भारत सरकारको सहयोगमा निर्माण हुने तीन परियोजनाहरुको समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण र धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण समेत गरी यी तीन परियोजनाहरु कूल अनुमानित नेपाली रुपैयाँ १० करोड १७ लाख लागतमा कार्यान्वयनमा ल्याइनेछ ।

माथि उल्लिखित तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

नजिकको छिमेकीको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले आफ्ना नागरिकको उत्थानमा नेपाल सरकारले चालेका हरेक प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्दछ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७