Tag: शेरबहादुर देउवा

  • देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी आह्वान गरिएको छ ।

    सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ ।

    बैठकले संसद्‌मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ । सरकारले आइतबार नै आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ ।

    दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

  • डडेल्धुरा पुगेर देउवाले भने- प्रदेश राजधानी बनाउँछु, कांग्रेसलाई जिताउनुहोस्

    डडेल्धुरा पुगेर देउवाले भने- प्रदेश राजधानी बनाउँछु, कांग्रेसलाई जिताउनुहोस्

    डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन् । मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका हुन् ।

    डडेल्धुराका सातै स्थानीय तहमा कांग्रेसलाई जिताए राजधानी डडेल्धुरा ल्याउने उनको भनाइ छ । कर्ण मल्ललाई लक्षित गर्दै उनले कसैले डडेल्धुरालाई राजधानी बनाएन भनेर झुटो अफवाह फैलाएको आरोप लगाए । डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचनाहरू नभएका कारण राजधानी नबनाएको उनको तर्क थियो ।

    ‘डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ,’ उनले भने, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ । त्यो कुन ठूलो कुरा हो भो ? पालमुनि सभाहल बनाउन सकिँदैन ।’

    पश्चिम सेती बनाउँछु

    देउवाले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत परियोजन बनाउनेसमेत आश्वासन दिएका छन्। यसका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ छ ।

    उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले यस विषयमा कुराकानी गर्ने बताए । ‘पश्चिम सेती आन्तरिक लगानीमा निमार्ण गर्न सम्भव छैन। चिनियाँ कम्पनीले निर्माण गरेको विद्युत भारतले किन्दैन । त्यसैले भारतलाई नै पश्चिम सेतीको जिम्मा दिने तयारी भइरहेको छ,’ उनले भने ।

    उनले डडेल्धुराको पूईलेकमा विमालस्थल निर्माणको काम अगाडि बढाएको बताए । यस्तै देउवाले जिल्ला सदरमुकाममा बसपार्क, पोखरा बेलारपुर, उग्रतारा मेलैली सडक कालोपत्र गर्ने, मेडिकल कलेज सञ्चालन गर्ने, जिल्ला सदरमुकामको सडक फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई जिताउनसमेत आग्रह गरे। हरुवा र सरुवालाई नभएर रूखमा मतदान गर्न उनले अपिल गरे ।

  • प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

    प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् ।

    देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेका थिए । तर, ओझाले भेटका लागि समय दिएनन् ।

    ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा गए । मंगलबार त्यहाँको विभिन्‍न ठाउँमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् ।

    यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहे । तर, उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिए ।

    देउवालाई भेट्नै चाहेनन् । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौं फर्किए ।

    यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु ।

    दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने भने देउवा नै हुन् ।

    यही १६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ को संसदीय निर्वाचनमा देउवा पत्‍नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो । कारबाहीपछि उनीहरू कांग्रेसमा छैनन् ।

    तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोजेका हुन् । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ ।

    धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ । ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रिय सभा सदस्य हुन् ।

  • एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : देउवा

    एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : देउवा

    धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् ।

    सोमबार धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बाेधन गर्दै सभापति देउवाले एमालले जिते संविधान नै समाप्त हुने खतरा रहेको बताए । उनले देशको संविधानलाई जोगाउन पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

    ‘एमालेले दुई तिहाईको जनमत पाउँदा दुई पटक संविधान विघटन गर्‍यो, अदालतले कारवाही गर्दा पनि अहिले विनाकारण संसद अवरुद्ध बनेको छ,’ सभापति देउवाले भने, ‘अब फेरि एमालले जितेमा स्थानीय तह पनि विघटन गरेर देशलाई खाल्डोमा हाल्न बेर लगाउँदैन, एमाले अध्यक्ष केपी ओलीलाई देशकाे माया नै छैन ।’

    उनले बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरे । ‘गठबन्धन दलको सल्लाहअनुसार बागी उम्मेदवारलाई कारवाही गरिनेछ,’ देउवाले भने, ‘हामी त्यस्ता उम्मेदवारलाई छोड्ने छैनौँ, त्यसैले आजै बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लगेर इमान्दारिता देखाऔँ ।’ उनले गठबन्धनले जितेमा देशमा शान्ति सुव्यवस्था कामय हुने र संविधानको रक्षा हुने बताए ।

    आफू सुदूरपश्चिम प्रदेशकै नागरिक भएको बताउँदै सभापति देउवाले यो क्षेत्रबाट कांग्रेसले जितेमा देशभरमै सबैभन्दा बढी बजेट ल्याउने र विकासका सबै माग सम्बोधन गर्ने बताए ।

    एमालेलाई जिताउनु भनेको देशलाई अस्थिरतातर्फ धेकेल्नु हो : प्रचण्ड

    साेही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई जिताउनु भनेको देशलाई अस्थिरतातर्फ धकेल्नु भएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताए देशमा स्थायित्व हुने दाबी गरे ।

    धनगढीमा गठबन्धनद्धारा आयोजित चुनावी सभामा बाेल्दै प्रचण्डले विकास र सम्वृद्धीका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । ‘गठबन्धनका शीर्ष नेताबीच असमझदारी बढाउन केही तत्व लागिरहेका छन्,’ उनले भने, ‘तर, जनताले एक जुट भएर स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताई ती तत्वलाई पराजित गर्नुपर्छ ।’

  • एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

    एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

    बुटवल । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

    बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाईं सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।

    ‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको हो,’ देउवाले भने । उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी पनि गरे ।

    ‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ,’ उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’

    उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे । उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे ।

    प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

    बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।

  • प्रधानमन्त्री देउवाको प्रश्न – ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

    प्रधानमन्त्री देउवाको प्रश्न – ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।

    शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।

    ‘याे गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्‍घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, रुपन्देहीको बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’

    देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे ।

    उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍याे तर चल्न दिएको छैन ।’

    देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औंल्याए ।

  • चितवनका कार्यकर्तालाई देउवाको आश्वासन– गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्

    चितवनका कार्यकर्तालाई देउवाको आश्वासन– गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्

    चितवन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु दाहालको टिमलाई भोट दिन आग्रह गरेका हुन् ।

    गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने आशंका गरेका थिए । तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे ।

    कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीँकै साथीले विरोध गर्नु भएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’

    कांग्रेस चितवनका नेताहरुले रेणुलाई भोट दिनु कर्तव्य भएको भन्दै देउवाले भने, ‘चितवनका साथीको कर्तव्य हो, रेणु दाहाललाई सहयोग गर्नु । बेरुजु नभएको महानगरको मेयर हो उहाँ ।’

  • लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : देउवा

    लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : देउवा

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् ।

    नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता रहेकाे बताए ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नेपालको संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले सोहीअनुरूप लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा आवश्यकताअनुसार चुनावी तालमेल र सहकार्यसमेत अघि बढेको धारणा व्यक्त पनि गरे ।

    गठबन्धनको अपरिहार्यतालाई आत्मसात् गरी लोकतान्त्रिक र परिवर्तनकारी पक्षधर उम्मेदवारलाई सबैले सहयोग गर्ने उनकाे अपेक्षा थियो । प्रधानमन्त्री देउवाले कांग्रेस सदैव लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सङ्घर्ष गर्दै आएको र त्यसमा सदैव अडिग रहेको उल्लेख गर्दै कांग्रेस बलियो भएमात्र लोकतन्त्र सुदृढीकरण हुने उनले बताए ।

    भेटमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको आसन्न नवौँ महाधिवेशनको तयारी, लोकतन्त्र रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका, मुलुकको सञ्चार क्षेत्रको अवस्थालगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । भेटमा युनियनका, उपाध्यक्ष ईश्वरी ओझा, कावा महासचिव भीष्मराज ओझा र कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए । युनियनले नवौँ महाधिवेशन आगामी जेठ १३ र १४ गते मकवानपुरको हेटौँडामा गर्ने तय गरेको छ ।

  • बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

    बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

    काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

    उनले बागी उम्मेदवारी दिनेहरुलाई शुक्रबार अपरान्ह पाँच बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उनले पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन लाग्न पनि आग्रह गरेका छन् ।

    उनले अपिलमार्फत भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

    यस्तो छ देउवाले जारी गरेकाे अपिल:

    आदरणीय साथीहरू, देशभरका वालिग मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तहको सरकारको नेतृत्व सुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेका छन्।

    पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिहरूको कार्यशैलीको समग्र मूल्यांकन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिवद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरू र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टी पंक्ति हार्दिक एकताका साथ जुटिरहेको छ।

    नेपाली जनताको दशकौं लामो संघर्ष, त्याग, तपस्या र बलिदानीबाट स्थापित नेपालको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसंरचनाको स्थापना र स्थानीय तहसम्म अधिकारको बाँडफाँड र राज्यका निकायहरूको उपस्थितिले आम जनता लाभान्वित हुन पुगेको यथार्थमा दुई मत छैन।

    आदरणीय साथीहरू, मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूका बिचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), ने.क.पा. (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो।

    एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु। तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।

    यसर्थ, पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा पाँच दलीय गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालय मार्फत् पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ रै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको र पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दा गर्दै पनि, पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरीत पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बीचमा भएको सहमति अनुसार उम्मेदवारी छाड्नु पर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएकोले देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु।

    जय नेपाल

    शेरबहादुर देउवा, सभापति

  • गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

    गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् ।

    ‘गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।

    सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसङ्घ गठन हुन सक्दैन तबसम्म नेविसङ्घ बलियो हुन नसक्ने बताए । ‘नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसङ्घ गम्भीर हुनुपर्छ, स्कूल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ ,’ उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

    सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसङ्घको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसङ्घको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए ।

    ‘राजनीति गरेर मात्र अब चल्दैन पढाइसमेतमा योग्य हुनुपर्छ’, सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उनले गरे ।

    स्थापना दिवसको उक्त कार्यक्रममा सभापति देउवाले नेविसङ्घका संस्थापक सभापति विपिन कोइराला, उपसभापति सनद रेग्मी, महामन्त्री टिका पोखरेल, सदस्य रामचन्द्र पौडेल, सुरेन्द्रबहादुर विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, बसन्त गुरुङ, राजन्द्रबहादुर शाहलगायतलाई सम्मान गरेका थिए ।