
धनगढी । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत दुवै देशमा मानसखण्डको सूचना अभाव भएको बताएका छन् ।
नेपाल-भारत मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा धनगढीमा श्रीवास्तवले यस्तो बताएका हुन् ।
दूतावासले केही समय अगाडि बुद्ध, रामदेखि शिव सर्किटको जानकारी पुस्तिका प्रकाशन भएको तर त्यहाँ मानसखण्ड नआएको उनको भनाइ थियो ।
उनले नेपाल र भारत जोड्ने थप मोटोरेबल पुलहरू बन्न आवश्यक रहेको बताए । ‘दार्चुला र धार्चुला जोड्ने पुल उद्घाटन भएको छ, दुई वर्षभित्र बन्छ’, श्रीवास्तवले भने ।
यस्तै, उनले नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि ‘डिजिटल कनेक्टिभिटी’ आवश्यक रहेको बताए ।
‘भारतबाट नेपाल आउँदा २५००० भारु मात्र ल्याउन पाइन्छ र त्यो पनि १०० भारुको डिनोमिनेसनमा मात्र,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले त्यो उपयुक्त हुँदैन । नेपालले पनि भारतसँग मिलेर साझा विद्युतीय भुक्तानी प्रणालीलाई अपनाउनु व्यावहारिक हुन्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसकी सांसद आरजु राणा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको पनि उपस्थिति रहेकाे थियाे ।
राणाले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताइन् ।
‘हामी लोकतन्त्रको पक्षमा उभिन्छौँ । हामी डेमोक्रेसीको पक्षमा उभिन्छौँ । हामी मानव अधिकारको पक्षमा उभिन्छौँ भन्ने कुराहरूमा एज अ कन्ट्री अग्री गरेर आएका छौँ’, राणाले भनिन् ।