दुवै हात गुमाएका सुदर्शन गाैतमकाे संघर्ष र सफलता

काठमाडाैं । साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भने झैँ झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर्दै आएका छन् । आँट र हिम्मत भयो भने असम्भवलाई पनि सम्भवमा बदल्न सकिन्छ भन्ने उदाहरण हुन् सुदर्शन गौतम । रामेछाप गुन्सी भदौरमा जन्मिएका गौतमले संघर्षको पहाड छिचोल्दै जीवनमा सफल बनेर प्रमाणित गरेका छन् । समय र परिस्थितिले मानिसलाई कहाँ अवसर दिन्छ र कहाँ धोका दिएर साथ छोड्छ भन्न सकिन्न । गौतमको जीवनमा पनि त्यस्तै नसोचेको विपत् आइलाग्यो । कल्पना पनि नगरेको घटना जीवनले भाेग्न पुग्याे ।

१३ वर्षको उमेरैमै गौतमले बिजुलीकाे करेन्टका कारण दुवै हात गुमाउनु पर्‍याे । दुवै हात नपाएपनि उनले जीवनमा निराशा भेटेनन् । आशा भेटे र विस्तारै आशालाई सफलताको कथासँग बुन्न थाले । दुवै हात नभएपनि गौतमले आफैँ खाना बनाउने खाना खानेलगायतको कामकाे अभ्यास गरे । सफल पनि भए । उनले अध्ययनलाई पनि एकसाथ अगाडि बढाए । खुट्टाले लेख्न सुरु गरे । खुट्टाले लेखेरै एसएलसीमा राम्रो अंक ल्याएर पास गर्न पनि सफल भए । हात गुमाए पनि गौतमले जीवनमा केही गर्नुपर्छ भन्ने हिम्मत र आँट गुमाएनन् । निरन्तर रुपमा प्रयास गरे सफल भइन्छ भन्ने अठोट उनले मनमा राम्रोसँग सम्हालेर राखे ।

कक्षा ९ मा अध्ययन गर्दा दुवै हात गुमाएपछि खुट्टाले लेखेर एमबीएस गरेका गौतमले क्यानडाबाट सोसल डेभलपमेन्टमा डिग्री गरेका छन् । उनी खुट्टाले हात सरह कम्प्युटर र मोवाइल सहजै प्रयोग गर्न सक्छन् । २०४५ साल मै कम्प्युटर डिप्लोमा कोर्ष गरेका गौतम नेपाल कमर्श क्याम्पसमा विद्यार्थी नेतासमेत भए । नेपालमा पहिलो पटक खुट्टाले मात्र साधारण कार चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका गौतमले अहिलेसम्म कहिल्यैपनि पछाडि फर्कनु परेको छैन । उनीसँग अहिले क्यानडाको लिगल ड्राइभिङ लाइसेन्ससमेत छ ।

अझ रोचक त २०६९ सालमा दुवै हात विना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर गौतमले दुनियाँलाई चकित बनाइदिए । गौतमको जीवनी पत्याउन नसकिने खालको छ । आत्मविश्वास, साहस र धैर्यताका प्रतिमूर्ति हिम्मतवाला नायकको रुपमा स्थापित गर्न सफल भएका छन् । ०५५ सालमा प्रतिष्ठित १५ वटा संस्थाहरुको सामुहिक सक्रियतामा गठन भएको ‘नेपालीले नेपालीलाई सहयोग’ समितिको अध्यक्ष भएर गौतमले दुर्गम जिल्ला मुगुमा करिव ५ वर्षसम्म सेवा समेत गरे । नेपालमा राजनीतिक द्धन्दका कारण विरक्तिदै २०६२ सालमा क्यानडा पुगेका गौतम हाल क्यानडाकै नागरिक हुन् । उनी अमेरिकाको ग्रीनकार्ड प्राप्त रेस्टुरेन्ट व्यवसायी समेत हुन् । गौतम राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५ सय भन्दा बढी अवार्डबाट सम्मानित भइसकेका छन् । क्यानडा सरकारले गौतमलाई ‘हल ओफ फेम’ नामको सम्मान गरेको छ । उक्त सम्मान पाउने गौतम पहिलो आप्रवासी हुन् । २०७१ सालमा रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ को नायकको रुपमा अभिनय गरेपछि फिल्मी क्षेत्रमा पनि गौतमको नाम चर्चित बन्न पुग्यो ।

हाल क्यानाडियन नागरिक गौतम क्यानाडा को नायग्रा फल्समा श्रीमती सुधा गौतमको साथ बसोबास गर्दै आएका छन् । उनका एक छोरि अमेरिकामा कानून विषय पढ्दै छिन् भने छोरा क्यालगरी स्कुलमा अध्यनरत छन् । गौतम फिल्म निर्माता र अन्तर्राष्ट्रिय घटना व्यवस्थापन कम्पनी इ टु एल क्रिएटिन हब क्यानाडाका मालिक हुन् । गौतम धितो एजेन्टको रुपमा पनि कार्यरत छन् भने घर तथा व्यवसाय किन्नेहरुको लागि गौतम बैंकबाट ऋण मिलाउने तथा घर खरिद बिक्री र नयाँ निर्माण को व्यवसाय पनि गर्दै आएका छन् । टोयोटा कार कम्पनी जापानको प्रयोजन रहेको ओलम्पिक खेलको लागि टोयोटा असम्भव ग्लोबल मार्केटिंग क्यानाडा बाट १० जना मध्ये काम गर्नेमा सुदर्शन प्रमुख रहेर सन् २०१९ देखि काम गर्दै आएका छन् ।

दक्षीण एशियाली क्यानेडियन ट्रेलब्लेजर विरासत व्यक्तित्व २०१७ अवार्ड द्वारा सम्मानित गौतम २०२४ को मे महिनामा युकोन प्रान्तमा अवस्थित माउन्ट लोगानको आरोहण गर्ने योजनामा रहेका छन् । मानव तस्करी जस्तो जघन्य आरोपको अन्तर्राष्ट्रिय मिडियामार्फत खण्डन गर्ने उनकोे योजना रहेको छ ।

अन्तिम वर्ष भर्जिन ग्यालेक्टिक स्पेस कम्पनीबाट स्पेस जानको लागि छनाेट भएता पनि आर्थिक अभावका कारण केही वर्षको लागि होल्डमा राखेको गौतमले बताए । दुवै हातबिना सगरमाथा त चढियो भने स्पेस जानु कुनै ठुलो कार्य नभएको मात्र बजेट अति नै धेरै भएको कारण हाल प्रायोजकहरूसँग कुरा गर्दै गरेको उनको भनाइ छ ।

गौतम हाल महँगो पारिश्रमिक लिएर आफ्नो प्रेरक स्टोरी सुनाउँन दुनियाँ भ्रमण गरिरहेका छन् र हालसम्म करिब ६० भन्दा बढी देश भ्रमण गरिसकेका छन् । गरिब, दुखी, असहायलाई विभिन्न सहयोग गर्दै आएका असाधारण, बिलछ्यण प्रतिभाका धनी गौतमले क्यानाडामा पनि नवआगन्तुक नेपालीहरुलाई सम्भव भएसम्म हरेक तवरको सहयोग गरेको देख्न पाइन्छ । सहयोगी मन अनि अति नै मिजासिला स्वभावका धनी सुदर्शनको परिवारमा माता पिता, भाई अनि बुहारी पनि छन् ।

अनेक बाधा, अड्चन कयौँ दु:ख पीडाहरुलाई पन्छाउँदै आएका गौतमले आफ्नो निजी जीवनमा थुप्रै उतार–चढावको सामना पनि गर्नु परेको छ । सगरमाथा आरोहणका लागि पैसा र टिम जुटाउन करिब १० वर्ष लाग्यो । क्यानाडाको हिउँमा ३ वर्ष खाली खुट्टा दौडेर आफूलाई सक्तिशाली बनाएको उनको भनाइ छ । कथा भित्रको व्यथा देखिँदैन तर अथक मेहनत परिश्रम अनि हार नमान्ने हो भने हरेक कुराहरु सम्भव छन् भन्ने उनको विश्वास हो र उनी आफैँ उदाहरण पनि हुन् । उनी आफ्नो हरेक सफलताका श्रेय आफ्नी श्रीमती सुधा गौतमलाई दिन्छन् । सुदर्शनको हरेक इच्छा, आकांक्षा माथि आफ्ना हरेका चाहानको सहजै तिलाञ्जली दिन सक्ने सुधाको साथ र सहयोग नै आफ्नो आत्मबल भएको सुदर्शनको भनाइ छ ।

उनको नाममा क्यानाडा, नेपाल अनि अमेरिकालगायत चन्द्रमामा पनि १ एकड जमिन रहेको उनकाे दाबी छ । चन्द्रमाको जमिन ब्रिटिश नागरिक एरिकले उनलाई उपहार स्वरुप प्रदान गरेकाे उनी बताउँछन् । त्यसपश्चात गौतम लुनार रिपब्लिक समाजको मानार्थ नागरिक समेत बनेका छन् । यो सबै कार्यहरु अवार्ड र रेकर्डको लागि नगरेको गौतम बताउँछन् ।

साहसिक गौतमले हालैका दिनमा नायगरा फल्स माथिकाे १६ हजार फिटबाट स्काई डाइभिङ पनि गरेका छन् । उनले आफ्नी २० वर्षीया छाेरी सुवेस्ता गाैतमसँगै डाइभ हानेर याे कीर्तिमान हासिल गरेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१