जापान । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२२’ आयोजना गर्ने भएको छ ।
समितिले आफ्नो स्थापना कालदेखि नै निरन्तर कार्यक्रम गर्दै आइरहेकाे छ । यही कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएकाे अध्यक्ष राजु बस्नेतले जानकारी गराए ।
नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा टोकियोमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि समेत अध्यक्ष बस्नेतले अनुरोध गरेका छन् ।
विगतदेखि नै कार्यक्रम गर्दै आइरहेको कान्तो क्षेत्रीय समितिले कोभिड -१९ को महामारीका कारण २०१९ यता कार्यक्रमलाई निरन्तरता दिन नसके पनि यस पटक भने कार्यक्रमको लागि आवश्यक तयारी थालिएको बताए ।
कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकारको भिसा प्रक्रिया अन्तिम अवस्थामा रहेको र कार्यक्रम अगस्ट ३० तारिकमा नाकानो जिरो हलमा हुने जानकारी सचिव दिपक सुवेदीले गराए ।
कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने, कोरोना महामारीका कारण अपनाउनु पर्ने सम्पूर्ण सावधानीप्रति आफूहरू सचेत रहेको र स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिने सचिव सुवेदीले बताए ।
विगतका क्रार्यक्रमहरुमा हलको क्षमताभन्दा बढी दर्शकको उपस्थिति रहेको स्मरण गर्दै यसपटक भने आवश्यकता भन्दा निकै बढी सिट क्षमता भएको हलको व्यवस्थापन गरिएकाे संस्थाका उपाध्यक्ष दिनेश थापाले जानकारी गराए । उनले टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले यसपटक पनि कार्यक्रमलाई भव्य रुपमा सफल पार्नु हुनेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको पनि बताए ।