Tag: प्रतिनिधिसभा निर्वाचन

  • साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा-२ ठाकुर गैरे विजयी

    साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा-२ ठाकुर गैरे विजयी

    पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का ठाकुरप्रसाद गैरे विजयी भएका छन् ।

    उनी ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएकी छन् । गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरे ।

  • मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

    मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

    डाेटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ ।

    मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।

    एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डोटीमा प्रतिनिधिसभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार प्रदेशसभा १ तर्फ ३३ हजार ३२२ मत खसेकोमध्ये एक हजार ९१९ मत बदर भएको छ । प्रदेशसभा २ मा ३० हजार २३४ मत खसेकोमध्ये एक हजार ७ सय ३२ मत बदर भएको छ ।

    जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले विजयी भएका छन् । साथै, प्रदेशसभा १ मा नेकपा (एमाले)का चक्र मल्ल प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली विजयी भएका छन् ।

    निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको सङ्ख्या बढेको उम्मेदवारहरुको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिकतर्फको मतको नतिजा सार्वजनिक भएको छैन ।

    अहिले समानुपातिकतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

  • प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

    प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

    काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

    निर्वाचन आयोगको शुक्रबार दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ ।

    नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

  • महोत्तरी -२ बाट लाेसपाका शरतसिंह भण्डारी निर्वाचित

    महोत्तरी -२ बाट लाेसपाका शरतसिंह भण्डारी निर्वाचित

    महोत्तरी । महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

    निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

    भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।

  • काभ्रे-२ बाट ५८ सय मतान्तरसहित गाेकुल बास्काेटा विजयी

    काभ्रे-२ बाट ५८ सय मतान्तरसहित गाेकुल बास्काेटा विजयी

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन् ।

    बास्कोटाले नेपाली कांग्रेसका शिव हुमागाईंलाई ५८ सय ६३ मतान्तरले पराजित गरे । बास्कोटाले ४४ हजार ३४५ मत ल्याए ।

    पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बनेका हुमागाइँ ३९ हजार ४८२ मतमा समेटिए ।

    यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले १० हजार ५७३ मत प्राप्त गरे ।

  • गुल्मी १ मा प्रदीप ज्ञवाली पराजित, चन्द्र भण्डारीले जिते चुनाव

    गुल्मी १ मा प्रदीप ज्ञवाली पराजित, चन्द्र भण्डारीले जिते चुनाव

    गुल्मी । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।

    शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन् ।

    निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ ।

  • …जसले पार्टीलाई हराएर चुनाव जिते

    …जसले पार्टीलाई हराएर चुनाव जिते

    काठमाडाैं । मंसिर ४ मा भएको चुनावमा प्रतिनिधि सभातर्फ अहिलेसम्म प्राप्त नतिजामा ११८ क्षेत्रमध्ये ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् ।

    बर्दिया २ मा लालवीर चौधरीले चुनाव जितेका छन् । चापाकल चुनाव चिन्ह भएका उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुरेश पन्थलाई हराएर निर्वाचित भएका हुन् ।

    स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्का हुन् प्रभु साह । माओवादीका पूर्वनेता साह एमाले र माओवादी केन्द्रको एकता खारेज हुँदा एमालेतिर लागेका थिए । एमालेले यसपालि उनलाई टिकट पनि दिएको थियो तर एमालेले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर उनले अन्तिममा रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिए । उनी ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन् ।

    अर्का उम्मेदवार हुन् रौतहट-२ का किरणकुमार साह । उनलाई प्रभु साहले नै स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । उनले पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका साह पराजित भएका थिए । यसपालि उनले कांग्रेसका फिरदोस आलमलाई हराएका हुन् ।

    सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका नेता सिंह पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । माछा चुनाव चिन्ह भएका सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमारलाई पराजित गरेका छन् । यस क्षेत्रबाट उनले लगतार तीन पटक चुनाव जितेका छन् ।

    स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्को व्यक्ति योगन्द्र मण्डल हुन् । उनी मोरङ ५ बाट निर्वाचित भएका छन् । मण्डलले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाए ।

  • रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित

    रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित

    रौतहट । रौतहट क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।

    साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

    साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

  • आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

    आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

    काठमाडौं । पराजित भएपछि नेकपा (एमाले)का विशाल भट्टराईले निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामकुमार राई पासाङलाई बधाई दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

    ‘निर्वाचितहरूलाई बधाई एबं मतदाताहरूप्रति आभार’, पराजित भएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित रामकुमार राईज्यू र प्रदेश सभामा निर्वाचित पिके राईज्यू तथा भूपेन्द्र राईज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।’

    यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गरेको भन्दै भट्टराईले सबै मतदातालाई आभार व्यक्त गरेका छन् । ‘म आफू पनि यो निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधि सभामा प्रत्याशी थिएँ, अनेकन कारणले झिनो मतान्तरसहित पराजित भएँ’, उनले भनेका छन्, ‘यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा सहृदय आभार अर्पण गर्दछु ।’

    खोटाङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका पासाङ ३१ हजार ३५१ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका भट्टराईले २८ हजार ६८५ मत प्राप्त गरेर पराजित भएका छन् ।

  • चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

    चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

    चितवन । चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् ।

    उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

    ९६१०६ मत खसेको यस क्षेत्रबाट ढकालले ३४१८९ भोट ल्याएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन् ।

    ढकालले पाण्डेले भन्दा ७५८१ बढी मत पाएका हुन् ।