Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • सर्वोच्चको आदेशपछि सिधा कुराले हटायाे समाचार र भिडिओ

    सर्वोच्चको आदेशपछि सिधा कुराले हटायाे समाचार र भिडिओ

    काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन एक सञ्चार माध्यमलाई आदेश दिएको छ ।

    सिधा कुरा डटकमले स्टिङ अपरेशनसम्बन्धी मुद्दा हराउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचार प्रकाशन गरेको थियो । सोमबार उक्त समाचार र युट्युबमा राखिएकाे भिडिओ हटाउन अदालतले आदेश दिएकाे हाे ।

    न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडिओ २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

    सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रशारण लगायत सार्वैजनिक गर्ने कुनै कार्य नगर्न नगराउन पनि आदेश दिएको छ ।

    अदालतकाे आदेशपछि सिधा कुरा डटकममा राखिएका उक्त समाचार र भिडिओहरु हटाइएका छन् । उक्त अनलाइनले याे शृंखला अहिलेका लागि स्थगित भएकाे सूचना पनि राखेकाे छ ।

    गत शुक्रबार सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुस सम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरुले बैठक गरेको भनी दावी सहितको समाचार प्रकाशित गरेको थियो ।

    उक्त समाचारमा चार सय भन्दा बढी भ्रष्टाचारका मुद्दा ढिसमिस बनाउन सर्वोच्चका न्यायाधीश नै छलफलमा सहभागी भएको दाबी गरिएको थियो । उक्त समाचार र त्यससँग सम्बन्धित युट्युबमा प्रकाशित अडियो भिडियो सामग्रीले ले न्यायसम्पादनमा अवरोध गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै प्रतिवेदन पेश गरेका थिए ।

    उनले प्रतिवेदनमार्फत सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगानासहित यो काममा संलग्नहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । उनले प्रकाशित सामग्री सामाजिक सञ्जालबाट हटाउनुपर्ने, संलग्नमाथि बयान गरी कारवाही हुनुपर्ने माग गरेका छन् ।

    सुनुवाइपछि सर्वोच्चले यस विषयमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए २० वैशाखको विहान १० बजेभित्र अदालतमा उपस्थित हुन सिधाकुरा डटकमका प्रकाशक कार्यकारी सम्पादकलाई आदेश दिएको छ ।

  • काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

    काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

    काठमाडौंका घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ ।

    वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ । हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ । बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ ।

    ज्याकरन्डा फूल रैथाने वनस्पति भने होइन । यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन् । तर, यो शिरीष होइन । दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ ।

    युरोप, अफ्रिका हुँदै ज्याकरण्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ । जो होस् यो फूल जहाँ यतिबेला फुलेका छन्, उपत्यकाका ती सडक र गल्लीको सौन्दर्य नै छुट्टै बनेको छ ।

  • बझाङ उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीसहित ८ उम्मेदवारकाे जमानत जफत

    बझाङ उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीसहित ८ उम्मेदवारकाे जमानत जफत

    काठमाडौं । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ ।

    एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिलबहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।

    निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने थियाे ।

    नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढा भने जमानत जोगाउन सफल भएका छन् ।

    उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भइसकेका छन् । उनले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरे ।

    भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

    यस्तो छ बझाङ प्रदेशसभा १ मा जमानत जफत हुनेकाे सूची :

    – दिलबहादुर सिंह, नेकपा एकीकृत समाजवादी
    – किशोर कुमार खड्का, राप्रपा
    – रामबहादुर जाग्री, जसपा
    – गजेन्द्रबहादुर थापा,राष्ट्रिय मातृभूमि पार्टी
    – दिपकबहादुर खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    – सुशीला देवी विष्ट, जनमत पार्टी
    – खगेन्द्रबहादुर शाही, नेमकिपा
    – कमल घर्ती मगर, नेशनल रिपब्लिक नेपाल

  • यस्तो थियो एन्फा उपाध्यक्षको बयान

    यस्तो थियो एन्फा उपाध्यक्षको बयान

    काठमाडौं । लागु औषध –खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

    पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए । फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए ।

    तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्धय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

    यस्तो छ दावाले अदालतसमक्ष गरेको वयानको सारांश

    म बाट लागु औषध वरामद भएको होइन मेरो साथी नविन लामा वनस्थलिमा खाजा खान गएको थिएँ । निजसँग लागु औषध खैरो हेरोईनको प्याकेट रहेछ । उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध वरामद गरी निजलाई कुटपिट गरि छाडी दिए र मलाई समाते । प्रहरी समक्ष गरेको बयान मेरो होइन । जबरजस्ती झुठा व्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन् । मलाई पढ्न समेत दिइएन । लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन ।

  • एनआरएनए निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो : डा.बद्री केसी

    एनआरएनए निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो : डा.बद्री केसी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा भएको निर्वाचन त्रुटिपूर्ण भएको प्रतिवेदन सार्वजनिक भएपछि आफूलाई निर्वाचित अध्यक्ष भएको दावी गर्दै आएका डा.बद्री केसीले प्रतिवेदनलाई ‘सुनुयोजित’ भनेका छन् ।

    शनिबार विहान नेपाल न्यूज बैंकसँगको कुराकानीमा सरकारबाट गठन गरिएको छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनबारे आफूलाई संस्थागत जानकारी नभएको पनि बताए । ‘प्रतिवेदनलाई आधार मानेर संचारमाध्यमहरुले निर्वाचनलाई त्रुटिपूर्ण भनिरहेका छन् । निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो । सबै प्रक्रिया पुरा गरेर सबैको सहमतिमा गरिएको निर्वाचन निष्पक्ष छ । केही प्राविधिक समस्या मात्र आएको थियो त्यो पनि समाधान भइसकेको थियो । अहिले प्रतिवेदनलाई आधार मानेर आएका समाचारहरुमा निर्वाचन त्रुटिपूर्ण भन्नु सुनियोजित कदम हो,’ डा.केसीले भने ।

    यसअघिको सरकारले निर्वाचित समितिलाई विघटन गर्ने प्रयास गरेपनि कुनै आधार नपाएपछि निर्वाचन प्रक्रियाभित्रका सामान्य समस्याहरुलाई त्रुटिपूर्ण भनिनु सुनियोजित भएको उनले बताए । ‘खासमा ११औं महाधिवेशनमा भएको निर्वाचनको प्रक्रियामा भएको समस्यालाई तत्कालीन तीन अध्यक्ष, अध्यक्षका उम्मेदवारहरुबिच भएको सहमतिका लागि भएको हस्ताक्षरसहितको माइन्यूट हामीसँग सुरक्षित छ । तर सरकार नै सुरुदेखि सुनियोजित रुपमा लाग्यो । अहिले प्रतिवेदन बुझाएर निर्वाचन त्रुटिपूर्ण छ भन्नु त्यो झन ठूलो त्रुटि हो,’डा.केसीले भने ।

    अदालतले सरकारलाई आदेश दिइसकेकाले संस्था एक महिनाभित्र नवीकरण हुने दावी पनि उनले गरे । ‘संस्था नवीकरण नभए कानुनले नत्थी लगाएर सरकारलाई दर्ता गर्न बाध्य बनाउँछ । यदि त्यसो नभए हामी पुनः अदालतको ढोका ढकढक्याउन जान बाध्य हुनेछौं,’ डा.केसीले भने ।

    महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको थियो । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्तगरी संघको आइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका क्रममा पाइएको थियो ।

    सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नहुनुले कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख थियो । ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली संघको आइटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

    यस्तै फेसियल भेरिफिकेसन बाइपास सम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको निष्कर्ष छ ।

    ‘नेपालबाट मतदान गर्ने गरी दर्ता भएका नौं जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ’, रिपोर्टको निष्कर्षमा भनिएको छ ।

    सह महान्यायाधिवक्ता चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ । समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

    गत अक्टोबरमा सम्पन्न महाधिवेशनको क्रममा भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले दाबी गर्दै आएको सन्दर्भमा छानबिन समितिले पनि यस्तो ठहर गरेको हो । लामो समयसम्म पनि एनआरएनएको विवाद समाधान हुन नसकेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए ।

    छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा पनि धाँधली भएकै निष्कर्ष निकालेको थियो ।

  • एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

    एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघकोआइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका क्रममा पाइएको हो ।

    महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नहुनुले कमजोरी देखिएको औँल्याएको छ ।

    समितिको रिपोर्टमा भनिएको छ, ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली संघको आइटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो ।’

    यस्तै फेसियल भेरिफिकेसन बाइपास सम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको निष्कर्ष छ ।

    ‘नेपालबाट मतदान गर्ने गरी दर्ता भएका नौं जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ’, रिपोर्टको निष्कर्षमा भनिएको छ ।

    सह महान्यायाधिवक्ता चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ । समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

    गत अक्टोबरमा सम्पन्न महाधिवेशनको क्रममा भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले दाबी गर्दै आएको सन्दर्भमा छानबिन समितिले पनि यस्तो ठहर गरेको हो । यससँगै आफूलाई एकपक्षीय रूपमा अध्यक्ष घोषणा गरेका केसी नैतिक संकटमा परेका छन् ।

    लामो समयसम्म पनि एनआरएनएको विवाद समाधान हुन नसकेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए । छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा पनि धाँधली भएकै निष्कर्ष निकालेको थियो ।
    ब्युरोको रिपोर्टमा संघको निर्वाचनबारे गम्भीर प्रश्न उठाइएको थियो । सीआईबीले अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’ बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता समेत औँल्याएको थियो ।

    गत कात्तिक ३ गते मध्य राति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षका प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठभन्दा बद्री केसीको मत बढी देखाएको थियो ।
    तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको र पदाधिकारीहरूको जोड घटाउमा समेत मिस्टेक पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । सो पछि महेश समेतको समर्थनमा केसीविरुद्ध शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर गतिविधि हुँदै आएको छ ।

    विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।

    एनआरएनको इतिहासमा पहिलो पटक भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा काठमाडौँबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य मत देखियो । त्यसपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

    तीन अध्यक्षको निर्णय विपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत आएको भन्दै अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिका सदस्य टिबी कार्कीले शपथ खुवाएपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके)शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समानान्तर अर्को कार्यसमिति बनाएर अगाडि बढेका थिए । त्यसपछि हालसम्म विवाद यथावत् रहेको छ ।

    लेखामा असल अभ्यास भएन

    छानबिन समितिले संघको लेखा सम्बन्धी विषयमा पनि आफ्नो निष्कर्ष दिएको छ । जसमा मुख्य मुख्य खर्चको फाँटबरी र सम्बन्धित बिल भर्पाईहरू मगाइ समितिले स्थलगत रूपमा खर्चका पुस्टाइसहितका कागजातहरू माग गरी छानबिन गरेको थियो ।

    आव २०७९।०८० को लेखा परीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू फर्छौट गर्ने कार्य पूर्ण रूपमा भएको देखिएन । संघलाई प्राप्त हुने सम्पूर्ण रकम मूल कोषमा जम्मागरी सोही कोषबाट रकम निकासा गरी सबै खर्चहरू गर्नुपर्नेमा विभिन्न बैङ्कमा १८ वटा खाता खोलिएको र फरक फरक परियोजना तथा कार्यक्रमका लागि खोलिएका खाताहरूमा सोझै रकम जम्मागरी खर्च गर्ने विगतदेखिको प्रचलन असल अभ्यासको रूपमा देखिएन’, समितिको प्रतिवेदनमा भनिएको छ ।

    यस्तै वार्षिक शीर्षकगत तथा योजनागत कारोबारहरूको विषयगत खर्चमा रकम नभएको अवस्थामा समेत कोर फन्डबाट तत्काल खर्च गर्ने गरेको, विषयगत परियोजना तथा कार्यक्रमका लागि प्रतिबद्धता जनाइएका स्रोतहरूबाट रकम प्राप्त भएपश्चात् मात्र उक्त विषयगत परियोजना तथा कार्यक्रममा खर्च गर्नुपर्नेमा विषयगत खाता ऋणात्मक भएको अवस्थामा मूल कोषबाट रकमान्तर गरी खर्च गर्ने गरिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै आयोजक समितिको स्वीकृति नलिई विश्व सम्मेलनको खर्च गरिएको समेत समितिको निष्कर्ष छ । ‘खर्चको स्वीकृत मापदण्ड नभएकोले लागत अनुमान तयार गर्ने कार्यदेखि खर्च गर्ने कार्यसमेत यथार्थपरक भए नभएको यकिन गर्ने आधार स्पष्ट देखिएन’, रिपोर्टमा भनिएको छ, ‘कार्यक्रम सञ्चालनका लागि प्रतिस्पर्धात्मक रूपमा मितव्ययी र पारदर्शी हुने गरी सेवा प्रदायक छनोट लगायतका कार्य सञ्चालन गर्नुपर्नेमा सोको पूर्ण पालना भएको देखिएन।’

    नियममा व्यवस्था गरिएका केही खर्चका आधारभूत मापदण्डहरूको पालनालाई अनदेखा गरी विगत देखिनै सङ्घले विषयगत परियोजना र कार्यक्रमका साथै आकस्मिक प्रकृतिका खर्च गर्दै आएकोमा बदनियत पूर्ण रूपमा संघको खर्च भई कोषको दुरुपयोग एवं हिनामिना भएको नदेखिए पनि संघको वित्तीय सुशासन कायम गर्न प्रचलित नियम कानुनको पूर्ण परिपालना हुनुपर्ने देखिएको छानबिन समितिको ठहर छ ।

  • अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

    अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

    काठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ ।

    भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल ।

    उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन् । यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ ।

    लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँडीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ ।

    केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी प्रक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भैरहेको छ ।

    पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए ।

    दशक अगाडिको उदय

    भारतमा भ्रटाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसकेका छन् । करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अधियानकै कारण पत्याएका उनी भातीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाएनन् ।

    सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभरिएका केजरीवालले निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोवर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आमआदमी पार्टी नामक पार्टीको स्थापना गरे ।

    केजरीवालले एकल हातले दिल्ली र पञ्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिन्ह राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गरे ।

    तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो । किनभने केजरीवालले दिल्ली विधानसभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिएका थिए ।

    त्यस्तै, सन् २०१५ को विधानसभा चुनावको दौडमा, उनले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी मागेका थिए र फेरि राजीनामा नगर्ने वाचा गरेका थिए ।
    दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना गरे । तर हार चाख्न पुगे ।

    आफ्नो ’भ्रष्टाचार विरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरुलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल भए । अहिले उनको पार्टीले राम्रै लय समाइरहेको छ । यद्धपी उनी भनेर गम्भिर आरोपको सामना गरिरहेका छन् ।

    के अब जेलबाटै राजकाज ?

    केजरिवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन् । आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् । यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ । राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने भएकाले जेलबाट सरकार चलाउन भने असम्भवप्रायः छ ।

  • बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : न्यायालयले नै छिनोफानो गर्छ

    बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : न्यायालयले नै छिनोफानो गर्छ

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ ।

    सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन् । निर्वाणले युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन भन्ने प्रश्न पनि गरेका छन् ।

    ‘आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?एकपटक आत्ममन्थन गरौं,’ निर्वाणले फेसबुकमा लेखेका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका निर्वाणले देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन् ।

    निर्वाणको भनाइ जस्ताको त्यस्तै

    १८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना। १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ। नेपालको कुल राजश्वमा करिव २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीब्र व्यापार विस्तार गरेर नेपाली चन्द्र(सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं ।

    हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ । देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ। भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।

    आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हीत कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ। के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् रु आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला रु एकपटक आत्ममन्थन गरौं ।

    यो देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ।

    केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भैरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।

  • शीतलकृष्ण महाराजले अन्याय गरेकाे श्रीमतीको आरोप (भिडिओसहित)

    शीतलकृष्ण महाराजले अन्याय गरेकाे श्रीमतीको आरोप (भिडिओसहित)

    काठमाडौं । भागवत कथावाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी छिन् ।

    बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी सुकृतिको गुनासो छ ।

    कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले बताइन् ।

    आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाइन् । उनले भनिन्, ‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घट्ना हुन थाले ।’

    सुकृतिले आफूलाई भ्रुणहत्या गर्न विवश बनाइएकाे पनि बताएकी छन् । उनले पत्रकार सम्मेलनमा भनिन्, ‘अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ । मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’

    हेर्नुहाेस् भिडियो :

  • देउवाले पेलेपछि टुटेको गठबन्धनबारे गगनलाई ‘बाल मतलब !’

    देउवाले पेलेपछि टुटेको गठबन्धनबारे गगनलाई ‘बाल मतलब !’

    गत वर्ष पुस १० गते तत्कालीन चुनावी गठबन्धन तोडेर एमालेको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बन्दा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पोखरामा भएको लिटरेचर फेस्टिभलमा सहभागी थिए । त्यतिबेला भइरहेको सरकार गठनबारे सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरेको गगनको दुखेसो थियो ।

    उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेको र कतिबेला बोलावट हुन्छ भनेर फोन कुरेर बसेको तर छलफलका लागि नबोलाइएपछि अपमान महसुस गरेर पोखरा आएको अभिव्यक्ति दिएका थिए ।

    मंसिर ४ को चुनावमा ५ दलसँग तालमेल गरेर सबैभन्दा बढी सिट ल्याएर पनि निरिह बनेको टिप्पणीसहित थापाले अब कांग्रेस पार्टी सुदृढीकरणमा लाग्नुपर्ने बताएका थिए ।

    थापामात्र होइन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि यही कार्यक्रममा ‘कांग्रेसले जितेर पनि हारेको’ टिप्पणी गरेका थिए । उनीहरु दुवैले यो परिस्थिति पार्टी सभापति शेरबहादुर देउवाकै कारण भएको आरोप लगाएका थिए ।

    चुनावी गठबन्धनलाई धोका दिएर एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा पहिलोपटक विश्वासको मत लिइरहँदा नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

    राष्ट्रिय जनमोर्चा र नेमकिपाबाहेक सबले प्रचण्डलाई विश्वासको मत दिएपछि संसद प्रमुख प्रतिपक्षीविहीन बन्न पुग्यो । तर फागुन १३ गते राष्ट्रपति कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने प्रचण्डको निर्णयपछि पुस १० गते बनेको गठबन्धन भत्कियो र प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । कांग्रेस फेरि सत्तामा गयो । १३ फागुनमा राप्रपा र १५ फागुनमा एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरियो ।

    कांग्रेस पुनः सत्तामा गएपछि सरकारमा पठाउने मन्त्रीका बारेमा पार्टी सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै महामन्त्री गगन थापाले विरोध गरे । गत वर्ष २२ वैशाखमा धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा थापाले देउवाको कार्यशैलीप्रति आक्रामक भएर विरोध गरेका थिए ।

    त्यतिबेला सरकारमा पठाउने मन्त्रीको बारेमा, पार्टी रुपान्तरण गर्नेबारेमा गगनले पार्टीसभापतिको आलोचना गरेका थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका थिए ।

    त्यतिबेला गगन थापा आफू नजिक रहेर काम गरिरहेका काठमाडौं क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन चाहान्थे । तर देउवाले मोहनबहादुर बस्नेतलाई मन्त्री बनाइदिए ।

    आफूहरुको कुरा नसुनिएपछि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिले आफ्नो कार्यशैली परिवर्तन नगर्ने भए आफू महामन्त्री रहनुको औचित्य नभएकोले महामन्त्री पदबाट राजीनामा दिएर कार्यकर्ताकाबीच जाने चेतावनी पनि दिएका थिए ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यसअघि नेपाली कांग्रेसले तीन पटक गरी ९ जना मन्त्री पठाएको थियो । उक्त मन्त्रीको लिस्टमा सभापति देउवाले ६ जना आफू निकटका नेताको नाम समावेश गरे ।

    जसमा उपप्रधान तथा रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकास मन्त्री सीता गुरूङ, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग मन्त्री रमेश रिजाल, स्वास्थ्य मन्त्री मोहन बस्नेत छन् । कानून मन्त्री धनराज गुरूङ, युवा मन्त्री डिगबहादुर लिम्बु र महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य संस्थापनइतरका हुन् ।

    यतिधेरै मन्त्री बनाउँदा पनि सभापति देउवाले महामन्त्रीहरूसँग छलफल नगरेको आरोप महामन्त्रीद्वयको छ । उनीहरुले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने र सबै कलष्टरको प्रतिनिधित्व गराएर समावेशी टिम पठाउनु पर्नेु अडान राखेका थिए । दलित, मधेशी, थारू र पिछडिएका क्षेत्रको प्रतिनिधित्व गराउनुपर्ने उनीहरूको अडान थियो । तर यी कुराहरुमा देउवाले उपेक्षा गरे ।

    महामन्त्रीहरू थापा र शर्मा स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला अरू दलसँग गठबन्धन गर्ने निर्णयदेखि नै सभापति देउवासँग असन्तुष्ट थिए । चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपालगायत दलसँग गठबन्धन गर्न नहुने र एक्लै चुनाव लड्नुपर्ने उनीहरूको राय थियो । तर पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेर गठबन्धनमा गएको थियो ।

    पछिल्ला दिनहरुमा महामन्त्रीद्वयसहित अर्का युवा नेता प्रदीप पौडेल कांग्रेस रुपान्तरणको विषयमा खुलेर बोल्दै आएका छन् । यतिमात्र होइन गठबन्धनको विषयमा उनीहरुको असन्तुष्टि निकै चुलिएको पनि थियो ।

    अहिले गठबन्धन फेरिनुको कारणमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापित पूर्णबहादुर खड्काले महसमिति बैठकमा पेस गरी पारित भएको नीति–प्रस्तावमा माओवादी सशस्त्र द्वन्द्वको कडा शब्दमा आलोचना हुनु, महासमिति बैठकबाट महामन्त्री गगनकुमार थापाको आगामी चुनाव एक्लै लड्ने सङ्कल्प गरिएको साङ्गठनिक प्रस्ताव पारित हुनु मुख्य रहेको बताएका छन् ।