Tag: दुर्गा प्रसाई

  • दुर्गा प्रसाईं रिहा, भन्छन्– म गलेकाे छैन

    दुर्गा प्रसाईं रिहा, भन्छन्– म गलेकाे छैन

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं रिहा भएका हुन् ।

    रिहा भएपछि पत्रकारसँग बाेल्दै उनले आफूले भुईँमान्छेकाे आवाज बाेलिरहेकाे र निरन्तर बाेलिरहने प्रतिबद्धता गरे । उनले आफू नगलेकाे पनि बताए ।

    न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

    प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

    प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए । उनलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो । सिआइबीले प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको थियो ।

    यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई सिआइबीले नियन्त्रणमा लिएको थियो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो ।

  • गाैशालाबाट आचार्य श्रीनिवास पक्राउ

    गाैशालाबाट आचार्य श्रीनिवास पक्राउ

    काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

    दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

    उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

     

  • दुर्गा प्रसाईंलाई घरमा ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट

    दुर्गा प्रसाईंलाई घरमा ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट

    काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ ।

    शुक्रबार ललितपुरनिवासी डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणकाे निवेदन दर्ता गराएका हुन् । सर्वाेच्चले १० मंसिरलाई तारेख ताेकेकाे छ ।

    सुरक्षाकाे कारण देखाउँदै पुरानो ठिमीस्थित प्रसाईंको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

    बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंका समर्थकले शुक्रबार भक्तपुर, तीनकुने र बल्खुमा प्रदर्शन गरेका छन् ।अनुमतिविना प्रदर्शन गर्न खोजेकाे भन्दै प्रहरीले प्रसाईंका केही समर्थकलाई नियन्त्रणमा लिएकाे छ ।

  • आफ्नै घरमा ‘नजरबन्द’मा परेपछि दुर्गा प्रसाईंले भने- प्रचण्ड र ओलीको घर घेर्न जान्छाैँ

    आफ्नै घरमा ‘नजरबन्द’मा परेपछि दुर्गा प्रसाईंले भने- प्रचण्ड र ओलीको घर घेर्न जान्छाैँ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् ।

    भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखि ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।

    ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौँ,’ प्रसाईँले भने, ‘अब हामीलाई काेही पुलिसले राेक्न सक्दैन ।’

    उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने बताए ।

    याे पनि पढ्नुहाेस् ।

    प्रहरीले घेर्‍यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने रणनीति

  • प्रहरीले घेर्‍यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने रणनीति

    प्रहरीले घेर्‍यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने रणनीति

    काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले उनकै घरमा घेरेर बाहिर निस्कन नदिने रणनीति बनाएको छ । प्रसाईंको भक्तपुर थिमीस्थित निवासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोली खटिएको हाे ।

    प्रसाईंको घरलाई वरपरबाट घेरेर उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ । प्रहरीले आज बिहान प्रसाईंका केही समर्थकलाई पक्राउसमेत गरेको बताइएको छ ।

    हिजो पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आएपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

    प्रशासनले भने उनलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ छुट्याइएको बताउँदै अन्य ठाउँमा भेला हुन नदिने बताएको छ ।

    काठमाडौंका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यले हिजो विज्ञप्ति जारी गर्दै उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

     

  • आठ स्थानबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

    आठ स्थानबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न आठ स्थानबाट जुलुस निस्कने भएको छ ।

    ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ ।

    जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन्। जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ ।

    आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ ।

  • काठमाडौंका जनताले भात खान नपाउनेगरी नाकाबन्दी गर्ने दुर्गा प्रसाईंकाे चेतावनी (भिडिओसहित)

    काठमाडौंका जनताले भात खान नपाउनेगरी नाकाबन्दी गर्ने दुर्गा प्रसाईंकाे चेतावनी (भिडिओसहित)

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा आफूले चाहेमा नाकाबन्दी लगाउन सक्ने बताएका छन् । मंसिर ७ (भोलि) गते काठमाडौं केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा आज प्रसाईंले यस्तो चेतावनी दिएका हुन् ।

    बुधबार काठमाडौं स्थित उनको निजी निवासमा पत्रकार सम्मेलन गर्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

    प्रसाईंको नेतृत्वमा हुने आन्दोलनमा सहभागि हुन देशका विभिन्न ठाउँबाट काठमाडौं आउने मानिसलाई रोक लगाएको भन्ने प्रश्नमा उनले देशमा नाकाबन्दीको अवस्था सिर्जना गर्ने बताएका हुन् । उनले त्यतिमात्र होइन काठमाडौंका जनताले भात खान नपाउने गरी नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

    उनले भने ‘हामीलाई जिस्काउने कोशिश गर्ने, काठमाडौंका मान्छेले भात खान पाउँदैन । काँकडभिट्टा, विराटनगर, विरगञ्ज सबै नाका बन्द गर्दिन्छौँ । काठमाडौं होइन् नि हाम्रो लक्ष्य ।’

    आन्दोलनमा आउन चाहनेलाई आउन नदिएको पाइएमा सिमानाकामानै आन्दोलनको कार्यक्रम गर्ने जनाएका छन् । ‘हाम्रा मान्छेलाई यहाँ (काठमाडौं) आउन दिइएन भने त्यहाँ (सिमानाका) जान्छन् र त्यहीँ कार्यक्रम गर्छन् । त्यो पनि हाम्रो योजना छ’ उनले भने ।

    हेक्का रहोस् आठ वर्ष अघि २०७२ सालमा नेपालले जारी गरेको नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो । यसको झ–झल्को दिनेगरी उनले नाकाबन्दी लगाउने विषय कतै भारतको समर्थनमा उत्प्रेरित अभिव्यक्ति त होइन ? भन्ने आशंका पनि आम जनमानसमा पैदा भएकाे छ ।

    प्रसाईंले एक अन्तर्वार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राम्रो लाग्ने बताएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्बन्धलाई लिएर पनि यसअघि चर्चा भएकाे थियाे ।

  • दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी

    दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडाैं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

    जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा उनीमाथि उजुरी परेको हो ।

    प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै युवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।

    ‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो ।

    कुनै पनि व्यक्तिलाई संविधान तथा कानुन प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

    उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’

  • आयकर नतिरेपछि दुर्गा प्रसाईंलाई कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

    आयकर नतिरेपछि दुर्गा प्रसाईंलाई कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

    काठमाडाैं । दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै दुर्गा प्रसाईंलाई १५ दिनको समय दिएको हो ।

    उनले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ ।

    कार्यालयले दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ ।

  • दुर्गा प्रसाईंकाे गर्जन : रविजी, तपाईंकाे पार्टीका अझै तीन जनाकाे रेकर्ड छ मसँग (भिडिओसहित)

    दुर्गा प्रसाईंकाे गर्जन : रविजी, तपाईंकाे पार्टीका अझै तीन जनाकाे रेकर्ड छ मसँग (भिडिओसहित)

    काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अझै तीनजनाले पैसा मागेकाे अडिओ रेकर्ड भएकाे बताएका छन् । साेमबार पर्सामा आयाेजना गरिएकाे एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

    उनले अहिले याे सुरुवाती चरणमात्र भएकाे पनि बताए । उनले आफूसँग विभिन्न पार्टीका ८ जनाले सांसद र मन्त्री बन्नका लागि पार्टीले पैसा मागेकाे भन्ने आशयकाे अडिओ रेकर्ड रहेकाे पनि बताए । उनले भने, ‘याे त कास्टिङमात्र हाे रविजी, तपाईंकाे पार्टीका अझै तीन जनाकाे रेकर्ड छ मसँग । जम्मा ८ जनाकाे रेकर्डमा भर्खर एक जनाकाे मात्र बाहिर आएकाे छ ।’

    उनले केही समयअघि सुरु गरेकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’काे क्रममा विभिन्न जिल्लामा गएर बाेल्ने क्रममा तत्कालीन उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसद बन्नका लागि पैसा मागेकाे आराेप लगाएका थिए । त्यसतर्फ पनि इंगित गर्दै आजकाे कार्यक्रममा भने- ‘भाेट जितेर गएकाे एक महिनामा, दुई महिनामा हेर्नुहाेस् हालत के छ ? सांसद बन्न, मन्त्री बन्न पैसा मागेका छन् ।’

    उनले देशका राजनीतिज्ञले पटक–पटक देशमा गद्दार गरेकाे र धर्तीमाथि बलात्कार भएकाे टिप्पणी पनि गरे । उनले आफूले अहिलेसम्म कसैकाे पैसा नलिएकाे र देश बचाउनका लागि महाअभियानकाे सुरुवात गरेर हिँडेकाे बताए । उनले अब तीन कराेड नेपालीले आफ्नाे अभियानलाई साथ दिने दाबी पनि गरे ।

    पछिल्लाे समय प्रसाईंले महाअभियानकाे नाममा लघुवित्त र सहकारीकाे ब्याजविरुद्ध बाेलिरहेका छन् । उनले आफ्नाे अभियान चुनाव जित्न भाेट माग्न नभएकाे र नागरिक बचाउनमात्र भएकाे पनि बताएका छन् । उनले भने- ‘याे हाम्राे पार्टी हाेइन । हामी चुनाव जित्न आएकाे हाेइन । तपाईंहरुलाई बचाउन आएकाे हाे । हामीलाई साथ दिनुस् ।’

    आइतबार रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीका काेर टिमलाई २ कराेड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग २ कराेड रुपैयाँ माग गरेका थिए । उनले आफूले स्वास्थ्यमन्त्री भएर प्रसाईंकाे काम गरिदिने आश्वासन दिएकाे पनि उक्त अडिओ रेकर्डमा सुन्न सकिन्छ ।