Category: समाज

समाज

  • काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

    काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

    काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    कात्तिक १५ मा दुर्घटनामा परेर घाइते भएकी सुब्बाको बागबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    मृत्तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

  • देवत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

    देवत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

    हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस पावन तिथिले देवत्वको जागरणको दिव्य आध्यात्मिक सन्देशसँगै पर्यावरण रक्षाको अमूल्य सूत्र समेत प्रदान गर्दछ ।

    मान्यता के छ भने जगत्पालक श्रीहरि विष्णु आषाढ शुक्लपक्षको देवशयनी एकादशीका दिन वर्षाकालको चार महिनाको अवधिका लागि योगनिद्रामा जानु हुन्छ । समाज–जीवनले पनि वर्षायामका चार महिना व्यावहारिक कारणले संयमपूर्वक व्रत–साधना आदि गरेर बिताउने परम्परा छ । हिन्दू धर्ममा प्रत्येक मांगलिक कार्य श्रीहरिको साक्ष्यमा हुने भएकाले चतुर्मासमा विवाह आदि मांगलिक कार्यहरू गरिँदैन । वर्षाऋतु समाप्त भएपछि ऋषिगण देवोत्थानी एकादशीकै शुभ दिन श्रीहरिलाई यस्तो स्तुति गाउँदै जगाउँदछन्—

    ‘उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते ।
    त्वयि सुप्ते जगन्नाथ जगत्सुप्तं भवेदिदम् ।।’

    अर्थात् – हे गोविन्द ! अब तपाईँ जागा हुनुहोस् । निद्रा त्यागेर हजुर उठ्नुहोस् । हे जगन्नाथ ! हजुर सुतिरहे यो सम्पूर्ण जगत् सुतिरहनेछ ।

    शास्त्रज्ञ भन्छन्, ऋषिहरूको यो प्रार्थना सुनेर श्रीहरिले योगनिद्रा त्यागी सृष्टि सञ्चालनमा पुनः सक्रिय हुनुहुन्छ । उहाँको जागरणसँगै यसै दिन तुलसी महारानी र शालिग्राम स्वरूप दामोदर भगवानको विवाह गराइन्छ । यस मङ्गलमय परिणयसँगै लोकका लागि पनि रोकिएका माङ्गलिक कार्यहरू पुनः सुचारू गर्ने बाटो खुल्छ ।

    पर्वले दिने प्रेरणा सूत्र “देवत्वको जागरण”

    श्रेष्ठ आचरणले युक्त हुनु, धर्मनिष्ठ हुनु, संस्कारक्षम वातावरण निर्माण गर्ने हुनु, समाजमा सौहार्दता–सहृदयता र सहअस्तित्व जस्ता गुण विकास गर्ने हुनु ‘देवत्व’ हो ।

    भगवान् श्रीकृष्णले भगवद्गीतामा भन्नुभएको छ— समाजले श्रेष्ठ व्यक्तिको आचरणलाई अनुसरण गर्दछ । यही भाव अर्थात् आफू श्रेष्ठ एवं सदाचारी भई विश्वलाई नै सदाचारको शिक्षा दिनसक्ने बनौँ भनी वेदले ‘कृण्वन्तो विश्वमार्यम्’ उद्घोष गरेको छ । यस देशका सन्ततिले आफ्नो श्रेष्ठतम व्यवहारद्वारा विश्वका मानिसको मन जित्नेछन् । सम्पूर्ण मानव जातिका सामु आफ्नो त्याग–तपोमय, पौरुषमय श्रेष्ठ जीवनद्वारा यस्तो आदर्श निर्माण गर्नेछन् जसबाट अरुले शिक्षा लिऊन् र सहजै अनुसरण गर्नसकून् भनी स्मृतिकार मनुमहाराजले पनि भन्नुभएको छ—

    एतद्देश प्रसूतस्य सकाशादग्रजन्मनाः ।
    स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्या सर्व मानवाः ।।

    सद्गुणको आर्जन देवत्वको विकास

    वर्तमान समयमा जे श्रेष्ठ छ, उत्तम छ त्यसलाई हार्दिकताका साथ आत्मसात् गर्दै मूल्यबोधको आधारमा जे नकारात्मक, अभद्र तथा विध्वंशकारी छन् तीबाट बच्नलाई नीर–क्षीर विवेक पनि विकसित गरिनु आवश्यक छ ।

    देवत्वले ‘म’ होइन ‘हामी’ भन्न सिकाउँछ । पृथ्वीमा मानव मात्र छैन, यहाँ वृक्ष–वनस्पति, पशु–पंक्षी र अनेकौँ प्रकारका जीवजन्तु छन्, जसका कारण पर्यावरणमा सन्तुलन छ । हिन्दू संस्कृतिले वसुधैव कुटुम्बकम् भनी शिक्षा दिएको छ । वसुधा भनेको पृथ्वी हो र वसुधैव–कुटुम्बकम् भनेको प्रकृति, वन, जल, नदी, वायु, अग्नि आदि हामी मानवसितै सहअस्तित्वमा रहेका सबै तत्त्व हुन् । उनीहरूलाई आफ्नो परिवारको रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यो मन्त्रको मूल भाव हो । यद्यपि, दुष्ट, विधर्मी र आततायीहरूलाई आफ्नो परिवार ठान्ने निर्देशन कुनै धर्मशास्त्रले दिएको छैन । यसमा पनि हामी चनाखो हुन आवश्यक छ ।

    समाज जागरणका लागि ‘धर्म’को मर्म बुझ्न आवश्यक

    आजभोलि हामी पूजा गर्नुलाई नै धर्म ठान्दछौँ । अनि भ्रमवश मजहब र रिलिजनलाई पनि धर्मको पर्यायवाची ठान्दछौँ । जबकि धर्म भनेको सार्थक पुरुषार्थ हो । सबैको पूजा–आराधना, साधना गर्ने विधि–विधान र अभिरुचि फरक–फरक हुनसक्छ । तर, धर्म सबैका निम्ति समान छ । व्यक्ति तथा समाजका लागि धर्म त्यो पुरुषार्थ हो जसले व्यक्तिलाई अनुशासनमा आबद्ध गर्दछ । सबैले आफ्नो कर्तव्य पूरा गर्नु धर्म हो । समाजमा गुमेको सन्तुलनलाई पुनर्स्थापित गर्नु र ब्रह्माण्डलाई सन्तुलनमा राख्नु धर्म हो । एकान्तमा साधना गर्नु र लोकान्तमा अर्थात् समाज जीवनमा संगठित भई कल्याणकारी काममा प्रवृत्त हुनु हाम्रो धर्म हो ।

    समाज अहिले परिवर्तनको आकांक्षी छ । नेतृत्व अथवा नाराले वास्तविक परिवर्तन ल्याउँदैन । परिवर्तन देखिए पनि त्यो क्षणिक हुन्छ । तर, असल संस्कारले ल्याउने परिवर्तन दिगो हुन्छ । समाजको स्वस्थ एवं शान्तिपूर्ण जीवन केवल कानून र दण्डको भयले न त कहिल्यै चलेको थियो न कहिल्यै चल्न सक्छ नै । समाजको सुव्यवस्था धर्ममा आधारित छ—

    ‘धर्मेणैव प्रजाः सर्व रक्षन्ति स्म परस्परम्’

    समग्र प्रजाजन धर्मानुकूल जीवन जिउँथे अतः त्यही धर्मले सबैको रक्षा गर्दथ्यो । यसरी सबै परस्पर सुख–सौहार्दपूर्वक रहन्थे भनी शास्त्रले उल्लेख गरेको छ । यसो भन्नुको तात्पर्य हो, समाजलाई संस्कार र संस्कृतिले नै सुन्दर र सभ्य बनाउन सक्छ । धर्मनिरपेक्ष हुँदैमा समाज विकसित हुन्छ भनी विधर्मीले छरेको भ्रमबाट समाज मुक्त हुनुपर्छ ।

    सामाजिक र पारिवारिक दायित्व बोध

    प्रत्येक व्यक्तिमा देवत्वको जागरण भयो भने समग्र समाज असल बन्दछ । समाज असल भयो भने देशको भाग्य बदलिन्छ । हामीले परिवर्तनको आकांक्षा नै गरेका छौँ भने हाम्रो गुणवत्तामा, आचरणमा परिवर्तन हुनुपर्छ । यसका लागि सामाजिक एवं पारिवारिक दायित्वबोध आवश्यक छ । यस गहन दायित्वलाई बुझेर नयाँ पुस्तालाई घरैबाट सुसंस्कार दिइनुपर्छ । घरको वातावरण प्रसन्न, शुचितामय तथा संस्कार दिने बनोस् यो सुनिश्चित् गरिनु वर्तमान समयमा अपरिहार्य भएको छ ।

    सामाजिक सञ्जाल र भिडियो गेमहरूले सिर्जित गरेको एकलकाँटे युगमा पारिवारिक एवं सामाजिक मूल्य के हुन् ? तिनको आवश्यकता किन पर्छ ? जस्ता प्रश्नको उत्तरसित आफ्ना सन्ततिलाई परिचित गराउनु पनि देवत्व जागरणकै पाटो हो ।

    समग्र समाजको योगदान

    भेदभावमुक्त, समतायुक्त, शोषणमुक्त, स्वार्थरहित समाज निर्माण गर्नतर्फ समग्र समाजले आफ्नो योगदान दिनुपर्छ । देवभूमि एवं वेदभूमि यस राष्ट्रलाई गौरवशाली राष्ट्र बनाउन सिङ्गो समाज साझेदार बन्नुपर्दछ ।

    नेपाल मेरो मातृभूमि हो र म यसको सन्तान हुँ । यहाँ जति छन् सबै मेरा बन्धु–बान्धव नै हुन् । सबैको उन्नति–प्रगति मेरो कल्याण हो । यो भावको जागरण यस समाजलाई यहाँको मूल दर्शन— हिन्दुत्वले नै दिने गर्दछ । आफूमा देवत्वको जागरण गर्दै धर्मरूपी कर्तव्य निर्वाह गर्ने प्रेरणा तथा यस चिन्तनको रक्षा र विकास गर्ने चेतना सबैमा जागृत होस् । यही हरिबोधनी एकादशीको शिक्षा सूत्र हुनेछ ।

  • निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम र बैठक सम्पन्न

    निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम र बैठक सम्पन्न

    जापान । निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम तथा बैठक यकोहामामा सम्पन्न भएकाे छ ।

    बागलुङ जिल्ला ‘गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मान्यताका साथ निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम तथा भौतिक बैठक यकोहामामा सम्पन्न भयको हाे ।

    सन् २०१५ मा स्थापना भएकाे मानवीय सेवा गर्ने संस्था निलुवा समाज जापानले गएकाे साेमबार कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष रामु खत्रीको सभापतित्वमा सम्मान तथा बैठक राखेकाे थियाे । कार्यक्रम संस्थाका महासचिव भूमिराज सूवेदी ‘ठिटो’ले सञ्चालन गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जी आर शर्माले दिएका थिए । यसैगरी, संस्थाका संरक्षक थम क्षेत्रीले मन्तव्य दिएका थिए । उनले संस्थाकाे विकासका लागि एक भएर लाग्ने बताए ।

    नेपालबाट जापान भ्रमणको सिलसिलामा रहेका मित्रलाल सुवेदी मनकुमारी सुवेदीलाई संस्थाले सम्मान गरेको थियाे । सम्मान गरेवापत सुवेदी दम्पतीले धन्यवाद ज्ञापन गरेका थिए ।

    यसैगरी, बैठकमा सह-कोषाध्यक्ष भूमिराज शर्मालाई कोषाध्यक्षको कार्यभार हस्तान्तरण गरी संस्थाको आर्थिक प्रतिवेदन पेश गरिएकाे थियाे ।

    निलुवा समाज जापानले बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-४ निलुवामा नीलबराह मन्दिर निर्माणको लागि शिलान्यास गर्ने निर्णय पनि पारित गरेकाे संस्थाका महासचिव भूमिराज सूबेदी ‘ठिटो’ ले जानाकारि दिए । उनले समयमा नै निर्माण सम्पन्न गरिने पनि बताए ।

    यसैगरी, साविक बाग्लुङ जिल्ला गल्कोट नगरपालिका- ४ चमुवा र हाल चितवन जिल्ला राप्ति नगरपालिका वडा नं १ पिप्ले निवासी सुवेदी वन्धुवान्धवको अभिभावक तथा गङ्गाराम सुवेदी र राजु सुवेदीका ममतामयी माता लिलादेवी सुवेदीको गत कात्तिक ७ गते ८० वर्षको उमेरमा निधन भएकाेमा श्रद्धाञ्जली पनि अर्पण गरिएकाे थियाे । समाजका अध्यक्ष माेहन सुवेदी तथा प्रवक्ता दीपक सुवेदी विप्लवकाे सहभागितामा उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएकाे हाे ।

    सम्मान कार्यक्रम तथा बैठकमा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ्नाे जन्मभूमि र देशप्रतिको माया, ममता र पूरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा र हाैसला मिल्ने बताएका थिए । कार्यक्रममा सहभागीहरुकाे बाक्लाे उपस्थिति रहेकाे संस्थाका उपाध्यक्ष जीआर शर्माले जानकारी दिए ।

  • यस्ताे रहनेछ आज देशभरकाे माैसम

    यस्ताे रहनेछ आज देशभरकाे माैसम

    काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।

    आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

    भोलि पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । भोलि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

     

  • भारतले दियाे नेपाललाई २०० ओटा गाडी उपहार (भिडिओसहित)

    भारतले दियाे नेपाललाई २०० ओटा गाडी उपहार (भिडिओसहित)

    काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचनका लागि २०० ओटा सवारी साधन उपहारस्वरुप प्रदान गरेकाे छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् ।

    यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतकाे विश्वास छ ।

    नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुग्ने‍छ ।

    अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।

    नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

  • नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

    नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

    चितवन । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

    वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

    उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।

    डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।

    घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

  • घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

    घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

    काठमाडाैं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।

    बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको साेमबार बिहान मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।

    घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

  • नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

    नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

    काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।

    भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो ।

    काठमाडौँ विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो ।

    प्राधिकरणको यो निर्णयले काठमाडौँ उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।

    प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ ।

    निगमले नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । सातामा १४ उडान हुँदै आएकामा आजदेखि चार उडान कटौती भएको निगमले जनाएको छ । चार उडान कटौती हुँदा अब निगमले दैनिक १० उडान मात्रै गर्नेछ । निगमको दिल्ली गन्तव्य व्यावसायिक हिसाबले राम्रो मानिन्छ । निगमले भारतको बैङ्लोर र मुम्बईमा पनि नियमित उडान गरिरहेको छ ।

    दुई स्वदेशी एयरलाइन्स वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ ।

    प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौँ विमानस्थलमा तीनभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा उडान गर्नुपर्ने निर्देशनसहित पत्राचार गरिएको बताए ।

  • मधेश प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

    मधेश प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

    पर्सा । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।

    संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।

    मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।

  • बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प

    बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प

    बझाङ । बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।