डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन् । मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका हुन् ।
डडेल्धुराका सातै स्थानीय तहमा कांग्रेसलाई जिताए राजधानी डडेल्धुरा ल्याउने उनको भनाइ छ । कर्ण मल्ललाई लक्षित गर्दै उनले कसैले डडेल्धुरालाई राजधानी बनाएन भनेर झुटो अफवाह फैलाएको आरोप लगाए । डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचनाहरू नभएका कारण राजधानी नबनाएको उनको तर्क थियो ।
‘डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ,’ उनले भने, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ । त्यो कुन ठूलो कुरा हो भो ? पालमुनि सभाहल बनाउन सकिँदैन ।’
पश्चिम सेती बनाउँछु
देउवाले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत परियोजन बनाउनेसमेत आश्वासन दिएका छन्। यसका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ छ ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले यस विषयमा कुराकानी गर्ने बताए । ‘पश्चिम सेती आन्तरिक लगानीमा निमार्ण गर्न सम्भव छैन। चिनियाँ कम्पनीले निर्माण गरेको विद्युत भारतले किन्दैन । त्यसैले भारतलाई नै पश्चिम सेतीको जिम्मा दिने तयारी भइरहेको छ,’ उनले भने ।
उनले डडेल्धुराको पूईलेकमा विमालस्थल निर्माणको काम अगाडि बढाएको बताए । यस्तै देउवाले जिल्ला सदरमुकाममा बसपार्क, पोखरा बेलारपुर, उग्रतारा मेलैली सडक कालोपत्र गर्ने, मेडिकल कलेज सञ्चालन गर्ने, जिल्ला सदरमुकामको सडक फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई जिताउनसमेत आग्रह गरे। हरुवा र सरुवालाई नभएर रूखमा मतदान गर्न उनले अपिल गरे ।