
काठमाडौं । भारतको पटनास्थित एक रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर १० मा रेलको बारे जानकारी दिन जडित टीभी हेर्न यात्रु तँछाडमछाड गरिरहेका थिए ।
तर, टीभीले रेलबारे जानकारी दिइरहेको थिएन । टीभीमा अश्लिल चलचित्र प्रसारण भइरहेको थियो । याे घटना गत आइतबार बिहानको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ९ बजेर ५६ मिनेटमा सुरु भएको उक्त प्रसारण करिब ३ मिनेटसम्म बन्द भएन ।
घटनापछि स्टेशनकाे सूचना पाटी व्यवस्थापन गर्दै आएको मेसर्स एम दत्ता स्टुडियो कम्पनी प्रालिविरुद्ध उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दानापुर आरपीएफका वरिष्ठ कमाण्डेन्ट प्रकाशकुमार पाण्डालाई उद्धृत गर्दै इन्डिया टुडेले रेलवे जन्क्सनमा रेलको आगमन र प्रस्थानबारे जानकारी दिने ठेक्का पाएको उक्त कम्पनीको सम्झाैता खारेज गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
घटनाबारे थप विवरण अनुसन्धानपछि मात्र आउने समाचारमा जनाइएको छ ।