Category: फिचर स्टोरी

फिचर स्टोरी

  • घरका छतभरि राताम्य खुर्सानी

    घरका छतभरि राताम्य खुर्सानी

    डाेल्पा । त्रिपुुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो ।

    कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ । कुलालले भने, ‘हाम्रो यहाँको खुर्सानी रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ । भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुँने गर्दछ ।’ कुलाल जस्तै सरस्वती बुढाको घरमा यसबर्ष १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ । अहिले उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ ।

    वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताए । अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले जानकारी दिए ।

    भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मङ्सिर महिनाभरि छत राता हुने गर्दछन् । आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु ले त्यहीअनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताए ।

    यहाँ दुई सय १४ घरधुरी रहेका छन् । तत्कालीन सुँ गाविसको वडा नं ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ४ बनेको छ । पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ । सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा रु ७० पर्ने गर्दछ । एक क्विन्टल बिक्री गर्दा रु सात हजार दुई सय पर्ने गरेको बुढाले बताउनुभयो । खुर्सानी बिक्री बाट स्थानीयले झण्डै रु दुई लाखजति आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

    गाउँदेखि ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन् । नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताए । रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ ।

    मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायाले बताए । स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए ।

  • चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

    चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

    बागलुङ । अगाडि–अगाडि काला सेता रङका भेडाहरू। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए। उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर। दुवै जना काका भजित हुन्।

    चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन्। दसैंका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन्। बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए। साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना।

    करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दसैंका लागि सामान किनमेल गरेर जाने सुरमा छन्। नन्दबहादुर भन्छन्, ‘आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके। अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दसैंका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचिसक्नुपर्छ।’

    नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताए। ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उनको भनाइ छ। उनले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउँछन्। ‘मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ’, नन्दबहादुरले भने।

    नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताए। यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उनको भनाइ छ। बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उनले सुनाए। ‘यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो। सजिलैसँग आइयो बागलुङ बजार’, उनले भने।

    नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताए। आफूहरूले ल्याएको बथानमा न्यूनतम रु २० हजारदेखि अधिकतम रु ३५ हजारसम्मका भेडा रहेको उनको भनाइ छ। तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताए। आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ।

    ‘अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो’, तीर्थबहादुरले भने, ‘ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ।’

    तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताए। दसैंको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उनको भनाइ छ। तीर्थबहादुर भेडा बेचिसकेर दसैं मनाउन गाउँ जाने बताउँछन्।

    ‘भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौं, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुपर्‍यो, एक सरो राम्रो कपडा किनिदिनुपर्‍यो’, उनले भने, ‘अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला।’

    बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ। मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ। बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताए। उनले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गरे।

    थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गरे। ‘मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्’, उनले भने।

  • विद्यार्थी शून्य भएपछि विद्यालय बाख्राको खोरमा परिणत, शिक्षकले वर्षाैंदेखि तलबभत्ता बुझिरहे

    विद्यार्थी शून्य भएपछि विद्यालय बाख्राको खोरमा परिणत, शिक्षकले वर्षाैंदेखि तलबभत्ता बुझिरहे

    सिरहा । सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो ।

    आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका यस विद्यालयका पाँचजना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् ।

    पाँच कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एकजना विद्यार्थीसमेत भर्ना नभए पनि शिकक्षहरूले भने शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ ।

    विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ । वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताए । उनका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैंसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ ।

    विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको रामजतन यादव बताउँछन् । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ ।

    विद्यालयका प्रधानाध्यापक श्यामकुमार यालवले अभिभावकहरूले नै विद्यार्थी पठाएपछि विद्यालय खाली भएको बताए । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोनाभाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन्,’ उनले भने ।
    उनले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए । उनले थपे, ‘अब फेरि चुनाव आउँदैछ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिकसत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताए ।

    ‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाइ हुन्थ्यो, सय भन्दा बढी विद्यार्थीहरू अध्ययरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै हुँदैन ।’ त्यहाँ कार्यरत शिक्षकसमेत कहिलेकाहीँ विद्यालय आएर हाजिरी गरेर फर्किहाल्ने गरेका छन् ।

    तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा

    विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा भएको पाइएको छ । चालु शैक्षिकशत्रमा एक जना विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रुपमा निकासा भएको बुझिएको छ ।

    २०७६/०७७ मा विद्यार्थी भर्ना नभए पनि सबैै रकम निकासा भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृत्तिबापत १८ हजार ४००, दलित छात्रवृत्ति ४ हजार ४००, पाठ्यपुस्तकबापत १२ हजार ९८४ रुपैयाँ पठाएको छ ।

    २०७५/०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २००, दलित छात्रवृत्ति १२ हजार र पाठ्यपुस्तकबापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ ।
    पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जनाए । अहिले पनि प्रध्यानाध्यकप श्याम कुमार, भुवनेश्वर यादव र सावित्री शर्माको सरुवा भए पनि उनीलगायत ३ जना शिक्षक बसेर तलव खाइरहेका प्रमुख यादवले बताए । उनका अनुसार लामो समयदेखि रहेको विद्यालयको समस्या समाधान गर्ने प्रयास गर्दा पनि सुधार्न सकिएन ।
    अघिल्लो शिक्षा समितिले विद्यालय मर्जगर्ने योजना बनाए पनि स्थानीयले नमानेपछि रोकिएको बताउँदै उनले भने, ‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्द भएपछि नयाँ खोल्न समस्या हुने भन्दै रोके ।’

    अहिले सबै शिक्षकहरूलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको यादव बताए। उनले शिक्षा समिति गठन नभइसकेकाले केही कामहरू गर्न समय लागेको शाखा प्रमुख यादवले बताए ।

    शिक्षकहरूले पढाउनेभन्दा पनि राजनीति गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । स्थानीय अभिभावक ब्रहमदेव यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आए पनि गफ गरेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाएको बताए।

    ‘मास्टरहरू पढाउनु हुन्न, एक त विद्यालय नै आउनुहुन्न, आए पनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उनले भने, ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरूले आज पढाइ हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिनु हुन्थ्यो ।’

    सिरहामा शिक्षा क्षेत्रमा पछिल्लो समय सम्बन्धित् निकायको उदासिन्ताका कारण व्यापक वेथिति मौलाएको पाइन्छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी वालुवामा पानि जस्तै भएको स्थानीयको गुनासो छ ।

  • लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

    लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

    तेह्रथुम । कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियाे तर अहिले सुनसान छ ।

    हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लाेभलाग्दाे छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार-प्रसार अभावमा ओझेलमा परेकाे छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयकाे १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएकाे छ ।

    यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पाेखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने ।

    वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।

    पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्य रहेकाे पर्यटक कुमार लिम्बूले बताए ।

    पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैँमा ओझेल पर्दै गएको छ ।

  • आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

    आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

    काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

    श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचो :

  • विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !

    विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा पर्ने गाउँ हुन् तेम्बाथान, तेगा र दिपु । यहाँका यी गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन ।

    तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आइ दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानै पर्ने नियम गाउँलेले राखेका छन् ।

    स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँ सम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार १६७ घरधुरी तेम्बाथानमा छन भने दिपु , साङ्लुङ र तेगा गाउँमा ३०/३२ घरधुरीको बस्ती छ तर यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाहा छैन ।

    बिरामी हुँदा हेलिकप्टरकै भर

    सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरु औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ । बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन, हेलिकप्टर नै झिकाउनुपर्छ । अरु विकल्प यहाँ छैन ।

    स्थानीय लाक्पा लामा भन्छन् , ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’

    गाउँमा १६७ घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ । सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्‍याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।

    शिक्षाको कमि

    तेम्बाथान, तेगा, साङ्लुङ र दिपु गाउँ । यी गाउँको मानिसकाे पेसा याक ,चौँरी र गाई पाल्ने हो । पितापुर्खादेखि गोठ पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै गोठ पाल्नु हो । चौरी गोठमा भकारा सोर्ने, चौरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समय अगाडि यहाँका अधिकांश बाललालिका चौरी गोठमै हुन्थे । दुई दिन पैदल दूरीका चौरी गोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीँ लैजाने चलन थियो ।

    विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विद्यालय जान थालेका छन् । कक्षा ६ सम्म पढाई हुने तेम्बाथानको आधारभुत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या १०० छ ।

    गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरी गोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनि घरघरमा अभिभावकलाई सल्लाह सुझाब दिएसँगै विद्यार्थी नियमित जान थालेका हुन् ।

    खाजा आफ्नै घरबाट ल्याउन लाएर सो खाजाको पैसा ४/५ महिनामा एकमुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीकाे संख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानध्यापक युवराज शर्माले बताए । कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभावले प्रशासन चलाउन नसकिएकाे उनले बताए । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेकोमा शर्माको गुनासो छ ।

    जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्नेजस्ता समस्या भइरहेकेा शिक्षक साङगे निमा शेर्पाले बताए । अहिलेसम्म अँग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैन । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्ताकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा २ घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन् ।

    कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने होकि भन्ने चिन्ता विद्यालय व्यवस्थापन अध्यक्ष लाक्पा शेर्पाको चिन्ता छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलिअलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।

    सडकको पहुँच नहुँदा समस्या, १२ हजार भत्ता लिन ७ हजार खर्च

    तेम्बाथान, दिपु र तेगाका प्रत्येक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलगायत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न एक दिनको पैदल हिँडेर वडा कार्यालय धाउनुपर्ने बाध्यता छ । बर्खामा जोखिम मोलेरै हिँडिरहेका छन् ।

    ज्येष्ठ नागरीकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्चगर्नुपर्ने बाध्यता छ । यहाँका जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि २ दिन पैदल हिँडेर जुगलको डाडे बजार पुग्छन् । त्रैमासिक रुपमा सरकारले दिने १२ हजार भत्ता लिन जाँदा ७ हजार रकम त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको जेष्ठ नागरिक फुर्वा शेर्पाको गुनासो छ ।

    भत्ता लिन जाँदा र फर्कंदा ४ दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ज्येष्ठ नागरिक र अशक्तहरूले सरकारले प्रत्यक तीन तीन महिनामा दिने भत्ता लिन व्यहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ बताउँछन् । बैंकसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताए ।

    न त बिजुली न इन्टरनेट

    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् ।

    आफन्तसगँ फाेनमार्फत कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ , तेगा र दिपुमा घाम लाग्दा मात्रै टावर आउने गर्छ । स्थानीयवासीहरु महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घाम लाग्ने बितिकै डाडामा निस्किने गरेका छन् ।

    स्थानीय लाक्पा शेर्पा भन्छन् , ‘विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएकाे छ ।’

  • भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

    भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

    भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।

    यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ-आफ्नो खेतमा भोज लिएर पुग्छन् ।

    भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताकाे भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो ।

    भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हाे ।

    भोज लिएर खेत जानको लस्कर

    बिहीबार बिहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए । एकाबिहानै खेतखेतमा पुगेर किसानहरू आफ्ना खेतका भ्यागुतालाई भोज खुवाउन हिँडेका थिए । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन भने जाने गएको देखेको थियो ।

    बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ-आफ्नो खेतमा छोड्ने परम्परा छ ।

    भोजको परिकारमा के के हुन्छ?

    भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ.आएको छ ।

    भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।

    संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ बताउँंछन् ।

  • जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . .

    जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . .

    गोरखा । ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु भन्ने उखान नै गर्थे । ‘पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे’, गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका -५ जरेवर बस्ने गोबिन्द बिश्वकर्माले पूराना कुरा सुनाए ।

    गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी बाहेक खेतीयोग्य जमिन दरौँदी नदी पारी जरेबर फाँटमा थियो । पुल नहुँदा बर्खामा खेती लगाउन जाँदा दरौँदी नदी गरेर जान निकै सास्ती हुने उनको अनुभव छ ।

    ‘पुल नहुँदा बर्खामा खेतिपाती गर्न दरौँदी तरेर जानुपर्थाे । कहिले गोरु बगाउने, कहिले मान्छे बगाउने कम त दुख पाइएन्’, उनी भन्छन् ।

    २०४६ सालमा जरेवर र नारेश्वर जोड्ने झोलुङ्गे पुल बन्यो । झोलुङ्गे पुल बनेपछि भने विगतमा भन्दा केही सहज भयो । तर, आफ्नो खेत दरौँदी पारी नै भएकाले खेति गर्न जान आउजाउ गर्दा समस्या हुन थालेपछि गोबिन्द केही बर्षयता दरौँदी पारी नै घर बनाएर बस्न थालेका छन् ।

    गेबिन्दले जस्तै समस्या भोगेर अहिले नारेश्वरका दर्जनौँ घर परिवार दरौँदी पारी बसाईँ सरेर बसिसकेका छन् । कारण, ‘मोटरवेल पुलको अभाव’ ।

    अहिले यहाँ स्थानीयहरुले नै माग गरेर गण्डकी प्रदेश सरकारको पाँच करोड ३९ लाख ८० हजार लागतमा मोटरवेल पुल निर्माण भइरहेको छ । यहाँ बनिरहेको पुलका लागि स्थानीयहरुको आग्रहमा तत्कालिन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले बजेट बिनियोजनका लागि पहल गरिदिएका थिए ।

    ‘हामी स्थानीयहरुले नै यहाँ पुल आवश्यक छ भनेर माग गरेपछि मन्त्री आएर ठाउँ हेरेर बजेट हाल्दिएको हुन् । तर, अहिले स्थानीयहरुसँग सल्लाह नै नगरी बजेट हालेको भन्दै गलत प्रचार भइरहेको छ’, स्थानीय मधुकर अधिकारी ।

    अहिले ‘वारी जंगल, पारी खेत, बीचमा पाँच करोडको मोटरवेल पुल’ भन्दै भाइरल भइरहेको यही पुल हो । जुन पुलको पर्खाइमा नारेश्वरका हजारौँ घरधुरीले बर्षाैँदेखि प्रतिक्षा गरिरहेका थिए भने गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का आम नागरिकहरुले आशा गरिरहेका थिए ।

    ‘सडक नै नपुगेको ठाउँमा करोडौँको पुल बन्यो भनेर जसरी प्रचार भइरहेको छ, यो सरासर गलत हो । यहाँ वारीपारि दुबै तीर सडक पुगेको छ । यो पुल सम्पूर्ण नारेश्वरवासी र गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का सबै जनताका लागि आवश्यक पनि हो’, स्थानीय सुशिल अधिकारी भन्छन् ।

    दरौँदी नदी माथि बनिरहेको पुल नजिकै नारेश्वर क्षेत्रमा दुई वर्ष अघि नै कच्ची सडक पुगेको थियो । सडक सन्जाल भए पनि पुल नहुँदा प्रयोगमा नआएको सडकमा बिरुवाहरु, झार पात उम्रिएर जंगल जस्तै देखिन्छ । जंगलको बीचमा, प्रयोगमा नआएको सडकमा बिरुवा, झारहरु उम्रनु स्वभाविकै हो । जरेवरतर्फ भने पुलको करिब डेढ सय मिटर नजिकै ग्रावेल गरिएको सडक आइपुगेको छ ।

    दुबैतर्फ सडक आइपुगे पनि सडक पक्की पुल नहुँदा यहाँबाट सवारी आउजाउ गर्न सक्दैन। तर, दरौँदी नदी माथि पुल बनिसकेपछि नारेश्वर हुँदै गएको सडक मध्यपहाडी लोकमार्ग, बारपाक सडकसँग जरेवरमा जोडिनेछ । यो रुट हुँदै आउजाउ गर्दा दूरीका हिसाबले पनि छोटो र सस्तो पर्ने स्थानीयहरु बताउँछन् ।

    ‘अहिले हामी डेढ सय रुपैँया तिरेर गोरखा सदरमुकाम जान्छौँ भने यो पुल बन्यो भनेक ६०/७० रुपैँया तीरेर जानसक्छौँ । समयको हिसाबले पनि धन्दै एक घण्टाभन्दा बढि छिटो हुन्छ । बिरामीहरु परे, केही ईमरजेन्सी केस पर्याे भने केही मिनेट छिटो हुँदा पनि मान्छेको ज्यान जानबाट बच्छ’, स्थानीय शम्भु बस्नेत भन्छन् ।

    सत्ता र शक्तिको आडमा ब्यक्तिगत फाइदाका लागि भन्दा जनताका माग र आवश्यकताका आधारमा बजेट बिनियोजन भएकाले पुल निर्माण सम्पन्न भएपछि थुप्रै जनसंङ्ख्या लाभाम्वित हुने सिरानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शित्तल पोखरेल बताउँछन् ।

    ‘पुलले पूर्णता पाईसकेपछि अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे, चुमनुब्रीका र गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका जनताहरुलाई सेवा दिन्छ । सुबिधा पाउँछन्,’, वडाध्यक्ष पोखरेलले भने, ‘अर्काे दुई नम्बर क्षेत्र वाहेक नयाँ पुल र तुरतुरेको पुल भन्दा वाहेक अर्काे त्यही एउटा दरौँदी नदी माथि छेवेटारको पुल मात्रै हो र यो पुलले केही भवितव्य भईहालेको अबस्थामा एउटा ट्राफिक रुटको रुपमा पनि प्रयोग हुने भएकाले यो पुलको उपयोगिता छ ।’

    दरौंदी नदी माथिको यो पुल ५० मिटर लामो हो । कार्यालयका अनुसार पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ । एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो । पुलको ठेक्का लगाउँदा नै पुलसँग जोड्न बाँकी सडक पनि निर्माण कम्पनीले गर्ने, नदी किनारमा ग्याबिन लगाउने लगायतको काम गर्ने गरी गरी कामको ठेक्का दिएको कार्यालयले जनाएको छ ।

    ‘पुलको काम सकिएको छैन् । निर्माण कम्पनीले स्टरकचरको काम गरेर सडकको काम, ग्याबिनको काम गर्ने गरी काम सुरु गर्‍यो । काम बाँकी नै छ । ठेक्का लगाउँदा नै स्टमेटमा निर्माण कम्पनीले पुलसँग जोड्न बाँकी ६०० मिटर सडक पनि बनाउने भन्ने छ । काम छिट्टै सम्पन्न हुन्छ’, पूर्वाधार विकास कार्यालय गोरखाका सूचना अधिकारी इन्जिनियर अजय श्रेष्ठले भने ।

  • एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    मुगु । मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

    स्व. राजा वीरेन्द्र २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाल पुगेका थिए । पछि नेपाली एक रुपैयाँको नोटमा उक्त हिमाल अंकित गरिएकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

    विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

    सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

    हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहराेमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

  • नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    दैलेख । करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ? भन्दै आएका थिए ।

    बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले यो विषय उठाए पनि समाधान भने भएको थिएन । अभियान पूरा नहुँदै उनकाे ४१ वर्षको उमेरमा मृत्यु भयो ।

    २७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शब जलाउन लिएर गए । ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।

    ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

    ‘नेप्टालाई बालटार लिया बाटो बिराएर,
    ल्याउन त फलाँटे ल्याए फेरि फिराएर !’

    नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभएपछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो । नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्षमा पछिल्लो पुस्ताले निरन्तरता दिए । यही क्रममा दलितहरू मरे शंख बजाउन नपाइने कुप्रथाविरुद्ध आन्दोलन छेडे ।

    खासमा क्षेत्री-ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरूका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहीँ बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्न देखाउन यस्ताे गरेकाे भनाइ छ ।

    दलित मरेको बेला पनि शंख बजाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर दुविधा नहोस् भनेर यस्तो गरिएको हो । दलित मरेको बेला गैरदलित मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको पाका मानिसहरूकाे अनुमान छ ।

    दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनी ४० काे दशकमा कट्टी, बडाभैरव, बिन्ध्यवासिनी, चौराठा लगायत गाउँमा समेत दलितहरुले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि शंख बजाउन चाहे बजाउन पाउने, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितले निर्वाद रुपमा शंख बजाउन थालेका छन् ।

    दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् । पद, प्रतिष्ठामा रहेका कोही दलित र उनका आफन्त मरे सामान्य सदाचार देखाउन छिटपुट मलामी आउँछन् तर सबैकोमा आउँदैनन् ।

    नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरूलाई जलाउन पाउने अबस्था बनेको छ । सामाजिक रुपमा सबैको सहभागितामा दलितहरूको मलामी अझैं पूर्ण रुपमा खुलेको छैन । गैरदलितहरू मरेको बेला चाहिँ दलितहरूलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो । अहिले बलजफ्ती भने घटेको छ ।

    भकुण्डोलाई जति बढी बल लगाएर भूईंमा दबाइन्छ उति नै माथि उफ्रिन्छ भने जस्तै दलितहरूलाई थिचोमिचो भयो यति विद्रोह झाङ्गिदै आयो । रुमलगायतको क्षेत्रमा यसकाे ज्वाला अझै बढ्याे । खासगरी माओवादी सशस्त्र युद्धको समयमा दलितहरूमाथि हुने शोषणविरुद्ध गरिएका क्रियाकलापले दलितहरूलाई आत्मविश्वास बढायाे ।

    सामाजिक विभेदविरुद्ध जति नै दलित सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरू जुर्मुराउन पनि छाडेनन् । माओवादी सशस्त्र युद्धको मेला जातीय समानता थालिएका क्रियाकलापले दलितहरूलाई दृढता बढायो । युद्धकालमा लुकेका क्षेत्री ठकुरीहरू माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ ‘दलित बढ्ता भएका ठेगान लगाउनुपर्छ,’ भन्ने मानसिकता राखेर गतिविधि बढाउन थाले ।

    ३२ साउन ०६५ मा रक्षाबन्धनका दिन हामीलाई पनि धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरुलाई त्यसबेला २२ वर्षका रुमका पण्डित दीपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन्न भनेपछि स्थानीय दलितले जातीय विभेदको मुद्दा दर्ता गरे, अदालतले तीन महिना कैद र एक हजार जरिवाना गर्‍यो ।

    यो घटनामा गैरदलितहरू संगठित रुपमा दलितहरूलाई ठिक पार्नुपर्छ भन्नेमा लागे । यसको फलस्वरुप वैशाख ०६६ मा ब्राम्हण संघ दैलेखले दलितहरूलाई पनि रक्षाबन्धन बाध्नैपर्ने हो भने ज-जमानी छाडिदिन्छाैं भनी आन्दोलन गरे ।

    तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले ब्राम्हणलाई कारवाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लियाे । रुम, कट्टी, बडाभैर, मेहतलोलीलगायत भेगमा दलितहरूको गल्ती खोज्न तम्सेको गैरदलित समुदायका लागि असाेज ०६६ मा जगनाथ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका २१ वर्षीय अमृत बिकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा ठकुरीहरुले कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।

    सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्ला स्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

    अदालते यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही आठ महिना कैद र पाँच हजारकाे दरले जरिवाना गर्याे ।

    रुम र यो क्षेत्र अर्थात बेस्तडा भेगमा पुरानत समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र । ७ जेठ २०४६ मा गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुुकुर कामी लेखिएको छ । के कोही बाहुन क्षेत्रीलाई भए नागरिकता मै कुकुर लेखिन्थो ? नागरिकताको प्रमाणपत्र नै दशी प्रमाण हो, यो भेगमा दलितहरूले कति शोषण र दमन भाेगे माथिका उदाहरणले प्रष्टाउँछ ।