Tag: राष्ट्रपति

  • ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ : राष्ट्रपति भण्डारी

    ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।

    ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्’ भनी कामना गरिन् ।

    ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

    नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

    पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

  • ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ’

    ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ’

    काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका छन् ।

    राष्ट्रपति निर्वाचनका लागि नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेको बेला मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नामसमेत उल्लेख गरेका छन् ।

    आज बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नामसमेत लिएका छन् ।

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी छन् ।

    राष्ट्रपतिबाट हुने सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ ।

    राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

    नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

  • राष्ट्रपति भण्डारीले गरिन् सरकार गठनको आह्वान

    राष्ट्रपति भण्डारीले गरिन् सरकार गठनको आह्वान

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

    आइतबार विज्ञप्ति सार्वजनिक गरेर भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।

    निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश भएपछि राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको हो ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिबाट आह्वान भएको हो ।

  • राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

    राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

    मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन् ।

    उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेकाे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन् ।

    केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने कार्यक्रम रहेकाे छ ।

  • राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

    राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

    कोरोना सङ्क्रमण भइ त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकाे अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

    ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो’, उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।’

    यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो ।
    त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

  • राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हाे ।

    राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

    उनकाे स्वास्थ्यमा केही सुधार आएकाे चिकित्सकहरुले बताएका छन् ।

  • प्रचण्डसँगकाे भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

    प्रचण्डसँगकाे भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

    काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी हुन् ।

    दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

    तर, प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गरेकी छन् ।

    बुधबार माओवादी नेतासँगको भेटमा पनि उनले नागरिकता विधेयकबारे चासो राखेकी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

    राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएका मल्लले जानकारी दिए ।

    वैवाहिक अंगीकृत विषयमा राष्ट्रपतिको चासो र माओवादीको धारणा समान रहे पनि संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याएको जानकारी गराए ।

     

  • राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा ब्यवस्था कडा

    राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा ब्यवस्था कडा

    पोखरा । राष्ट्रपति बिद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।

    विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।

    मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरिक्षणसमेत गरेकी थिइन ।

    नागरिकता बिद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता बिद्येयक सदनमा नै फिर्ता गरिदिए पछि बिभाजित प्रतिक्रिया आईरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसूची छ।

  • राष्ट्रपति भण्डारी मंगलबार पोखरा जाने

    राष्ट्रपति भण्डारी मंगलबार पोखरा जाने

    काठमाडाैं । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाने भएकी छिन् ।

    तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन ।

    तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरिक्षण गर्नेछिन् ।

    त्यसअघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन भने र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ ।

    गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धुमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।