Tag: काेराेना संक्रमण

  • कोरोना संक्रमण अझै केही दिन बढ्ने, खाेप लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

    कोरोना संक्रमण अझै केही दिन बढ्ने, खाेप लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए ।

    ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,’ उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ ।’

    संक्रमण अझै बढ्ने भएकाले कोरोना भाइरसविरूद्धको खोप लगाउन पनि आग्रह गरेको छ ।

    केही दिनयता कोरोना संक्रमण उकालो लागेको छ । सोमबार एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, सोमबार २९ जना उपचार गरी घर फर्किएका छन् ।

    अहिलेसम्म सक्रिय संक्रमित संख्या चार सय ४४ पुगेको छ ।

    काठमाडौं उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन् ।

    छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा देखापरेको छ। शून्यमा झरेको संक्रमण नेपाल-भारत खुला सिमानाका कारणले फैलिएको मन्त्रालयले जनाएको छ ।

  • के कोभिड साँच्चै जनावरबाट उत्पत्ति भएर मानिसमा सरेको हो ?

    के कोभिड साँच्चै जनावरबाट उत्पत्ति भएर मानिसमा सरेको हो ?

    चिनियाँ अनुसन्धानकर्ताहरूको एउटा टोलीले सबैभन्दा पहिले कोभिड-१९ फैलिएको ठानिएको बजारबाट तीन वर्षअघि सङ्कलन गरिएका नमुनाहरूको वैज्ञानिक विश्लेषण प्रकाशन गरेको छ ।

    कोरोनाभाइरस र कोभिड-१९ को उत्पत्तिबारे गरिएको अनुसन्धानको केन्द्रबिन्दुमा हुनानस्थित समुद्री खाद्यपदार्थ र वन्यजन्तु बजार छ ।

    सन् २०२० मा उक्त बजारबाट सङ्कलित जैविक प्रमाणहरूको निष्पक्ष वैज्ञानिकहरूद्वारा समीक्षा गरेको यो पहिलो अनुसन्धान हो ।

    भाइरसलाई बजारमा बेचिने जनावरसँग जोडेर यो अनुसन्धानले कोभिड कसरी फैलियो भन्ने विषयमा नयाँ खोज आरम्भ गर्ने ठानिएको छ ।

    उक्त विश्लेषणका आधारमा वैज्ञानिकहरूको एक समूहले कोभिड १९ सङ्क्रमण गराउने भाइरस सबैभन्दा पहिला मानिसमा कसरी सर्‍यो भन्नेबारे सबैभन्दा गतिलो प्रमाण फेला पारिएको दाबी गरेको छ ।

    यो शताब्दीकै सबैभन्दा खराब महामारीको कारण चर्को राजनीतिक विषय बनिरहेका समयमा पछिल्लो वैज्ञानिक खोजले यसको उत्पत्ति पत्ता लगाउने विषयमा नयाँ मोड ल्याएको छ ।

    यो खोजले धेरै प्रतिस्पर्धी सिद्धान्तहरू अघि सारेको छ जुन प्रमाणित भइसकेका चाहिँ छैनन् तर अस्वीकृत हुने निष्कर्ष पनि कसैले प्रस्तुत गरिसकेको छैन ।

    सबैभन्दा पछिल्लो विश्लेषणले यो भाइरसको उत्पत्ति एउटा प्रजातिको जनावरबाट भएकोप्रति सङ्केत गरेको छ ।

    यो विश्लेषण तीन वर्षअघि हुनानस्थित एक वन्यजन्तुको कारोबार हुने बजारबाट सङ्कलन गरिएका प्रमाणहरूमा आधारित छ जुन ठाउँलाई पहिलो पटक महामारी फैलिएको केन्द्र पनि ठानिएको छ ।

    ‘र्‍याकुन डग’ सङ्क्रमण सार्ने जनावर

    कोभिड एउटा रहस्यकै रूपमा रहेको सन् २०२० को सुरुवाती समयमा चीनको रोग नियन्त्रण केन्द्रले सो बजारबाट नमुनाहरू सङ्कलन गरेको थियो ।

    ती नमुनाहरूमा रहेका आनुवंशिक जानकारीहरूको केही अंश हालै मात्र सार्वजनिक गरिएको छ ।

    अनुसन्धानकर्ताहरूले यसलाई विश्लेषण गर्दै कुकुर प्रजातिको जङ्गली जनावर ‘र्‍याकुन डग’ मानिसहरूमा कोभिड सङ्क्रमण सार्ने “पहिलो जनावर” भएको सङ्केत गरेका छन् ।

    मार्च २० मा अनलाइनमा प्रकाशित विश्लेषणको निष्कर्षमा जिउँदा जङ्गली जनावरहरू मासुका लागि बिक्री हुने बजारको जुन ठाउँबाट लिइएको स्वाबमा सार्स कोभ २ भाइरस भेटिएको थियो त्यहाँ ‘र्‍याकुन डग’को डीएनए पनि फेला पारिएको थियो ।

    बजार लामो समयदेखि बन्द रहेको र बिक्रीमा राखिएका जनावरहरू पनि मारिएका कारण कोभिड भाइरस फैलावटको भद्रगोल खोजीमा अझैसम्म यकिन प्रमाण फेला परेको छैन ।

    यस्तो संवेदनशील तथ्याङ्क प्रकाशनका लागि तीन वर्षसम्म गरिएको ढिलाइलाई कतिपय वैज्ञानिकहरूले “निन्दनीय” पनि भनेका छन् ।

    प्रयोगशालाबाट बाहिरिएको अमेरिकी आशङ्का कायमै

    अमेरिकी अधिकारीहरूले कोभिड गराउने कोरोनाभाइरस प्रयोगशालाबाट बाहिरिएको आशङ्कामा आफ्नो विश्वास बलियो बनाउँदै गर्दा यस्तो अनुसन्धान प्रकाशित भएको छ ।

    चिनियाँ सरकारले भने भाइरस प्रयोगशालाबाट बाहिरिएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । अमेरिकी ऊर्जा मन्त्रालयसँगै सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि यसमा विश्वास गर्न सुरु गरेको छ ।

    धेरै वटा अमेरिकी मन्त्रालय र निकायहरूले कोभिड उत्पत्तिको रहस्यबारे अनुसन्धान गरेर फरक-फरक निष्कर्ष निकालेका छन् ।

    तर मार्च १ मा एफबीआईका निर्देशकले “कोभिडको उत्पत्ति अस्पष्ट बनाउन बेइजिङले सक्दो प्रयास गरिरहेको” भन्दै प्रयोगशालाबाट बाहिरिएको कुरामा आफ्नो कार्यालय विश्वस्त रहेको बताएका थिए ।

    एफबीआईले गरेको अनुसन्धान भने अझैसम्म सार्वजनिक गरिएको छैन ।

    बीबीसीले कोभिडको उत्पत्तिबारे अध्ययनमा संलग्न केही वैज्ञानिकहरूसँग कुरा गरेको छ । उनीहरू पछिल्लो विश्लेषण कोभिड फैलिन सुरु भएको रहस्यमा सबैभन्दा नजिक रहेको विश्वास गर्छन् ।

    तर अमेरिका र चीनबीचको विभाजनले यसको उत्पत्तिबारेको रहस्य पत्ता लगाउने वैज्ञानिक प्रयासहरूलाई असर गरिरहेको उनीहरू बताउँछन् ।

    नयाँ अनुसन्धानले के देखाउँछ ?

    प्यारिसस्थित इन्स्टिच्युट अफ इकोलोजी एन्ड इन्भाइरमेन्ट साइन्सका वरिष्ठ अनुसन्धाता डा. फ्लोरेन्स डिबारले बजारबाट सङ्कलित स्वाबको पूर्ण आनुवंशिक अनुक्रम पहिचान गरेकी थिइन् ।

    वैज्ञानिकहरूले साझा स्थानमा उपलब्ध गराउने आनुवंशिक तथ्याङ्कहरू पाए लगत्तै उनी र उनका साथीहरूले भाइरस भेटिएकै स्थानमा रहेका कुन जनावरसँग उक्त नमुना मेल खान्छ भनेर अनुसन्धान गरेका थिए ।

    “हामीले आफ्नो स्क्रिनमा परिणाम आउँदा सबैमा ‘र्‍याकुन डग’ मात्रै भेट्यौँ,” उनले भनिन् ।

    “जनावरहरू र भाइरसहरू हामीले सँगसँगै भेट्टायौँ,” डिबार भन्छिन् ।

    “त्यसले जनावरहरू सङ्क्रमित थिए भनेर प्रमाणित गर्दैन । हामीले देखेका कुराहरूका आधारमा यो व्याख्या सम्भव छ ।”

    सिड्नी विश्वविद्यालयका प्राध्यापक एडी होम्स पनि यो अध्ययनमा सहभागी थिए ।

    उनी जनावरबाट भाइरस उत्पत्ति भएको विषयमा अहिलेसम्म आफूहरूले पाएकामध्ये “यो नै सबैभन्दा राम्रो प्रमाण” भएको बताउँछन् ।

    “हामी अब सबैभन्दा पहिले उत्पत्ति भएको जनावरसम्म पुग्न सक्दैनौँ। त्यो गइसक्यो” प्राध्यापक होम्स भन्छन् ।

    “तर यो असाधारण आनुवंशिक तथ्याङ्कले त्यो रहस्य पत्ता लगाएको छ। त्यसले कुन जीवहरू त्यहाँ थिए मात्रै भन्दैन कि तिनीहरू बजारको ठ्याक्कै कहाँ थिए समेत भनेको छ,” उनले बीबीसीसँग भने ।

    कोभिडको उत्पत्ति पत्ता लगाउन अब वैज्ञानिकहरूले के गर्न सक्छन् ?

    नयाँ तथ्याङ्कले कोभिडको उत्पत्ति पत्ता लगाउन वैज्ञानिकहरूलाई थप बाटो देखाइदिएको छ । तर त्यो बाटो पछ्याउन भने सहज छैन ।

    सन् २०२० मा अनुसन्धानका लागि वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीमा नेदरल्यान्डस् स्थित अरासमस विश्वविद्यालयका प्राध्यापक मरिओन कुपमन्स पनि सहभागी थिइन् ।

    उनले नयाँ विश्लेषणहरूले कोभिड निश्चित पसलहरूमै भेटिएको पत्ता लगाएका कारण अब त्यहाँ ल्याइएका जनावरहरू कुन ठाउँबाट ल्याइएका थिए भनेर अनुसन्धान हुनुपर्ने बताइन् ।

    “त्यो पक्कै पनि गैरकानुनी विक्री थियो। त्यस कारण अब त्यो पत्ता लाग्छ कि लाग्दैन भन्ने प्रश्न हो,” उनले भनिन् ।

    खोप लगाएका व्यक्तिलाई किन कोरोनाभाइरस लाग्छ ?

    विक्रीका लागि यस्ता जनावरहरू पालिने ठाउँमा पनि जैविक प्रमाणहरू भेटिन सक्ने सम्भावना रहन्छ ।

    यदि अनुसन्धानकर्ताहरूले सार्स कोभ २ बाट सङ्क्रमित भएर एन्टिबडी बनाइसकेका जनावरहरू पालिने ठाउँमा भेट्टाए भने त्यसले अर्को सङ्केत मिल्न सक्छ । यो आनुवंशिक सूचनाले अहिले भइरहेको खोजीलाई अझै सानो ठाउँमा सीमित गर्न सहयोग पुग्नसक्छ ।

    तर जनावरमा ठ्याक्कै त्यही भाइरस भेट्न धेरै कठिन हुने प्राध्यापक होम्स बताउँछन् ।

    यसले महामारीको सुरुवातबारेका प्रश्नहरूको उत्तर दिन्छ ?

    यो यकिन प्रमाण होइन र त्यो हामीले पत्ता नलगाउन पनि सक्छौँ ।

    त्यो प्रमाणको खोजीमा धेरै राजनीतिकरण भइसकेको छ । एउटा सिद्धान्तले जङ्गली जनावरबाट भाइरस उत्पत्ति भएको देखाउँछ भने अर्कोले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस बाहिरिएकोतर्फ खोजी केन्द्रित गरेको छ ।

    अमेरिकाले गरिरहेका अनुसन्धानमा एफबीआईले हस्तक्षेप गरेपछि यो प्रयोगशालाबाट भाइरस बाहिरिएको विषयले फेरि समाचारका शीर्षक बनाएको छ ।

    बीबीसी साइन्स इन एक्सनसँगको अन्तर्वार्तामा प्राध्यापक होम्सले भने, “कोभिड फैलिन बजारबाट सुरु भयो । र अब हामी बुझ्न सक्छौँ कि त्यहाँ केही महत्त्वपूर्ण जनावरहरू थिए ।

    “त्यो ३० किलोमिटर टाढाको प्रयोगशालाबाट सुरु भएन । अहिलेसम्म प्रयोगशाला वरपर सुरुवातमा एउटा पनि सङ्क्रमण देखिएको प्रमाण फेला परेको छैन ।”

    तर यस्तो विवरण सार्वजनिक गर्न भएको ढिलाइले चिनियाँ रोग नियन्त्रण केन्द्र विरुद्ध आक्रोश र निराशा पैदा भएको छ ।

    गत ज्यानुअरीमै प्रकाशित भएको विवरणमा मानिसहरूको ध्यान पुगेकै थिएन । कतिपयले चिनियाँ रोग नियन्त्रण केन्द्रका अनुसन्धाताहरूले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुअघि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हुनसक्ने ठानेका छन् ।

    अरू अनुसन्धानकर्ताहरूले पनि यो सूचनाबारे जानकारी पाएको थाहा हुन आएपछि यसलाई फेरि लुकाइएको थियो ।

    उक्त प्रतिवेदन एप्रिल ५ मा पुनः सार्वजनिक पहुँच हुनेगरी ‘नेचर’ जर्नलमा प्रकाशन गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेहब्रेयससले हालै मात्र कोभिड उत्पत्तिसम्बन्धी हरेक विवरण तत्कालै अन्तर्राष्ट्रिय समुदायसँग साझा गरिनुपर्ने बताएका थिए ।

    कोरोनाभाइरस नयाँ भेरिअन्टको सङ्क्रमण बढ्दै गर्दा चिन्तित हुनु पर्छ ?

    प्राध्यापक होम्स राजनीतिभन्दा माथि उठेर विशुद्ध विज्ञानमा आधारित भएर भाइरसको उत्पत्तिबारे खोजी हुनुपर्ने बताउँछन् ।

    “इतिहासको विकास क्रममा पनि जङ्गली जनावरबाटै मानिसहरूमा भाइरस आएको छ । हामीले गर्न सक्ने सबैभन्दा राम्रो काम भनेको यो कुराको राम्रो निगरानी गर्ने र आफूलाई अलग गर्ने हो,” उनले भने ।

    “किनभने यस्तो (महामारी) फेरि पनि हुन सक्छ ।”

    –बीबीसी न्यूज र बीबीसी विश्व सेवा (बीबीसी नेपालीबाट साभार)

  • फेरि बढ्यो नेपालमा कोरोना, एकैदिन ९८ जनामा पुष्टि

    फेरि बढ्यो नेपालमा कोरोना, एकैदिन ९८ जनामा पुष्टि

    काठमाडौं । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेको छ । बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    १७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

    कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन । पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • काेराेना संक्रमण देखिनासाथ परीक्षण गराएर आइसाेलसनमा बस्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

    काेराेना संक्रमण देखिनासाथ परीक्षण गराएर आइसाेलसनमा बस्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

    मन्त्रालयले सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो ।

    मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड-१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’

    हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमणण बढिरहेको छ ।

    शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ।

    मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेला साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्नन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्न र भौतिक दूरी २ मिटर राख्न अनुरोध गरेको छ ।

  • ७६ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

    ७६ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

    काठमाडाैं । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पिसिआर परिक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • भारतबाट आउनेमा देखिन थाल्याे काेराेना संक्रमण

    भारतबाट आउनेमा देखिन थाल्याे काेराेना संक्रमण

    कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिएको हो ।

    ‘भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ ।’

    संक्रमणको जोखिमका कारण स्वास्थ्य कार्यालयले शुक्रबारदेखि कोभिड-१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा सुरू गरेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको बताए ।

    ‘अहिले नाकामा भारतबाट आउनेको एन्टिजेन परीक्षण गरिरहेका छौं । आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरू हुँदैछ’, भट्टले भने ।

    नयाँ वर्ष मनाउन फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ

    खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको स्वास्थ्यकर्मी बताउँछन् ।

  • भारतमा १८ हजार नाघे कोरोना संक्रमित

    भारतमा १८ हजार नाघे कोरोना संक्रमित

    काठमाडाैं । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाे छ ।

    शनिबार मात्रै भारतमा थप ३ हजार ८२४ नयाँ संक्रमित भेटिएका छन् । बितेको एक वर्षमा एकैदिन कोरोना पुष्टि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

    निरन्तर संक्रमण बढ्दै गएको छ। सबैभन्दा बढी नयाँदिल्ली र मुम्बईमा कोरोनाका बिरामी देखिएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँदिल्लीमा ३ हजार ३२४ र मुम्बईमा १ हजार २१ सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार नाघेको छ । हाल भारतमा १८ हजार ३८९ सक्रिय कोरोना संक्रमित छन् ।

  • बढ्न थाले काेराेना संक्रमित, साेमबार ६९ जनामा संक्रमण पुष्टि

    बढ्न थाले काेराेना संक्रमित, साेमबार ६९ जनामा संक्रमण पुष्टि

    काठमाडाैं । नेपालका पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

    स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ४ सय ८८ पिसिआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् ।

  • एकैदिन १७ जनामा देखियाे काेराेना संक्रमण

    एकैदिन १७ जनामा देखियाे काेराेना संक्रमण

    काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

    सक्रिय संक्रमित पनि बढेको पाइएको छ । बिहीबार ३० जना सक्रिय संक्रमित छन् ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

    ‘भारतमा संक्रमण बढिरहेको छ । भारतबाट संक्रमित नेपाल आइरहेका छन्,’ उनले भने, ‘हिजो मात्र सीमानाकाबाट सात जना संक्रमित नेपाल आएका छन् ।’

    खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको उनले बताए । जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन पनि उनले आग्रह गरे ।

    मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

  • अमेरिकी ऊर्जा मन्त्रालयको दाबी : चीनको रिसर्च ल्याबबाट कोभिड भाइरस फैलियाे

    अमेरिकी ऊर्जा मन्त्रालयको दाबी : चीनको रिसर्च ल्याबबाट कोभिड भाइरस फैलियाे

    काठमाडाैं । अमेरिकाको ऊर्जा मन्त्रालयले यसअघिको निष्कर्षलाई उल्ट्याउँदै कोभिड–१९ भाइरस चीनको रिसर्च ल्याबबाट फैलिएको हुने प्रबल सम्भावना रहेको बताएको छ ।

    डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले सन् २०२१ मा तयार पारेको दस्तावेजलाई नयाँ अनुसन्धानको आधारमा अद्यावधिक गर्दै यो निष्कर्ष निकालिएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।

    अद्यावधिक गरिएको दस्तावेज हालैका दिनमा अमेरिकी सांसदहरूसमक्ष पेश गरिएको थियो ।

    यसअघि एफबीआईले पनि कोभिड भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हुन सक्ने बताएको थियो ।

    तर अमेरिकाका अन्य एजेन्सीहरू अझैसम्म पनि भाइरस प्रयोगशाला नजिक रहेको एक मासु बजारमा पशुमार्फत फैलिएको भन्ने दाबीलाई अंगीकार गरिरहेका छन् । सीआईएले यस विषयमा अन्तिम निष्कर्ष सार्वजनिक गर्न बाँकी छ ।

    ऊर्जा मन्त्रालयले आफ्नो निष्कर्ष बदल्नु महत्त्वपूर्ण छ किनकि उक्त निकायले विदेशमा रहेका अमेरिकी प्रयोगशालाहरूको सुपरिवेक्षण गर्ने गरेको छ । तीमध्ये कतिपय प्रयोगशालाले जैविक अनुसन्धान गर्ने गरेका छन् ।

    तर ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले यस विषयमा कुनै ठोस उत्तर अझैसम्म पनि नपाइएको बताएका छन् ।

    चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदै गएको बेलामा अमेरिकाको ऊर्जा मन्त्रालयको निष्कर्षले आगोमा घ्यू थप्ने काम गर्ने विश्लेषकहरू बताउँछन् ।