Tag: नेपाल-भारत

  • नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

    नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

    काठमाडाैं । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल-इण्डिया बटालियन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ बिहीबार सम्पन्न भएको छ ।

    उक्त अभ्यास बिहीबार बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश गरी सञ्चालन भएको थियो ।

    उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए ।

    समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    उनले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

    समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी प्रमुख सेनानी अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • प्रचण्ड नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार छौँ : भारतीय विदेश मन्त्रालय

    प्रचण्ड नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार छौँ : भारतीय विदेश मन्त्रालय

    काठमाडौं । छिमेकी देश भारतले नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकासँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताइएको हो ।

    विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल भारतबीच युनिक सम्बन्ध रहेको बताउँदै यसला बढाउनका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताए ।

    ‘दुई देशबीच जुन युनिक सम्बन्ध छ । यसलाई बढाउनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्छौं। हामी गर्छौं पनि । दुई देशबीच जुन सद्भाव छ । जनता जनताबीचको सम्बन्ध छ । त्यसलाई दुबै देश मिलेर मजबुत बनाउँछौं,’ उनले भने ।

    उनले भारतले निर्वाचनअघि नै नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको स्मरण गराएका थिए ।

  • तस्बिरमा भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ काे सुभारम्भ

    तस्बिरमा भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ काे सुभारम्भ

    काठमाडाैं । भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६ औं संस्करण नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा शुक्रबारदेखि सुरु भएकाे छ ।

    दुवै देशको राष्ट्रिय झण्डा फहराउनुका साथै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेसँगै ‘सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ भएकाे हाे ।

    दुई हप्तासम्म चल्ने यस कठिन अभ्यासका दौरान भारतीय सेना र नेपाली सेनाका पैदल सैन्यदलले अन्तर सैन्ययुद्घ क्षमतालाई सुदृढ बनाउन र प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे अनुभव साटासाट गर्न सँगै मिलेर तालिम गर्नेछन् । भारतीय सेना अन्तर्गतको गोरखा रेजिमेन्टको एक बटालियन यस सैन्य अभ्यासमा सहभागी हुनेछ ।

    अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा एक अर्कालाई परिचित गराउने छन् जुन विशेष गरी हिमाली भूभागमा प्रतिविद्रोह वातारणमा काम गर्दा निकै उपयोगी साबित हुनेछ ।

    अभ्यासको दायरा र स्तरलाई थप वृद्धि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई एल्टिच्युड वारफेर र जङ्गल वारफेर अपरेशनमा पोख्त पार्न त्यस्तै खाले परिस्थितिमा अभ्यास गराइनेछ ।

    प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घण्टे कडा अभ्याससँगै संयुक्त सैन्य तालिम २०७९ पौष १४ गते समापन हुनेछ ।

    भारत र नेपालका सेनाबीचको द्विपक्षीय एवम् आपसी सहकार्यलाई सुदृढ बनाउन तथा दुई देशबीच सदियौंदेखि रही आएको विशिष्ट र परम्परागत मित्रतालाई थप बलियो बनाउन यो सैन्य अभ्यास ‘सूर्यकिरण’ ले महत्वपूर्ण भूमिका खेल्नेछ ।

    यस ‘सूर्यकिरण’ सैन्य अभ्यास श्रृंखलाले भारत र नेपालबीचको अद्वितीय तथा विशाल सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछ ।

  • विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व : प्रसन्न श्रीवास्तव

    विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व : प्रसन्न श्रीवास्तव

    काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले International Year of Millets–2023 को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा मिति २०७९ मंसिर २९ गते भारत–नेपाल कृषि भेलाको आयोजना गरेकाे छ ।

    उक्त कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद्ले पनि सहभागिता जनाएको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको नेतृत्व गरेका थिए ।

    भारतको पहलमा अन्य ७२ देशहरुले समर्थन जनाएर सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने प्रस्ताव सन् २०२१ मा संयुक्त राष्ट्र संघले पारित गरेकोे थियो ।

    भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतले विभिन्न ९ प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ जुन विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हो ।

    कोदोमा विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव पार्दैन । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याइ छ ।

    भारत–नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत–नेपाल नयाँ साझेदारी’ मा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

    भेलालाई सम्बोधन गर्दै दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गरे । APEDA का निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि APEDA ले गरेको निर्यात प्रवर्द्धन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिए ।

    उक्त अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालमा कोदोको महत्वबारे जानकारी गराए । उनले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरु पनि पहिचान गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले “Millets Promotion Endeavours of the Government of Nepal and International Year of Millets 2023” बारे प्रस्तुति दिएका थिए ।

    कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रवर्द्धन गर्नेछ ।

  • भारत सरकारको सहयोगमा निर्माण हुने तीन परियोजनाहरुको समझदारीपत्रमा हस्ताक्षर

    भारत सरकारको सहयोगमा निर्माण हुने तीन परियोजनाहरुको समझदारीपत्रमा हस्ताक्षर

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

    उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण र धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण समेत गरी यी तीन परियोजनाहरु कूल अनुमानित नेपाली रुपैयाँ १० करोड १७ लाख लागतमा कार्यान्वयनमा ल्याइनेछ ।

    माथि उल्लिखित तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

    नजिकको छिमेकीको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले आफ्ना नागरिकको उत्थानमा नेपाल सरकारले चालेका हरेक प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्दछ ।

  • नेपाल–भारत समन्वय समितिको बैठक : विवादित ठाउँमा तत्काल काम राेकिने

    नेपाल–भारत समन्वय समितिको बैठक : विवादित ठाउँमा तत्काल काम राेकिने

    काठमाडाैं । नेपाल–भारत सीमा विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच भएको छलफलपछि विवादित ठाउँमा तत्काल काम राेकिने भएकाे छ ।

    बुधबार भारतको धार्चुलामा भएको छलफलमा भारतीय सुरक्षा अधिकारीहरूले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए ।

    नेपाली सुरक्षा अधिकारीहरूले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नु पर्ने अडान लिएका थिए ।

    नेपाली सुरक्षा अधिकारीकाे अडानपछि भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले नेपाली पक्षको असहमतिको आधारमा काम अघि बढाउन नसकिने भन्दै तत्काल काम रोक्न सहमत भएकी हुन् ।

    आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए ।

  • भारतकाे मिरगञ्ज पुलबाट आयात–निर्यात खुला

    भारतकाे मिरगञ्ज पुलबाट आयात–निर्यात खुला

    माेरङ । भारतको बथनाथस्थित मिरगञ्ज पुलबाट सहज रुपमा मालबाहक सवारीसाधन आवतजावत हुने भएको छ ।

    मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले भारतीय पक्षलाई भेटेर पुलबाट आयात निर्यात गर्न दिन आग्रह गरेको थियो ।

    भारतीय पक्ष पुलबाट मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिन सहमत भएको छ ।

    मिरगञ्जको पुरानो पुल भासिँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विगत ११ वर्षदेखि घुमाउरो बाटो प्रयोग गरेर सामान आयात–निर्यात गर्दै आएका थिए । पुरानो पुलदेखि उत्तरतर्फ पक्की नयाँ निर्माण भएको छ ।

    निर्माण सम्पन्न भए पनि सो पुलबाट मालबाहक सवारी आवतजावत गर्न अनुमति दिइएको थिएन । यस क्षेत्रका उद्योगीहरुको निरन्तरको पहलपछि नयाँ पुलबाट सामान आयात गर्न दिन भारतीय पक्ष सहमत भएको हाे ।

    यसअघि व्यवसायीले भान्टाबारी नाका भएर मालवस्तु नेपाल प्रवेश गराउँदै आएका थिए ।

    मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सय बढी उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले रानी नाका भएर सामान आयात गर्ने गरेका छन् ।

    यो नाकाबाट दैनिक ३ सयभन्दा बढी मालबाहक सवारी आवतजावत गर्दछन् । रानी नाकाबाट सामान आयात–निर्यात गर्दा मिरगञ्ज पुलको अर्को विकल्प छैन ।

  • महाकालीमा विवाद भएका ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने सहमति

    महाकालीमा विवाद भएका ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने सहमति

    काठमाडाैं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ ।

    भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

    आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए ।

    सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

    सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

    छलफलमा दार्चुलाका प्रजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए ।

    छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए ।

    भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो ।

  • भारतले दियाे नेपाललाई २०० ओटा गाडी उपहार (भिडिओसहित)

    भारतले दियाे नेपाललाई २०० ओटा गाडी उपहार (भिडिओसहित)

    काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचनका लागि २०० ओटा सवारी साधन उपहारस्वरुप प्रदान गरेकाे छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् ।

    यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतकाे विश्वास छ ।

    नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुग्ने‍छ ।

    अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।

    नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

  • भारतको गुजरातमा पुल भाँचिएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    भारतको गुजरातमा पुल भाँचिएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको गुजरातमा पुल भाँचिदा १४१ जनाको मृत्यु भएको घटजाप्रति दु:ख व्यक्त गरेका छन् ।

    सोमबार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले पुल भाँचिएर दर्जनौं मानिसको मृत्यु भएको समाचारले आफूलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र भारतीय सरकार र मृतकका आफन्तमा समवेदना व्यक्त गरेका छन् ।

    भारतको गुजरातमा आइतबार साँझ पुल भाँचिदा १४१ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथिको पुल भाँचिएको थियो ।

    घटना लगत्तै करिब ६८ जनाको शव नदीबाट निकालेको थियो । रातिबाट उद्दार कार्य जारी रहेको र धेरै मानिस वेपत्ता भएको बताइएको छ ।

    पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।