिले दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री हुन् । आज उनलाई जन्मदिनको अवसरमा आफ्ना आफन्त तथा इष्टमित्र, शुभचिन्तकले शुभकामना प्रकट गरिरहेका छन् ।

    पारिवारिक अवस्था :
    हजुरबा : स्व.मनरथ ओली ।
    हजुरआमा : स्व. राममाया ओली ।
    माता : स्व. मधु ओली ।
    पिता : मोहनप्रसाद ओली ।
    वैवाहिक अवस्था : विवाहित ।
    श्रीमती : राधिका शाक्य ।
    भाइ तथा बुहारी : जयप्रसाद ओली-इन्दिरा ओली ।
    दिदी-बहिनी : विष्णुमाया, कौशिला र राजु ।
    पारिवारिक संख्या : २ जना (श्रीमती राधिका शाक्यसहित) ।
    स्थायी निवास : अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल ।
    अस्थायी निवास : शरणामती– ६, झापा, नेपाल ।
    नागरिकता नम्बर : २६६-३१३९५
    राहदानी नम्बर : ००२५११४
    शैक्षिक योग्यता : सामान्य ।
    भाषा : नेपाली, हिन्दी र अंग्रेजी ।राजनीतिक दल :
    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)

    राजनीतिक यात्रा :

    २०२३ साल, मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
    जिम्मेवारी बहन : २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाटको फ्रयाक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
    नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त : २०२६ साल ।
    २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन ।
    २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसाग एकीकरण ।
    २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
    २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

    जेल जीवन

    पहिलो पटक :२०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
    पहिलो गिरफ्तार : झापा पुलिस थानामा ।
    २०२७ र २०३० का बिचमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।

    जेल यात्राको १४ बर्से अध्याय :

    २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
    पहिलो भोगाई : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
    त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
    २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
    ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
    २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
    २०३३ साउनमा नख्खु जेल चलान ।
    २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
    २०३६ जेठमा गोलघर बाहिर ।
    २०३७ चैतमा पुनः नख्खु जेल चलान ।
    २०३९ माघ ३ मा पोखरा जेल चलान ।
    २०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
    २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
    ०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
    २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
    तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सागै नजरबन्दी ।

    जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहन :

    २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
    २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
    २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
    २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

    राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी :

    २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
    २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
    २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
    २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
    २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
    २०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
    विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।
    पछिल्लो समय प्रधानमन्त्री हुँदा संसद विघटन गरेको र प्रधानमन्त्री पद गुमेको ।

    ७० औं जन्मोत्सवमा प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिन मनाएका थिए । गत वर्ष ७१ औं जन्मदिनको अवसरमा जीवन वरपर रहेर लेखिएको समवेत दृष्टि नामक पुस्तक लोकार्पण गरेका थिए । उक्त पुस्तकमा उनले बन्दुकदेखि बुद्धको चर्चा गरेका छन् । ६९ औँ जन्मदिन मनाउँदा नेपालको नक्सा रुपि केक काटेको भन्दै विवादमा परेका थिए ।

  • भातको चाख छैन, भात खाने डाँडामा

    भातको चाख छैन, भात खाने डाँडामा

    बाग्लुङ । करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पर्थ्याे ।

    खाद्य सङ्कट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन् । पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ । तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन् ।

    बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे । त्यो चलन अहिले पनि छ । यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ । अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए। यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन् । गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ ।

    उनी भन्छन्, ‘पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानुपथ्र्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन ।’

    स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउँछन् । अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ ।

    स्थानीय बाली पूजा गरेरमात्रै नयाँ बाली भित्र्याउने गर्छन् । ‘यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो’, घर्तीमगरले भने, ‘बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ ।’

    गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए । गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुनु गएको उनको भनाइ छ ।

    उनले भातखानेडाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए । यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला अहिले पनि हुने गरेको बताउनुहुन्छ । भातखानेडाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको बताए । उहाँले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताउँछन् ।

    उपाध्यक्ष रोका भन्छन्,‘भातखानेडाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जङ्गल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ ।’

    अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ । त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन् । स्थानीय देवबहादुर खत्री भन्छन्, ‘भातखानेडाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपथ्र्यो ।’

    उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको बताउँछन् । घर्तीले अहिले भातखानेडाँडाको मुहार पूरै फेरिएको भन्दै डाँडैभरि घर बनेको बताउनुभयो । गाउँपालिकाको केन्द्र नै भातखानेडाँडामा बनेपछि विकासले गति लिएको उनको भनाइ छ ।

    स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाए । उनी पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछन् ।

    उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्‍याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ । उनी बताउँछन्, ‘सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि, नत्र त कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् ?’ रासस