Tag: बालेन शाह

  • सेवाग्राहीसँग व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने, काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण

    सेवाग्राहीसँग व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने, काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण

    काठमाडाैं । काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।

    महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ ।

    व्यावसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ व्यवस्था गरिएको छ । पार्किङ्ग प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ्ग क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारवाही गर्नेछ । यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिने मेयर बालेन शाहले बताएका छन् ।

    सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन । काठमाडौं महानगरपालिका आफैँले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराए वापत निश्चित सवारी साधन पार्किङ्ग शुल्क लगाइ असुल गरिने पनि उनले बताएका छन् ।

    निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनु पर्छ । महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ ।

    पार्किङ्ग गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ ।

    न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ ।

    क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।

    निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ ।

    लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ्ग गर्ने गरी सञ्चालन गरिने व्यावसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ । महानगरपालिका आफैँले वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङ्गको व्यवस्था गर्ने ऐनमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई पार्किङ् स्थल निर्माण गर्न प्रोत्साहित गरिनेछ । सवारी साधन पार्किङ्ग गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्नेछ ।

    अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।

    नक्सापास गर्दा भूमिगत पार्किड क्षेत्र उल्लेख गरी व्यावसायिक प्रयोजन रहेको भवनको पार्किङ्ग क्षेत्रलाई सहज गराउन सार्वजनिक संरचनाले अवरोध गरेको भए सो संरचनाको सुधारमा महानगरपालिकाले सहजीकरण गर्नेछ । भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ्ग उपलब्ध गराउनु पर्नेछ । पार्किङ्ग क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ्ग संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।

  • निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेन शाहको निर्देशन

    निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेन शाहको निर्देशन

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन् ।

    शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन् ।

    ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।

    सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ,’ मेयर बालेनले भनेका छन् ।

    निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि उनले भनेका छन् ।

  • सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारवाही

    सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउनेलाई कारवाही गर्ने बताएका छन् ।

    भोलि देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनेर पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै प्रमुख साहले यस्तो चेतावनी दिएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ ।’

    यसका साथै महानगर प्रमुख साहले महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई नियमित कक्षा सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

    उनले लेखेका छन्, ‘काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ ।’
    उनले आफ्नो निर्देशन पश्चात पनि विद्यालय बन्द गरेमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समिति विघटन गर्ने, फौजदारी मुद्दा चलाउन पहल गर्ने एवं प्रचलित अन्य कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

  • ‘आदिपुरूष’को संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडाैंमा हिन्दी फिल्म चल्न नदिने

    ‘आदिपुरूष’को संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडाैंमा हिन्दी फिल्म चल्न नदिने

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् ।

    फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उनकाे भनाइ छ ।

    ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन् ।

    उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएकोसमेत बताएका छन् ।

    यसअघि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाएर नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियाे । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो ।

    सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

  • काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा लगायाे ताला

    काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा लगायाे ताला

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।

    अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

    महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत नि:शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

    तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

    तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए ।

    उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

  • काठमाडाैं महानगरपालिकाले खाली गरायाे वडा नं २९ मा रहेकाे सरकारी जग्गा

    काठमाडाैं महानगरपालिकाले खाली गरायाे वडा नं २९ मा रहेकाे सरकारी जग्गा

    काठमाडाैं । काठमाडौं महानगरपालिकाले वडा नंवर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ ।

    वडा नंवर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन् ।

    सरकारी जग्गालाइ अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जवरजस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ । उनीहरुले सोहि स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नंवर २९ ले भने स्थानीयहरुले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ ।

    सोहि अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

    उनले सार्वजनिक जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए । वडा कार्यालय निर्माण गर्ने बिषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो ।

  • मेयर बालेन शाहकाे साहसिक कदम, कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’काे नक्सा

    मेयर बालेन शाहकाे साहसिक कदम, कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’काे नक्सा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

    भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् ।

    मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको महानगर स्राेतले जनाएकाे छ । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ ।

    यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो ।

  • बालेनलाई ब्रसेल्स जान सरकारकाे स्वीकृति

    बालेनलाई ब्रसेल्स जान सरकारकाे स्वीकृति

    काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो।

    यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन शाह बेल्जियम जाने बाटो खुलेको छ।

  • निःशुल्क उपचार नगर्ने ६८ अस्पताल विरुद्धको उजुरी लिएर मेयर बालेन पुगे स्वास्थ्य मन्त्रालय

    निःशुल्क उपचार नगर्ने ६८ अस्पताल विरुद्धको उजुरी लिएर मेयर बालेन पुगे स्वास्थ्य मन्त्रालय

    काठमाडौं । काठमाडौं महानगरपलिका प्रमुख बलेन्द्र साह ‘बालेन’ले कानून बमोजिम निःशुल्क उपचार नगर्ने माहनगरपालिकाभित्र सञ्चालित आस्पतालको सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

    प्रमुख बालेनले स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेरे ध्यानाकर्षण गराएका हुन् ।

    महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले निर्देशन दिएको थियो । तर, महानगरपालिकाको निर्देशन कार्यन्वयन गर्न अस्पताल मानिरहेका छैनन् । सोही बिषय बारे ध्यानाकर्ष गराउन स्वास्थमन्त्री बस्नेत भेट्न प्रमुख बालेन मन्त्रालय पुगे । भेटका क्रममा कानून बमोजिम निःशुल्क उपचार नगराउने ६८ अस्पतालको विवरण प्रमुख बालेनले मन्त्री बस्नेतलाई बुझाएका थिए । अटेर गर्ने अस्पताललाई कारबाही गर्न समेत उनले माग गरेका छन् ।

    भेटवार्ता बारे बालेनले सामाजिक सञ्जालमा भनेका छन्,‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।’

    महानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार विपन्न एवं लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गराउन गत ६ जेठमा निर्देशन दिएको थियो ।

  • काठमाडाैं महानगरले ताेड्याे शिक्षा शाखामा लगाएकाे ताला, बालेन भन्छन्- विद्यालयमा राजनीति अपराध

    काठमाडाैं महानगरले ताेड्याे शिक्षा शाखामा लगाएकाे ताला, बालेन भन्छन्- विद्यालयमा राजनीति अपराध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ ।

    नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।

    मेयर बालेन साहले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको भन्दै अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको बताए ।

    उनले भने, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ । त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।’

    ‘शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिबाद गर्न चाहान्छ । हाम्रो संगठनले पट्क पट्क महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहित माग पत्र पेस गरेको थियो । विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा शैक्षिक माफीयासंग मिलेर विद्यार्थी संगठन बिरुद्ध आउनु दलाल पुजीवादी संसदीय व्यवस्था असफल भएको पुष्टि गर्दछ । अहिले शैक्षिक दलालहरुले सरकारी विद्यालय र संस्थागत विद्यालयहरुले चर्को शुल्क लिएका छन । भर्नाको नाममा ३००० देखि १००००० सम्म अवैधानिक रुपमा शुल्क अशुल्ने लगायत तमाम समस्या हुँदा महानगर कानमा तेल हालेर बसेको छ । बिगतमा हामिले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहन्छ ।’ क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    संगठनका मागहरु प्रति गम्भीर र लगाएको ताला तोडिए संगठन थप संर्घष गर्ने बाध्य चेतावनी पनि दिएको थियो ।