Tag: नेपाल-भारत

  • नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल घटाउन भारतसँग प्रस्ताव

    नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल घटाउन भारतसँग प्रस्ताव

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्।

    भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्।

    ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्,’ सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्, ‘दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देख्छु।’

    नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकामा ध्यानाकर्षण गराउँदै उनले त्यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्नेमा जोड दिइन्।

    भारतीय टेलिभिजन च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानल भने भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘भारतमा नेपालीभाषीको ठूलो संख्या रहेकाले नेपाली च्यानलको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्छु।’

    उनले विशेषतः नेपाली च्यानल भारतमा डाउनलिंक गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश दिन आग्रह गरेको सञ्चार मन्त्रालयले जनाएको छ।

    प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाल चलचित्र छायांकनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नसक्ने विश्वास व्यक्त गरिन्।

    नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र वर्तमान परिप्रेक्ष्यमा नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले त्यस्ता शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरिन्।

    त्यसैगरी सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट सहभागिता हुने आग्रह गरिन्।

    ‘सूचना प्रविधिको विकाससँगै त्यस क्षेत्रको जोखिम पनि बढ्दै गएको छ। साइबर सुरक्षा प्रमुख चुनौतीका रूपमा देखापर्न थालेको छ,’ बैठकमा मन्त्री शर्माले भनिन्, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक छ।’

    रेडियो नेपाल र अल इन्डिया रेडियोबीच एकअर्काका विषयवस्तु प्रसारण गर्ने लगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टिमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन्।

    त्यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एकअर्काका विषयवस्तु प्रसारण गर्ने सम्बन्धमा पनि सकारात्मक छलफल अघि बढेको आफूले पाएको स्पष्ट गर्दै उनले उक्त विषय छिट्टै निष्कर्षमा पुग्ने बताइन्। रासस

  • पटनाको रेल स्टेशनमा अश्लिल चलचित्र चलेपछि…

    पटनाको रेल स्टेशनमा अश्लिल चलचित्र चलेपछि…

    काठमाडौं । भारतको पटनास्थित एक रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर १० मा रेलको बारे जानकारी दिन जडित टीभी हेर्न यात्रु तँछाडमछाड गरिरहेका थिए ।

    तर, टीभीले रेलबारे जानकारी दिइरहेको थिएन । टीभीमा अश्लिल चलचित्र प्रसारण भइरहेको थियो । याे घटना गत आइतबार बिहानको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ९ बजेर ५६ मिनेटमा सुरु भएको उक्त प्रसारण करिब ३ मिनेटसम्म बन्द भएन ।

    घटनापछि स्टेशनकाे सूचना पाटी व्यवस्थापन गर्दै आएको मेसर्स एम दत्ता स्टुडियो कम्पनी प्रालिविरुद्ध उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दानापुर आरपीएफका वरिष्ठ कमाण्डेन्ट प्रकाशकुमार पाण्डालाई उद्धृत गर्दै इन्डिया टुडेले रेलवे जन्क्सनमा रेलको आगमन र प्रस्थानबारे जानकारी दिने ठेक्का पाएको उक्त कम्पनीको सम्झाैता खारेज गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

    घटनाबारे थप विवरण अनुसन्धानपछि मात्र आउने समाचारमा जनाइएको छ ।

  • भारतीय उपराष्ट्रपतिले दिए रामसहाय यादवलाई बधाई

    भारतीय उपराष्ट्रपतिले दिए रामसहाय यादवलाई बधाई

    काठमाडौं । भारतीय उपराष्ट्रपति जगदीप धनकरले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् ।

    उपराष्ट्रपति धनकरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।

    ‘रामसहाय यादवज्युले उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र नागरिक तहको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन तपाईंसँग सहकार्य गर्न तायर छौँ,’ भारतीय उपराष्ट्रपतिले भनेका छन् ।

  • भारतीय राजदूतावासले मनायो २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

    भारतीय राजदूतावासले मनायो २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

    काठमाडौं । भारतीय राजदूतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। शनिवार काठमाडौंमा रहेको भारतीय दूतावासमा एक कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो।

    कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत २५० भन्दा बढी अतिथिको उपस्थिति थियो। कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी तथा नेपालका प्रमुख विश्वविद्यालयका उपकुलपति उपस्थिति थिए।

    त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी पनि उपस्थित थिए।

    नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न कलेजका डिन तथा विभिन्न प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो। मन्तव्यका क्रममा राजदुत श्रीवास्तवले २१ औं ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिनुका साथै वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष रोल अफ अनर प्रदान गर्ने घोषणा गरे।

    भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो। यो योजनाको शुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। सन् २००७ मा छात्रवृत्ति संख्या थपेर १०० पुर्‍याइएको थियो। सन् २०१२ देखि छात्रवृत्तिको संख्या दोब्बर बढेर २०० पुगेको छ। यस योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका ३ हजार जना विद्यार्थी लाभान्वित भइसकेका छन्।

  • सञ्चार मन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    सञ्चार मन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेट गरेका छन् ।

    आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हीत र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका विषयमा छलफल शर्माको सचिवालयले जनाएको छ।

    भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिए। मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराइन् ।

    भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएकी थिइन् ।

    भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुन सकेको छैन ।

  • सांसद गुरुङकाे प्रश्न : मुस्ताङमा धार्मिक विद्यालय खोल्नु देशद्रोही हुनु हो ?

    सांसद गुरुङकाे प्रश्न : मुस्ताङमा धार्मिक विद्यालय खोल्नु देशद्रोही हुनु हो ?

    मुस्ताङ । केही दिन यता सामाजिक सञ्जालमा मुस्ताङमा धार्मिक विश्व विद्यालय खोल्ने विषयले व्यापक चर्चा भइरहेकाे छ । गत साता बिहीबार मुलधारकाे एक पत्रिकामा ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शीर्षकमा समाचार प्रकाशित भएपछि यो विषय सतहमा चुलिएको हो ।

    पत्रिकाले मुस्ताङको निषेधित क्षेत्र र चीनविरुद्ध तिब्बती खम्पाहरुको खेल्ने अखडा रहेको स्थानमा बौद्ध कलेज स्थापना गरिनु एक चीन नीतिप्रति प्रतिबद्ध नभएको आशयको समाचार प्रकाशित गरेको थियो ।

    वारागुङ मुक्तिक्षेत्रले कलेज खोल्ने स्थान निषेधित क्षेत्र भित्र नपर्ने र खम्पाहरुको आधार क्षेत्र नरहेको विज्ञप्तिमार्फत् जानकारी गराइसकेकाे छ ।

    शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राजधानीको एक कार्यक्रममा मुस्ताङमा विश्व विद्यालय खोल्ने कुरा राष्ट्रका लागि घातक भएको अभिव्यक्ति दिए ।

    पत्रिकामा प्रकाशित समाचार र एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य नम्डु गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत् आपत्ति जनाएका छन् । सांसद गुरुङले भनेका छन् ‘मुस्ताङमा धार्मिक विश्व विद्यालय खोल्ने कुरा के देश द्रोही हो ?, के हाम्रो ठाउँको विकास हुँदा देश संकटमा पर्छ ?’

    उनले उक्त समाचार र एमाले अध्यक्षको धारणा के जायज छ ? भनी प्रश्न गरेका छन् । ‘हामी संख्यामा थोरै भए पनि हामीलाई पनि आफ्नो देशको माया उत्तिकै लाग्ने सांसद गुरुङको भनाइ छ । किन स्थान र धर्मलाई तोकेर यहाँ राजनीति गरिँदै छ ? अब मुस्ताङीले आँखा खोल्न जरुरी छ ।’

  • भारतको सहयाेगमा निर्मित मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

    भारतको सहयाेगमा निर्मित मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

    काठमाडाैं । मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ । वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको र यस्ता सहयोगले झनै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले नेपालका लागि भारत सरकारले धेरै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै थप सहयोगको अपेक्षा गरेको बताए ।

    त्यस्तै, नेपालका लागि भरतीय राजदुत नविन श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा भारत सरकारबाट धेरै सहयोग भइरहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्ध थप बिस्तार हुने बताए ।

    उनले हरेक वर्ष नेपालबाट भारतमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई भारत सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए । भारत सरकारले शिक्षामा गरेको सहयोगले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि थप राहत हुने विश्वास व्यक्त गरे ।

    मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा रहेका छन् ।

    सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

    ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

  • नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक : अपराध नियन्त्रणमा जोड

    नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक : अपराध नियन्त्रणमा जोड

    काठमाडाैं । भारतको झुलाघाटमा नेपाल–भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसेकाे छ । बैठकमा सीमा क्षेत्रमा भइरहेको अपराध, तस्करीलगायतका कार्यहरु नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय भएकाे छ ।

    पिथौरागढको झुलाघाटस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा आयोजित बैठकमा सीमा सुरक्षा र तस्करी नियन्त्रण लगायतमा दुबै देशका अधिकारी मिलेर जाने निर्णय भएको हो । दुबै देशका अधिकारीहरुले नेपाल–भारत बीच अनाधिकृत रुपमा प्रयोग भइरहेका मार्गमा रोक लगाउने कुरामा विशेष जोड दिएका छन् ।

    ५५ औँ बाहिनीका कमाण्डेन्ट एसके शर्माको अध्यक्षतामा भएको सो बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक घटनाको सूचना आदान–प्रदान गर्ने, झुलापुल बाहेक अन्य अनधिकृत बाटोबाट हुने आवागमनमा रोक लगाउने र मानव तस्करी नियन्त्रण गर्नेमा दुबै देशका अधिकारी सहमत भएका छन् ।

    महाकाली नदीमा ट्युवबाट पनि अनधिकृत रुपमा आवतजावत हुने भइरहेकाले यस्तो आवतजावत रोक्ने बिषयमा छलफल भएको छ ।

    बैठकमा बैतडीका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लालबहादुर नेगी, नेपाल प्रहरीका प्रहरी निरीक्षक लोकराज जोशी, प्रहरी चौकी जुलाघाटका सई योगेशबहादुर पाल, सशस्त्र प्रहरीका सई रघुनाथ जोशी सहभागि थिए । भारतको तर्फबाट भने झुलाघाट प्रहरी थानाका निरीक्षक पीसी जोशी, भन्सार निरीक्षक शिबेन्द्र पाण्डे, आईबीका प्रशांत कुमार, धर्मेन्द्र कुमार, जी कम्पनीका निरीक्षक रणवीर सिंह, सूचना निरीक्षक गणेश सिंहलगायत सहभागि थिए ।

    सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुले बेलाबेलामा यस्ता खालका बैठकहरुको आयोजना गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा दुवै देशका अधिकारीहरुले बेलाबेलामा यस्ता बैठकहरुको आयोजना गर्ने गरिएको उनले बताए ।

  • भारतले दियाे नेपाललाई मिर्गौला डायलाइसिस मेसिन

    भारतले दियाे नेपाललाई मिर्गौला डायलाइसिस मेसिन

    काठमाडाैं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाइसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती मेसिन हस्तान्तरण गरे ।

    करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।

    त्यस अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रूपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नसकिने पनि बताए ।

    नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

    भारतले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ ।

  • नेपालकाे राष्ट्रपतिका लागि भारतीय प्राध्यापकले सुझाए ४ नाम

    नेपालकाे राष्ट्रपतिका लागि भारतीय प्राध्यापकले सुझाए ४ नाम

    काठमाडौं । नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन् ।

    नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला उनले ट्विटरमार्फत् उपयुक्त पात्र भन्दै ४ जनाको सुझाएका हुन् ।

    सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा जायज रहेको भनाइसहित उनले निर्दलीय व्यक्तित्व राष्ट्रपतिका लागि उपयुक्त हुने पनि उल्लेख गरेका छन् ।

    उनले राजनीतिक संवेदनशीलतालाई लिएर देवेन्द्र राज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला उपयुक्त हुने ट्विटरमा उल्लेख गरेका हुन् ।