Tag: भारत

  • अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

    अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

    नयाँ दिल्ली । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

    वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

  • भारतकाे अनुदान सहयाेगमा बनेका विद्यालय भवनकाे उद्घाटन

    भारतकाे अनुदान सहयाेगमा बनेका विद्यालय भवनकाे उद्घाटन

    काठमाडौं । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा रहेकाे शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनहरुको उद्घाटन गरेका छन् ।

    शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजना निर्माण भएकाे हाे ।

    भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा यी परियोजनाहरुको उद्घाटन गरिएको हो ।

    शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यी विद्यालयका लागि यस परियोजना अन्तर्गत निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्नेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

  • पियाली बनिन् अक्सिजनविना सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

    पियाली बनिन् अक्सिजनविना सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

    काठमाडाैं । भारतको पश्चिम बंगालकी पियाली बासकले सगरमाथा आरोहण गरेकी छन् । उनी अक्सिजनविनै सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

    पियाली पश्चिम बंगालको चन्दरनागोरमा प्राथमिक विद्यालयको शिक्षिका हुन् । उनले सन् २०२१ मा पनि अक्सिजनविनै धौलागिरिको आरोहण गरेकी थिइन् ।

    पियालीले गत मे महिनामा सगरमाथाको आरोहण गरेको भए पनि अहिले भारतीय मन्त्रालयले पुष्टि गरेको हो ।

  • कुकुरले टोकेको झोकमा एक व्यक्तिले मालिकलाई रडले रामधुलाई गरेपछि…

    कुकुरले टोकेको झोकमा एक व्यक्तिले मालिकलाई रडले रामधुलाई गरेपछि…

    नयाँ दिल्ली । छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् ।

    ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।

    धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई पुच्छर समाते र धकेलिदिए ।

    आफूले पालेको जनावरलाई उद्धार गर्न मालिक आउँदा दहियाले मालिकलाई पनि हिर्काएका थिए । ककुरलाई रडले हानेर भुईमा पछारेपछि उनले मालिकलाई पनि हिर्काएका थिए । एकपछि अर्कालाई हिर्कापछि अर्का पुरुषले हस्तक्षेप गरेका थिए । कुकुरको विषयलाई लिएर दहियाल र तेस्रो व्यक्तिबीच झगडा भएको थियो ।

    दहियाले परिवारकी एक महिलालाई पनि रडले हानेका थिए ।

    घटनाको भिडियोमा क्रुद्ध ती व्यक्तिले महिलालाई आफ्नो घरमा प्रवेश गर्नबाट रोक्न खोज्दा रडले हिर्काएको देखाइएको छ । यसैबीच, कुकुरले टोकेका दहियाको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • भारतले दियाे विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

    भारतले दियाे विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

    काठमाडाैं । नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई भारतले ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेकाे छ ।

    नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार यी संस्थाहरुलाई चाबी प्रदान गरेका हुन् ।

    एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’काे एक हिस्साको रुपमा रहेको छ ।

    भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्‍याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।

    भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।

  • भारतमा गुडिरहेकाे रेलमा लाग्याे आगाे

    भारतमा गुडिरहेकाे रेलमा लाग्याे आगाे

    भारत । भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।

    भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

    रेलकाे इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण भने खुलिनसकेकाे समचारहरुमा जनाइएकाे छ ।

  • नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

    नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

    प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

    गत जुनमा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरू कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुनमा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रतियुनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

    आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

    प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

    यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८०० युनिट विद्युत बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३०० युनिट विद्युत बिक्री गरिएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए ।

    ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत् व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्नेछ ।’

    उनले चालु आर्थिक वर्षमा करिब पाँच अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताए ।

    भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए ।

    ‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा नतिजा अब विस्तारै देखिनेछ,’ उनले भने ।

    गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।
    भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ ।

    प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

    प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

  • राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

    राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

    नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दू धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ ।

    पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

    एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो । गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।

    सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफूलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् ।

    भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मेडिया आउटलेटलाई अनुरोध गरेको छ ।

  • ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

    ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

    नयाँ दिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

    अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् । उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ ।

    उनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन् । जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई ‘हाइलाइट’ गरेका थिए ।

    उनको ट्वीट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए । पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन् ।

    सन् २०१८ मा पनि एउटा विवादास्पद ट्वीट गरेपछि जुबैर पक्राउ परेका थिए ।

  • भारतमा आफ्नै साथीलाई कुटी कुटी हत्या गर्ने चार नेपाली पक्राउ

    भारतमा आफ्नै साथीलाई कुटी कुटी हत्या गर्ने चार नेपाली पक्राउ

    काठमाडाैं । आफ्नै साथीलाई बहुमूल्य सामान चोरेको आरोपमा चार जना नेपालीले भारतमा कुटी कुटी साथीकाे हत्या गरेका छन् ।

    मृतक सुशील नाम गरेका २१ वर्षिय नेपाली नागरिक नै भएको प्रहरीले जनाएको छ ।

    उनकाे हत्यामा संलग्न भएकाे आराेपमा २२ वर्षीय सागर बुढाथोकी र १५ देखि १७ वर्षका तीन जना अन्यलाई प्रहरीले पक्राउ गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेकन हेराल्डले उल्लेख गरेकाे छ ।

    पूर्वी बेंगलुरुको एचएएल तेस्रो स्टेजस्थित बीडीए लेआउटको तीन तले भवनको पहिलो तलाको खण्डमा गत जुन १७ गते सुशीलकाे शव फेला परेकाे थियाे । मृत्युको कारण नखुलेको भन्दै प्रहरीले सुरुमा शङ्कास्पद मृत्यु भएको बताएको थियो ।

    पोष्टमार्टम रिपोर्टमा उनको हत्या कुटपिटबाट भएको खुलेको छ । सोही अनुसार प्रहरीले हत्याको मुद्दा दर्ता गरी चारै जनालाई बेंगलुरु नजिकैबाट पक्राउ गरेको थियो ।