काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।
मन्त्रालयले सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड-१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’
हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमणण बढिरहेको छ ।
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ।
मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेला साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्नन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्न र भौतिक दूरी २ मिटर राख्न अनुरोध गरेको छ ।