काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज १ खर्ब रुपैयाँबराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बुधबार बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सञ्चालन हुनेछ। निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ भने यसमा निर्धारण हुने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट तय हुनेछ। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज २७ गते गरिने कार्यक्रम छ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ। आवेदन गर्दा निक्षेप गर्न चाहेको रकमसँगै दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिँदै आह्वान गरिएको रकम बराबरसम्म प्रस्ताव स्वीकृत गर्ने जनाएको छ। यदि समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गरिनेछ। साथै, सम्पूर्ण वा आंशिक रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अन्तिम अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने उल्लेख गरिएको छ।