Tag: नेपाल प्रहरी

  • नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

    नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    एक नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

  • नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

    नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

    बाँके । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।

    वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह

    नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह

    काठमाडाैं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएकाे हाे ।

    वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएको हो । गृह मन्त्रायले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त गरेको हो ।

    प्रधानमन्त्री देउवाको रूची र चाहनाअनुसार नै सुदूरपश्चिम प्रदेश घर भएका सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरेको हो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच वरीयता क्रम अनुसार नै नियुक्त गर्न सरकारलाई सुझाव दिइएको थियो ।

    मन्त्रिपरिषद् बैठक बस्नुअघि सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा आईजीपी नियुक्तिको विषयमा छलफल भएको थियो । छलफलको क्रममा वरीयताक्रम अनुसार पोखरेललाई नै नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको थियो । परामर्शका लागि गठबन्धनका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका थिए ।

    दुई महानिरीक्षकसहित १८ वैशाख २०४९ बाट सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आइतबार एकैपटक अनिवार्य अवकाश पाएका छन् । गठबन्धनमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरेललाई नै आईजीपी बनाउनुपर्ने अडान लिएका थिए ।

    तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई नै आईजीपी बनाउने अडानमा दिए । जसले गर्दा बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक बस्न ढिलाइ भएको थियो ।

  • सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी नियुक्त

    सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी नियुक्त

    काठमाडाैं । सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी नियुक्त भएका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए ।

    केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जान लागेका छन् ।

    केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।

  • धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख ?

    धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख ?

    काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । ती मध्ये आठ जना जनपदतर्फका छन् । भने एक जना प्राविधिकतर्फका छन् । तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ ।

    अब एआइजिपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

    पन्त भने वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन् । जसले गर्दा उनी आइजिपीको दौडबाट बाहिरिनेछन् । आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन् ।

    सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आइजिपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ ।

    अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ ।

    अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन् ? यो आम चासोको विषय छ । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए ।

    हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए ।

    त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । त्यो पनि दरबन्दी थप गरेर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो ।

    अस्वाभाविक छलाङ मारेका पोखरेल आइजिपीको प्रबल दाबेदार हुन् । तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ । निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ । जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन् ।

    आइजिपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा ।

    डिआइजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए । उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन । तर, वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एक जना बढी दाबेदार हुन् । आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन् । एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए ।

    सिंहलाई देउवाले आइजिपी बनाउन चाहेका छन् । सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरियतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन् ।

    नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन् । सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ । प्रहरीले सञ्चालन गर्ने अप्रेसनहरूमा धानुक ‘अब्बल’ प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

    जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन् । हुन त सिंह डिआइजीमा छैटौं र धानुक आठौं वरीयता क्रममा छन् । तर, प्रधानमन्त्री देउवाले सिंह र धानुकमध्ये एक जनालाई आइजिपी बनाउन खोजेका छन् ।

    उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डिआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन् । डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन् ।

    उनीहरूको दाबी अनुसार नै सर्वोच्चले फैसला गरेको खण्डमा थप तीन जना पनि भावी आईजीपीका दाबेदार मानिनेछन् । -न्युज कारखाना

  • तीन डीआईजी एआईजीमा बढुवा

    तीन डीआईजी एआईजीमा बढुवा

    काठमाडाैं । सरकारले तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

    बिहीबार बिहान बसेकाे मन्त्रिपरिपद् बैठकले वसन्तकुमार पन्त, धरिजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

    गृहसचिव नेतृत्वको बढुवा समितिले तेस्रो वरीयताका डीआईजी वसन्तकुमार पन्त, छैटौँ वरीयताका धीरजप्रताप सिंह र आठौँ वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

    बढुवाकाे सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

  • अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने !

    अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने !

    काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने भएका छन् ।

    प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट दुवै संगठनमा कार्यरत प्रहरी जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष हुनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको थियो ।

    उक्त प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी गरेको स्राेतले जानकारी दिएकाे छ ।

    प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको भने १८ वर्षमा पेन्सनका लागि प्रस्ताव गरिएको छ । यस्तै, प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ ।

    २६ चैत २०६० पछि प्रहरीमा भर्ना भएका प्रहरीले यो सुविधा पाउनेछन् । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको नियम १३१ मा संशोधन गर्ने तयारी गरिएको छ ।

  • ट्रकले किचेर महिला प्रहरीकाे मृत्यु

    ट्रकले किचेर महिला प्रहरीकाे मृत्यु

    काठमाडाैं । बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ ।

    शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।

    आइतबार राति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

    उनका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिएको थियो ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो ।

    ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको प्रमुख शाहले बताए । ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

  • अनलाइन ठगी बढ्याे, सचेत रहनुहाेस् : प्रहरी

    अनलाइन ठगी बढ्याे, सचेत रहनुहाेस् : प्रहरी

    काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले
    सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

    अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन ब्यूरोले जनाएको छ ।

    आपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन आग्रह गरेको छ ।

  • नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्जे गरेकाे क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।