Tag: बालेन शाह

  • गृहमन्त्रीलाई बालेन शाहले साेधे- अवैध संरचनाकाे संरक्षण किन ?

    गृहमन्त्रीलाई बालेन शाहले साेधे- अवैध संरचनाकाे संरक्षण किन ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् ।

    कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्न मेयर साहले भनेका छन् ।

    कानुन बमोजिमको शासन व्यवस्था अँगाल्न आग्रह गर्दै उनले भनेका छन्, ‘यसतर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भइसक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ ? कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?’

     

  • सार्वजनिक ठाउँहरु खुल्ला राखौँ, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस् : बालेन शाह

    सार्वजनिक ठाउँहरु खुल्ला राखौँ, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस् : बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्नुपर्ने बताएका छन् ।

    भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् ।

    प्राकृतिक विपत्तिको पूर्व तयारीका लागि अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्न सके र सार्वजनिक ठाउँहरु खुल्ला राख्न सके भोलिका दिनमा पछुताउन नपर्ने उल्लेख गरेका छन् ।

    उनले भूकम्प गएकाे ८ वर्ष भएकाे सन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

    अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ । काठमाडाैं महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’

  • सरकारलाई बालेनले भने- सिंहदरबार सार्नुस् कि राजधानी, हामीलाई आपत्ती छैन

    सरकारलाई बालेनले भने- सिंहदरबार सार्नुस् कि राजधानी, हामीलाई आपत्ती छैन

    काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई सिंहदरबार सारे सार्नू, राजधानी सारे सार्नू भन्ने चर्काे चुनाैती दिएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमार्फत् उनले हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिने उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’

    बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका हुन् ।

    महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग असन्तुष्ट जनाइरहेका छन् ।

    उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।

  • बालेनको धारणा अराजक रहेको सरकारको ठहर, गम्भीर ध्यानाकर्षण गराउने

    बालेनको धारणा अराजक रहेको सरकारको ठहर, गम्भीर ध्यानाकर्षण गराउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको धारणा अराजक रहेको सरकारले ठहर गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जे जसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ’ उनले भनिन्, ‘त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीररुपमा छलफल गरेका छौँ । त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ ।’

  • यसकारण गरे बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय, १४ मन्त्रालयको उदाहरणसहित दिए स्पष्टीकरण

    यसकारण गरे बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय, १४ मन्त्रालयको उदाहरणसहित दिए स्पष्टीकरण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको स्पष्टीकरण दिएका छन् ।

    आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको उनले बताएका छन् ।

    आफूले सुधारका लागि गरेको प्रयासबारे उनले सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न ।’

    उनले केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेकाे पनि उल्लेख गरेका छन् । याे निर्णय बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष भएकाे पनि बताएका छन् ।

    बालेनले आफूले गरेका सुधारका प्रयास र सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण पनि लेखेका छन्-

    १. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

    २. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार ।

    ३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

    ४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन -दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

    ५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल-दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

    ६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल ।

    ७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

    ८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

    ९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल ।

    १०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल ।

    ११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल-२ मन्त्रीसँग पटक–पटक पहल ।

    १२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक–पटक पहल ।

    १३. संघीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक–पटक पहल ।

    १४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण गर्न मन्त्रीसँग पटक–पटक पहल ।

    यी १४ मन्त्रालयका उदाहरण दिँदै बालेनले प्रश्न गरेका छन्, ‘५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?’

    उनी थप प्रश्न गर्छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

    मेयर बालेनले स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकुन् र संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भन्ने चाहेको बताएका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा गए पनि त्यसको अनुभूति हुने गरी कार्यान्वयन नभएको उनको भनाइ छ ।

    सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुको कारणबारे अन्त्यमा बालेनले लेखेका छन्, ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाव आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

  • इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिनँ : बालेन साह

    इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिनँ : बालेन साह

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत नगर्ने बताएका छन् ।

    आज सामाजिक सञ्जालमा आक्रोशित रूपमा अभिव्यक्ति दिइरहेका उनी सरकारमाथि खनिएका हुन् ।

    उनले लेखेका छन्, ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने लाज लाग्दैन ?’

    यसअघि आजै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए ।

  • सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन साहको घोषणा

    सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन साहको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

    आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

    शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

  • बालेनलाई हर्कको सिलाम साक्मा

    बालेनलाई हर्कको सिलाम साक्मा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    विशेष गरेर खानेपानी आयोजनाका लागि बजेट माग्न संघीय राजधानी काठमाडौं आइपुगेका मेयर साम्पाङलाई बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका थिए ।

    भेटका क्रममा किराँत संस्कृति अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा मेयर हर्क साम्पाङले बालेनलाई लगाइदिएका छन् ।

    हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

    मेयर बालेनको सचिवालयका अनुसार दुई नगरहरु बीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायत विषयमा छलफल भएको छ ।

    मेयर साम्पाङको टोलीले काठमाडौंमा प्रधानमन्त्री, संघीय मन्त्री लगायतसँग भेट गरेर धरानको विकास लगायतका विविध पक्षका बारेमा ध्यानाकर्षण गराइरहेको छ ।

  • मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन शाह

    मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन शाह

    काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ११ हिँडेर आएका मिटरब्याज पीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन् ।

    तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो ।

    खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका छन् । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भएको थियो ।

    उक्त विषयमा प्रष्टीकरण दिँदै मेयर शाहले माइतीघरले न्याय नदिने बताएका छन् । ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ आज (मंगलबार) सामाजिक सञ्जालमा मेयर शाहले भनेका छन्, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो ।’

    उनले पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने बताएका छन् ।

    खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले आशंका गरेका छन् । न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाइ केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउने गरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाएका छन् ।

    स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने पनि उनले बताए । उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन् ।

  • मिटरब्याज पीडितलाई बालेन शाहकाे प्रस्ताव : खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्नुस्

    मिटरब्याज पीडितलाई बालेन शाहकाे प्रस्ताव : खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्नुस्

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ ।

    विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमै रोकेको थियो ।

    महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताए ।

    ‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौं’ उनले फेसबुकमा लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं ।’

    रत्नपार्कको अगाडि रानीपोखरीबाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको हो । तर मिटरब्याज पीडितहरुले खुलामञ्चमा नै बस्ने भन्दै खुलामञ्चको गेटबाहिर प्रदर्शन गरिरहेका छन् ।

    मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । ‘हामी चाहन्छौँ यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्’ बालेनले लेखेका छन् ।