Tag: रवि लामिछाने

  • रास्वपाले माग्याे माफी, अवरुद्ध मतदान पुन: सुरु

    रास्वपाले माग्याे माफी, अवरुद्ध मतदान पुन: सुरु

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान फेरि सुरु भएको छ ।

    रास्वपाले गल्ती स्वीकार गरेपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुरु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक रेग्मीले जानकारी दिए ।

    भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको थियो ।

    रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।

    त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो । झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो ।

  • उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या नभएको अनुमान

    उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या नभएको अनुमान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ ।

    फुटेजमा हेर्दा उनी उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेको देखिन्छ ।

    सीसीटीभी फुटेजका आधारमा शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    हिजो रवि लामिछानेसहितको टीम तनहुँमा आयोजित कार्यक्रममा भाग लिन गएका थिए । उनीहरू फर्किँदा राति करिब ११ बजेको थियो ।

    राति करिब १ बजेतिर सबैजना सुतेका थिए । प्रहरीका अनुसार बिहान करिब साढे १ बजे घटना भएको हो ।

    खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए ।

    त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

    घटनापछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गरेका थिए । प्रहरी छतमा पुग्दा डा. मुकुल ढकालका ड्राइभर भने निदाइरहेकाे अवस्थामा भेटिएका थिए ।

  • ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

    ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका अर्याललाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको छ ।

    सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

    तर, उनले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् ।

  • रास्वपा सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक, यस्ताे छ संवाद

    रास्वपा सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक, यस्ताे छ संवाद

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ प्रकरणको अर्को अडियो बाहिरिएको छ । सोमबार राति सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठ आफैँ र उनका ‘भाइ’ जोडिएका छन् ।

    आइतबार मात्र सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । जसमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको ‘कोर टिम’ लाई दिन दुई करोड आवश्यक पर्ने दाबीसहित व्यवसायी प्रसाईंसँग पैसाको मोलमोलाइ गरिरहेको सुन्न सकिन्छ ।

    सोमबार कपुरबोट मिडिया नामक फेसबुक पेजबाट नयाँ अडियो सार्वजनिक भएकाे हाे ।

    दुर्गा प्रसाईं र सांसद ढाकाकुमार श्रेष्ठका भाइ भनिएका व्यक्तिबीच भएकाे कुराकानी :

    दुर्गा प्रसाईं : तपाईं डा. ढाकाकुमा श्रेष्ठको भाइ ?

    फोनमा बोल्ने व्यक्ति : हजुर ।

    दुर्गा प्रसाईं : भन्नु त सर के कुरा हो ?

    फोनमा बोल्ने व्यक्ति : दाइलाई पार्टीले कारबाही गर्ने भयो । साधारण सदस्य पनि नहरने, सांसद पद पनि जाने भयो क्यारे ।

    दुर्गा प्रसाईं : मैले के गर्दा हुन्छ ?… ढाकाकुमारको के गल्ती छ र ? माग्ने मान्छेको पो गल्ती हो त ? कुरा बुझ्नुभएन, भाइ ?

    फोनमा बोल्ने व्यक्ति : त्यही त दाइलाई फसाए क्यार, त्यति सोझो मान्छेलाई । अब के गर्ने त, हजुरले बुझिदिनुपर्‍यो यो कुरालाई ।

    दुर्गा प्रसाईं : अब मैले के गर्नुपर्‍यो त अब भन्नु न । म सहयोग गरिहाल्छु नि !

    फोनमा बोल्ने व्यक्ति : एकचोटि दाइले भेट्न खोज्नुभएको थियो, हजुरलाई । हजुर कता हुनुहुन्छ होला ?

    दुर्गा प्रसाईं : म आज वीरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भन्नु न त ल ।

    फोनमा बोल्ने व्यक्ति : वीरगन्जको कहाँ हुनुहुन्छ ?

    दुर्गा प्रसाईं : अहिले म कार्यक्रममा आइरहेको छु नि त । बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो । रवि लामिछानेहरू अब लुट्न गएका छन् त्यहाँ…। मलाई एउटा कुरा चित्त नबुझेको क्या, सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने । यो त भएन नि, पार्टी अध्यक्षहरूको ।

    फोनमा बोल्ने व्यक्ति : यो त खै ! अब दाइहरूको यो के हो बुझ्दिनँ क्यार । त्यही त, दाइले एकपटक कुरा गर् न त भन्नुभएको थियो क्यार ।

    त्यत्तिकैमा फोन संवादको अडियो सकिन्छ । तर, त्यसपछि देउजाले अर्को रोचक भिडियो भिडियो फुटेज सार्वजनिक गर्छन् । देउजाका अनुसार उक्त भिडियो फुटेजमा देखिएका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी यदु गौतम हुन् । गौतमलाई सांसद ढाकाकुमार आफैँले फोन गरेको दाबी देउजाको छ ।

    दुर्गा प्रसाईंका सहयोगी भनिएका यदु गौतम र सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिबीच के कुरा भएको छ ?

    यदु गौतम : यो कुरा फेरि यदुजीलाई भन्नुभएको छ भनेर भनेर पनि नभन्नुहोला के यार । किनभने तपाईं माननीय हो नि त यार । मैलै सम्मान गर्नुपर्‍यो नि । रविजीलाई मैले चितवनमा भेट्न खोजेको थिएँ । दुर्गा दाइ र रवीजी मिलेपछि यो देश आफ्नो बनाउन सकिन्छ भनेर भनेको थिएँ…. । तर, उहाँले खासै चासो लिनुभएन…. ।

    सार्वजनिक भिडियोमा यदु गौतम भनिएका व्यक्तिले लाउड स्पिकर अफ गरेर कुराकानी गरिरहेको देखिन्छ । उताबाट ढाकाराम श्रेष्ठ भनिएका व्यक्ति बोल्न थालेपछि भिडियो कैद गरिरहेका व्यक्तिले मोबाइलको लाउड स्पिकर अन गर्छन् ।

    त्यसपछि फोनमा सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले भन्छन् : …दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनुभयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर…के फाइदा उहाँलाई ।

    यदु गौतम : अब फाइदा, घाटा भन्दा पनि अब । त्यो विषयमा भरे सल्लाह गरौँला सर । अहिले फोन राखेँ ।

  • कति दाइ–भाउजूको रेकर्ड हामीसँग पनि छ : रास्वपा सांसद मनिष झा (भिडिओसहित)

    कति दाइ–भाउजूको रेकर्ड हामीसँग पनि छ : रास्वपा सांसद मनिष झा (भिडिओसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले पैसा नलिएको दाबी गरेका छन् । उनले आफ्ना पार्टी सभापतिकाे बचाउ पनि गरे ।

    सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा सांसद झाले पार्टी सभापति रवि लामिछानेले मन्त्री बनाउन रकम असुली नगरेको बताए ।

    उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे दुई करोड मागेको भन्ने कुरा पनि सत्य नभएको दाबी गरे । बरु यस्ता आरोप लगाउने पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गरे ।

    उनले भने, ‘स्टाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाइ–भाउजूले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि ! हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले ? म चुनौती दिन चाहन्छु, कति पटक हामीले सुनेका छौँ नि ! कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले, त्यो पार्टीहरूले । सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र ?’

    उनले अहिले सार्वजनिक अडियो प्रकरण नेपाली राजनीतिमा नयाँ नभएको पनि बताए । सांसद झाले निलम्वित सांसद श्रेष्ठलाई जोगाएर आफूहरूले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि बताए ।

    हेर्नुहाेस् भिडिओ :

  • अडिओ प्रकरणबीच रास्वपा सांसदले भेटे प्रधानमन्त्री प्रचण्ड !

    अडिओ प्रकरणबीच रास्वपा सांसदले भेटे प्रधानमन्त्री प्रचण्ड !

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको प्रकरणले राजनीतिक वृत्त तातिरहेका बेला अर्का एक सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

    रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ दुई करोड प्रकरणमा मुछिएका बेला समानुपातिक सांसद गणेश पराजुलीले सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    तर यो भेटघाटबारेमा अहिलेसम्म दुवै पक्षले विस्तृत कुरा खुलाएका छैनन् । यो भेटमा अडियो प्रकरणबारे पनि छलफल भएको हुन सक्ने स्रोतको दाबी छ ।

    खोटाङ घर भएका सांसद पराजुली मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

    दुई करोड मागेको प्रकरणमा मुछिएपछि अर्का समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गरिएको जनाएको छ । तर उनलाई औपचारिक रुपमा निलम्बनको जानकारी संसद सचिवालयले अझैसम्म दिएको छैन ।

  • ढाकाको अडियोबारे रवि भन्छन्– छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनू

    ढाकाको अडियोबारे रवि भन्छन्– छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।

    उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’

    देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए । उनले छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने बताए ।

    उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

    उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए ।

  • दुर्गा प्रसाईंसँग २ कराेड माग्ने रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा

    दुर्गा प्रसाईंसँग २ कराेड माग्ने रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकालेर उनीमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।

    रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठकाे नाम चर्चामा थियाे ।

    उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेकाे र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड रुपैयाँ सहयाेग मागेकाे अडियाे सार्वजनिक भएकाे थियाे ।

    अडियाेमा उनले भनेका छन्, ‘हाम्राे भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयाे । मन्त्रीका लागि रवि सरलाई २ कराेड बुझाउनुपर्ने कुरा आएकाे छ मसँग पैसा छैन । अहिले एक कराेड जति दिँदा हुन्छ । एक कराेडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयाेग चाहिएकाे छ ।’

    त्यसकाे जवाफमा प्रसाईंले आफूले २ कराेड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । अडियाे सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेकाे हाे ।

  • चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन

    चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन

    काठमाडाैं । चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ ।

    उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

    सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार रविविरुद्ध दुईजना स्वतन्त्रसहित तीनजना उम्मेदवारले उजुरी गरेका थिए ।

    आचार्यले तीनैजनाको उजुरीमा दाबी नपुगेपछि रविको उम्मेदवारी कायमै राख्ने निर्णय भएको छ ।

    काठमाडौंबाट युवराज पौडेल ‘सफल’ले ईमेलबाट दिएको उजुरीको निर्णय निर्वाचन आयोगले गर्ने भएको छ । यसबारे आयोगले रविसँग ७ दिनभित्रमा जवाफ मागेको छ ।

    उता तीनवटा उजुरीबारेमा रविले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उपस्थित भएर ६ पृष्ठ लामो जवाफ पेश गरेका थिए ।

    यसअघि लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो ।

    तिनै उजुरीका आधारमा लामिछानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसोसम्म स्पष्टीकरण मागेको थियो ।

    चितवन २ मा लामिछानेसहित अब २४ जनाको उम्मेदवारी कायम भएको छ ।

  • सर्वाेच्चले माग्याे रवि लामिछानेविरुद्ध मुद्दा नचलाउनुकाे कारण

    सर्वाेच्चले माग्याे रवि लामिछानेविरुद्ध मुद्दा नचलाउनुकाे कारण

    काठमाडौं । रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

    महान्यायाधिवक्ता कार्यालयले चैत ६ गते लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णय बदर गर्न र मुद्दाको टुंगो नलाग्दासम्म लामिछानेलाई कुनै राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको हाे ।