ट्रकले किचेर महिला प्रहरीकाे मृत्यु

काठमाडाैं । बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ ।

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।

आइतबार राति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

उनका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिएको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो ।

ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको प्रमुख शाहले बताए । ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१