महानगरले लियाे काठमाडौं प्लाजा भाडामा, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिएको छ । महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको हाे ।

नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतले भाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ छ ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ ।

हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१