Tag: नेपाल-भारत

  • मानसखण्डबारे नेपाल र भारतमा सूचना अभाव छ : राजदूत श्रीवास्तव

    मानसखण्डबारे नेपाल र भारतमा सूचना अभाव छ : राजदूत श्रीवास्तव

    धनगढी । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत दुवै देशमा मानसखण्डको सूचना अभाव भएको बताएका छन् ।

    नेपाल-भारत मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा धनगढीमा श्रीवास्तवले यस्तो बताएका हुन् ।

    दूतावासले केही समय अगाडि बुद्ध, रामदेखि शिव सर्किटको जानकारी पुस्तिका प्रकाशन भएको तर त्यहाँ मानसखण्ड नआएको उनको भनाइ थियो ।

    उनले नेपाल र भारत जोड्ने थप मोटोरेबल पुलहरू बन्न आवश्यक रहेको बताए । ‘दार्चुला र धार्चुला जोड्ने पुल उद्घाटन भएको छ, दुई वर्षभित्र बन्छ’, श्रीवास्तवले भने ।

    यस्तै, उनले नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि ‘डिजिटल कनेक्टिभिटी’ आवश्यक रहेको बताए ।

    ‘भारतबाट नेपाल आउँदा २५००० भारु मात्र ल्याउन पाइन्छ र त्यो पनि १०० भारुको डिनोमिनेसनमा मात्र,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले त्यो उपयुक्त हुँदैन । नेपालले पनि भारतसँग मिलेर साझा विद्युतीय भुक्तानी प्रणालीलाई अपनाउनु व्यावहारिक हुन्छ ।’

    कार्यक्रममा नेपाली कांग्रेसकी सांसद आरजु राणा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको पनि उपस्थिति रहेकाे थियाे ।

    राणाले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताइन् ।

    ‘हामी लोकतन्त्रको पक्षमा उभिन्छौँ । हामी डेमोक्रेसीको पक्षमा उभिन्छौँ । हामी मानव अधिकारको पक्षमा उभिन्छौँ भन्ने कुराहरूमा एज अ कन्ट्री अग्री गरेर आएका छौँ’, राणाले भनिन् ।

  • भारतबाट बढेर आयाे डिजेल र पेट्राेलकाे मूल्य

    भारतबाट बढेर आयाे डिजेल र पेट्राेलकाे मूल्य

    काठमाडाैं । भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ ।

    नेपाल आयल निगमका प्रवक्ता ई. मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको हो ।

    नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ ।

    आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ ।

    हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।

  • साउदले परराष्ट्रमन्त्रीकाे कार्यभार सम्हालेलगत्तै बधाई दिन पुगे भारतीय राजदूत

    साउदले परराष्ट्रमन्त्रीकाे कार्यभार सम्हालेलगत्तै बधाई दिन पुगे भारतीय राजदूत

    काठमाडाैं । पराष्ट्रमन्त्री एनपी साउदले कार्यभार सम्हाल्नासाथ भारतीय राजदूत नवीन श्रीवास्तवले मन्त्रालय पुगेर बधाई दिएका छन् ।

    आइतबार शपथ लिएर कार्यभार सम्हालेका मन्त्री साउदलाई भारतीय राजदूत श्रीवास्तवले पुष्पगुच्छासहित बधाई दिएका हुन् ।

    आइतबार मात्र पदभार ग्रहणपछि मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी थाल्ने बताएका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणकाे तयारीमा छन् । सम्भवत: उनी वैशाख तेस्राे साता भारत भ्रमणमा जाने स्राेतले जनाएकाे छ । यद्यपी मिति भने टुंगाे लागेकाे छैन ।

  • विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत

    विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत

    वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।

    आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’ मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।

    आईएमएफले आज यहाँ जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्चाउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।

    चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अनुमानभन्दा कम हो ।

    भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ मा सात प्रतिशत र यसै महिनाको पहिलोदिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ ।

  • उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

    उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको बताइएकाे छ ।

    उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे ।

    उनीहरूबीच सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेका थिए । भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए । गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे ।

  • सिक्किममा हिमपहिराे, तीन नेपालीसहित सात जनाकाे मृत्यु

    सिक्किममा हिमपहिराे, तीन नेपालीसहित सात जनाकाे मृत्यु

    काठमाडाैं । सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ।

    सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको), आशिका ढकाल(२२) छन् र रूपन्देहीकी मुना शाह श्रेष्ठ(२९) रहेका छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।

    यसैगरी, मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् ।

    मंगलबार स्थानीय समयअनुसार दिउँसो १२:१५ बजे गान्तोक-नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् ।

    २० देखि ३० जना पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गरी १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।

    घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।

  • भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

    भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

    काठमाडाैं । भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् ।

    स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे ।

    ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उनले भने, ‘तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।’

    अभिनेता तथा लेखक समेत रहेका डा. द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे । उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए ।

    उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे । ‘अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो’, उनले भने, ‘अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।’

    उनले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताए । डा. द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाएका थिए । चाणक्यमा उनले लेखन तथा अभिनय समेत गरेका थिए । अन्तरक्रियामा उनले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गरेका थिए ।

    अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

    अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गरे । ‘नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरु हुनुहुन्छ’, उनले द्विवेदीलाई भने, ‘तपाईंहरुको कामको यहाँ पनि चर्चा हुन्छ ।’ हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गरे ।

    निर्देशक डा. द्विवेदीले चलचित्र पिञ्जर, जेड प्लस, मोहल्ला अस्सी, सम्राट पृथ्वीराज र टेलीशृङ्खला मृत्युञ्जय, एक और मोहब्बत, उपनिषद गङ्गा, सुराज्य संहिताको निर्देशन गरेका छन् । उनले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गरेका थिए ।

  • नेपाल–भारत सम्बन्धका थप नयाँ आयामहरु विस्तार भइरहेका छन् : मन्त्री किराँती

    नेपाल–भारत सम्बन्धका थप नयाँ आयामहरु विस्तार भइरहेका छन् : मन्त्री किराँती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु विस्तार हुने क्रममा रहेको बताएका छन् ।

    नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले काठमाडौंस्थित भारतीय राजदूतावासको सहकार्यमा साेमबार नेपाल र भारतबीचको द्विपक्षीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमबार एक कार्यक्रमको आयोजना गरेको थियाे ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि किराँतीले नेपाल-भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरू बिस्तार हुने बताए ।

    उनले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरू पनि बिस्तारै थपिँदै छ। रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जलमार्ग पनि अर्को आयाम हुनसक्छ। जसले नेपाल र भारतको प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने मलाई विश्वास छ ।’

    मन्त्री किराँतीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको पनि बताए ।

  • राजदूत शर्माले भेटे उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

    राजदूत शर्माले भेटे उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

    काठमाडाैं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।

    आइतबार लखनऊस्थित सरकारी निवासमा उनीहरूबीच शिष्टाचार भेट भएको हो ।

    मुख्यमन्त्री आदित्यनाथले ट्विटरमा भेटको तस्बिर राखेका छन् ।

  • भारतीय दूतावासले मनायाे ५८ औँ आइटेक दिवस

    भारतीय दूतावासले मनायाे ५८ औँ आइटेक दिवस

    काठमाडाैं । भारतीय दूतावासले ५८औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

    शुक्रबार इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी उक्त दिवस मनाइएकाे हाे ।

    प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथिको उक्त कार्यक्रममा उपस्थिति थियो ।

    समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाललगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे ।

    साथै राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे विचार भइरहेको पनि बताए ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसीलगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गरे ।

    उक्त अवसरमा भारतीय राजदूतावास,स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    भारतको शासन विधि तथा विकाससम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्‍याएर त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्‍याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याउँदै आएकाे छ ।