Tag: शेरबहादुर देउवा

  • छैठौं पटक प्रधानमन्त्री बन्ने देउवाको यात्रामा गगनले लगाउलान् त ‘ब्रेक’ ?

    छैठौं पटक प्रधानमन्त्री बन्ने देउवाको यात्रामा गगनले लगाउलान् त ‘ब्रेक’ ?

    काठमाडाैं । निर्वाचनको परिणाम आउनेक्रमसंगै भावी सरकार र त्यसको नेतृत्वको बहससमेत प्रारम्भ भएको छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने लगभग निश्चित छ ।

    तर, कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने त ?

    कांग्रेसबाट प्रधानमन्त्री बन्न चाहनेहरुको सूची निकै लामो छ । हालका प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवा, प्रकाशमान सिह, रामचन्द्र पौडेल, डा. सशांक कोइराला, गगन थापा लगायतले प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् ।

    प्रधानमन्त्री देउवा फेरि पनि प्रधानमन्त्री बन्नका लागि तयारछन् । उनी स्वभाविक उम्मेदवार हुन् । गठबन्धन भित्र पनि त्यही समझदारी छ ।

    तर, देउवाका लागि सबैभन्दा ठूलो तगारो बनेका छन् गगन थापा । काठमाडौं ४ मा जित हासिल गरेसंगै गगनले संसदीय दलको नेता बन्ने तयारी सुरु गरिसकेका छन् । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने आफनो लक्ष्य सार्वजनिक गरिसकेका छन् ।

    थापाको यो अभियानमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छन् । उनले थापा निर्वाचित भएलगत्तै सामाजिक संजालमा थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने घोषणा गरिसकेका छन् ।

    पार्टीका दुई महामन्त्रीको यो गठजोडले देउवासहित अन्य नेताहरुलाई समस्यामा पार्ने निश्चित छ । कांग्रेसबाट निर्वाचत भएर आउने सांसदहरुसंग शर्मा र थापाले संवाद अघि बढाइसकेका छन् ।

    नेपाली कांग्रेस भित्रै पनि देउवाकोसट्टा नयाँ पुस्ता अर्थात् थापालाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठिरहेको छ ।

    तर, सत्ता गठवन्धनका साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु थापालाई प्रधानमन्त्री बनाउन तयार देखिँदैनन् । यो अवस्थामा गठबन्धन भत्किने र नयाँ समीकरण सुरु हुनसक्ने आंकलन गरिएको छ ।

  • डडेल्धुराबाट देउवा निर्वाचित, सागर ढकालले कति ल्याए मत ?

    डडेल्धुराबाट देउवा निर्वाचित, सागर ढकालले कति ल्याए मत ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

    एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

  • स्थायी शान्ति र लोकतन्त्र बलियाे पार्न १०/१५ वर्ष गठबन्धनलाई अघि बढाउनुपर्छ : प्रधानमन्त्री देउवा

    स्थायी शान्ति र लोकतन्त्र बलियाे पार्न १०/१५ वर्ष गठबन्धनलाई अघि बढाउनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक–पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि बिजयी गराउनुपर्ने बताएका हुन् ।

    उनले नेपाली जनताको लामो लडाइँपछि स्थापित भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकीर गरे ।

    देउवाले देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुद बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनकाे भनाइ छ ।

    प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराइने पनि बताए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले संविधानको रक्षाका लागि प्रतिगमनलाई पराजित गर्दै अग्रगमनका लागि गठबन्धनलाई बिजयी गराउनुपर्ने बताए ।

    त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमाले विजयी भए मुलुकमा फेरि प्रतिगमनको खतरा हुने भएकाले निर्वाचनलाई होसियारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राखे ।

  • प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने तालिका छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ डडेल्धुरा आएका थिए ।

    देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

    नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुुसार देउवाले आज बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

    देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउदले जानकारी दिए । देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ ।

    डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवार छन् ।

  • प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

    डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन्।

    सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीवारदेखि डडेल्धुरामा छन्। उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीवार सम्बोधन गरिसकेका छन्। प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहने कार्यक्रम तय भएको छ। उनी सातवटा चुनावीसभामा सहभागी हुने छन्।

    प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ। चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उनका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (ख)का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, नेकपा (एकीकृत समाजवादी)की नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम-लोकतान्त्रिक गठबन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिए।

    कांग्रेस डडेलधुराका सभापतिसमेत रहेका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

  • सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

    सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् ।

    वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए ।

    प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।’

    संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनकाे भनाइ थियो ।

    प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहने पनि बताए । उनले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उनले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताए ।

    प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताए । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उनले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भने । साथै उनले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताए ।

    विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भइ मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताए ।

  • सत्ता गठबन्धनबाट बाहिरिएको जसपाका मन्त्रीलाई हटाउने देउवाकाे तयारी

    सत्ता गठबन्धनबाट बाहिरिएको जसपाका मन्त्रीलाई हटाउने देउवाकाे तयारी

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

    सत्ता गठबन्धनमा रहेको जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएपछि नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्नेमा राजीनामा नदिएपछि प्रधानमन्त्रीले नै हटाउने तयारी गरेकाे उनकाे सचिवालयले जनाएको छ ।

    तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीहरू हटाउँदा कुनै कानुनी अड्चन आउने हो या होइन भनेर प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गर्ने योजना बनाएका छन् ।

    जसपाबाट सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

  • युवाको नाममा सागर ढकालको चटक : व्यवस्था नबुझ्ने,चुनावको नाममा चन्दाको धन्दा

    युवाको नाममा सागर ढकालको चटक : व्यवस्था नबुझ्ने,चुनावको नाममा चन्दाको धन्दा

    काठमाडाैं । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने भन्दै उम्मेदवारी घोषणा गरेका सागर ढकालले चन्दा असुल्न थालेका छन् ।

    आसन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवालाई पराजित गर्दै प्रधानमन्त्री नै बन्छु भनेर लामो समयदेखि डडेल्धुरामा रहेर चुनाव लक्षित कार्यक्रम गर्दै नागरिकहरुसँग भेटघाटमा व्यस्त रहेका ढकालले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राख्दै आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

    उनले भनेका छन् ‘म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिँदै छु । यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ ।’ उनले आर्थिक सहयोगका लागि अपिल गर्दै बैंक खाता नम्बर, ई–सेवा नम्बर र खल्ती नम्बर सेयर गरेका छन् । केही समय अगाडिसम्म चुनाव लड्न पैसा आवश्यक छैन भन्ने अभिब्यक्ति दिने ढकालले अहिले चन्दा असुल्न थाले पछि सामाजिक सञ्जालमा उनको चर्को आलोजना भइरहेको छ ।

    को हुन् सागर ढकाल ?

    सागर ढकालको घर गुल्मी हो । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन् । केही वर्ष अगाडि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्को प्रश्न सोधेको र देउवाले नराम्रोसँग हप्काए पछि ढकाल चर्चामा आएका थिए ।

    देउवालाई प्रश्न सोध्ने बेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बीई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे । अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६–७ महिना उतै बसेको र पछि चीनमा काम गर्न गएको उनी बताउँछन् । अहिले आएर ४० वर्ष माथिका राजनीतिज्ञहरुलाई अब आराम दिनु पर्छ भनेर उनी प्रधानमन्त्री देउवाकै क्षेत्रबाट चुनाव लड्न तम्सिएका छन् ।

    सागरले जित्लान् त देउवालाई ?

    काङग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचन डडेल्धुराबाट लड्ने पक्कापक्की भइसकेको छ । सागरको पक्षमा केही जनमत देखिए पनि देउवालाई हराउनु उनको दिवा सपना भएको धेरैले टिप्पणी गरेका छन् ।

    २०७८ साल असार २९ गते पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाले २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितिरहेका छन् । नेपाली काङ्ग्रेस भित्र डडेल्धुरामा देखिएको केही गुटबन्दी र टुटफुटले देउवाको राजनितिक भबिष्यमा केही प्रभाव परे पनि एक्लै चुनाव लडेर आगामी निर्वाचन जित्न देउवालाई धेरै सकस भने छैन । अहिले ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा देउवा अघि सारिएकाले देउवालाई हराउँछु भन्नु सागरको हास्यास्पद कुरामात्र भएकाे स्थानीय नागरिकहरु बताउँछन् ।

    गुल्मीका सागरले डडेल्धुरावासीका समस्या कसरी बुझ्लान् ?

    नेपाली नागरिकले आवश्यक मापदण्डको पालना गर्दै देशको जुनसुकै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न पाउने अधिकार छ । तर गुल्मी घर भएका सागरले यदी निर्वाचन जिते पनि डडेल्धुरावासीका समस्या कसरी बुझ्लान् भन्ने प्रश्न कडा रुपमा उब्जिएको छ ।

    अलग भाषा, संस्कृति, भेषभुषा र भु–गोल बुझ्न सागरलाई कति वर्ष लाग्ला ? के गुल्मीको मान्छेले डडेल्धुराको विकासका लागि काम गर्ला त ? धेरैको जिज्ञासा छ । यी प्रश्नकाे जवाफ समयक्रममा पाइएला । तर धेरैले प्रधानमन्त्री देउवाले कार्यक्रममा हप्काएका कारण सागरमा देउवासँग चुनाव लड्ने भुत चढेको दाबी गर्ने गरेका छन् ।

    सागरले बुझेकै छैनन् संवैधानिक व्यवस्था

    प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुर बुवा’ को संज्ञा दिएर अब आराम दिने र आफू प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका सागर ढकालले प्रधानमन्त्री बन्न नेपालको संविधानिक व्यवस्था नै नबुझिएको देखिएको छ ।

    नेपालको संविधानमा देशको प्रधानमन्त्री बन्न कुनै राजनीतिक दलको बहुमत प्राप्त संसदीय दलको नेता हुनुपर्ने उल्लेख गरिएको छ । तर सागरले स्वतन्त्रबाट चुनाव जिते पनि कसरी प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् अचम्मको कुरा छ । सागरको यो दावीले उनको अल्लारेपन प्रष्ट पारेको छ ।

    उनले बिहीबार मात्रै ‘नेपालले विश्वकै बुढो प्रधानमन्त्री पाउने कि विश्वकै कान्छो प्रधानमन्त्री जन्माउने भन्ने कुरा मंसिर ४ मा डडेल्धुराका जनताले छान्नेछन् । बाजे जिते बाल, नाति जिते बब्बाल । भूतलाई सम्मान भविष्यलाई मतदान’ भन्दै एक ट्वीट गरेका छन् । उनको यो ट्वीटमा सकरात्मकभन्दा पनी नकरात्मक टिप्पणीहरु बढी आएका छन् ।

  • ओलीलाई देउवाले भने- संसद नै परमादेशबाट आएकाे हाे, परमादेशले हामीलाई भेट गर्ने मौका दियो

    ओलीलाई देउवाले भने- संसद नै परमादेशबाट आएकाे हाे, परमादेशले हामीलाई भेट गर्ने मौका दियो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘परमादेशको सरकार’ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण भेट गर्ने मौका पाएको र सँगै बसेर काम गर्न पाइएकाे जवाफ दिएका छन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाइएकाे जवाफ फर्काएका हुन् ।

    बैठकमा देउवाले भने, ‘हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’

    प्रधानमन्त्री देउवाले परमादेशका कारण भेट गर्ने मौका पाएको टिप्पणी पनि गरे । ‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु’ उनले भने ।

    यस्तै, वर्तमान सरकारले तीन तहको निर्वाचन गर्ने सुअवसर पाएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त पनि गरे ।

  • दीगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक : प्रधानमन्त्री देउवा

    दीगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले दीगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन् ।

    लगानी बोर्डको सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन् ।

    कार्यक्रममा उनले २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरउन्नति गर्न लागेको बताए । उनले २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्न प्रयत्न गरिरहेको बताए ।

    नेपालमा लगानी गर्नेलाई छोटो प्रक्रियाबाट काम गर्न दिइने उनले बताए । लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ३३ वटा प्रोजेक्ट स्वीकृत भएको बताए । जसमा ९ अर्ब डलर बराबरका आयोजना रहेका छन् ।

    देउवाले लगानी बोर्डले प्रोजेक्ट बैंक समेत सुरू गरेको जानकारी दिए । लगानी बोर्डका सीईओ दीपक भट्टले हाल ३ अर्ब डलर भित्र्याउन सफल भएको बताउँदै २०२६ सम्म ६ अर्ब डलर भित्र्याउने दाबी गरे।

    बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ।