Tag: काठमाडौं महानगरपालिका

  • पुरानो बसपार्कमा निर्माणधिन टावरमा अनियमितता: काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

    पुरानो बसपार्कमा निर्माणधिन टावरमा अनियमितता: काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

    काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ ।

    महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन् ।

    भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए ।

    उक्त विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् ।

    यस्ताे छ प्रेस विज्ञप्ति

    काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि.नः १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौं महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१/११/२० मा का.म.पा को कार्यपालिका वैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच दुई पक्षीय सम्झौता भएको यहाँहरुलाई अवगत नै छ ।

    सोही कार्यको लागि मिति २०७२/४/२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२/५/६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको देखिएको थियो । साथै मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच मिति २०७३ बैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राबिधिक जांच पश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी डवल basement प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिबेदनमा पेस भएको छ ।

    श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FAR मापदण्ड वमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ । सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा बिभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो । सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच भएको सम्झौता बिपरित भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS बमोजिम मिति २०८०/११/२२ देखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ । साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई , शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ ।

    २०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ ।

    धन्यवाद

    नवीन मानन्धर
    प्रवक्ता
    काठमाडौं महानगरपालिका
    मिति २०८१/९/५

  • ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

    ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।

    वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निर्णय सुनाएको थियो ।

    महानगरपालिकाले अदालतले जफत गरेको सो जग्गा संरक्षणको जिम्मा कानूनबमोजिम स्थानीय तहको हुने भन्दै ७ दिनको अल्टिमेटम दिएर खाली गर्न र सरकारी सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह गरेको हो ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसम्भार तथा अन्य प्रबन्ध गर्नुपनेृ कानूनी दायित्व महानगरपालिकालाई तोकेको छ,’ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘विशेष अदालत काठमाडौंको उक्त फैसलाबाट जफत भएको वडा नं. ४ स्थित ललितानिवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

    महानगरपालिकाले त्यस क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सो क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्न सहयोग गर्न आह्वान गरेको छ ।

  • काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

    काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

    काठमाडौं । काठमाडाैँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।

    सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ ।

    सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।

    योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ ।

    महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरुले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।

    चालु आवमा पटके वा दैनिक ज्बयालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने महानगरले जनाएको छ । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ ।

  • काठमाडाैं महानगरले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

    काठमाडाैं महानगरले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।

    सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन् ।

    स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चूनौतीसम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन् ।

    सम्मेलनको पहिलो दिन बिभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् ।

    जारी भएका कानूनी प्रबन्धको कार्यान्वयन गर्दै सबै वडामा महिला सञ्जाल गठन भइरहेको उनले बताए ।

    न्यायिक समितिमा आउने धेरै विवादहरुमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।

  • महानगरले लियाे काठमाडौं प्लाजा भाडामा, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

    महानगरले लियाे काठमाडौं प्लाजा भाडामा, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिएको छ । महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको हाे ।

    नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतले भाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

    पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ छ ।

    काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ ।

    हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ ।

  • महानगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ

    महानगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

    काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।

    १२ मंसिरमा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा महानगर प्रहरी पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए ।

    उक्त आक्रमणमा पाण्डे सहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।

  • काठमाडाैं महानगर प्रमुख बालेन शाहसँग कांग्रेस नेता प्रदीप पाैडेलकाे ‘अर्थपूर्ण भेट’

    काठमाडाैं महानगर प्रमुख बालेन शाहसँग कांग्रेस नेता प्रदीप पाैडेलकाे ‘अर्थपूर्ण भेट’

    काठमाडाैं । काठमाडौं महानगरका प्रमुख मेयर बाले शाहसँग कांग्रेस नेता प्रदीप पाैडेलले भेटेका छन् । उनले बालेन शाहसँगकाे भेट अर्थपूर्ण भएकाे पनि प्रतिक्रिया दिएका छन् ।

    भेटका क्रममा उनले काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएकाे जानकारी दिएका छन् ।

    छलफलमा कलंकीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्नेबारे छलफल भएकाे बताइएकाे छ ।

    यसैगरी, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने, सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्नेबारेमा पनि छलफल भएकाे नेता पाैडेलले जानकारी दिएका छन् ।

    छलफल अत्यन्तै सकारात्मक भएकाे पनि पाैडेलले बताएका छन् । उनले यस्ता सकारात्मक कुरामा काठमाडाैं महानगर प्रमुखले देखाएकाे तत्परताले निरन्तर महानगरसँग सहकार्य हुने विश्वास पनि व्यक्त गरे ।

  • काठमाडाैं महानगरमा घरभाडा प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने

    काठमाडाैं महानगरमा घरभाडा प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने

    काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ ।

    महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।

    महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’

    महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएपछि घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।

    घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।

    घरभाडामा दिँदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।

  • मैतिदेवीको प्रहरी बिटमा महानगरले चलायाे डोजर

    मैतिदेवीको प्रहरी बिटमा महानगरले चलायाे डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीको प्रहरी बिटमा डोजर चलाएको छ ।

    सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो ।

    मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए ।

    डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

     

     

     

  • काठमाडाैं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि

    काठमाडाैं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि

    काठमाडाैं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि भएको छ ।

    काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नम्बर ६ र तारकेश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएकाे हाे ।

    कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

    ती सबै फार्मका पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरिएको छ । खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरिएकाे हाे ।

    यस्तै, तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको छ ।