Category: समाज

समाज

  • बैतडीमा प्रहरी सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

    बैतडीमा प्रहरी सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

    धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जना प्रहरीकाे ज्यान गएकाे छ ।

    सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले जानकारी दिए ।

    अन्य तीनजना घाइते फेला परेकाे पनि उनले जानकारी दिए । से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको बताइएको छ ।

    मतपेटिका पुर्‍याएर फर्किन लागेकाे नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा परेकाे हाे । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • बंगालको खाडीको न्यून चापीय क्षत्रको प्रभाव नेपालमा, यस्ताे रहनेछ माैसम

    बंगालको खाडीको न्यून चापीय क्षत्रको प्रभाव नेपालमा, यस्ताे रहनेछ माैसम

    काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको छ ।

    तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।

    सोमबार प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    मंगलबार पनि प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     

  • सिन्धुपाल्चोकमा आमाको किरिया बसेका चार दाजुभाइले हाले भोट

    सिन्धुपाल्चोकमा आमाको किरिया बसेका चार दाजुभाइले हाले भोट

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ मा किरियापुत्रीले मतदान गरेका छन् ।

    आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मान वहादुर श्रेष्ठ, पुर्ण प्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीसहितले मतदान गरेका हुन् ।

    कालिकादेवि माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई मतदान गरेका हुन्।

    चारै दाजुभाइ तीन दिनदेखि आमाको मृत्यको शोकमा किरिया बसिरहेका थिए ।

  • हिन्दू स्वयंसेवक संघ नेपालद्वारा भूकम्प पीडितलाई बाकस सहयोग

    हिन्दू स्वयंसेवक संघ नेपालद्वारा भूकम्प पीडितलाई बाकस सहयोग

    काठमाडाैं । डाेटीाम भूकम्पले क्षति पुर्‍याएका परिवारलाई हिन्दू स्वयंसेवक संघ नेपालले बाकस सहयाेग गरेकाे छ ।

    गत कार्तिक २२ गते राति २:१३ बजे गएको भूकम्पले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा मानवीय क्षति (६ जनाको मृत्यु)र भौतिक क्षति (१४ घर पूर्णरूपमा क्षति ) हुनगएको थियो ।

    पूर्णरूपमा क्षति भएका १४ घरमा अत्यावश्यक (धन पैसा र गरगहना) वस्तुहरूको सुरक्षाको लागि बाकसको आवस्यकता ठानी #हिन्दू_स्वयंसेवक_संघ_नेपालले मंसिर २ गते संघका राष्ट्रिय बौद्धिक प्रमुख प्रताप सिंह बुढा र सुदूरपश्चिम सम्भाग प्रचारक नरेन्द्र देव ऐरीको उपस्थितिमा प्रत्येक घरका लागि एकएक बाकस पीडित परिवारलाई हस्तान्तरण गरी सहयोग गरेको हाे ।

  • सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

    सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

    साेलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

    जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।

    घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिइन् ।

    सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।

  • काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

    काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

    काठमाडाैं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौंका तीन सय २० मतदानस्थल र सातसय ५७ मतदान केन्द्रमा दुई हजार पाँच सय नेपाल प्रहरी र तीन हजार दुई सय ७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

    काठमाडौंको क्षेत्र नं १ मा नेपाल प्रहरी एक सय ११, म्यादी प्रहरी दुई सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी दुई सय १७, म्यादी प्रहरी चार सय एक, क्षेत्र नं ३ मा नेपाल प्रहरी एक सय ६४, म्यादी प्रहरी दुई सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी एक सय ८१, म्यादी प्रहरी तीन सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी एक सय ७८ र म्यादी प्रहरी तीन सय २९ परिचालन गरिएको छ ।

    यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी एक सय ६९, म्यादी प्रहरी तीन सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी एक सय ५९, म्यादी प्रहरी दुई सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी एक सय ३८, म्यादी प्रहरी दुई सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी एक सय ९२, म्यादी प्रहरी तीन सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी दुई सय २६ र म्यादी प्रहरी चार सय २० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए ।

    यसका साथै नेपाल प्रहरीले काठमाडौंमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।

  • महाेत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

    महाेत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

    महोत्तरी । महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

    स्थानीय रामभुषण साहाले एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

    आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

    एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।

  • हटाउने सूचना आएपछि वागमती किनाराका सुकुम्बासी उत्रिए आन्दाेलनमा

    हटाउने सूचना आएपछि वागमती किनाराका सुकुम्बासी उत्रिए आन्दाेलनमा

    काठमाडाैं । आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित भएको भन्दै भूमिहिन, सुकुम्वासी लगायतले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन् ।

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघ लगायत दर्जन बढी संघसंगठनहरुको अगुवाइमा माइतिघरदेखि बानेश्वरसम्म खवरदारी र्‍याली निकालिएको हो ।

    आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहीन एक हौँ, हामी न्याय चाहन्छौँलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

  • पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

    पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

    काभ्रे । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।

    उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए । ‘मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ’, उनले भने । उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ ।

    सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो । त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरुपमा उडानका लागि परीक्षण गरिएको थियो ।

    उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । हुमागाईका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ ।

    प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको हुमागाईले बताए । “यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको प्रचार हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाइ छ ।

    यस्तै, प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो । प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार तीस सय मिटरमा छ ।

    पनौती नगरले पनि आर्थिक वर्ष २०७९/८० मा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यो वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङलगायत सञ्चालन गरिने योजना छ ।

    नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवर्द्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेल रुट तय गरिएको छ । नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए ।

    यसैगरी नेपाल पर्यटन बोर्डले गत वर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको उल्लेख गर्दै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको थियो ।

    बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल, साँगा–पनौती हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), चराको दृष्यावलोकन, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन गर्न सकिने छ । रासस

  • निर्वाचनकाे दिन यस्तो रहनेछ देशभरकाे माैसम

    निर्वाचनकाे दिन यस्तो रहनेछ देशभरकाे माैसम

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते देशका धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै मङ्सिर ४ गते धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो ।

    मतदानको दिन प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि वर्षा तथा हिमपातको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

    मङ्सिर २ गते र ३ गते अर्थात् शुक्रवार र शनिवार प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हिमपातको सम्भावना छ ।

    देशका बाँकी ठाउँको मौसम भने सफा रहनेछ ।