Tag: सीमा विवाद

  • चीनसँगको सीमा विवादबारे सरकारले यथार्थ छिट्टै बाहिर ल्याउँछ : प्रवक्ता कार्की

    चीनसँगको सीमा विवादबारे सरकारले यथार्थ छिट्टै बाहिर ल्याउँछ : प्रवक्ता कार्की

    काठमाडाैं । सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ छिट्टै बाहिर ल्याउने बताएकाे छ ।

    मंगलबार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउन आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे विवादबारे सरकारले आधिकारिक धारणा प्रस्तुत गर्ने बताएका हुन् ।

    केही सञ्चारमाध्यममा चीनसँगकाे सीमा विवादबारे समाचार प्रकाशन भएकाेबारे पत्रकारले साेधेकाे प्रश्नकाे जवाफमा उनले यस्ताे बताएका हुन् । प्रवक्ता कार्कीले भने- ‘रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउँछ ।

    सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने जिकिरसमेत उनले गरे ।

  • चीनले नेपाली भूमि अतिक्रमण गरेकाे सीमा अध्ययन कार्यदलकाे प्रतिवेदनमा दाबी

    चीनले नेपाली भूमि अतिक्रमण गरेकाे सीमा अध्ययन कार्यदलकाे प्रतिवेदनमा दाबी

    काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ ।

    बीबीसीले आफूलाई प्राप्त प्रतिवेदनको आधारमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो । नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीकाे समाचारमा उल्लेख गरिएकाे छ ।

    चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले जनाएकाे छ । तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

    हुम्लाको लालुङजोङसहित सीमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमासमेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख गरिएकाे दाबी बीबीसीले गरेकाे छ ।

    हिन्दू र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

    प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझावसमेत दिएको छ । चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सीमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।