काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
बुधबार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले विकल्प खोजिरहेको र जनताको उत्तम विकल्प राप्रपा नै भएको बताए ।
उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ । राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ ।’
राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक–पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको लिङदेनले बताए । उनले भने, ‘हारेको हारेकै गर्दा जितिन्छ र भन्ने, जिते पनि त्यत्रो सिट जितिन्छ र ? भन्ने हीन मानसिकता अझै छ ।’
राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताए । उनले भने, ‘अब निर्वाचन क्षेत्रमा जानुहोस् । उम्मेदवारी घोषणा गर्नुहोस् । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’
आगामी चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताले पनि राप्रपालाई नै मत दिने उनले दाबी गरे ।