Tag: हर्क साम्पाङ

  • हर्क साम्पाङले कार्यकक्षबाट हटाए प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर, यलम्बरको तस्वीर राख्ने

    हर्क साम्पाङले कार्यकक्षबाट हटाए प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर, यलम्बरको तस्वीर राख्ने

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए ।

    धरानलाई संघीय सरकारको महत्व नदिएको भन्दै हटाउने उनले बताएका थिए । ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु १ जय देश १ ’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

    उनले अब यलम्बरको फोटो राख्ने बताएका छन् ।

  • हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्म समेटेर नक्सा सार्वजनिक गर्नुपर्छ : हर्क साम्पाङ

    हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्म समेटेर नक्सा सार्वजनिक गर्नुपर्छ : हर्क साम्पाङ

    काठमाडाैं । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपालमा यसबारे तीव्र टिकाटिप्पणी भइरहेकाे छ ।

    यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन् ।

    यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन् ।।

  • विष्णु रिमाललाई हर्क साम्पाङको सटायर – गुइँठेको प्रतिवाद गर्दिन

    विष्णु रिमाललाई हर्क साम्पाङको सटायर – गुइँठेको प्रतिवाद गर्दिन

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरानका मेयर हर्क साम्पाङबीच वादविवाद भएको छ । उनीहरू दुवैले एक–अर्कामाथि तुच्छ शब्द प्रयोग गरेका छन् ।

    रिमालको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले पछिल्लो समय उदाएका तीन युवा नेताहरूमाथि टिप्पणी गरेका छन् । त्यसमा उनले हर्क साम्पाङलाई ‘बौलाहा टाइपको’ संज्ञा दिएका छन् ।

    रिमालले फेसबुकमा अत्यधिक लाइक आउने सन्दर्भमा काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए ।

    एमाले अध्यक्ष केपी ओलीको फेसबुकमा पनि उनीहरूको जस्तै लाइक आएमा पार्टीले बहुमत ल्याउने रिमालको दाबी थियो ।

  • बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरू एक हौैँ : हर्क साम्पाङ

    बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरू एक हौैँ : हर्क साम्पाङ

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् ।

    काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको बताए ।

    उनले फेसबुकमा लेखेका छन्,‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

  • हर्क साम्पाङकाे सफलता, धरानमा पानी

    हर्क साम्पाङकाे सफलता, धरानमा पानी

    काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

    उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

    उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

    उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिँदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।

  • बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

    बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ फेरि काठमाडाैंका मेयर बालेन साहमाथि खनिएका छन् ।

    काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरिरहेका छन् ।

    धराने मेयर साम्पाङ पनि बालेनको यो एक्सनप्रति असहमत देखिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

    अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनीसमेत उनले दिएका छन् ।

    ‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

    केही दिनअघि काठमाडौं आएर फर्केदेखि उनी यहाँका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमा खनिएको खनियै छन् ।

  • मेयर हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार

    मेयर हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार

    काठमाडौ । धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ ।

    मेयर साम्पाङले साेमबार बिहानै फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् । उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।

    साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन् ।

  • हर्क साम्पाङले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

    हर्क साम्पाङले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएको हो ।

    साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

  • काठमाडाैंकाे फाेहाेर देखेपछि धरानका मेयर हर्क साम्पाङलाई श्रमदान गर्न मन लाग्यो !

    काठमाडाैंकाे फाेहाेर देखेपछि धरानका मेयर हर्क साम्पाङलाई श्रमदान गर्न मन लाग्यो !

    काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको महानगरका सडकछेउमा थुप्रिएको फोहोर हटाउन आफूले श्रमदान गर्ने भन्दै व्यंग गरेका छन् ।

    उपमहानगरको कामले आइतबार बिहान काठमाडौं आइपुगेका साम्पाङले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,- काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो। प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !

    साम्पाङले धरानमा खानेपानीको अभाव पूर्ति गर्न अहिले श्रमदान अभियान चलाइरहेका छन् । उनी आफू पनि श्रमदान गरिरहेका छन् ।

  • हर्क साम्पाङ भन्छन् : करोडको गाडी चढेर जनताको समस्या देखिँदैन

    हर्क साम्पाङ भन्छन् : करोडको गाडी चढेर जनताको समस्या देखिँदैन

    सुनसरी । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गरी एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उनले भने ।

    धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाइँको सेवक, जय धरान’, उनले भने । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।

    चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो’, अधिकृत खतिवडाले भने। मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।

    प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेका छन् । लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए ।

    मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । पदभार ग्रहण गदैं साम्पाङले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

    राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहेका छन् । यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उनले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन् ।

    कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने प्रमुख राईले जानकारी दिए । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।